Nepal Telecom Stay Connected | Hamro Patro

ब्लग - साहित्य / प्रविधि

नेपाल टेलिकमले "स्टे कनेक्टेड" अफरको अवधि थप्यो





विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारीले सिर्जना गरेको विषम परिस्थितिका कारण मुलुकमा कायम रहेको लकडाउनको अवस्थामा नेपाल टेलिकमले आफ्ना ग्राहकवर्गलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराएको स्टे कनेक्टेड अफरको अवधि थप गरेको छ । नेपाल सरकारले तेश्रो पटक लकडाउनको समयावधि थप गरेपछि कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी उक्त अफरको अवधि २७ चैत्र २०७६ बाट ०४ बैशाख २०७७ सम्म बढाएको हो । थप गरिएका यी ८ दिनमा कम्पनीका ग्राहकले निम्न सुविधाको निरन्तरता प्राप्त गर्न सक्नेछन् :

१. जीएसएम सेवामा डाटा प्याक अन्तर्गत पहिलो प्याकेजमा रु. १ सयमा १ जीबी डाटा खरिद गर्दा ३ जीबी डाटा बोनस स्वरुप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ५ दिनभित्र खपत गर्नुपर्नेछ । यसैगरी दोश्रो प्याकेजमा रु. २ सयमा २ जीबी डाटा खरिद गर्दा ८ जीबी डाटा बोनस स्वरुप प्राप्त हुनेछ र कम्पनीको फोरजी नेटवर्कमा ७ दिनभित्र खपत गरिसक्नु पर्दछ । यसरी रु. १ सयमा बोनससहित कुल ४ जीबी र रु. २ सयमा बोनससहित १० जीबी डाटा प्रयोग गर्न सकिनेछ ।

२. कम्पनीकै नेटवर्क भित्र (on net) भ्वाइस कल गर्न जीएसएम र सीडीएमए सेवामा हाल उपलब्ध भ्वाइस प्याक खरिद गर्दा ५० प्रतिशत छुट उपलब्ध गराउने निर्णय गरिएको छ । सो अन्तर्गत पहिलो प्याकेजमा ४० मिनेटको भ्वाइस प्याक एक दिनका लागि रु. २५ मा खरिद गर्दा २० मिनेट बोनस उपलब्ध हुनेछ । यसैगरी दोश्रो प्याकेजमा १९० मिनेटको भ्वाइस प्याक सात दिनका लागि रु. १ सयमा खरिद गर्दा ९५ मिनेट बोनस उपलब्ध हुनेछ । यसरी रु. २५ मा एक दिनका लागि बोनससहित ६० मिनेट र रु. १ सयमा ७ दिनका लागि बोनससहित २८५ मिनेटको भ्वाइस सेवा प्राप्त हुनेछ ।

३. उक्त स्टे कनेक्टेड अफर नेपाल टेलिकम एप र USSD बाट खरिद गर्न सकिन्छ । USSD बाट खरिद गर्न *1415*10# डायल गर्नुपर्दछ । थप जानकारी कम्पनीको वेबसाइट www.ntc.net.np बाट प्राप्त गर्न सकिन्छ ।

यसैगरी ग्राहकको सुविधालाई ध्यानमा राखी कम्पनीले विन्टर अफरका रुपमा उपलब्ध गराइरहेका छुटहरुलाई स्प्रिङ अफरका रुपमा २०७७ असार मसान्तसम्म विस्तार गरेको छ । सो अन्तर्गत अल टाइम डाटा प्याक, डे डाटा प्याक, नाइट डाटा प्याक, सोसियल मिडिया प्याक, युट्युब (स्ट्रिमिङ) डाटा प्याक, डे टाइम भ्वाइस प्याक, पोष्टपेड प्याक र बिग डाटा प्याक उपलब्ध छन् ।

साथै, वाइम्याक्स सेवामा प्रदान गरिएको छुट अवधिलाई २०७७ असार मसान्तसम्म थप गरिएको छ ।

हाल कम्पनीको एउटा प्रिपेड मोबाइलबाट अर्को प्रिपेड मोबाइल वा पोस्टपेड मोबाइलमा USSD कोडमार्फत एक दिनमा बढीमा १० पटकसम्म र एक पटकमा दशदेखि दुईसय रुपैयाँसम्म व्यालेन्स ट्रान्सफर गर्न सकिने व्यवस्था भएकोमा यसलार्ई परिमार्जन गरी एक दिनमा बढीमा २० पटक सम्म र एक पटकमा रु. ५ सयसम्म ट्रान्सफर गर्न सकिने व्यवस्था गरिएको छ ।

पूर्ण लकडाउनको अवधिमा कम्पनीका एडीएसएल, एफटीटीएच तथा वाइम्याक्स सेवाका ग्राहकवर्गलाई महशुल भुक्तानी तथा रिचार्ज सेवा उपलब्ध हुन कठिनाई हुनसक्ने सम्भावनालाई मध्यनजर गरी सो अवधिमा समयावधि सकिने लाइनहरुको म्याद यसअघि चैत २५ गतेसम्म बढाइएकोमा हाल रिचार्ज कार्डको व्यवस्थापन सन्तोषजनक रहेको तथा महशुल भुक्तानीका लागि विभिन्न विकल्पहरु उपलब्ध भएको हुनाले समय थपलाई निरन्तरता नदिने तथा सेवा नवीकरणका लागि सम्बन्धित ग्राहकहरुलाई एसएमएसबाट सूचना समेत पठाउने निर्णय गरिएको छ ।

यस अतिरिक्त नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच मिति २०७४ बैशाख २१ गते ब्रोडब्यान्ड इन्टरनेट प्रोजेक्टका लागि भएको सम्झौता अनुसार भूकम्प प्रभावित ४ जिल्लाहरु नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका ७६० स्थानहरुमा कम्पनीले २ वर्षका लागि ब्रोडब्यान्ड इन्टरनेट जडान तथा मर्मत गरेको थियो । हाल २ वर्षको सम्झौता अवधि समाप्त भएको अवस्थामा ती स्थानहरुलाई नेपाल सरकारले कोभिड–१९ सँग सम्बन्धित क्वारेन्टाइन स्थल बनाएकाले प्राधिकरणको अनुरोधमा ती स्थानहरुमा समयावधि समाप्त भइसकेका इन्टरनेट सेवाको समयावधि मिति २०७६ चैत २३ गतेदेखि २ महिना निस्शुल्क थप गर्ने निर्णय गरिएको छ ।

साथै जीएसएम मोबाइल डाटा सेवा र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दर (Pay as you go) मा उपलब्ध गराइएको छुट क्रमशः ३० प्रतिशत र २७ प्रतिशत लकडाउन अवधिभर निरन्तर रहने छ ।

कोरोना भाइरसको महामारीले सिर्जना गरेको हालको विषम परिस्थितिमा माथि उल्लिखित व्यवस्थाबाट ग्राहकवर्ग तथा समस्त देशवासीलाई आफ्ना परिवारजन तथा मित्रवर्गसँग सञ्चार सम्पर्कमा रहन सहयोग पुग्ने अपेक्षा कम्पनीले गरेको छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.