बकर इद (इद ऊल जोहा)
عيد مبارك
इद मुबारक
हिजारी सम्वत
'इद ऊ जोहा' अथवा 'ईल उद अधा', धेरै नामले विश्वभरिका मुसलमान समुदायले यस वर्षको बकर इद पर्व मनाउँदै छन् । इस्लाम पात्रो 'हिजारी सम्वत' अनुसार नयाँ वर्षको 'जुल हिज्जा' महिनाको १०औँ दिन यो पर्व मनाइन्छ । नेपाल सरकारले बकर इदको अवसरमा सार्वजनिक बिदा समेत दिने गरेको छ।
यस दिन बिहान सबेरै उठेर नुहाइ धुवाई गरी शुद्ध हुने र खुला स्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका साथै अङ्गालोमा बाँधिएर एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। नवाज पढेर घर फर्किएपछि खसी, बाख्रा, राँगा र भैँसीको कुर्बानी (वली) दिने परम्परा छ। वली दिइएको पशुको मासु तीन भाग लगाइन्छ, त्यसमध्ये एक भाग आफ्नोलागि अर्को एक भाग आफ्ना नजिकका मित्रलाई र अन्तिम तेस्रो भाग गरिब तथा असहायलाई दिने गरिन्छ।
मुस्लिम धर्मग्रन्थका अनुसार
मुस्लिम धर्मग्रन्थका अनुसार आजभन्दा लगभग चार हजार वर्ष पहिले हजरत इब्राहिमले सपनामा आफ्नो परमेश्वरले आफ्नो सबभन्दा प्रिय वस्तु मलाई चढाउ भनेको देखेपछि आफ्नै छोरालाई आफैले छुरी रोपेर बलि दिएको देखेपछि भोलिपल्ट बिपनामा त्यसै गरी छुरी हान्दा छोरालाई केही नभई आफूसँग रहेको भेडा मरेपछि सोही घटनाको सम्झना स्वरूप यो पर्व मनाउन थालिएको हो। कुर्बानीको उद्देश्य जीवन र मरण सम्पूर्ण नै ईश्वर कोलागि हो भन्ने भावना जागृत गराउनु हो।
हज तीर्थयात्राको यस वर्ष कालागि औपचारिक समापन
हरेक मुस्लिमहरूका लागि जीवनमा एकफेर साउदी अरबको मक्का मा हज तीर्थयात्रा गर्न जरुरी मानिन्छ यसकालागि एउटा निश्चित समय तय गरिएको हुन्छ । आजबाट मक्का मा जाने हज तीर्थयात्राको यस वर्ष कालागि औपचारिक समापन भएको दिन पनि हो ।
आजको दिन मुस्लिम समुदायले आफ्नो परम्परागत पोसाक लगाएर शुभेच्छा, मिठा परिकार तथा प्रार्थनाहरू एकापसमा साटासाट गर्दछन् । नेपाली मुस्लिम समुदायहरूले यो समय आफ्ना गैह्र मुस्लिम साथीभाइहरुलाई डाँकेर मुस्लिम विशेषताले भरिएका अनेक परिकार जस्तै खसीको मासु, बिरयानी तथा अन्य स्वादिष्टमिठाइहरू खुवाउने र खुसीयाली साट्ने गर्दछन् । बहुभाषिक, वहूधार्मिक नेपाली समाज धार्मिक सहिष्णुतामा अनेक धर्मसँगको सामीप्य र सम्मानजनक सामाजिक उपस्थितमा विश्वास गर्छ भन्ने कुराको पनि यो चाडले सन्देश दिन्छ ।
यस दिन सामूहिक आवश्यकतामाथि पनि मानिसहरूको ध्यान खिचिन्छ र हरेक व्यक्ति आफ्नो हैसियत अनुसार पूरा गर्न सङ्कल्प गर्छन् । जुन बाटोबाट इदगाह आइएको हो त्यसैबाट नगई अर्को बाटोबाट घरतर्फ फर्किनु राम्रो मानिन्छ। यसो गर्नुको अभिप्राय बस्तीको कुनै अंश मानिसहरूको चहलपहल र अल्लाहको स्तुतिबाट खाली नहोस् भन्ने हो।
हजरत मुहम्मदको स्वीकृतिले मनाउँदै आएको यस चाडमा गरिबहरू पनि सहभागी बन्न सकुन् भनेर धनी मानिसहरूले आफ्नो सञ्चित धनको २।५ प्रतिशत हिस्सा गरिबहरूलाई दान गर्नु पर्ने नियम छ। अर्कोतर्फ आज अल्लाहको आफूप्रतिको माया र आशिषकालागि मुस्लिम धर्मावलम्बिहरूले जनावरहरूलाई कुरवान् गर्ने चलन पनि छ । गरिएको कुर्बानीको तिन भाग लगाइन्छ जसमा पहिलो भाग इष्ट मित्र अनि छिमेकीलाई दिइन्छ, दोस्रो भाग गरिब र विपन्नहरुकालागि दिइन्छ भने तेस्रो भाग चाहिँ कुर्बानी गर्ने परिवारले राख्दछन् ।
यस दिन बिहान सबै मानिस घरहरूबाट निस्किन्छ जसले गर्दा मुसलमानहरूको एकता बाहुल्य र शानको प्रदर्शन होस। त्यसपछि अल्लाहसँग प्रार्थना गर्न सबै एकत्रित हुन्छन्। ईदको नमाज मस्जिदबाट अलग्गै बस्तीबाट केही टाढा बाहिर खुला मैदानमा पढिन्छ । नमाजका लागि जाँदा सबै मुसलमान यो जप पढ्दै हिंड्छन "अल्लाहू अक्बर, अल्लाहु अक्बर, लाईलाह इल्लल्लाहु वल्लाहु अक्बर अल्लाहु अक्बर वलिल्लाहिल् हम्द" र यसको नेपाली अर्थ "अल्लाह सबैभन्दा महान् छन्, अल्लाह सबैभन्दा महान् छन्, उनका अतिरिक्त पूज्य कोही छैन, अल्लाह सबैभन्दा महान छन्, अल्लाह सबैभन्दा महान छन्, सबै प्रशंसा अल्लाहकैलागि हुन्" भन्ने बुझिन्छ।
यो पर्व तीन दिनसम्म मनाइन्छ र यसरी कुर्बानी गर्न नपाउने मुसलमानहरूले आफ्नो गाउँ लगायतका सामीप्य रहेको स्थानमा पैसा पठाउने गर्दछन् । बकर इद लाई केवल कुबानी अर्थात् बलीसँग मात्र जोडेर हेर्न बन्द गरिनुपर्दछ, वली अर्थात् जीवन लिनु मात्र नभई जीवनको मूल्य बुझेर सम्मान गर्नु पनि हो । आजको यो चाड सद्भाव र शुभेच्छाको चाड हो, सम्पूर्ण इस्लाम अनुयायी दाजुभाइ तथा दिदी बहिनीहरूमा 'इद उल जोहा'को शुभकामना !
धर्मको जय होस्
अधर्मको नाश होस्
विश्वको कल्याण होस्
प्राणीमा प्राण होस्
सबैको जय होस्
निर्जला एकादशी व्रत
स्मार्त र वैष्णव धार भनेको के हो ?
स्मार्त
स्मार्त भन्नाले हरि, शिव, शक्ति, गणेश र सूर्यको पूजा गर्ने गृहस्थहरूलाई भनिन्छ, उनीहरूले उदाउँदो तिथीलाई खासै महत्त्व दिँदैनन्। जन्माष्टमी, रामनवमी, एकादशी एक दिन अघिको तिथीसँग मिलाएर मनाउने सबै गृहस्थहरूलाई स्मार्त भनिन्छ।
"वैष्णव"
वासुदेव, श्रीकृष्ण वा भगवान् विष्णुलाई मात्र मान्नेलाई वैष्णव भनिन्छ र सबै तपस्वीहरू र गुरु धारण गरेका सन्यासीहरु पनि वैष्णवको श्रेणीमा आउँछन्।वैष्णव सम्प्रदायमा उदय तिथीको ठूलो महत्व छ जसरी एकादशीलाई द्वादशीसँग मिलाएर मनाउने गरिन्छ ।
स्मार्त एकादशीको अर्थ
स्थानीय सूर्योदयको समयमा एकादशी प्रतिबिम्बित हुँदा त्यसलाई स्मार्त एकादशी भनिन्छ । कुनै पनि पक्षको दशमी तिथीको समाप्ति अरुणोदयको दिन अर्थात् एकादशीको दिन सूर्योदयभन्दा दुई घण्टा अघि समाप्त भएको बेलामा वैष्णव वा भागवत एकादशी हुन्छ।
अर्थात एकादशी के दिन सूर्योदय भन्दा ९६ मिनेट अगाडि नै स्मार्त एकादशी समाप्त भइसकेको हुन्छ । सामान्यतः वैष्णव एकादशी ,स्मार्त एकादशी को भोलीपल्ट पर्दछ ।
गीतामा भगवान् श्री कृष्ण स्वयम भन्नुहुन्छ कि
पत्रं पुष्पं फलं तोयं यो में भक्त्या प्रयच्छति। तदहं भक्त्युपह्रतमश्रामि प्रयतात्मनस्।।
अर्थात् निस्वार्थ भावनाले भक्तिपूर्वक अर्पण गरिएको फल, पुष्प, जल आदिको म केही नसोची सहजै स्वीकार गर्दछु । यिनै भगवान् श्री कृष्णको नाम लिएर यस वर्षको निर्जला एकादशीको महिमा गान अघि बढाउन चाह्यौँ, कृष्णाअर्पणम ।
निर्जला एकादशीको महत्त्व
यस एकादशी महत्त्वपूर्ण आयामहरू बोकेर आएको छ, यस दिनमा तुलसीका दानाहरूलाई जमिनमा छर्ने चलन हुन्छ, कतिले तुलसीको मोठको माटोमा नै तुलसीका दानाहरू अर्थात् मञ्जरीहरू छर्दछन् भनेँ कतिले चाहिँ जमिनमा सफा पारेर माटो फुरुरु बनाएर तुलसी छर्दछन् । यस दिन छरिएका तुलसीहरूको अङ्कुरण भएपछि ती बिरुवाहरूलाई पछि ठुली एकादशीमा रोप्ने गरिन्छ । हरिको जयजयकार मनाउँदै आज यस एकादशीको भव्य स्मरण गरिन्छ ।
वर्षभरिका एकादशीहरूमा आफ्नै प्रकारको विशेषता भएको निर्जला एकादशीको महिमा आफ्नै प्रकारको अनि विशिष्ट छ । निर्जला अर्थात् जल बिनाको एकादशी, यस एकादशीलाई जल बिना व्रत लिने गरेर भक्तिपूर्वक पालना गरिन्छ । जल नै नलिने भएपछि खाना या फलाहारको त कुरै भएन, नितान्त रूपमा भोकै अनि पवित्र मनले यस एकादशीमा चित्त अनि शरीरका हरेक अवयवहरूमा सकारात्मक ऊर्जा र शक्ति सञ्चार गर्ने चलन रहन्छ । यस एकादशीलाई पाण्डव एकादशी अनि भीम एकादशी पनि भनिएको पाइन्छ, आउनुहोस् यस एकादशीको महाभारत र पाण्डवसँग जोडिएको एउटा किस्सा सविस्तार सुनौँ ।
निर्जला एकादशी व्रत कथा
५ पाण्डव अनि द्रोपति गरि ६ जना नै हरेक एकादशीको व्रत बस्ने चलन थियो तर खानाका अत्यन्त सौखिन र खाने कुरामा सम्झौता गर्न नसक्ने भीमले भने व्रतका क्रममा कहिल्यै आफ्नो खानाप्रतिको आशक्ति तोड्न सकेनन् । भीम यस कुराले चिन्तित थिए र गएर गुरु व्याससङ यस समस्या सुनाए । अनि गुरु व्यासले भीमको कुरा सुनेपछि वर्षभरिका सम्पूर्ण एकादशीको फल एकै पटक पाउन निर्जला एकादशीको व्रत बस्न भीमलाई बताउनुहुन्छ । यसरी यस एकादशी भीमले रितपूर्वक पालन गर्दछन्, यसपछि यस एकादशीलाई भीम एकादशी अनि पाण्डव एकादशी पनि भनिन्छ ।
यस एकादशीमा के के गरिन्छ ?
ज्येष्ठ शुक्ल एकादशीका रूपमा यस निर्जला एकादशीको व्रत पश्चात् द्वादशीका दिनमा बिहान उठेर, चोखो भएर अनि दान पुण्य गरेर मात्र भोजन लिने चलन छ । भगवान् विष्णुको कीर्तन अनि भजनको यस एकादशीमा विशेष महत्त्व रहन्छ, एकादशी महत्मय, बिष्णुसहस्त्रानाम लगायतका ग्रन्थहरूको अध्ययन अनि व्याख्याको विशेष महत्त्व राख्ने यस एकादशीमा माटोको भाँडो, बाँसले बनाएको हाते पङ्खा लगायतका कुरा दान गर्ने चलन छ । निर्जला एकादशीभन्दा एक दिन अगावै सन्ध्या वन्दना गर्ने चलन रहन्छ, यसो गर्दा अचामनीवाट पवित्र पानी लिएर हत्केलामा राखी पवित्रताका साथ आरती र वन्दना गरिन्छ । एकादशीकै दिनमा आफ्ना बिचार र सोचमा विष्णुलाई राख्न सुझाव दिइन्छ, विष्णुको शालिग्राम स्वरूपलाई स्नान गराउने, अभिषेक गराउने, पञ्चामृत अर्पण गर्ने र पवित्र कपडामा बेरेर राख्ने चलन छ ।
एकादशीको रातमा जाग्राम बस्ने चलन पनि पाइन्छ । मार्कण्डेय पुराण अनि विष्णु पुराणमा भने यस एकादशीको पवित्र चित्तका साथ व्रत बस्नाले सम्पूर्ण पाप मोचन हुने र सोझै वैकुण्ठ प्राप्त हुने लेखिएको छ । जाँदाजाँदै महाभारतको प्रसङ्ग छाडेर जान्छौँ, भीमले आफ्नो सम्पूर्ण भोजनका आशक्तिलाई काबुमा राखेर यस एकादशी व्रत लिन्छन् तर भोलिपल्ट बिहान भीम भोक र प्यासका कारण अर्धचेतनमा पाइन्छन् । त्यसपछि भीमलाई गङ्गाको पवित्र पानी र तुलसी पात दिएर उठाइन्छ । यस एकादशी आशक्ति अनि चाहना माथिको विजय प्राप्त गर्ने एकादशी पनि हो, यस वर्षको निर्जला एकादशीमा सबको कल्याण होस् ।
विश्व खडेरी विरुद्ध सङ्घर्ष दिवस
प्रकृति अनुसार हामी चल्न जरुरी
हामी बसेको संसार र सृष्टिमा प्रकृति नै सबैभन्दा विशाल, अद्भुत-अद्वितीय कुरा हो । प्रकृतिलाई हामीमध्ये कसैले पनि आफ्नो बसमा राख्न सम्भव छैन तर प्रकृतिलाई सुहाउँदो वातावरण सृजना गरी त्यसको जर्गेना गरी भावी पुस्ता कालागि यसका असीम सम्भावना तथा निर्विकल्प महत्त्वको ज्ञान हस्तान्तरण गरेर यसको संरक्षण गर्न सक्दछौँ । एउटा कुरा प्रस्ट छ! प्रकृति हामी अनुसार चल्दैन, प्रकृति अनुसार हामी चल्न जरुरी छ ।
विश्व खडेरी विरुद्धको दिवस: पृष्ठभूमि
बढ्दो मरुभूमीकरण र खडेरी विरुद्ध विश्व समुदायमै जनचेतना बढाउन र ऐक्यबद्धता कायम गर्न कालागि सन् १९९५ देखि हरेक वर्ष विश्व समुदायले विश्व खडेरी विरुद्धको दिवस मनाउँदै आएको छ । वातावरणीय संरक्षण र दीर्घकालीन भूमि ब्यस्थापन गरी दुई वटा मुख्य बुँदामा पैरवी गर्न यस दिवसको सुरुवात गरिएको हो ।
खाद्य सुरक्षा देखि वातावरणीय मुद्दाहरू, भू-संरक्षण लगायत विभिन्न कुराहरू यो विशेष दिनले विश्वसमाज माझ निरन्तर प्रकाश पार्ने काम गर्दै आएको छ । खडेरी या मरुभूमि करणको कुरा गर्दाखेरि भौगोलिक परिरस्थितिनुसारका अनेक मानवीय क्रियाकलाप अनि प्रकृतिसँग निरन्तर भई रहने अविवेकी प्रयोग नै २१ औँ शताब्दीमा प्रकृतिले भोग्दै आएको समस्या हो ।
केही हदसम्म खडेरीलाई प्राकृतिक असरका रूपमा पनि व्याख्या गरिएको छ जहाँ स्थानीय मौसममा व्यापक फेरबदल हुन्छ र भूमिको उत्पादक क्षमतामा कमी हुन आई उत्पादनशील भूमि क्रमशः अनुत्पादक हुन थाल्दछन् । यसै गरी अधिकतम भूमिहरू अनुत्पादक भएको भयावह अवस्था नै मरुभूमि करण हो । भूमिमा आश्रित मानव समुदाय, कृषि कार्य, पशु पालन र मुख्य कुरा अन्न उत्पादनमा कमी हुन आई खडेरी र मरुभूमि करणले अन्ततः गरिबी बढाउँदछ ।
मानव जनसङ्ख्याको वृद्धि सँगै पछिल्ला शताब्दीमा भूमिको वितरण, विभाजन अनि उपयोग वास्तवमै दुःखदायी तवरले भएको विश्व मानचित्रका लगभग सबै देशहरू खडेरी र मरुभूमी करणको ढिलो-चाँडो जोखिममा छन् ।
नेपालमा त झन् हामीलाई मलिलो उर्वर खेतबारी भन्दा कङ्क्रिटको जङ्गल ठ्याउन घडेरीको मोहमा वृद्धि हुन थालेको छ । घडेरी जोडेर घर बनाएर बस्नमा हामीले जीत त सम्झन्छौँ तर खेत अनि तिनको उत्पादकत्वले हाम्रो भान्सामा आगो बलेको र पेटको भोक शान्त पार्छ भन्ने कुरा हामीले बुझेर पनि बुझ पचाई रहेका छौँ ?
भूमिको वास्तविक प्रयोग कृषि हो तथापि विश्व मानचित्रमै भू-माफिया र रियल स्टेट व्यापारको वृद्धिसँगै दुर्भाग्यवश भूमिको दुरुपयोग र भू-उपयोगको गलत व्याख्या गर्न थालिएको छ । यसै कारणले नै होला आज विश्व भरिका ८१ करोड मान्छेहरू खाद्यान्न सङ्कटको असरमा छन् । नेपालकै उदाहरण लिउ न, गएका केही दशकहरूमा भूमिको अनुचित प्रयोग, कृषि कार्यमा कमी, पानीको सङ्कट र प्लटीङ्ग गरेर घडेरी बनाउन डाँडा काट्ने, सम्म्याउने अनि कति त्यस्ता जग्गाबिच बाटो बनाउने क्रममा हामीले कति नदीनाला, पोखरी, ताल अनि अन्न उत्पादन हुनसक्ने धर्तीको वली चढाएका छौँ ?
ठुला ठुला हवाईजहाज, कम्प्युटर र मेशिन बनाउन सक्ने प्रयोगशालाले एक चिम्टी माटो आफैले बनाउन सकेको छैन, कतै सुन्नुभएको छ त माटो बनाउने कारखाना ? छैन नि ! स्मरण रहोस् विश्वको सबैभन्दा दुर्लभ र प्राण धान्ने कुराहरू नै माटो, पानी, आकाश, अग्नि र हावा नै हुन । पञ्च तत्त्वका रूपमा वैदिक सनातन संस्कारले यी कुराहरूको संरक्षण कालागि आव्हान गरेको छ ।
सन् २०२४ को विश्व खडेरी विरुद्धको दिवसको नारा
यस वर्षको विश्व खडेरी विरुद्धको दिवसको नारा, “United for Land: Our Legacy. Our Future.” भन्ने रहेको छ ।
-हाम्रो पात्रोकालागि सुयोग ढकाल
Liked by: