२०८० सालका चाडपर्व र महत्त्वपूर्ण दिनहरू | Hamro Patro

ब्लग - साहित्य / Blog

२०८० सालका चाडपर्व र महत्त्वपूर्ण दिनहरू





मंगलम् भगवान विष्णु: मंगलम् गरूडध्वजः ।
मंगलम् पुण्डरीकाक्ष: मंगलाय तनोहरि: ।।

विक्रम संवत् २०८० साल अर्थात् श्रीशालिवाहनीय शाके १९४५ ईस्वीय सन् २०२३ र २०२४, नेपाल संवत् ११४३ -११४४, पिङ्गल नामको संवत्सर रहेको यस वर्षमा राजा बुध र मन्त्री शुक्र रहेका छन् । यो वर्ष श्रावण महिनामा अधिसकमास (मलमास) पर्न गएकाले मुख्य चाडहरू केहि पछाडि सरेका छन् । प्रस्तुत छः हाम्रो पात्रोका सम्पूर्ण प्रयोगकर्ता परिवारहरूको जानकारीका लागि मुख्य तिथिमिति एवं चाडपर्वहरूको संक्षिप्‍त जानकारी ।

वैशाख (नयाँवर्ष प्रारम्भ । मातातिर्थ औंसी । अक्षय तृतीया । लोकतन्त्र दिवस । बुद्ध जयन्ती । सीता नवमी । )
२०८० साल वैशाख १ गते शुक्रबारबाट नववर्ष प्रारम्भ हुन्छ । ३ गतेका दिन वरुथिनी एकादशी वर्त रहेको छ । मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन ७ गते रहेको छ । १० गते सातु र सर्वत खाने दिन अर्थात् अक्षय तृतीया परेको छ । ११ गते लोकतन्त्र दिवस हो भने १३ बैशाखमा बुद्ध जयन्ती र उभाैली पर्व रहेको छ । बैशाख १६ गते सीता नवामी वर्त रहेको छ । मोहिनी एकादशी र मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस १८ गते परेको छ ।

जेठ ( अपरा एकादशी । शनि जयन्ती । मङ्गल चाैथी वर्त । गणतन्त्र दिवस । निर्जला एकादशी । योगिनी एकादशी )
जेठ संक्रान्ति सोमबारबाट प्रारम्भ हुन्छ र सोहि दिन अपरा एकादशी वर्त रहेको छ । ५ जेठमा शनि जयन्ती परेको छ । मङ्गल चाैथी वर्त ९ गते रहेको छ । १५ गते गणतन्त्र दिवस रहेको छ भने १७ गते निर्जला एकादशी अर्थात् तुलसीको दल राख्ने दिन रहेको छ । ज्येष्ठ शुक्ल पूर्णिमा ३१ गते रहेको छ । जुन ५मा पर्ने विश्व वातावरण दिवस जेठ २२ गते परेको छ । योगिनी एकादशी जेठ महिनाको ३१ गते परेको छ ।

असार ( हरिशयनी एकादशी । दही चिउरा खाने/राष्ट्रिय धान दिवस । गुरुपूर्णिमा । कामिका एकादशी । भानु जयन्ती । )
असार संक्रान्ति शुक्रबारबाट प्रारम्भ हुँदै हरीशयनी एकादशीव्रत तथा तुलसी रोप्ने दिन १४ गते रहेको छ । १५ गतेका दिन दहीचिउरा खाने दिन र राष्ट्रिय धान दिवस हो । असार १८ गते गुरुपूर्णिमा परेको छ, २८ गते कामिका एकादशी र २९ गते भानु जयन्ती रहेको छ ।

श्रावण ( लुतो फाल्ने दिन । पद्मिनी एकादशी । खीर खाने दिन । परमा एकादशी । मित्रता दिवस ।)
श्रावण महिना भगवान शिवजीको उपासना तथा आराधनाका लागि निकै महत्त्व छ । पाँचवटा सोमबार रहेको श्रावण महिना सोमबारबाट प्रारम्भ हुनेछ र यसै श्रावण संक्रान्तिका दिन लुतो फाल्ने दिन का नामले प्रसिद्ध छ यसै संक्रान्तिबाट दक्षिणायन प्रारम्भ हुन्छ । यो वर्ष श्रावण २ गते देखि अधिकमास (मलमास) शुरू भई ३१ गते अन्त्य हुनेछ । पद्मिनी एकादशी १३ गते रहेको छ भने १५ गते खीर खाने दिन हो भने र २१ गते अन्तर्राष्ट्रिय मित्रता दिवस हो । श्रावण २७ गते परमा एकादशी परेको छ ।

भाद्र ( नाग पञ्चमी । गाैरा पर्व । जनै पूर्णिमा र रक्षा बन्धन । गाईजात्रा । श्रीकृष्ण जन्माष्टमी । कुशेऔंसी तथा बुबाको मुख हेर्ने दिन । )
भाद्र संक्रान्ति शुक्रबारबाट प्रारम्भ हुँदै ४ गते नाग पञ्चमी परेको छ । ७ गते गाैरा पर्व परेको छ भने पुत्रदा एकादशी व्रत १० गते परेको छ । भाद्र १४ गते बिहिबार जनै पूर्णिमा, रक्षा बन्धन र गाईजात्रा परेको छ । श्रीकृष्ण जन्माष्टमी २० गते परेको छ भने अजा एकादशीव्रत २४ गते हो । २८ गते कुशेऔंसी तथा बुबाको मुख हेर्ने दिन रहेको छ ।

आश्विन ( हरितालिका तीज । ऋषि पञ्चमी । संविधान दिवस । सोह्रश्राद्ध । पितृ विसर्जन । घटस्थापना )
आश्विन संक्रान्ति सोमबारका दिन महिलाहरूको महान चाड हरितालिका तीज परेको छ भने २ गते ऋषि पञ्चमी र मङ्गल चौथी रहेको छ । ३ गते संविधान दिवस र ८ गते हरिपरिवर्तिनी एकादशी रहेको छ । यो वर्ष १३ गते सोह्रश्राद्ध प्रारम्भ भई २७ गते पितृ विसर्जनको साहित रहेको छ । २० गते जितिया पर्व रहेको छ । २८ गतेबाट घटस्थापना तथा दुर्गापूजा विशेष नवरात्र आरम्भ हुनेछ ।

कार्तिक ( विजय दशमी । खण्डग्रास चन्द्र ग्रहण । तिहार । नेपाल सम्वत् । )
कार्तिक संक्रान्ति बुधबारबाट प्रारम्भ हुनेछ । ४ कार्तिक फूलपाती भित्र्याउने दिन हो, ५ गते महाअष्टमी तथा कालरात्री रहेको छ । ६ गते महानवामी र ७ गते विजयादशमी तथा नवरात्रको दुर्गापूजा विसर्जन गरी जमरा तथा टीकाप्रसाद ग्रहण गर्ने दिन हो । ८ गते पापा‌ंकुशा एकादशी रहेको छ । ११ गते शनिबार कोजाग्रत पूर्णिमा व्रत परेको छ र सोहि दिन खण्डग्रास चन्द्र ग्रहण लाग्नेछ । रमा एकादशी २३ गते परेको छ भने २४ गते धन्वन्तरि जयन्ती (धन्तेरस) र कागतिहार रहेको छ । २६ गतेको लक्ष्मी पुजा तथा दिपावली, नरक चतुर्दशी, सुखरात्री र कुकुर तिहार परेको छ र सोहि दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती पनि रहेको छ । २७ गते गाई तिहार रहेको छ भने २८ गते गोवर्धन पूजा र म्ह: पूजा परेको छ । यसै दिन नेपाल सम्वत ११४४ प्रारम्भ हुनेछ । २८ गते भाइटीका अर्थात् किजा पूजा रहेको साइत जुरेको छ ।

मंसिर ( छठपर्व । बालाचतुर्दशी । हरिबोधिनी एकादशी । गुरु नानक जयन्ती । बालाचतुर्दशी । )
मार्गशीर्ष संक्रान्ति शुक्रबारका दिनबाट प्रारम्भ हुन्छ । ३ गते छठपर्व व्रत रहेको छ । हरिबोधिनी एकादशी तथा तुलसी विवाह अर्थात् ठूली एकादशी दिन ७ गते रहेको छ । ११ गते सिख धर्मावलम्बीहरूको गुरु नानक जयन्ती रहेको छ । २५ गते शतबीज छर्ने दिन अर्थात् बालाचतुर्दशी हो ।

पौष ( विवाह पञ्चमी । मोक्षदा एकादशी । उधाैली पर्व । इ.सं. २०२४ प्रारम्भ । पृथ्वी जयन्ती )
पौष संक्रान्ति आईतबारबाट प्रारम्भ हुनेछ र सोहि दिन विवाह पञ्चमी पनि हो । मोक्षदा एकादशी ७ गते परेको छ । ९ गते क्रिसमस-डे परेको छ भने १० गते उधौली पर्व तथा धान्यपुर्णिमा र य:मरि पुन्हि परेको छ । १५ गते तमु ल्होछार परेको छ र १६ गते इस्वी सन् २०२४ प्रारम्भ हुनेछ । सफला एकादशी २२ गते रहेको छ । २४ गते नेपाल ज्योतिष परिषद् स्थापना दिवस हो । २७ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस हो ।

माघ ( मकर संक्रान्ति/माघी । पुत्रदा एकादशी । श्री स्वस्थानी व्रत प्रारम्भ । शहिद दिवस । )
मकर सङ्क्रान्ति अर्थात् माघ १ गते सोमबार माघी पर्व तथा घिउ, चाकु, तिलौरा, तरुल आदि खाने दिन हो, यसै दिनबाट उत्तरायण प्रारम्भ हुन्छ । ७ गते पुत्रदा एकादशी रहेको छ भने ११ गते श्री स्वस्थानीव्रत तथा माघ स्नान प्रारम्भ हुनेछ । १६ गते शहिद दिवस छ । षट्तिला एकादशी व्रत २३ माघमा परेको छ । सोनाम ल्होछार/तामाङ ल्होछार २७ गते परेको छ ।

फाल्गुन ( वसन्तपञ्चमी/सरस्वती पूजा/प्रणय दिवस । प्रजातन्त्र दिवस । महाशिवरात्री । ग्याल्पो ल्होसार ।)
फाल्गुन संक्रान्ति मंगलबारबाट प्रारम्भ भएको छ । २ गते वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा रहेको छ । सोहि दिन प्रेम दिवस रहेकोछ । ७ गते प्रजातन्त्र दिवस रहेको छ भने १२ गते श्रीस्वस्थानी व्रत समापन हुनेछ । फाल्गुन २३ गते विजया एकादशी रहेको छ । महाशिवरात्रि यो व्रष २५ गते परेको छ । २८ गते आदिवासी, शेर्पा तथा उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले मनाउने ग्याल्पो ल्होसार पर्व रहेको छ ।

चैत्र ( फागु पूर्णिमा । आमलकी एकादशी । घोडेजात्रा ।)
मीन संक्रान्ति बिहिबारबाट प्रारम्भ भएको छ । ७ गते आमलकी एकादशी परेको छ भने फागु पूर्णिमा तथा होली पहाडी भेगमा ११ गते र तराईमा १२ गते मनाइनेछ । पापमोचनी एकादशी व्रत २३ गते परेको छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.