......श्राद्ध शब्द श्रद्धा कै द्योतक हो अर्थात् हामी आफ्नो मृत पितृको निमित्त जुन दानपुण्य आदि सत्कर्म श्रद्धापूर्वक गरिन्छ त्यही श्राद्ध हो । आफ्नो पितृहरूको स्मरण या श्रद्धागर्ने परम्परा प्रत्येक धर्ममा विद्यमान छ, यद्यपि त्यसको रूप भिन्न भिन्न हुनसक्छ । श्राद्ध गर्नेले दक्षिणतिर फर्केर पिण्डदान गर्नु पर्दछ । श्राद्ध गराउने ब्रह्मणमा तोकिएका गुण हुनुपर्दछ । ब्राह्मण योग्य नभए श्राद्ध गर्नुको कुनै औचित्य हुन्न । विकल्प नभए स्त्रीले पनि श्राद्ध गर्न हुने शास्त्रीय विधान रहेको छ । श्राद्धका विधिहरुमा केही भिन्नता छ । शुक्ल यजुर्वेद अन्तर्गतका सबैले कात्यायनले वा पारस्कर गृह्यसूत्रले बताएको विधिको अनुशरण गर्नु भनिएको छ ।
देवकार्ये तिथि ज्ञेया यथाSभ्यूदितो रवि ।
पितृकार्ये तिथि ज्ञेया यदाSस्तमितो रवि ॥
अर्थात् देव कार्य गर्दा उदाउँदो तिथि ग्रहण गर्नु र पितृकार्य (श्राद्ध) गर्दा अस्ताउँदो तिथि ग्राह्य हुन्छ र पार्वण श्राद्धको लागि तिथि सुरुको न्युनतम १९ घडी भएको दिन हुनुपर्छ भने एकोद्दिष्टको लागि न्युनतम १६ घडी हुनु पर्ने कुरा शास्त्रमा बताइएको छ ।
जातकको कुण्डलीमा रहेको सूर्य, चन्द्र र राहुको अवस्था र युति, लग्नेश, पञ्चमेश या नवमेश आदिको अवस्था हेरेर जुन वैदिक ज्योतिष शास्त्रले पितृदोष भनेर औल्याएको छ र त्यस दोष हटाउनको लागिपनि पितृपक्ष अनुकूल समयपनि हो ।
सूर्ये कन्यागते श्राद्धं यो न कूर्यात् गृहाश्रमी ।
धनपुत्राः कुतस्तस्य पितृनिश्वास पीडनात् ॥
अर्थात् गृहस्थी भएर बसेको सनातनीको घरमा पितृपक्ष (आश्विन कृष्ण पक्षमा) आफ्ना पितृकालागि श्राद्धादि कर्म गरिदिएन भने उसको धन ,संपत्ति, कूल ,वैभव खस्किने र वंश तथा सन्ततिपनि निरर्थक हुन पुग्दछन् । श्राद्धको समयमा सूतक, जूठो वा वुहारी पर सरेको अवस्था आईपरेमा अष्टमी, एकादशी, द्वादशी वा औंशीको दिन त्यो छुट श्राद्ध गर्नु पर्ने शास्त्रीय वचन रहेको छ । हाम्रो नेपाली समाजमा आफ्ना बाबुको तिथि छुटे, हजुरबुवाको तिथिमा त्यो श्राद्ध गर्दछ भने महालय श्राद्धपनि त्यै सूत्र अपनाईने गरिन्छ ।
विश्वामित्र ऋषिले १२ प्रकारका श्राद्धको नाम उल्लेख गरेका छन् । नित्य, नैमित्तिक, काम्य, वृद्धि, सपिण्डि, पार्वण, गोष्ठ्य, शुद्ध, कर्मांग, दैविक, यात्रार्थ र पुष्टी भनी उनले श्राद्धका नाम दिएका छन् । मत्स्यपुराण अनुसार मूलतः तीन प्रकारको श्राद्धको वर्णन गरिएको पाईन्छ र यमस्मृतिका अनुसार - नित्य, नैमित्तिक, काम्य, वृद्धि र पार्वण श्राद्ध जम्मा पाँच वटा मात्र श्राद्ध मानिएको छ ।
विश्वामित्रका मत अनुसार दिनदिनै गरिने नित्य श्राद्ध, वार्षिक तिथिका दिन गरिने एकोदिष्ट नैमित्तिक श्राद्ध, आफ्नो इच्छा सिद्ध होस् भन्ने गरिने काम्य श्राद्ध, विवाह आदि शुभ कार्य गर्नुअघि गरिने श्राद्धलाई आभ्युदयिक श्राद्ध/नान्दिमुखी श्राद्ध, मरेको बाह्र दिनमा गरिने सपिण्डी श्राद्ध, सोह्र श्राद्ध या औंसी आदि पर्वमा गरिने पार्वण श्राद्ध, गोठमा गरिने गोष्ठ्य श्राद्ध, पितृ सुख र शुद्धिका निमित्त गरिने ब्राह्मण भोजन, शुद्धि श्राद्ध हो, सिमन्तोनयन, पुंसवन आदि संस्कारमा गरिने कर्माङ्ग श्राद्ध, देवताहरूका उद्देश्यले गरिने वैदिक श्राद्ध, देशान्तरमा जाँदा घ्यूले गरिने यात्रा श्राद्ध र शरीर स्वास्थ्य होस् भनी गरिने पुष्टि श्राद्ध हो ।
पूर्वान्हे वैदिकमं श्राद्धमपराण्हे तु पार्वणम् ।
एकोदिष्ठन्तु मध्यान्हे प्रातर्वृद्धि निमित्तकम् ॥
आभ्युदयिक शुभकार्यको लागि गरिने श्राद्ध प्रातः कालमा गर्नु पर्दछ, एकोद्दिष्ट (वार्षिक तिथिमा गरिने) श्राद्ध मध्याह्नमा गर्नु पर्दछ र पितृपक्षमा गरिने पार्वण श्राद्ध अपराह्नमा गर्नु पर्दछ ।
विष्णुपुराण श्राद्धको महत्त्वका सम्बन्धमा बताईएको छ- “श्रद्धा पूर्वक श्राद्ध गर्नाले ब्रह्मा, विष्णु, रुद्र, सूर्य, इन्द्र, अग्नि, वसुगण, मरुद्गण, विश्वदेव, अश्विनीकुमार, पितृगण, पक्षी, मनुष्य, पशु, सरीसृप, ऋषिगण तथा भूतगण आदिलाई प्रसन्न बनाई शुभाशीष प्राप्त गर्न सकिन्छ । यसरी विधिअनुसार गरिएको श्राद्धबाट पितृहरू तृप्तिहुनुका साथै हामीहरु जो कर्ता छौं तिनीहररूलाई पनि आयु, प्रजा, धन, विद्या, स्वर्ग, मोक्ष, सुखः आदि सबै इच्छा अनुसार फल प्राप्त हुने शास्त्रीय कथन रहेको छ । अस्तु ॥
Liked by: