अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस | Hamro Patro

ब्लग - साहित्य / चाडपर्व तथा दिन विशेष लेखहरू

अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस




अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस विशेष अडियो सामग्री

हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस का रूपमा मनाउने निर्णय संयूक्तराष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको रहेछ । यस दिनको एउटा मात्र उद्देश्य भनेको विश्व समुदायलाई लागु औषधको असर र कारोबारबाट मुक्त गराउनु हो ।

वर्ष २०२४ को नारा
“The evidence is clear: invest in prevention” अर्थात् रोकथाममा लगानी गर्नुपर्ने कुराको प्रार्थमिक्ता प्रमाणित भइसकेको छ भन्ने अर्थ लाग्दछ ।विश्वमा अधिकांश लागु औषधका प्रयोगकर्ता अनि कारोबारीहरू युवा नै छन् किनभने यो उमेरमा मान्छेहरू अत्यन्त जोखिम अनि तरल अवस्थामा हुने गर्दछन् भनेर मनोविज्ञहरुले बताउँदछन् । अझ थोरै समयमा धेरै पैसो कमाउने लालसा अनि नशाको लतले त झन् युवाहरूलाई जोखिमको घेरामा राखिरहेको पाइन्छ । विश्वमा गएको शताब्दीबाट लागु औषधको कारोबार को गुणा धेरै बढेको पाइन्छ, लागु औषधको असन्तुलित प्रयोगले मात्र विश्वमा हरेक वर्ष १९०००० मान्छे मर्ने गर्दछन् भने यसको प्रयोग गर्ने मान्छेहरूको सख्याँ यकिन गर्न सक्ने अवस्थामै छैन । सन् २००१ मा भारतमा सरकार अनि अल ईण्डिया मेडिकल स्कुलको संयुक्त सर्भे क्षणले करिब ७ करोड २५ लाख मान्छे लागु औषध प्रयोग गर्ने पाइएको थियो भने यो सख्याँ अहिले आएर दोब्बर भन्दा धेरै भएको अनुमान छ । खुल्ला सिमाना अनि प्रत्यक्ष प्रभावका कारण नेपाल पनि यस समस्याबाट अछुतो छैन, लागु औषध कारोबारले अपराध र अराजकता निम्त्याउने पक्का त छ नै साथै विभिन्न रोगहरू जस्तै एचआइभी, हेपाटाइटिस लगायतहरु पनि यस कारणले पनि सर्ने गर्दछ ।

नेपालमा हिप्पी संस्कारपछि बढ्दै गएको लागु औषधको कारोबार
नेपालमा पनि लागु औषधको कारोबार र प्रयोग सन् १९६० पश्चात्को हिप्पी संस्कारपछि बढ्दै गएको पाइन्छ, गाँजाको अनधिकृत खेती र प्रयोग अनि भारतबाट सहजै आयात गर्न मिल्ने पदार्थ र फितलो राज्यव्यवस्थाका कारणले अहिले नेपाल पनि लागु औषधको कार्य भूमि बन्दै आएको बताइन्छ । उता ओखती अनि डाक्टरी कागजको उपयोग गरेर विभिन्न लागु औषध किनेर खाने र सुई हान्नेको जमात पनि नेपालमा बढ्दो छ जुन अत्यन्त दुक्खलाग्दो कुरा हो । सडक बालबालिकाले डेन्ड्राइट नामक सुँघेर नशा लाग्ने तत्त्वको प्रयोग खुलेआम गरिँदा पनि प्रशासन लगभग मौन नै देखिन्छ । नेपालका विभिन्न सहरहरूमा व्यवसाहीक रूपमै खोलिएका दुर्व्यसन सुधार केन्द्रहरू अनि तिनको व्यवसाहीक सफलताले हाम्रो वास्तविक अवस्था बयान छ । आजको यस विशेष दिन अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसमा नेपाली सरकार, समुदाय अनि सरोकारवालाले यस विषयमा संवेदनशीलताका साथ हातेमालो गर्नुपर्ने देखिन्छ ।लागु औषधको सेवनले हिरो हैन जीरो बनाउँदछ भन्ने कुराहरू आउँदा नेपाली पुस्तालाई दिन जरुरी छ । चुरोटका ठुटा वाट खोक्दै सुरु गरेको नशा यात्रा गएर कहाँ अनि कति पर सकिन्छ थाहा हुँदैन, जीवनमा रस खोजौँ नशामा हैन भन्ने कुराको जानकारी सबैलाई गराउन पर्ने देखिन्छ ।

उता नेपालमा कमजोर राज्यव्यवस्थाको उपयोग गर्दै लागु औषध तस्करका ठुलै सञ्जाल सक्रिय रहेको पनि बताइन्छ । उनीहरूको सञ्जाल विमानस्थल, भन्सार, सीमा अनि आयात निर्यात केन्द्रमा प्रभावशाली रहेको पाइन्छ । सामान्य वैदेशिक कामदारले ल्याएको टिभीको पनि खोलेर तलासी लिने अनि दुख्न दिने सरकार अनि कर्मचारीको नाकैमुनीवाट हजारौं किलो लागु औषध ल्याइन्छ तर त्यो भने देखिन्न । आजको दिन हामी सबैले लागु औषधको कारोबार र तस्करका विरुद्ध एक हुन पर्ने अनि त्यसै अनुसारको कानुन र त्यसको प्रभावकारी पालनका लागि पैरवी गर्नु पर्ने देखिन्छ है । अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस मा सबैको यस तर्फ ध्यान जाओस् ।

-हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.