स्मार्तहरूको अपरा एकादशी व्रत
स्मार्त र वैष्णव धार भनेको के हो ?
स्मार्त
स्मार्त भन्नाले हरि, शिव, शक्ति, गणेश र सूर्यको पूजा गर्ने गृहस्थहरूलाई भनिन्छ, उनीहरूले उदाउँदो तिथीलाई खासै महत्त्व दिँदैनन्। जन्माष्टमी, रामनवमी, एकादशी एक दिन अघिको तिथीसँग मिलाएर मनाउने सबै गृहस्थहरूलाई स्मार्त भनिन्छ।
"वैष्णव"
वासुदेव, श्रीकृष्ण वा भगवान् विष्णुलाई मात्र मान्नेलाई वैष्णव भनिन्छ र सबै तपस्वीहरू र गुरु धारण गरेका सन्यासीहरु पनि वैष्णवको श्रेणीमा आउँछन्।वैष्णव सम्प्रदायमा उदय तिथीको ठूलो महत्व छ जसरी एकादशीलाई द्वादशीसँग मिलाएर मनाउने गरिन्छ ।
स्मार्त एकादशीको अर्थ
स्थानीय सूर्योदयको समयमा एकादशी प्रतिबिम्बित हुँदा त्यसलाई स्मार्त एकादशी भनिन्छ । कुनै पनि पक्षको दशमी तिथीको समाप्ति अरुणोदयको दिन अर्थात् एकादशीको दिन सूर्योदयभन्दा दुई घण्टा अघि समाप्त भएको बेलामा वैष्णव वा भागवत एकादशी हुन्छ।अर्थात एकादशी के दिन सूर्योदय भन्दा ९६ मिनेट अगाडि नै स्मार्त एकादशी समाप्त भइसकेको हुन्छ । सामान्यतः वैष्णव एकादशी ,स्मार्त एकादशी को भोलीपल्ट पर्दछ ।
अपरा एकादशी को महिमा
अपरा एकादशीलाई अचला एकादशी पनि भनिन्छ । यो एकादशीलाई भगवान् श्री विष्णुको नाममा समर्पण गर्ने हार्दिक इच्छा छ । दीर्घ स्वास्थ्य अनि आनन्दमय जीवनको स्थपानार्थ वैदिक कालदेखि नै यो एकादशीको महिमा अपरम्पार मानिँदै आएको छ ।
अपरा एकादशीको महिमा स्वयं भगवान् श्री कृष्णले युधिष्ठिरलाई ब्रह्माण्ड पुराणमा बताउनु भएको छ, त्यसको सरल नेपाली अनुवाद आज यस पावन एकादशीमा प्रस्तुत गर्ने जमर्को छ । एक दिन युधिष्ठिरले जनार्दनलाई सोध्छन्, ‘ज्येष्ठ महिनाको कृष्ण पक्षमा पर्ने एकादशी कुन हो रु’ यस एकादशीको महिमा सकल वर्णन गर्न अनि हरिको कृपा सार–संक्षेपमा बुझाउन युधिष्ठिरले श्रीकृष्णसँग आग्रह गर्छन् ।
अपरा एकादशी व्रत कथा
श्रीकृष्णले बडो आदर अनि प्रेमका साथ उजागर गर्छन्, ‘राजा तपाईँले राम्रो प्रश्न सोध्नुभयो, यस प्रश्नको उत्तरले समग्र मानव समाजलाई नै कल्याण गर्नेछ । यस एकादशीको काव्यात्मक रस, भक्ति प्रसङ्ग अनि पावन कृपाले समग्र मानव जगको कल्याण हुनेछ ।’कृष्णजीले थप्दै थपे, ‘हे राजन, ज्येष्ठ महिनाको यस पावन एकादशी अपरा एकादशी हो । यस एकादशीमा व्रत बसेर महिमा गर्ने भक्त विश्वमै विख्यात हुनेछन् । गौहत्या, ब्राह्मण हत्या, भ्रूणहत्या या परस्त्री गमन जस्ता महापाप पनि यस एकादशीको व्रत र भक्ति अनि प्रायश्चित गर्नाले कट्नेछ । ब्राह्मणको वास्तविक अर्थ कुनै जात, धर्म या थरसँग सम्बन्धित नभईकन ज्ञान प्राप्तिका लागि परेका सबैलाई ब्राह्मण श्रेणीमा गणना गरिएको सार अवगत गराउन चाह्यौँ ।’श्री कृष्ण आज्ञा गर्नुहुन्छ, ‘हे राजन, ती व्यक्तिहरू जसले लगत बयान दिन्छन्, सत्यको पक्षमा नलागी असत्यका लागि षडयन्त्र गर्छन् तिनीहरू अत्यन्त पापी ठहरिन्छन् । वेद गलत व्याख्या गर्ने या पढ्ने, आफ्नो कर्तव्य नगर्ने, अरूलाई ठग्ने, खराब पेसा गर्नेहरू सबै महा पापी हुन् ।’श्रीकृष्ण भन्नुहुन्छ, ‘यी सबै महापापीहरूले आफ्नो पापको प्रायश्चित गर्न यस एकादशीमा भक्ति भाव अनि हरिको शरण परेमा पाप मोचन हुन सक्नेछ ।’
हे राजन, ‘म अपरा एकादशीको थप वर्णन गर्दछ ।’ श्रीकृष्णले भन्दै जान्छन् र युधिष्ठिर श्रवण गर्दै जान्छन्, ‘कार्तिक मासमा पुष्कर क्षेत्रमा दैनिक ३ पटक स्नान गर्दा झैँ, माघ मासमा प्रयाग क्षेत्रमा स्नान गरे झैँ, बनारसमा शिवरात्रिको दिनमा आराधना गरेझैँ, गयामा पितृलाई पिण्ड दान गरे झैँ, सिंह राशिमा बृहस्पति प्रवेश गर्दा गौतम नदीमा पवित्र स्नान गरे झैँ, केदारनाथमा शिवको दर्शन गरे झैँ, कुम्भपालामा बद्रीनाथको दर्शन गरे झैँ, कुरुक्षेत्रमा स्नान गरेर गौ या कुञ्ज दान गरे झैँ अपरा एकादशीको व्रत बस्नाले पुण्य प्राप्त हुनेछ ।’
यो दिन व्रत नबस्नेहरू फेरि धर्तीमा जन्म हुनुपर्ने बाध्यता रहन्छ, परमात्मा लीन निम्ति यस दिनको महत्त्व धेरै छ ।
यस दिन त्रिविकर्मको आराधना गरिन्छ । पाप मोचन अनि प्रायश्चितका लागि यस एकादशी भन्दा महत्त्वपूर्ण अन्य तिथिहरू कमै पाइन्छ ।
अपारको अर्थ हो, अनन्त या सीमा नभएको, यस एकादशीको महिमा अनि फल अपार भएकाले नै यस संज्ञा प्रयोग गरिएको हो । यस एकादशीको विभिन्न अन्य नामहरू पनि छन्, जस्तै जलक्रीडा एकादशी, भद्रकाली एकादशी इत्यादि ।
अपरा एकादशीमा के के गर्ने ?
बिहान उठेर सूर्योदय अगावै स्नान गर्ने, भगवान् विष्णुलाई तुलसीको पात, धूप अनि बत्ती बाल्ने, भगवान् विष्णुका मन्दिर दर्शन गर्ने, मन्दिर परिसर या घरमा सबै जना मिलेर वाचकको मुखारबिन्दबाट अपरा एकादशी महात्मै श्रवण गर्ने गरिन्छ ।व्रतालुहरूले फलाहार मात्र सेवन गर्ने या कहीँ कतै निर्जलसम्म पनि व्रत लिने गरिएको पाइन्छ । तथापि एकादशी महत्मयको श्रवणपश्चात् फलाहारका रूपमा कन्दमूल ग्रहण गर्न उचित मानिन्छ । यस एकादशीमा अन्न सेवन अनि शरीरमा तेलको प्रयोग नगर्न सल्लाह दिइन्छ । यी सबै कुराहरूको वैज्ञानिक महत्त्व पनि उत्तिकै छ ।स्मरण रहोस्, एकादशी व्रतमा खानाको मात्र नियन्त्रण भई नकारात्मक सोच र तनावको नियन्त्रण गर्दै परमात्मा हरिमा चित्त लगाउन जरुरी भएको विश्वास गरिन्छ । विष्णु सहस्त्रानामको पाठ एकादशीमा अपरिहार्य मानिन्छ । भजन कीर्तन अनि पवित्रताको साथै भक्ति भावको सामीप्ययतामा यस एकादशी गुज्रियोस् ।
यस एकादशीको अनुग्रह सबैमा रहोस् ।
चित्तधर हृदय जन्म जयन्ती
चित्तधर हृदय को परिचय
चित्तधरको जन्म १९६२ साल जेठ ५ गते काठमाडौँको रक्तकालीमा भएको थियो । उनका बुबा द्रव्यधर तुलाधर साहु र आमा ज्ञानलक्ष्मी गृहिणी थिइन् ।चित्तधरलाई राणा सरकारले उनको कृतिका लागि भनेर १९९७ सालमा जेल हाले । स्वतन्त्र अनि स्वछन्द लेखन र बिम्बहरुको प्रयोगले जादु चलाउन सक्ने चित्तधर लाई राणहरुले आँखाको तारो मानेका थिए । । चित्तधर २००२ सालमा कालो कोठरीको जेलमुक्त भए । त्यसै बेलादेखि यिनले दाह्री पाले । अनि यिनको परिचय नै यही दाह्री भयो । तर यिनले राजा त्रिभुवन र महेन्द्रको निधन तथा आफ्नी पत्नीको निधनमा मात्रै कपाल र दाह्रीजुङ्गा काटेका थिए ।चित्तधरको बिहे भाजुरत्न कन्साकार र ज्ञानमाया कन्साकारकी छोरी ज्ञानप्रभासँग भएको थियो । त्यस बेला यी १४ वर्ष यिनकी पत्नी १२ वर्षी थिइन् । तर यी दम्पतीबाट सन्तान भएनन् ।
चित्तधर हृदयको चर्चित साइकल पसल
चित्तधरले व्यापारलाई आफ्नो पेसा बनाए । उनले आफ्ना मामा मानदास तुलाधरसँग मिलेर भोटाहिटीको कमलाछीमा साइकल पसल थापे । त्यस पसलको नाउँ "ुमानदास चित्तधरको साइकल पसल" थियो । यिनले यसै पसलबाट किताबहरू पनि बेच्थे । त्यति बेला त्यो पसल निक्कै चल्तीको थियो । त्यस पसलमा धेरै साहित्यकारले आफ्नो पत्राचारको ठेगाना पनि दिन्थे । पं. सोमनाथ सिग्देलले पनि आफ्नो पत्राचारको टुङ्गो त्यही दिएका थिए ।चित्तधर हृदय का सृजनाहरु चित्तधरले ३३ वटा पुस्तक लेखे । ती नेपाल भाषामा नै आधारित थिए । उनको एकनिष्ठ लेखन, अविरल सृजना र अनवरत साधनाका कारण राजा महेन्द्रले उनलाई २०१३ सालमा "कविकेशरी" को उपाधि दिए । फणिन्द्ररत्न बज्राचार्यका अनुसार उनलाई च्वसापासाबाट साहित्य शिरोमणि पनि प्रदान गरिएको थियो ।चित्तधरले विभिन्न नाउँबाट साहित्य सृजना गरे । कहिले यिनले बुद्धोपासक चित्तधर भएर लेखे र कहिले चित्तधर उपासक भएर पनि लेखे । यिनले चित्त, हृदय, रूप रत्न उपासक, हृददर्शन उपासक, धर्मवीर, मनमाया र बुद्धिबज्र बज्राचार्य भएर पनि लेखे । वास्तवमा यिनैको प्रेरणाले सिद्धिचरण श्रेष्ठदेखि धर्मरत्न यमीसम्मले मातृभाषामा कविता लेख्न थाले । साथै यिनकै प्रेरणाले केदारमान व्यथित पनि कवि भएका थिए ।
चित्तधरले निजी अध्ययनबाट शिक्षा आर्जन गरे । यिनले कन्यामन्दिर हाइस्कुललगायत विभिन्न शिक्षण संस्थामा पढाए । उनी समाजसेवामा समर्पित थिए । तर साहित्य, शिक्षा र भाषासेवामा उनको मन झट्टै फूर्थ्ये। त्यही कारणले नेपाल भाषापरिषद्को स्थापनामा उनको गुरुत्तर भूमिका थियो । उनी त्यस संस्थाका सचिव, अध्यक्ष र संरक्षकसम्म भए । साथै उनी त्रिभुवन स्मारक समिति र नेपाल चीन सांस्कृतिक परिषद्को उपाध्यक्ष थिए । उनी "झी" मासिक पत्रिकाको पनि संरक्षक थिए । साथै कोलकात्ता नेपाल भाषा साहित्य गोष्ठीको संस्थापक पनि उनै थिए ।चित्तधर नेपाल भाषाका पहिलो गद्य कवि थिए । उनले महाकाव्य, खण्डकाव्य, गीत, कथा, निबन्ध प्रबन्ध, उपन्यास, नाटक, बाल साहित्य, समालोचना र आत्मकथा लेखे । उनी अन्वेषक र सम्पादकका रूपमा पनि चिनिन्थे । उनी प्रकाशक र अनुवादक पनि थिए ।
मनका धनी कवि चित्तधर हृदय
चित्तधर दान दिने कुरामा पनि अग्रसर थिए । उनले आनन्द कुटी पुस्तकालयलाई उनका सङ्ग्रहमा भएका झन्नै एक सय वटा बहुमूल्य किताब दिए । उनले नेपाल भाषा परिषद्लाई आफ्नो जग्गा नै बेचेर नगद दिए । स्वयम्भू विकास मण्डललाई सुनको देउता चढाउने पनि उनै थिए । साथै नेपाल भाषा मङ्का खलःलाई विजेश्वरीको झन्नै एक रोपनी जग्गा पनि उनैले दिएका हुन् । उनी नेपाली सांस्कृतिक मण्डलको उपनेता भएर भारत, चीन र बर्मा पनि गएका थिए ।
२०२८ सालमा काठमाडौँमा भाषण गर्दागर्दै चित्तधरलाई पक्षघात भयो । त्यसपछिको ११ वर्षसम्मको कष्टमय यात्रापछि अर्थात् २०३९ साल जेठ २६ गते हृदयाघातका कारण उनको मृत्यु भएको हो । चित्तधर दिवङ्गत भएको १० वर्षपछि उनको मुहार अङ्कित हुलाक टिकट निक्ल्यो । उनका नाउँमा विभिन्न गुठी र पुरस्कारका स्थापना पनि भइरहे । उनैको सम्मानमा पाँच सय रुपियाँको चाँदीको सिक्का पनि निक्ल्यो । साथै कालीमाटी काठमाडौँमा उनको सालिक पनि निर्माण भयो । उनी नेपाली संस्कृतिका धरोहर हुन ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: