Gobardan Pujaaa | Hamro Patro

ब्लग - साहित्य / चाडपर्व तथा दिन विशेष लेखहरू

गोवर्धन पूजा/गाईगोरु पूजा/म्हपूजा/हलि तिहार/नेपाल सम्वत ११४५ प्रारम्भ





गोवर्धन पूजा
आज गोवर्द्धन पूजा अर्थात् यम पञ्चकको चौथो दिन । काग, कुकुर गाई हुँदै आजको दिन प्राचीन कृषि कार्यमा संलग्न जीव गोरुको पूजा गर्ने गरिन्छ । कृषि प्रधान देश नेपालमा आजको दिनले आफ्नो अणुवांशिक पहिचान गुमाएर साँढेबाट हल गोरुमा परिणत जीवले हाम्रो कृषि जीवनमा राखेको महत्त्वका कारण सम्झिने गरिन्छ ।

श्रीमद्भागवत गीतामा उल्लेख प्रसङ्ग
भगवान् श्रीकृष्णले स्वर्गका राजा इन्द्रको क्रोधबाट गोकुलस्थित द्वारिकावासीमा आइपरेको अविरल वर्षाबाट निम्तिएको महाविपत्तिबाट बचाउन आफ्नो कान्छी औँलाले गोवर्धन पर्वतलाई उठाएर त्यस मुनी द्वारिकावासीलाई ओत लगाएर बचाएको श्रीमद्भागवत गीतामा उल्लेख छ । भगवान् श्री कृष्णसँग आजकै दिन इन्द्रले आफ्नो क्रोधयुक्त व्यवहारप्रति खेद प्रकट गरेको र माफी मागेको पनि उल्लेख छ । आजको दिन, श्री कृष्णले आफ्नो औँलाले उठाउनुभएको त्यही गोवर्द्धन पर्वतको पूजाआजा गरिन्छ । यसरी गोवर्धन पर्वतको पूजाआजा गर्दा गाईवस्तु गोबरलाई नै गोवर्धन पर्वतको प्रतिकका रूपमा पुज्ने चलन रहिआएको छ ।

गोवर्धन का साथ आज गोरुको पनि पूजा गरिन्छ र यसकासाथै आज कृषि औजारहरुको पनि पुजा गरिने दिन हो । श्रावणमा खेत जोतेर राखिएको हलो बिचबिचमा खेतबारी खोस्रन निकालिने गरिन्छ र हलोसँगै हलगोरु पनि जोतिइरहेका हुन्छन् । आजको दिन यी हलगोरु अनि हलोको पूजा गर्ने दिन हो । हलोको तलपट्टि जमिनलाई खोस्रिन धातुबाट बनेको चुच्चोलाई फाली भनिन्छ भने हलो र गोरुको काँधलाई जोड्ने काठलार्इ जुवा भनिन्छ । आजको दिन कृषि कार्यका यी सम्पूर्ण उपकरणहरू लगायत गोठ, पराल अथवा खानेकुरा दिइने नादी, कुटी काट्ने कचिया (गँणासी) इत्यादीको पूजा गरिन्छ ।

प्राचीन नेपाली समाजको स्मरण गर्ने हो भने गोरु गाडा लगायतका जनावरले तान्ने गाडाहरू नै एक ठाउँबाट अर्को ठाउँ पुग्ने यातायातको प्रमुख माध्यम अनि कृषि कार्यका प्रमुख आधारहरू थिए। यी नै गोरुहरू अनि बहर कालागि आजको दिन पिठो, नुन, चोकर र पानी मिश्रित घोलका साथै चामलको पिठो र तिहुन हालेर बनेको गिलो रोटी अर्थात् बावर खान दिइन्छ ।

म्ह पूजा
म्ह को शाब्दिक अर्थ
नेवारी समुदायमा आजको दिन म्ह पूजा भनेर धूमधामकासाथ मनाउने चलन रहेको छ, नेवारी भाषामा एक अक्षरले बनेका शब्दहरूको बाहुल्यता पाइन्छ, म्ह को शाब्दिक अर्थ चाहिँ देह या शरीर भन्ने बुझाउँदछ र यसर्थमा म्ह पूजाको अर्थ आफ्नो देहप्रतिको आदर युक्त याचना हो । आजको दिन आत्मतत्तवलाई बोध गराउने अनि सजीवताको आभास गराउने दिन पनि हो । नेवारी भाषामा म्ह शब्दको प्रयोग र इतिहास केलाउँदै जाने हो भने यसको प्रयोग उपसर्ग र प्रत्ययका रुपमा व्यापक रूपमा वोलिचालीका वाक्याशंहरुमा प्रयोग भएको पाइन्छ । जस्तै छित म्ह फुला ? अर्थात् तपाईँलाई सन्चै छ ?

म्ह फु अर्थात् सन्चै छ
म्ह मफु अर्थात् सञ्चो छैन

म्ह अर्थात् देह वाचक अनि चेतना प्रदायक शब्द, चेतना नभएका अनि जड वस्तुहरूमा म्ह को प्रयोग हुँदैन । यसै चेतना अनि स्व-तत्त्वलाई उजागर गर्दै नेवार समुदायमा आज म्ह पूजा मनाउने चलन रहेको छ । नेवारी समुदायमा आफ्नै शरीर भित्रको चेतना प्रदायक यस आत्मतत्व अनि परमात्मालाई पूजा गर्दै आजको दिन आफ्नै अभूतपूर्व शरीरको पूजा गरिन्छ । शरीरमा शान्ति नभईकन शान्ति नहुने विश्वास अनुरूप आजको दिन अष्ट चिरञ्जीवीको प्रतीक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्म स्वरूप पूजा गरिन्छ र सोही मण्डपमाथि विभिन्न खाद्यवस्तु राखेर आफैँले आफैँलाई खुवाइन्छ ।

अन्य वर्षहरूमा आजकै दिन नेवार समुदायले नेपाल संवतको नयाँ वर्ष अर्थात् पहिलो दिन अर्थात् न्हुदँया भिन्तुना (नयाँ वर्षको शुभकामना आदान प्रदान) गर्ने चलन छ ।

हली तिहार
आजको दिन गाई गोरु, हलिफाली अनि अन्य कृषिजन्य औजारहरू पूजा गर्ने चलन छ । कृषिप्रधान नेपाली दैलोहरूमा हिउँदको सुरुवातसँगै वर्खायामभरि थन्काएर राखेका हलो, कुटो, कोदालो लगायतका औजारहरू बाहिर निकालेर आजका दिन पूजा गर्ने चलन छ । यस कारण पनि आजका दिनलाई हल तिहार भनिएको हो ।

कृषि कर्ममा सहयात्रा गर्ने जीवहरू गाई, गोरु लगायतको पनि आज पूजा गरिन्छ, उहिले उहिले त आजको दिन गाईको गोडा मुनीबाट छिर्ने चलन पनि थियो भन्ने लोक उक्तिमा पाइन्छ । आज गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदै छ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाई पूजा गर्ने परम्परा रहेको हो ।

अनि तपाईँको के छ त योजना ? जाने हैन त देउसी खेल्न ?
वलिराजाले पठाएका भनेर मानिने टोल छिमेकका पुरुषहरूको यो साङ्गीतिक दस्ता जसलाई देउसे भनिन्छ अनि यिनीहरूले गाउने अनि प्रस्तुत गर्ने साङ्गीतिक कोसेली, जसलाई देउसी भनिन्छ ।

देउसीमा एक जना भट्ट्याउने व्यक्ति हुन्छन्, सामान्यतया भाका, स्वर अनि छन्दमा यी भट्ट्याउने व्यक्ति जानकार हुन जरुरी छ । केही देउसीका सर्वप्रिय भाकाहरू बाहेक धेरै अन्य पक्तिंहरु परिस्थितिपरक हुन सक्छन्, कहिलेकाहीँ देउसेको अपेक्षाअनुरूप देउसीको दक्षिणा नपाउँदा चाहिँ
यो घर हेर्दा सिँहदरवार जस्तो
आँगन हेर्दा टुँडिखेल जत्रो
दक्षिणा हेर्दा माग्नेलाई जस्तो
केराको थम्बा
हामी यति जना भाइ जम्मा
झिलिमिली झिल्ला
ताते रोटी मिल्ला जस्ता पत्तिंहरु हामी मध्य धेरैको बाल्यकालसँग जोडिएको होला ।

देउसीले दिएको आशिषले साँच्चीकै विशेष मान्यता राख्दछ,
यसपाला आउँदा जस्ताको छाना
अर्को साल आउँदा पक्काको छाना
त्यसपछि आउँदा चाँदीको छाना
त्यसपछि आउँदा सुनको छाना
यो घरैका केटा केटी

दुवो मौलाजस्तै मौलाइमा रहुन् जस्ता आशिषहरु साँच्चीकै समय सान्दर्भिक छन् । वास्तवमै हामी सबैलाई देउसीले दिएको आशिष् लागोस्, सद्भाव बढोस् । आजको दिन रिस राग सबै भुलेर छरछिमेकको घरमा देउसी खेल्न जाने र सद्भाव बढाउने चलन छ । देउसी वाट उठेको रकमले कुनै सामाजिक कार्य गर्ने या बाँडेर लिने या वनभोज जाने पुरानो रित्ती नेपाली समाजमा पुस्तौँ पुस्ताले दोहोर्‍याइरहेको छ ।

आजको दिनको हार्दिक शुभकामना ।

नेपाल संवत् ११४४



आजको दिन नेपाल उपत्यका भित्र र बाहिर जुनसुकै स्थानमा बसोवास गर्ने नेवार समुदायले नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात् "न्हूदँया भिन्तुना" (नयाँ वर्षको शुभकामना आदान प्रदान) गरी जातीय एकता र पुर्ख्रयाैली साझा मौलिक संस्कृतिका रूपमा विकास भएको म्ह पूजालाई आफ्नो-आफ्नो परम्परागत चलन अनुसार हर्षोल्लासपूर्ण रूपमा मनाइन्छ । विशेषतः नेवार समुदायले मान्ने यो संवत् नेपालको मौलिक संवत् पनि हो ।

राष्ट्रिय विभूति शंखधर साख्वाः
राष्ट्रिय विभूति शंखधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर चलाएको संवत् नै नेपाल संवत् हो । यस उपलक्ष्यमा ‘न्हूदँया भिन्तुना’ भन्दै देशैभरी र विदेशमा समेत भिन्तुना र्‍याली निकालिन्छ । नेपाल संवत् चन्द्रमासमा आधारित समय चक्र अथवा साल हो । विक्रम संवतको कार्तिक शुक्ल पक्षका दिनमा नेपाल संवतको प्रथम दिन पर्दछ । भक्तपुरका राजा राघव देवको पालादेखि चन्द्र शमशेरको पालासम्म सरकारी कार्यलयमा नेपाल संवतको प्रचलन रहेको इतिहास छ । १२ वटा औंसीको एकवर्ष मापन गरिएको यस संवतमा एउटा औंसीबाट अर्को औंसीसम्मको मापनलाई एक महिना मानिएको हुन्छ र यस सवंतमा ३५४ दिनको एक वर्ष पर्न जान्छ । नेपाल संवत् अनुसारका महिनालाई क्रमशः कछला, थिंला, पोंहेला, सिल्ला, चिल्ला, च्वला, बँछला, तँछला, देल्ला, गुँला, ञला र कौला भनिन्छ । आधिकारिक रूपमा चलनचल्तीमा प्रयोग बढिरहेको यस संवतलाई नेपाल सरकारले पनि आधिकारिक मान्यता दिएको छ । नेवारी समुदायमा भने यस संवतको व्यापक प्रयोग र मापन गरिएको पाइन्छ ।सबैमा नेपाल संवत् ११४४ को कछला महिनामा स्वागत छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.