किराँतहरूको धार्मिक पुस्तक 'मुन्धुम'मा एउटा समग्र वर्षलाई चराहरूको बसाइसराइलाई आधार मानेर दुई भागमा विभाजन गरिएको छ, उँगौली र उधौंली । किराँतहरूको महान् चाड साकेलाको पनि दुई वटा पर्वमय पक्षहरू छन्, उँगौली र उधौंली ।
उँगो र उँधो
उँगो भन्नाले ठेट नेपाली शब्दमा माथि भन्ने बुझाउँदछ र उँधो भन्नाले तल भन्ने बुझाउँदछ । ठेट नेपाली गीत अनि शब्दावलीहरूमा उँगो र उँधो शब्दको पर्याप्त प्रयोग भएको पाइन्छ । तल माथि या प्रगति अनि दुर्गति लगायत सुरु या अन्त्य जनाउन उँगो र उँधो शब्दको प्रयोग भएको पाइन्छ ।
मसिंर पूर्णिमाका दिन
हरेक वर्षको मसिंर पूर्णिमाका दिन उधौंली पर्व पर्दछ, किराँती मान्यता अनुसार आजको दिनदेखि हिउँद सुरु भयो, हिउँदको सुरु भए लगत्तै लेक वाट बस्तुभाउ अनि चराचुरुङ्गी लेकबाट बेसीतिर बसाई सर्ने समय भएको सङ्केतका रूपमा लिइन्छ । साथै अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाइन्छ ।
पर्वत शृङ्खलाहरूको लेकतिर बसोबास गर्ने किराँतहरू जाडोको याममा बेसी अथवा तलतिर झर्ने र क्रमशः न्यानो बढेसँगै लेकतिर लाग्ने क्रम पनि यो चाडको सूचक हो । परम्परागत भेसभुसा लगाएर आज किराँत दाजुभाइ तथा दिति-बहिनीहरु सार्वजनिक स्थलमा भेला भएर पारम्परिक 'साकेला' नृत्य प्रस्तुत गर्ने चलन छ ।
"सोई साई ला एएएए~~~~~"
'हुर्रे हा हा , सोई ढोले सोई एएए अर्को ढोले खै?' भन्दै यस दिन पारम्परिक सामूहिक नृत्य तथा गीत प्रस्तुत गरिन्छ । साथमा परम्परागत बाजागाजाहरू एवं विशेषतः किराँत संस्कृतिको अमूल्य साङ्गीतिक बाजाहरू ढोल, झ्याम्टा आदि बजाइन्छ । बहुतै संयमित अनि सुस्तरी नाचिने यी नृत्यहरू देख्दा जस्तै नाच्न नजान्ने र बिरसिलो मान्छे भए पनि कम्मरको तालमा साङ्गीतिक मर्काई अवश्य आ आउँछ आउँछ । महिलाहरूले यस नृत्यमा लगाउने एउटा विशेष किसिमको तासको कपडाबाट बनेको परम्परागत पहिरनलाई छिट्को गुन्यू भनिन्छ । त्यसमाथि विशेष किसिमबाट बनाइएको तोङबा या जाँडको मन्द मातले जीवनको रस अनि माधूर्यतालाई एउटा नयाँ उत्साह प्रदान गर्ने गर्दछ । किराँत समुदायमा अन्नबाली लगाउने बेला वैशाख पूर्णिमामा उभौली मनाउने चलन छ । उँधौली पर्वलाई लिम्बुहरूले चासोक तङनाम, किराँत राईहरूले साकेला, साकेन्वा, किराँत याख्खाहरुले चासुवा र किराँत सुनुवारहरूले फोलस्याँदर भन्दछन् । यस पर्व एक दिनका लागि तोकिए पनि यसलाई १५ दिनसम्म मनाउने चलन छ । आजको दिन काठमाडौँको टुँडिखेल, इलाम, पाँचथर, तेह्रथुम लगायत देशका विभिन्न किराँतहरूको बाहुल्यता भएको ठाउँमा सार्वजनिक भेला अनि नाचगान हुने गर्दछ । परम्परागत पहिरनमा सजिएका किराँती साथीहरूले एक अर्काको हातेमालो गर्दै बडो चित्ताकर्षक ढगंमा प्रस्तुत गर्ने नृत्य हेर्नका लागि मात्रै भए पनि धेरै जना भेला हुने गर्दछन् ।
किराँतहरूमा प्रकृति प्रेम
किराँतहरू भूमिका सन्तानहरू हुन्, यस समुदायमा भूमिको विशेष महत्त्व अनि आमा पृथ्वीको अद्भुत प्रेम पाइन्छ । आजको दिन पवित्र भूमि पूजाका रूपमा पनि लिइन्छ । भूमि अर्थात् माटोको श्रद्धाका साथ पूजा अर्चना गर्दै यस वर्षको अन्न कालागि धन्यवाद दिँदै आउँदो वर्षको राम्रो उब्जनीको प्रार्थना समेत गर्दछन् ।
यसैबिच उँधौली पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देश दिँदै यस दिनले नेपालका सबै धर्मावलम्बी, जातजाति, भाषा भाषी जो जहाँ रहेको भए पनि एकताबद्ध भई आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गरी देशमा शान्ति र सुव्यवस्था स्थापना गर्नका लागि प्रेरित गर्ने आशा व्यक्त गर्ने चलन छ ।
'हाम्रो पात्रो' को तर्फबाट सम्पूर्ण नेपालीहरूलाई उधौंलीको शुभकामना । नेपाली माटो प्रतिको यो निःस्वार्थ श्रद्धा अनि सद्भावलाई संसारले किराँतहरूमार्फत सिक्न सक्नुपर्नेछ । जतिसुकै विकास अनि प्रविधि भए पनि पृथ्वीको अस्तित्वसँगै हाम्रो अस्तित्व गाँसिएको छ, हाम्रो साझा घर यस पृथ्वीलाई सबैले माया गरौँ, सबैमा शुभकामना !
य:मरि पुन्हि
त्यसै गरी आज काठमाण्डाै उपत्यका लगायत देशै भरी छरिएर रहेका विविध प्राचीन संस्कृति र परम्पराका धनी नेवार समुदायले योमरी पुन्हि मनाउँदछन् । कृषि कार्यसँग आजको धान्य पूर्णिमाले विशेष महत्त्व बोकेको छ ।
धान काट्ने कार्य सम्पन्न
योमरी पुन्हि अर्थात् पूर्णिमाबाट औपचारिक रूपमा धान काट्ने कार्य सम्पन्न गरिन्छ । त्यसैले आजको दिनलाई धान्य पूर्णिमा समेत भनिएको हो।
योमरी के हो ?
नयाँ धानको चामलको पिठोलाई महाछाकोजस्तो स्वरूप बनाएर त्यस भित्र चाकु, तिल, दूधको खुवा आदि राखेर पानीको बाफबाट योमरी तयार पारिन्छ । योमरी अत्यन्तै स्वादिष्ट हुन्छ, मैदाको पिठो भित्र तरकारी र मासुका किमा हालेर मःमः बनाए झैँ योमरीलाई पनि पानीको बाफमा पकाइन्छ । तेल या अन्य चिल्लोपना नभएको यो परीकार स्वास्थ्यका हिसाबले हितकारी छ ।
योमरी र भक्का
योमरी कै जस्तो तर भित्र केही पनि नहालीकन चामलको पिठोलाई पानीको बाफमा राखेर पूर्वी नेपालमा हिउँदका बखत भक्का खाने चलन छ । नयाँ धानको चामलको यस्ता भक्काहरूलाई पिरो अचारमा तात्तातो चोपेर खाने गरिन्छ । यस वर्षको भक्का खाने औपचारिक दिन पनि आजबाटै प्रारम्भ हुने जनउक्ति छ ।
योमरीको आकारको दैविक अर्थ
योमरीको त्रिकोणात्मक आकारले षटकोणको अर्ध भागको रूपमा सरस्वती अथवा ज्ञानको प्रतिबिम्बको रूपमा लिइन्छ । पानीको देवताका रुपमा काठमाण्डौवासी ले मछिन्द्रनाथलाई मानेजस्तै अन्न अथवा उब्जनीकी माता अन्नपूर्णालाई नयाँ उब्जनी अनि त्यसबाट बनेको खानेकुरा योमरी चढाउने परम्परा चली आएको हो । योमरीको प्रसङ्ग देवगणसँग पनि जोडिएर आउँछ, नेवार समुदायमा प्रचलित कथाहरूका अनुसार: योमरी देखा परेकै दिन धनका राजा कुबेर भेष बदलेर बाटोमा हिँडी रहेका हुन्छन् यसरी भेष बदलेर हिँडिरहेका बटुवा कुवेरबारे थाहै नभए पनि उनलाई सत्कारपूर्वक सप्रेम योमरी खान दिएको कथा छ । कुबेर यो सत्कारबाट प्रसन्न भई धनधान्यले अपार वरदान दिएको मानिन्छ । योमरी झै सबैको जीवनमा मिठास होस्, स्वास्थ्य राम्रो होस् अनि सबैको यो हिउँद राम्रोसँग बितोस् ।
नेपाली पारम्परिक चाडबाड तथा संस्कृतिका विशेष क्षणहरूमा विविध साङ्गीतिक अभ्यासहरूले पनि आफ्नो बेग्लै स्थान बनाएको छ । शायदै त्यस्ता कुनै चाडबाड होलान् जसमा विशेष खाले गीत सङ्गीतले ठाउँ नपाएको होस् । योमरी पुन्हिका दिन पनि यससँग सम्बन्धित विशेष नेपाल भाषामा गाइने एउटा विशेष गीत छ
य:मरि च्वामु, उकिइ दुने हामु,
बिउम्ह ल्यासे, मबिउम्ह बुरिकुति
त्य: छिं त्य:, बकछिं त्य:
लातापाता कुलिचां जुसें त्य:....
यस दिन केटाकेटीहरू रमाइलो गर्दै छरछिमेकको दैलोमा गएर योमरी माग्ने चलन पनि छ, काठमाण्डौको हरिसिद्धी र ठेंचोमा आज एउटा विशेष मुखौटो लगाएर नाच देखाइने चलन पनि परापूर्व कालदेखि हुँदै आएको पाइन्छ । योमरी कसरी बन्यो भन्ने कुराहरूमा भने अहिलेको पनौती रहेको ठाउँमा एउटा परिवारले नयाँ धानको चामलबाट बनाएको नयाँ खाले परिकारका रूपमा योमरी देखा परेको र सम्पूर्ण गाउँलेहरूलाई उक्त परिकार चाख्न दिएकोमा सबैलाई मन परेर योमरी नाम दिएको जनउक्ति छ, नेपाल भाषामा योमरी भन्नाले मिठो रोटी भन्ने बुझाउँदछ ।
साथै आजैको दिन ज्यापु दिवस पनि मनाइने गरिन्छ ।
ज्यापु दिवस
ज्यापु दिवस नेवारी समुदायमा मनाइने विशेष पर्व वा दिन हो । यस दिनले (ज्यापु)नेवारी समुदायका कृषक र श्रमिक वर्ग को योगदानलाई सम्मान र कदर प्रकट गर्दछ। यो दिवस हरेक वर्ष मंसिर महिनामा, गठामुंगः चःरे पछि आउने ज्यापु पूर्णिमा का दिन मनाइन्छ। ज्यापु दिवसले नेवारी संस्कृति, परम्परा, र जीवनशैलीको महत्वलाई झल्काउँदै यसको मौलिकतालाई प्रर्दशन गर्दछ ।
ज्यापू संस्कृतिको रक्षार्थ विसं २०६१ साल वाट यस दिवस मनाउन थालिएको हो । नेवा संस्कृति, सङ्गीत, बाजागाजा, भेष भूषा तथा एकता जस्ता पारम्परिक महत्त्वका अमूल्य धरोहरको जगेर्नाका साथै नयाँ पुस्तामा यसको ज्ञान समेत कालागि हरेक वर्ष काठ्माण्डाै उपत्यकाका भिन्न भिन्नै स्थानको अगुवाइमा आयोजना हुँदै छ । धिमे बाजाको तालमा जात्राको रौनक नै अभूतपूर्व हुन्छ र त्यसमाथि हाकु पटासी अनि ज्यापु लः अर्थात् ज्यापु लुगाले त झन् जात्रा हेर्नलायक देखिन्छ ।
यस दिन के के गरिन्छ ?
यस दिन नेवारी परम्परागत पहिरनमा सजिएर जात्रा, नाचगान, र र्यालीहरू आयोजना गरिन्छ। नेवारी भाषामा सम्बोधन, कृषि उपकरणहरूको प्रदर्शनी, र स्थानीय उत्पादनहरूको प्रदर्शन पनि यस अवसरमा गरिन्छ। ज्यापु समुदायको पहिचान झल्काउने परम्परागत नृत्य र संगीतले यो पर्वलाई झन् उल्लासमय बनाउँछ।
पाटन, भक्तपुर, र काठमाडौंका ज्यापु समुदायमा यो पर्व निकै धूमधामका साथ मनाइन्छ। यसले नेवारी संस्कृतिको संरक्षण र प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेल्छ।
यस दिवसको अर्थपूर्ण शुभकामना ।
धान्यपुर्णिमा
मसिंर पूर्णिमा लाई नेपालभरि नै धान्य पूर्णिमाका रुपमा मनाउने गरिन्छ । धान्यपुर्णिमा का दिन नयाँ धान भित्र्याएको खुसियालीमा धानलाई लक्ष्मीका रूपमा पूजा गर्ने परम्परा छ भने यस पूजाको साथै आज आफ्नो कुल देवताको पनि पुजा गरिन्छ । आजकै दिन नेवार समुदायले धान्य लक्ष्मीको प्रतिमा स्वरूप योमरीको पूजा गर्ने गर्छन् । प्रकृतिपूजक किरातहरूले यही दिनलाई उधौली पर्वका रुपमा मान्ने गर्छन् भने पहाडी भेगका ब्राहृमण क्षेत्रीयहरूले धान्य पूर्णिमाका रूपमा कुल पूजा गर्छन् ।
गढीमाई मेला समाप्ती
गढीमाई मेला, विश्वकै एक ठूलो धार्मिक र सांस्कृतिक मेला हो । नेपालको बारा जिल्लास्थित गढीमाई मन्दिरमा हरेक पाँच वर्षमा आयोजना गरिने भएकाले यस मेलालाई पञ्चवर्षिय मेला पनि भनिएको हो। यो मेला हिन्दू धर्मावलम्बीहरूका लागि विशेष महत्व राख्छ र मेलामा श्रद्धालुहरूले गढीमाई देवीलाई विशेष पूजा अर्चना गर्छन्।
मसिंर महिनाभरि नै चल्ने यस मेलाको मुख्य दिनहरु चाँही अन्तिम ५ दिनहरुलाई मानिन्छ । मेलाका मुख्य गतिविधिहरू पूजा, हवन, र बलि प्रदान गर्ने परम्परा हुन्। मेलाको अन्तिम दिनमा विशेष अर्चना मार्फत देवीको अन्तिम पूजा गरेर मेला विधिवत् रूपमा समापन गरिन्छ। यसका साथै विभिन्न ठाउँबाट आएका लाखौँ श्रद्धालु आफ्ना घर फर्कने तरखर गर्दछन् भने मन्दिर क्षेत्र र वरपरको सफाइ कार्य पनि थालिन्छ।
जय गढीमाई
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: