हिमालयको काखमा अवस्थित मनमोहक सौन्दर्य र प्रकृतिको धनी नेपालमा बाढी पहिरोको कारण धेरै जनाको ज्यान, सम्पत्ती र वातावरणमा विपत्तिहरू आइपर्छ । यस प्रकोपबाट प्राय मानिसको ज्यान जाने, पूर्वाधारहरू विनाश हुने तथा जनजीवन प्रभावित हुने गरेको छ । नेपालमा दोहोरिने यी प्रकोपहरूको प्रभावलाई हामीले नियालेर विचार गर्ने समय आएको छ ।
नेपालमा मनसुन भित्रियसँगै पहिरो र बाढीको घटनामा पनि वृद्धि हुने पाइएको छ । नेपालको भुबनोट, भारी वर्षा र वन फँडानीको कारणले गर्दा यस्ता प्रकोपहरू झनै बढ्दै गईरहेको छ । पहाडी भूभागमा बाटो निर्माणको क्रममा त्यस क्षेत्रको भिरालोपनमा अस्थिरता आउने हुँदा यसले पहिरोको जोखिमलाई बढाउछ । त्यसैगरी, भीषण वर्षाको बेला खोला र नदीहरूको उच्च बहावले गर्दा तटिय क्षेत्रमा बाढी निम्त्याउँछ । प्राकृतिक कारणका अलवा यस्ता प्रकोपलाई बढाउने मानवीय कारकहरू पनि छन् । वन फँडानी, अनियोजित सहरीकरण, अव्यवस्थित पूर्वाधार विकास र जलवायु परिवर्तनले यस्ता प्रकोपको जोखिम बढाउनमा महत्वपूर्ण भूमिका खेल्छ ।
प्रत्येक वर्ष नेपालमा दोहोरिरहने पहिरो र बाढीको घटनाहरूलाई विभिन्न सरोकारवालाहरूले प्राथमिकतामा राख्न जरुरी छ । व्यक्ति, समुदाय देखि नीति निर्मातासम्म, सबैले जोखिम न्यूनीकरणको कुरालाई ध्यान दिनुपर्दछ र यो सोहि अनुरुप अनुकूलन गर्न आआफ्नो भूमिका र जिम्मेवारीहरू पहिचान गर्नुपर्छ ।
१. पूर्वाधारको सुदृढीकरण:
नेपाललाई बाढी पहिरोको प्रकोपलाई सामना गर्न सक्ने बलियो पूर्वाधार चाहिन्छ । पुल, सडक र भवनहरू स्थानीय भूगोल, भूबनोट र बाढीको असरको बुझाइ अनुसार निर्माण गर्नुपर्छ । माटो र भिरालोपन अनुसारको वृक्षारोपण, भिरालोपनको स्थिरीकरण, बायो इन्जिनियरिङ् र बाढी प्रभावित क्षेत्र निर्धारण (Flood Plain Zoning) जस्ता प्रकृति-आधारित समाधानका उपायहरू समावेश गर्नाले यी संरचनाहरूले प्रकोपसँग सामना गर्ने क्षमता बढाउन सक्छ ।
२. दिगो भूमि र पानी व्यवस्थापन:
पहिरो र बाढीको प्रभावको रोकथामका लागि वन र सिमसार क्षेत्र लगायत जैविक विविधताको संरक्षण र पुनर्स्थापना महत्त्वपूर्ण छ । वृक्षारोपण र नियोजित भू-उपयोग(land-use) अभ्यासहरूमा कडा नियमहरूका साथै पुनरुत्थान (rehabilitation) पहलहरूलाई प्राथमिकता दिनुपर्छ । त्यसैगरी, जलाशय र बाढी क्षेत्रमा डाइभर्सन च्यानलहरू जस्ता प्रभावकारी जल व्यवस्थापन रणनीतिहरू लागू गर्नाले पानीको बहावलाई नियमन गर्न र बाढीको जोखिम कम गर्न मद्दत गर्न सक्छ ।
३. जलवायु परिवर्तन अनुकूलन:
जलवायु परिवर्तनको प्रभावले प्राकृतिक प्रकोपको अनियमता र तीव्रतालाई बढाइरहेको छ । नेपालले जलवायु परिवर्तन अनुकूलनका उपायहरूमा लगानी गर्नुपर्छ जसमा प्रारम्भिक चेतावनी प्रणाली (Early Warning System), विपद् पूर्वतयारी र समुदायमा आधारित प्रकोप थेग्न सक्ने निर्माण समावेश छ । स्थानीय समुदायहरूलाई ज्ञान र स्रोतहरूद्वारा सशक्त बनाउनुले जीवन र सम्पत्तिको हानिलाई कम गर्न महत्त्वपूर्ण परिवर्तन ल्याउन सक्छ ।
४. शिक्षा र सचेतना:
विपद् तयारी र जोखिम सचेतनाको बानी निर्माण गर्नु महत्त्वपूर्ण छ । प्रारम्भिक चेतावनी संकेतहरू, निकासका प्रक्रियाहरू, र प्रकोपको समयमा कसरी सुरक्षित हुने भन्ने अभ्यासहरू बारे समुदायहरूलाई शिक्षा दिनुले धेरै जनधनको क्षतिलाई कम गर्न सक्छ ।साथै, दिगो विकासका अभ्यासहरूले यस क्षेत्रको कमजोर वातावरणीय प्रणाली र जैविक विविधताको संरक्षणमा योगदान पुर्याउन सक्छ ।
५. प्रारम्भिक चेतावनी प्रणाली (Early Warning System):
भारी वर्षाको समयमा बाढी र पहिरोको जोखम बढ्ने हुन्छ र वर्षा शुरु भए लगत्तै संवेदनशील समुदायमा पूर्व जानकारी सहित सावधानी दिने व्यवस्थाले पनि जनधन सुरक्षित गर्न सकिन्छ । माथिल्लो भेगमा बाँध फुटेमा, हिमपहिरो गएमा, हिमताल फुटेमा, जस्ता घटनाहरू हुनासाथ तल्लो तटिय क्षेत्रमा साईरन, एसएमएस सन्देश, एफएममा जानकारी दिन सक्ने व्यवस्था गर्न सकिन्छ ।
नेपालमा पहिरो र बाढी क्षणिक संकट मात्रै होइन, यसलाई तत्काल यस सम्बन्धी कार्य गर्न जरुरी छ । यी विपद्का मुख्य कारणहरूलाई पहिचान गरी सामूहिक जिम्मेवारी र सक्रिय सहभागिता सहित निदान तथा प्रभाव न्यूनीकरण उपायहरू अपनाउनुपर्छ । दिगो भूमि र जल व्यवस्थापन, प्राकृतिक प्रकोपको सामना गर्न सक्ने पूर्वाधार, जलवायु परिवर्तन अनुकूलन र सामुदायिक शिक्षालाई प्राथमिकता दिएर, हामी सुरक्षित र थप दिगो भविष्यको लागि अघि बढ्न सक्छौं । भारी वर्षाको समयमा अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कनु र निस्कन परेमा सावधानी निस्कन जरुरी हुन्छ । प्रकृतिको यो आह्वानलाई ध्यान दिऔं र यसको प्रकोपबाट बचाैं ।
Liked by: