पशुपतिनाथको छाया दर्शन
हिउँद अब क्रमशः ओरालो लाग्दै छ, सूर्य नारायणको दिशा उत्तरायण तर्फ लागेपछि दिनहरू लामा र न्याना हुन थालेका छन् । उत्तरायणको सुरुवात सँगै पशुपतिनाथ मन्दिर मा एउटा विशेष अवसरको आयोजन हुन्छ, , पशुपतिनाथको छायाको दर्शन गर्ने ।
"यस्य स्मरणमात्रेण पाशबन्धात् प्रमुच्यते।
पशूनां पतिमित्युक्तं तं नमामि पशुपतिम्॥"
रुद्र संहिता, शिव पुराण
“मात्र स्मरण गरेकै भरमा संसारिक बन्धनबाट मुक्त गर्नसक्ने ती भगवान् पशुपतिलाई म नमन गर्छु, जो सम्पूर्ण प्राणिहरूका स्वामी हुनुहुन्छ।”
माघ शुक्ल चतुर्दशी
हरेक वर्ष माघ शुक्ल चतुर्दशी का दिन विशिष्ट अर्चना गरेर सर्वसाधारणलाई पशुपतिनाथको शिव लिङ्गको छाया दर्शन गराउने चलन छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा र स्थानीय नेवा समुदायका भक्तजनहरूले पशुपतिनाथको शिव लिङ्गलाई आजका दिन पूजा गर्ने र नयाँ मुकुट पहिराउने चलन रहेको छ । यसरी पूजा अर्चना सकिएपछि मन्दिरको दक्षिणपट्टिको चोकमा जल भरेर शिव लिङ्गको छाया प्रतिबिम्बित गराई त्यस स्थानमा आउने भक्तजन तथा तीर्थयात्रीलाई दर्शनको प्रबन्ध मिलाउने गरिन्छ।
सनातन सभ्यताको केन्द्रबिन्दु अनि इतिहास भन्दा पनि पुरानो विश्वभरिका हिन्दुहरूको आराध्य देव पशुपतिनाथ क्षेत्र देव पतन, जय बागेश्वरी, गौरी घाट, चाबहिल, कुटुम्वाहल, सिफल, गौशाला, पिगंलास्थान र श्लेष्मान्तक वन आसपासको विशाल क्षेत्रमा फैलिएको छ । पवित्र बाग्मती नदिका प्रवाहले सिञ्चित पाशुपत क्षेत्रभित्र करिब ४९२ साना ठुला विभिन्न शैलीका मन्दिर, सत्तल, ढुङ्गे धारा, देवालय, मठ लगायत करिब १ हजार शिव लिङ्ग रहेको पाइन्छ ।
यस दिन पशुपतिमा विशेष रहन्छ, आराध्य देवको प्रतिमाको छाया हेर्न भक्तजनहरूको विशेष घुँईचो रहन्छ । यसरी छाया हेर्ने समय भनेँ दिउँसो देखि साँझको आरती नहुन्ज्यालसम्म हेर्न पाइने प्रबन्ध मिलाइएको हुन्छ । मौका मिलेसम्म यस पवित्र अवसरमा दर्शन गर्न जान नभुल्नुहोला ।
विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस
दिगो विकासका लागि सन् २०३० एजेन्डा सहित अन्तर्राष्ट्रिय रूपमा सहमत विकास लक्ष्यहरू प्राप्त गर्न विज्ञान र लैङ्गिक समानता दुवै महत्त्वपूर्ण छन्। विगत १५ वर्षहरूमा, विश्वव्यापी समुदायले महिला र बालिकाहरूलाई विज्ञानमा प्रेरित र संलग्न गराउन धेरै प्रयास गरेको छ। तैपनि महिला र बालिकाहरू विज्ञान र नवप्रवर्तनमा पूर्ण रूपमा भाग लिनबाट वञ्चित छन्।
विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवसको नवौं श्रृखलामा स्वागत छ ।
उच्च शिक्षामा विज्ञान प्रविधिगत क्षेत्रमा महिला सहभागिताको विश्वव्यापी तथ्याङ्क हाल विश्वभरका अनुसन्धानकर्तामध्ये ३० प्रतिशतभन्दा कम महिला छन्। सन् २०१४ देखि २०१६ सम्मको युनेस्कोको तथ्याङ्क को अनुसार, केवल ३० प्रतिशत महिला विद्यार्थीहरूले उच्च शिक्षामा STEM-सम्बन्धित क्षेत्रहरू छनौट गर्छन्। STEM-सम्बन्धित क्षेत्रहरू भन्नाले साइन्स, टेक्नोलोजी, इन्जियनरिंग र म्याथम्याटिक्स क्षेत्र भन्ने बुझिन्छ । विश्वव्यापी रूपमा, महिला विद्यार्थीहरू, आईसीटी (३ प्रतिशत), प्राकृतिक विज्ञान, गणित र तथ्याङ्क (५ प्रतिशत) र इन्जिनियरिङ्, उत्पादन र निर्माण (८ प्रतिशत) गरी कम छन्।
सन् २०२५ को विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवसको नारा
सन् २०२५ को विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवसको दशौँ श्रृखलामा संयुक्त र्राष्ट्रिय सङ्घले Unpacking STEM Careers: Her Voice in Science" भन्ने नारा तय गरेको छ । स्टेम शिक्षामा महिलाको आवाज र सहभागिता भन्ने अर्थ लाग्ने यस नाराले वर्ष २०२५ को यस दिवसलाई निर्देशित गरेको छ । आजको दिन यूनेस्कोको सचिवालय फ्रान्सको पेरिसमा विज्ञानमा महिलाको पहुँच विषयक गोष्ठी आयोजना हुने, हाम्रो जीवनमा प्रभाव पार्ने महिलाहरू शीर्षकको वृत्तचित्र प्रदर्शन गर्ने लगायत विश्वभरि नै थुप्रै कार्यक्रमहरू तय गरिएको छ ।
लैगिंक समानता आजको आवश्यकता र चुनौती दुवै हो, प्रविधि र सूचना पहुँचमा महिलाहरूको समान पहुँच बनाउनका लागि विभिन्न दिवस र अभियानहरू चलाइने गर्दछ जसमा हरेक वर्ष फेब्रुअरी ११ तारिखको विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस पनि एक हो ।
महिला समानताको लागि थुप्रै पहल संसारभरि नै हुने गर्दछ। तर, दिन प्रतिदिन विज्ञानको महत्त्व बढिरहेको हाम्रो युगमा यदि हाम्रा महिलाहरू विज्ञानमै पछाडि रहे भने, आउँदो समयमा के महिला सशक्तीकरण सम्भव छ त रु हामी मध्य धेरैले यो कुरा सोचेका छैनौ होला। त्यसै कारण हरेक वर्षको फेब्रुअरी ११ का दिन संयुक्त राष्ट्र सङ्घले यो चिन्ताको विषयमा प्रकाश पार्न आजको दिन मनाउने गरेको छ।
आजको दिवसको सबैलाई अर्थपूर्ण शुभकामना ।
सुरक्षित इन्टरनेट दिवस
सन् २०२५ को ७ फेब्रुअरीमा सुरक्षित इन्टरनेट दिवसको २२ औँ संस्करण मनाइँदै छ । यस वर्षको थिम चाहिँ Too good to be true? Protecting yourself and others from scams online." ’रहेको छ । यसको अर्थ चाँही सुन्दा खुब राम्रा लाग्ने कुराहरू सत्य होलान् त ? आफूलाई डिजिटल स्क्यामबाट बचाऔँ भन्ने अर्थ लाग्दछ । बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधिको सुरक्षित तथा सकारात्मक प्रयोगको प्रवर्धन गर्न तथा यससम्बन्धी राष्ट्रिय संवादलाई उत्प्रेरित गर्नका लागि प्रत्येक वर्ष विश्वव्यापी रूपमा ‘सुरक्षित इन्टरनेट दिवस’ मनाइन्छ ।
युरोपेली आयोग तथा युरोपभरिका राष्ट्रिय सुरक्षित इन्टरनेट केन्द्रहरूको सहयोगमा इन्सेफ तथा इनहोप नामक संस्थाहरूद्वारा संयुक्त रूपमा संयोजन गरिने सुरक्षित इन्टरनेट दिवस विश्वका १७० भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ । विशेष गरि बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधिको सुरक्षित तथा सकारात्मक प्रयोगको प्रवर्द्धन गर्न तथा यससम्बन्धी राष्ट्रिय संवादलाई उत्प्रेरित गर्नका लागि सुरक्षित इन्टरनेट दिवसले थलो प्रदान गर्दछ । सन् २०१९ देखि चाइल्डसेफनेटले नेपालमा सुरक्षित इन्टरनेट दिवसको आयोजना र प्रवर्धन गर्ने जिम्मेवारी पाएको छ ।
चाइल्डसेफनेट, बालबालिका तथा युवा वर्गका लागि सुरक्षित इन्टरनेट प्रवर्द्धनमा समर्पित एक विशिष्टीकृत संस्था हो । चाइल्डसेफनेट का बारेमा थप बुझनका लागि www.childsafenet.org मा गएर हेर्न सकिनेछ ।
बालबालिका तथा युवा वर्गका लागि अनलाइन सुरक्षा किन आवश्यक छ ?
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको तीव्र प्रगति सँगसँगै यस क्रान्तिले आफ्नो साथमा असङ्ख्य नकारात्मक तथा डरलाग्दा प्रभावहरूलाई पनि अस्तित्वमा ल्याइरहेको छ । डिजिटल प्रविधिको अधिकतम प्रयोग गर्नेहरूमा बालबालिका तथा युवाहरू पनि रहेका छन् । डिजिटल प्रविधिको असुरक्षित प्रयोगले उनीहरूलाई अनलाइन यौन दुर्व्यवहार एवं शोषण, साइबर बुलिङ्ग, फिसिङ्ग तथा सेक्स्टोर्सन जस्ता गम्भीर जोखिमहरूप्रति संवेदनशील बनाउँछ । यस्ता जोखिमहरूले बालबालिकाको मानसिक एवं बौद्धिक विकासलाई प्रभावित बनाउनुका साथै उनीहरूलाई हतोत्साहित बनाउने एवं उनीहरूको आत्मसम्मानमा ह्रास ल्याउने सम्भावना हुन्छ । बालबालिका, युवा वर्ग, अभिभावकहरू, शिक्षकहरू तथा सरकारले साइबर सुरक्षालाई गम्भीरतापूर्वक लिन इन्टरनेटलाई सुरक्षित स्थान बनाउनका लागि आ–आफ्ना उत्तरदायित्वहरू निर्वाह गर्न आवश्यक छ ।
साइबर सुरक्षा इन्टरनेटका सम्पूर्ण प्रयोगकर्ताहरूका लागि सान्दर्भिक विषयवस्तु भएकोले हाम्रा बालबालिका तथा युवाका लागि इन्टरनेटलाई सुरक्षित बनाउन हामी सबै उत्तरदायी छौँ । त्यसैले आउनुहोस् हामी सबै मिलेर इन्टरनेटलाई सुरक्षित बनाऔँ र बालबालिका तथा युवालाई अनलाइनमा पनि सुरक्षित राखौँ ।
सुरक्षित इन्टरनेट दिवस का उद्देश्यहरू
१. इन्टरनेटको सकारात्मक प्रयोग तथा सुरक्षित इन्टरनेट प्रवर्धन गर्ने
२. बालबालिका तथा युवा वर्गका लागि अनलाइन जोखिमहरू तथा त्यसबाट उनीहरूको सुरक्षाको लागि चेतना अभिवृद्धि गर्ने;
३. बालबालिका तथा युवा वर्गको संलग्नतामा उनीहरूकै लागि काम गर्न विभिन्न संस्थाहरूबिच सामूहिक शक्ति विकास गर्ने;
४. बालबालिका तथा युवा वर्गलाई अनलाइन सुरक्षा प्रदान गर्नका लागि जिम्मेवार व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्ने ।
साइबर बुलिङदेखि सामाजिक सञ्जालदेखि डिजिटल पहिचानसम्म, प्रत्येक वर्ष सुरक्षित इन्टरनेट दिवसको उद्देश्य उदीयमान अनलाइन मुद्दाहरू र वर्तमान सरोकारहरूका बारेमा सचेतना जगाउने हो।
इन्टरनेट प्रयोगकर्ता सबैलाई सुरक्षित इन्टरनेट प्रयोग गर्ने चेतका साथै अरूलाई पनि सुरक्षित राख्ने प्रतिबद्धता व्यक्त गरौँ ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: