नेपालमा वर्षेनी चट्याङबाट १०० भन्दा बढी मानिस र त्यसको लगभग पाँच गुणा भन्दा बढी जीवजन्तुले ज्यान गुमाउने गर्दछन्, यो एक प्राकृतिक प्रकोप हो l चट्याङ एक ठुलो मात्राको विद्युतीय करेन्ट हो, जसले जीवजन्तु तथा मानवीय क्षति निम्त्याउनुका साथै जनधनको विनाश पनि गर्दछ l चट्याङ विशेष गरी बर्खायाममा पर्ने गर्दछ l हामीले यस लेखमा चट्याङबाट बच्न आवश्यक पर्ने केही सावधानीका उपायबारे विस्तृतरूपमा बयान गरेका छौँ : -
१. आफ्नो घरमा धातुका सामाग्रीहरू प्रयोग गरौँ:
तामा, आल्मुनियम तथा जिआईका ( फलाम ) रडहरु घरको सबै भन्दा अग्लो भागमा राखी तिनै धातुका रड वा पाता जोडेर त्यसलाई जमिन सम्म पुर्याउने र तामाको रडसँग जोडी अर्थिंग (Earthing) गरेमा हाम्रा घरहरूमा चट्याङसँगै प्रवाह (Circulate) भएको करेन्ट लागेमा पनि घरमा हुन सक्ने क्षतिलाई कम गर्न सकिन्छ l
२. गड्याङगुडुङ भएको बेला घरबाट बाहिर ननिस्कने:
गड्याङगुडुङ गरेका बेला चट्याङ पर्ने सम्भावना प्रबल हुने भएकाले यस्तो बेला सके सम्म घरबाट बाहिर ननिस्कीऔँ l यस्तो गरेमा चट्याङबाट आफूलाई हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ l यदि घरको आसपासमा हुनुहुन्छ भने तुरुन्तै सुरक्षित स्थान जस्तै पक्की घरहरू या कुनै बस वा सवारी साधन भित्र बस्नु पर्दछ l
३. घर बाहिर रहँदा के गर्ने:
मेगराज गर्जन भइरहेका बेला घर वा सुरक्षित क्षेत्र भन्दा बाहिर हुनुहुन्छ भने सकभर खुल्ला चौर भएको ठाउँमा टाउकोलाई जमिन तिर पारेर दुई घुँडाको बिचमा राखी टुक्रुक्क बसी कान धुन्नु पर्दछ जसले चट्याङबाट हुन आउने जोखिमलाई कम गर्दछ l यस्तो बेला कुनै ठुल्ठूला रुखको आडमा वा ओतमा बस्दा जोखिम कम हुने कुरा हामी मध्ये धेरैलाई लाग्न सक्छ, तर यस्तो भुल कदापी गर्नु हुँदैन किन भने रूखमा करेन्ट छिटो र सहजै फैलिन सक्ने हुन्छ जस कारण हामीलाई पनि क्षति पुर्याउन सक्छ l
केही गर्नै पर्ने कुरा र केही गर्न नहुने कुराहरू !!!
गर्नै पर्ने कुराहरू:
- घर भित्र रहँदा पनि पूर्णतया सुरक्षित रहन्छौं भन्न सकिँदैन l तर यदि गड्याङगुडुङ गरेका बेला घरका झ्याल ढोकाहरू बन्द गरी कोठाको बिच तिर बसेमा जोखिम न्यून हुने हुन्छ l
- टिभी, पंखा, वासिङ मेसिन, फ्रिज तथा अन्य विद्युतीय सामग्रीका तारहरूलाई अनप्लग (unplug) गर्नु पर्दछ l अन्यथा यस्ता उपकरणहरू शट सर्किट (short circuit) हुन सक्ने हुन्छ l
गर्न नहुने कुराहरू:
- गड्याङगुडुङ गरेका बेला घरको जुन सुकै भागमा करेन्ट सप्लाइ हुन सक्ने भएकाले सकभर नुहाउने र लुगा धुने नगर्नुहोस्, यदि गर्दै हुनुहुन्छ भने पनि सिधै धाराबाट आएको पानी प्रयोग गर्नुका साटो कुनै भाँडामा राखी त्यस पश्चात मात्र प्रयोग गर्नुहोस् l यस्तो गरेमा पानीमा आउन सक्ने करेन्टको क्षतिबाट बच्न सकिन्छ l
- चट्याङबाट करेन्ट सर्कुलेट हुने हुँदा जुन सुकै विद्युतीय उपकरणमा जोखिम हुने सम्भावना हुन्छ । विशेषत: हामीले दिनहुँ प्रयोग गरिने मोबाइल, ल्यापटप, कम्प्युटर जस्ता उपकरणहरूबाट टाढा रहेमा, यसबाट हुने जोखिमलाई कम गर्न सकिन्छ । यद्यपि यस्ता उपकरणबाट हुन सक्ने जोखिम न्यून हुन्छन किन भने प्राविधिक युगमा माथि उल्लेखित विद्युतीय उपकरणमा यस्ता खालका प्राकृतिक प्रकोपहरूबाट हुन आउने जोखिमलाई कम गर्न त्यसै अनुसारको प्रविधि प्रयोग गरिएको हुन्छ l
अध्ययन अनुसार चट्याङ सामान्यतया दिउँसोको ३ बजे पछि पर्ने हुँदा घर बाहिरका कामहरू सकेसम्म बिहानै सकेर घर भित्रका काम साँझपख गर्नुपर्दछ l विशेष गरी चैत्र देखि ज्येष्ठ महिनामा चट्याङको जोखिम बढी हुने भएकाले यो समयमा अत्याधिक सतर्कता अपनाउनु पर्दछ l
प्राकृतिक प्रकोप निकै भयानक हुने हुँदा यसलाई मानवीय पहलमा रोक्न र छेक्न मिल्दैन । तर माथि उल्लेखित सावधानीका उपायहरू अपनाएमा जोखिमलाई कम भने गर्न सकिन्छ l चट्याङका जोखिमहरू कम गर्नका लागि माथि उल्लेखित जानकारी बारे सबै जना सचेत रहन जरुरी हुन्छ त्यसैले आफ्ना साथीभाइ तथा प्रियजन माझ यो जानकारी शेयर गरी सबैलाई सचेत बनाऔँ l
Liked by: