गर्मीमा चन्द्रशयल, स्नान, पहिरन अनि पसिना सम्मलाई पनि जोडेर माया अनि प्रेमिल जोडीलाई कालिदासले खुबै मज्जाले व्याख्या गरेका छन् ।
भर्खरै संस्कृतका महाकवि कालिदासको ऋतुसंहार कृतीलाई एएनडी हस्कर नाम गरेका विद्वानले अग्रेजीमा अनुवाद गरेका छन्। समाजको चित्रणलाई यूगान्तकारी रुपमा प्रस्तुत गरिएको यस कृतिलाई प्रकृतिसंग पनि निकट अभिव्यक्तिका रुपमा लिइएको छ । अहिले आएर धूलाम्मे, हिलाम्मे, व्यस्त, चटके अनि पीडादायी समाजमा उतिबेलाको शान्त, प्राकृतिक अनि सुन्दर समाजको कालिदासको काव्यात्मक चित्रण अत्यन्तै अद्भूत लाग्दछ। कालिदासको ऋतुसंहारलाई मानवताको अद्भुत दृष्टान्त पनि मानिन्छ, यस कृतिमा प्रकृति, मानवता अनि शान्ति छताछुल्ल भएको छ ।
यिनै अनुवादक अनि काव्यात्मक शोधकर्ता हस्करले संस्कृत भाषा अनि काव्यात्मक अभिव्यक्तिको प्रशंसा गर्दै कालिदासलाई भारतवर्षको शेक्सपीयर भन्दा महत्वपूर्ण अनि महान कवि भनेर भनेका छन् ।
भारतवर्षमा अग्रेज शाषन पछि संस्कृत अनि पूर्वियदर्शन र काव्यमा उति महत्व दिन नसकेको कारणले यस्ता काव्यहरु र रचयताहरुको महत्व घटेको अनुवादकको भनाई छ।
ऋतुसंहारको अर्थ
सबै ऋतुहरु एउटै पलमा आउनु या सम्पूर्ण ऋतुहरुको समिश्रणलाई ऋतुसंहारमा अभिव्यक्त गरिएको छ। ऋतुसंहारको अर्थ अर्को पनि हुनसक्दछ, एउटा यस्तो माला जसमा सबै सम्पूर्ण ऋतुहरु एकै फेरमा गाँसिएका छन्। संहाराको अर्थ एकैपटक आउनु या समुहमा आउनु भन्ने हुन्छ अथवा ऋतुहरुको जन्म र मृत्यूको चक्रलाई पनि बुझ्न सकिन्छ । यस कवितालाई श्रृगांरसमा भिजेको कविता मान्न सकिन्छ, धेरै जनाले त यस कवितालाई अश्लिल पनि मानेका छन् किनभने कालिदासले प्रेम अनि शारीरिक भोगलाई छताछुल्ल पारिदिएका छन् ।
६ वटा ऋतुहरु अनि प्रेमालापलाई श्रृङ्गाररससंग जोडेर कालिदासले प्रस्तुत गरेका छन् । ग्रिष्म, बसन्त, वर्षा, हेमन्त, शरद अनि शिशिर ऋतुलाई यहाँ मायासंग जोडेर प्रस्तुत गरिएको छ । गर्मीमा चन्द्रशयल, स्नान, पहिरन अनि पसिना सम्मलाई पनि जोडेर माया अनि प्रेमिल जोडीलाई कालिदासले खुबै मज्जाले ब्याख्या गरेका छन् । कहिलेकाँही त लाग्छ कि पूर्वीय दर्शनमा माया, शारीरीक भोग अनि प्रेमालापलाई पहिलेदेखि नै पवित्र अनि पावन रुपमा हेरिने गरेका छन् ।
कालिदासका अन्य कृतिहरु भन्दा यस कृति निकै छोटो छ। यस कृति ग्रिष्म कालबाट शुरु हुन्छ। सुख्खा जमिन, घामको राप अनि सुकेको जमिनमा पानीका थोपाहरु प्रतिको आशक्तिलाई मायासंग तुलना गरिएको छ । यसका साथै यस ऋतुमा पाउने आँप अनि चिसो चन्द्रशयलका रात्रिहरु पनि यहाँ वर्णन गरिएको छ। अनि यस ऋतुलाई ल्याएर वर्षाको तप्प तप्प पर्ने पानीका थोपासंग उनले गाँसेका छन् । वर्षाको त्यो पानीको थोपा, बलेसी, बादल, आकाश अनि वातावरणमा देखिएको स्वच्छतालाई प्रस्तुत गरिएको छ। वर्षाको जादूलाई काला बादल, आकाशको गड्याङ्गगुडुङ्गसंग पनि तुलना गरेका छन् । स्मरण रहोस् मौसमका यि सम्पूर्ण सलबलाहटसंगै प्रेम, आशक्ति अनि भोगका कुराहरु पनि प्रतिविम्बित गरिएको छ। वर्षाको समापन संगै चाडपर्वको शरद ऋतु अनि खुला आकाशलाई जोडेका छन कालिदासले । यस ऋतुसंग बालीनाली अनि खेत खलिहान, शितका शुरुवाती थोपाहरु पनि प्रस्तुत गरेका छन् । कालिदासले शरदका दिनहरुलाई दोश्रो ग्रिष्मका रुपमा प्रस्तुत गरेका छन् ।
सिरेटोसंगै चिसो समय, हेमन्त ऋतु अनि निकटतालाई प्रेमसंग जोडेका छन् कालिदासले ।
सम्पूर्ण ऋतुको स्वास्थ्य अनि प्रेम प्रतिको समबन्धलाई कालिदासले अभिव्यक्त गरिदिएका छन् । कोइलीको दृष्टान्त अनि मधुरताको प्रयोग शब्दमार्फत कसैले जानेका छनभने ती कालिदास नै हुन् । पढ्दै जाँदा कालिदास शब्दका भकारी अनि भावका बादल झै हुन भन्ने भान हुन्छ, कालिदास कवितामा जति वर्षिदै जान्छन्, पाठकको मन त्यतिनै भिजिरहन्छ । तामिल भाषामा सन् १९५० मै के सथाशिव आयरले यस कवितालाई अनुवाद गरेका थिए भने धनञ्जय बोर्कारले सन् २०१२ मा मराठीमा पनि अनुवाद गरेका हुन् । आशा छ नेपालीमा पनि यस कृतिलार्इ दुरुस्तै पढ्न पाइनेछ ।
Liked by: