सोह्रश्राद्ध प्रारम्भ (प्रतिपदा श्राद्ध) | चेपाङ चोनाम पर्व | Hamro Patro

ब्लग - साहित्य / चाडपर्व तथा दिन विशेष लेखहरू

सोह्रश्राद्ध प्रारम्भ (प्रतिपदा श्राद्ध) | चेपाङ चोनाम पर्व




सोह्रश्राद्ध प्रारम्भ विशेष अडियो सामग्री

सोह्र श्राद्ध प्रारम्भ (प्रतिपदा श्राद्ध)
पितृ गायत्री मंत्र
देवताभ्यः पितृभ्यश्च महायोगिभ्यः एव च। नमः स्वाहायै स्वधायै नित्यमेव नमोनमः।।
यसको अर्थ देवताहरू, पितृहरू, महान योगीहरू, स्वाहा र स्वधालाई सधैं नमस्कार गर्नु हो


पितृ पक्ष प्रारम्भ
दसैँको सुरुवातमा १६ दिनको पितृ पक्षको ठुलो भूमिका छ, आजबाट यो पितृ पक्ष प्रारम्भ भयो । पितृ कर्मलाई सनातन संस्कारको केन्द्रबिन्दुका रूपमा लिइएको छ, सात पुस्ता सम्मलाई पितृ तर्पण दिने चलनले त झन् पितृ कर्मको महत्त्व तथा आफ्ना बाबु, बाजेलगायतका एउटा ठुलो कालखण्डप्रति वर्तमान पुस्ताको समर्पण भावको अद्भुत नमुना हो १६ श्राद्ध र यसले वैदिक सनातन संस्कारको उँचाइ र महत्त्वलाई थप स्पष्ट पार्छ ।

सोह्र श्राद्ध, पितृ पक्ष, कगंत, जितिया, महालय पक्ष, पितृ पोखो आदि विभिन्न नामले यी पवित्र १६ दिनको पुकारा गरिन्छ । पूर्णिमाबाट सुरु भएको यस पक्ष औँसीका दिनसम्म चल्ने गर्दछ । पितृ पक्षमा पितृहरू पृथ्वी लोकमा आ-आफ्ना सन्ततिका घरमा आएर बस्ने गर्दछन् ।

पितृ पक्षको प्रसङ्ग: महाभारत कथा
अब कुरो पितृ लोकको अवधारणाबाट, स्वर्ग र पृथ्वीबिचको यस लोकमा पितृका तिन पुस्ताहरु रहने गरेको मानिन्छ । बैतर्नी नदी भएको यस पितृ लोकमा बैतर्नी नदी तरेमा स्वर्ग लोक पुगिने जन(विश्वास छ । स्वर्लोकका राजा इन्द्र हुन् भनेँ पितृ लोकका राजा यम हुन् भन्ने मान्यता छ ।

पितृ पक्षको कुरा गर्दा महाभारतको युद्धसँग कथा जोडिएर आउँछ, महाभारतको युद्धमा मृत्यूवरण गरेका दानवीर कर्णलाई स्वर्गमा भोजनका रूपमा सुनचाँदी वस्त्र आभूषण आदी प्रदान गरियो । भोजन कालागि वास्तविक खाना नै आवश्यक पर्नेमा किन राजा इन्द्रले उनलाई सुनचाँदी इत्यादि खान दिएका भन्ने कौतुहलता कर्णले स्वर्गका राजा इन्द्रलाई प्रश्न गर्दछन् । उत्तरमा इन्द्रले दानवीर कर्णले जीवनभरि सुनचाँदी आदि मात्र दान गरेको र पितृलाई भोजन दान नगरेको कारणले स्वर्ग लोकमा भोजनका साटो सुनचाँदी पस्केको कुरा स्पष्ट पार्दछन् । यसरी आफूलाई यस बिषयमा थाहा नभएकाले जीवनकालमा पितृलाई भोजन दान नदिएको बताएपछि १६ दिन कालागि कर्णलाई पृथ्वीमा फिर्ता पठाएको किंवदन्ती नै पितृ पक्षको सुरुवातका रूपमा मानिन्छ ।

वैदिक सनातन संस्कारमा सामान्यतया पितृ कर्म अर्थात् श्राद्ध दुई पटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ ।

पितृ पक्षमा के गरिन्छ ?
यसरी पूर्णिमाबाट सुरु भएको पितृ पक्ष औँसीका दिन सम्पन्न हुन्छ । १६ दिनको पितृ पक्षमा आफ्नो पितृको मृत्यु तिथिका दिन हिन्दूधर्मावम्वीहरु ले पितृ कर्म अर्थात् श्राद्ध गर्ने गर्दछन् । श्राद्धको दिन घरमा विशेष चहलपहल हुन्छ, आफन्त अनि पण्डित, पुरोहितको उपस्थितिमा कर्ताले पितृ कर्म गर्दा कपाल खौरिएर नयाँ जनै फेरेको हुनुपर्दछ । बिहानै देखि मौलिक विशेषता बोकेका पारम्परिक नैवेद्य तथा विभिन्न प्रकारका खानेकुराहरू घरमा तामा या पित्तलको भाँडोमा चोखोनितो गरेर पकाइन्छ अनि र श्राद्ध चलिरहँदा पण्डितको निर्देशन अनुरूप विभिन्न साम्रगीहरु, घ्यू, सेतो पुष्प, पहेँलो केसरी लगायतका पितृ कर्ममा आवश्यक सम्पूर्ण पूजन सामाग्रीहरू पूजा गरेको ठाउँमा विधिपूर्वक सजाएर राख्ने गरिन्छ ।

श्राद्ध के हो ?
वैदिक सनातन हिन्दु संस्कारमा श्राद्ध महत्त्वपूर्ण कर्ममध्येको एक हो जसलाई सामान्यतया परिवारको जेष्ठपुत्र, जेष्ठपुत्र नभए अन्य पुत्रहरू अथवा दाजुभाइले गर्ने गर्दछन् । सर्व पितृ औँसीको दिन पुत्रले आफ्ना पिता पक्ष र माता पक्ष दुवैतर्फका पितृहरूलाई तर्पण दिइन्छ । । पुत्रलाई मोक्षको बाटो भनेर हिन्दु शास्त्रले भनेको कुरालाई आधार मानेर विभिन्न पक्षबाट यस विषयलाई नारीविरोधी र लैङ्गिक असमानतासित पनि जोडेर हेरिने गरिएको छ तथापि श्राद्ध, तर्पण अनि अन्य शुभ कार्यमा छोरी बुहारी अनि चेलीबेटीको पनि उत्तिकै महत्त्व छ ।

चेपाङ जाती परिचय



महाभारत पर्वत श्रृंखला वरिपरि बसोवास गर्ने तिब्बती वर्मन समुदायको एउटा जुझारु जाती, चेपाङ जातीको आज विशेष पर्व चोनाम पर्व हो । प्रकृतिसँग अत्यन्तै नजिक, कृषिप्रधान अनि धेरै नै आत्मीय स्वभावका चेपाङहरू सुरुसुरुमा बसाइ सरिरहने अनि घुमन्ते तवरले जीवन यापन गर्ने खुला अनि रसिक जिवनशैलीका लागि अत्यन्तै प्रख्यात छन् ।

ऐतिहासिक रूपमा जङ्गल तथा जङ्गलको आसपासबाट दाउराको सङ्कलन गर्दै नजिकै रहेका खोलाहरूको माछा मार्दे, चमेरा लगायतका जङ्गली पन्छीहरू र जनावरको सिकार खेल्दै आफ्नो सरल र प्राकृतिक जीवनयापन गर्ने चेपाङ जातीका दाजुभाइ दिदीबहिनीहरू बिस्तारै अब एक ठाउँमा थलो बनाएर आजभोलि व्यवस्थित बसोबास गर्दै हुनुन्छ । तीव्र गतिमा भइरहेको जङ्गल फडानी, सहरीकरण अनि वन्यजन्तुको विनाशका कारण यो जातीको मूलभूत जीवन आधारमा समस्या ल्याएको हो छ ।

चेपाङ जातीहरूमा ऐतिहासिक रूपमै कुपोषण र गरिबीको समस्या देखिँदै आएको छ । धेरैजसो तनहुँ, गोर्खा, चितवन र धादिङ लगायत ४४ वटा जिल्लामा जङ्गलको पाखा र खोलाको तिरमा करिब ३००० मिटर आसपासमा बसोबास गर्ने यो समुदायलाई सहरीकरण, विकास अनि चेतनाको लहरले मज्जाले छुन सकेको छैन । उनीहरूको मुख्य धर्म 'बोन' अर्थात् प्रकृति पूजा हो । हुन त उनीहरूको परम्परागत जीवनशैलीको पनि बेग्लै मज्जा छ तथापि विकासका आधारभूत पूर्वाधार, संरचना अनि आयामसङ उनीहरूलाई अभ्यस्त गराउन जरुरी छ ।

प्रजा थर राख्नु पछाडिको पृष्ठभूमि
राजा महेन्द्रको पालामा उनले चेपाङ समुदायलाई आफ्नो प्रजा भनी सम्बोधन गरेकामा तत्पश्चात् अधिकांश चेपाङहरूले आफ्नो नाम पछाडिको थरमा प्रजा लेखाउन थालेको इतिहास छ भने कसै कसैले सामान्य रुपमा चेपाङ मात्र थर राखेको पनि पाइन्छ । विगतका समयमा उनीहरूको गरिबी र शिक्षाको कमीलाई आधार बनाएर धर्म परिवर्तन गराउने, मानव र अङ्ग तस्करीमा प्रयोग गर्ने कार्यहरूमा देखिएकोमा सम्बन्धित निकायले चालेका कदमहरू र उनीहरूलाई समस्ष्टिगत विकासको मूलधारमा ल्याउने कदमहरू यथेष्ट नभएको हामीमाझ प्रस्ट छ ।

चेपाङ चोनाम
आज चेपाङ हरुको विशेष पर्व चेपाङ चोनाम, नयाँ घैया वाली अर्थात् धान वाली खान कालागि झाँक्री अर्थात् पाम्बेलाई घरमा बोलाएर ढ्याङ्ग्रो ठोकेर यो पर्व मनाउने गर्दछन्, फलफूल कर्कलो गाभा अगाडि राखेर पितृ अनि देवतालाई मन्त्र फलाक्दै झाँक्रीले बोलाउने गर्दछ । आफूले उत्पादन गरेको वाली ले सामान्यतया ३ महिना खान पुग्ने यस जातीले ९ महिना कष्टपूर्वक जिन्दगी बाँच्न बच्नपर्दछ । रातभर ढ्याङ्रो ठोकेर झाँक्रीले यसरी पितृलाई अनि देवतालाई मन्त्रबाट बोलाएर आयु हुनेलाई बाँच्न देऊ भनी धानको टिका लगाइदिन्छ, यसपछि धान र फलफूल खान योग्य मानिन्छ ।

अनेक शुभकामना ।

-सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.