बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ दिवस’का रूपमा मनाइन्छ ।
सन् २०२४ मा चाँही Call for action अर्थात् अब चाँही बाघ संरक्षणका लागि कदम चाल्ने समय आयो भन्नै नाराका साथ यस दिवस मनाइदै छ ।सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो । उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन थियो । रुसका तत्कालीन प्रधानमन्त्री भ्लाडिमिर पुटिन र विश्व बैङ्कका अध्यक्ष रोबर्ट जोलिकको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम थालनी गरिएको हो । त्यसयता हरेक वर्ष अन्तर्राष्ट्रिय बाघ दिवस मनाउन थालिएको हो । यस दिन बाघको संरक्षणार्थ उनीहरूको बास स्थलको संरक्षण, बाघको सङ्ख्यामा आएको ह्रासबारे जनचेतना वृद्धि, उनीहरूको संरक्षणका मुद्दाहरूको उठानका साथै बाघ संरक्षणमा भएका प्रयासहरूको सराहना र प्रोत्साहन गरी यो दिन मनाइन्छ ।
बाघको महत्त्व
बाघलाई संसारभर प्रतिकात्मक प्राणीको रूपमा लिने गरिन्छ । प्राकृतिक सम्पदाको रूपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ । यो त छँदै छ, हाम्रो जैविक प्रणालीलाई सन्तुलनमा राख्न पनि यसले योगदान पुर्याउँछ । खाद्य शृङ्खलामा बाघ मुख्य सिकारी जनावर भएका कारणले जनावरलाई नियन्त्रणमा राखी वातावरण सन्तुलनमा यसको उल्लेखनीय योगदान हुन्छ ।बाघलाई वातावरणीय सन्तुलन कायम राख्न मात्र होइन, अन्य पशुपन्छीहरूलाई सहारा प्रदान गर्न सक्ने प्राणीको रूपमा पनि वनस्पति तथा पशुपन्छी विज्ञहरू चिन्छन् । यसलाई अङ्ग्रेजीमा ‘अम्ब्रेला स्पेसिज’ भनिँदो रहेछ । बाघलाई संरक्षण गर्दा धेरै ठाउँ चाहिने भएकाले ठुलै जङ्गल संरक्षित गरिनुपर्छ । यसरी जङ्गलको संरक्षण गर्दा अन्य पशुपन्छीहरूले पनि वासस्थान पाउने भएकाले बाघलाई महत्त्वपूर्ण प्रजातिको रूपमा विश्लेषण गरिन्छ । बाघलाई संरक्षण गर्दा हामीले वन जङ्गलको पनि संरक्षण गरिरहेका हुन्छौँ ।
बाघ संरक्षण कार्यक्रमहरू
सन् १९७० देखि बाघ संरक्षण कार्यक्रमहरू गरिए पनि बाघको सङ्ख्या दिनानुदिन कम हुँदै गइरह्यो । त्यसपछि बाघका वासस्थान भएका मुलुकहरू एकै ठाउँमा भेला हुँदै संयुक्त प्रयास गरेको खण्डमा मात्रै संरक्षण गर्न सकिने खाँका बन्यो । बाघका वासस्थान भएका १३ मुलुकको एकतालाई उदाहरणीय मानिएको छ ।
२० औँ शताब्दीको पूवाद्र्धमा बाघको जनसङ्ख्या १ लाखको हाराहारीमा रहेकामा यो सङ्ख्यामा ह्रास आई ३,२०० मा झरेको तथ्याङ्कले देखाउँछ । यिनीहरूको सङ्ख्या घट्नुमा मुख्य कारण भनेको जङ्गल फडानीले गर्दा बास स्थलको कमी, मौसममा परिवर्तन, गैर कानुनी सिकार को उपज हो ।
यो प्रवृत्तिमा रोक ल्याउने हेतुले १३ मुलुकहरू संयुक्त रूपमा सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने महत्त्वाकाङ्क्षी लक्ष्य लिएर विभिन्न पशुपन्छी संरक्षणार्थ संस्थाहरूको सहयोगमा अघि बढिरहेका छन् । भारत, नेपाल, भुटान, बङ्गलादेश, कम्बोडिया, चीन, लाओस्, म्यानमार, इन्डोनेसिया, थाइल्यान्ड, भियतनाम, मलेसिया र रुसको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम अघि सारेको १० वर्ष हुँदै छ ।
-हाम्रो पात्रोको लागि सुयोग ढकाल
Liked by: