SEE परीक्षामा उचित तयारी गर्न विद्यार्थी र अभिभावकलाई सुझाव | Hamro Patro

ब्लग - साहित्य / Blog

SEE परीक्षामा उचित तयारी गर्न विद्यार्थी र अभिभावकलाई सुझाव





एसईई परीक्षामा राम्रो ग्रेड ल्याउन विद्यार्थी र अभिभावकले के गर्ने ?
एसईई परिक्षा नजिकिदै छ र धेरै विद्यार्थीका परिवार, साथीभाई र वरिपरिका मानिसहरूले परीक्षाको तयारीका लागि धेरै सल्लाह सुझाव दिइरहेका हुन्छन् । कतिले काम गर्छ र कतिले काम गर्दैन ।

परीक्षामा राम्रो नतिजा ल्याउन विद्यार्थीहरू तयारीमा लागिरहेका छन् भने परिवारका मान्छेपनि आफ्ना छोराछोरीहरूको परीक्षा राम्रो होस् भन्ने आशमा बसिरहेका छन् । विद्यार्थीलाई राम्रो ग्रेड कसरी ल्याउने र अभिभावकहरूले कसरी सहयोग गर्ने भन्ने विषयमा यस लेखमा केही सुझावहरू प्रस्तुत गरिएको छ :

विद्यार्थीहरूको लागि:
१. समयतालिका बनाउनुहोस्:
पढ्नका लागि एउटा समयतालिका तयार गर्नुहोस् र त्यसलाई पढ्ने ठाउँमा टाँस्नुहोस् । यसरी तालिका बनाउँदा सबैभन्दा गार्हो लाग्ने विषयलाई प्राथमिकता दिनुहोस् । यसरी समयतालिका बनाएर पढ्दा अन्य अनावश्यक कुरामा समय बर्बाद हुँदैन । अध्ययनको लागि तालिका बनाउनुहोस् र त्यसमा अडिग रहनुहोस् । तालिका बनाउँदा भने तपाईले प्रत्येक विषयको लागि पर्याप्त समय सुनिश्चित गर्नुहोस् ।



२. विगतका परीक्षाका प्रश्नहरूको समीक्षा र अभ्यास गर्नुहोस्:
विगतका परीक्षाका प्रश्नहरूको समीक्षाले तपाईंलाई सोधिने प्रश्नहरूको प्रकार र तिनीहरूको उत्तर कसरी दिने भनेर बुझ्न मद्दत गर्दछ । कुनै समय निकालेर आफ्नो स्व परीक्षा लिनुहोस् । आफूले पढेका पाठबाट आफैंले प्रश्न बनाउने वा पुरानो प्रश्नहरूको जवाफ लेख्ने अभ्यास गर्नुहोस् । यसरी जवाफ लेख्दा हुबहु किताबको कुरा लेख्नेभन्दा पनि आफूले बुझेको कुरा मौलिक ढंगले लेख्नुहोस् । यसरी अभ्यास गर्दा निश्चित समय सिमा भित्र पूरा गर्न प्रयास गर्नुहोस् ।

३. भिजुअल माध्यम प्रयोग गर्नुहोस्:
कतिपय कुरा सहजै बुझ्न गार्हो भइरहेको हुन्छ र स्मरण गर्दा पनि नआउन सक्छ । त्यस्ता कुरालाई ठूलो अक्षरमा नोट बनाएर भित्तामा वा बोर्डमा टाँस्न सकिन्छ । साथै नक्साहरू, फ्ल्यास कार्डहरू वा रेखाचित्रहरू बनाउन पनि सकिन्छ जसले तपाईंले पढ्न खोज्नु भएको मुख्य अवधारणाहरू र विचारहरू सम्झन मद्दत गर्छ । त्यहिँ कुरा बारम्बार देखिरहेपछि हामीलाई स्मरण गर्न पनि सहज हुन्छ ।

४. पर्याप्त आराम लिनुहोस् र स्वस्थ खाना खानुहोस्:
कुनैपनि कुरा एकोहोरो पढिरहेका अवस्थामा हामीलाई पढेको कुरा सम्झन गाह्रो हुन्छ । त्यसैले समय समयमा विश्राम लिने गर्नुपर्छ । धेरै तनाव लिएर पढ्न भन्दा आफूलाई सहज हुने गरि पढ्यो भने त्यो अझ प्रभावकारी हुन्छ । हाम्रो स्वास्थ्य ठीक भयो भने मात्र पढेका कुराहरु हामीले बुझ्न सक्छौं । पढिरहेको समयमा गहिरो सास लिने, पर्याप्त पानी पिउने, ताजा फलफूल खाने, हल्का व्यायाम गर्नेजस्ता अभ्यास गर्दा पढ्ने कुराहरू ग्रहण गर्न सहज हुन्छ । परीक्षाको बेला कतिपय विद्यार्थीहरू रातभर जागेर एकोहोरो पढ्ने गर्छन्, जुन उचित होइन । परीक्षाको बेला निद्रा पुगेन भने कुनैपनि कुरालाई सही ढंगले स्मरण गर्न र लेख्न सकिंदैन । त्यसैले पर्याप्त निद्रा पुर्याउनुहोस्।

५. पढेको कुरामा छलफल गर्ने र मद्दतको लागि सोध्नुहोस्:
हामीले जुन पाठ पढ्यौं, त्यस विषयमा नै केन्द्रित भएर आफ्ना साथीभाइ वा परिवारसँग छलफल गर्दा त्यो विषयलाई बुझ्न अझै प्रभावकारी हुन्छ र स्मरण गर्न सहज हुन्छ, किनभने हामीले त्यो पाठलाई नयाँ आयामबाट सोचिरहेका हुन्छौं। यदि तपाईं कुनै विशेष विषय वा अवधारणासँग संघर्ष गर्दै हुनुहुन्छ भने, मद्दतको लागि आफ्नो शिक्षक, वा सहपाठी वा परिवारलाई सोध्न नडराउनुहोस् ।

६. ध्यान भंग हुने उपकरणहरूबाट टाढा रहने:
विद्यार्थीहरूले यो समयमा टेलिभिजन, मोबाइल जस्ता ध्यान भंग हुने साधनहरूबाट टाढा रहनुहोस् । यसले हाम्रो हजुरको धेरै समय बर्बाद गरिरहेको हुन्छ र पढ्ने विषयमा केन्द्रित हुन दिंदैन। अरू बेला केही समय टेलिभिजन वा मोबाइल चलाएपनि परीक्षाको बेला भने नचलाएकै राम्रो हुन्छ ।

अभिभावकहरूको लागि:
परीक्षामा विद्यार्थीले राम्रो गर्ने नगर्ने भन्ने कुरामा अभिभावकको भूमिका पनि उति नै महत्वपूर्ण हुन्छ । विद्यार्थीको मनोबल परीक्षाको समयमा कस्तो छ भन्ने कुराले परीक्षाको नतिजामा पनि फरक पर्ने सम्भावना धेरै हुन्छ । विद्यार्थीको मनोबल बढाउन परिवारका सदस्यहरुको प्रतिक्रियामा भर पर्छ । यस लेखमा अभिभावकहरूले के कस्तो काम गर्दा परीक्षार्थीको मनोबल उच्च बनाउन र के कस्तो सहायोग गर्न सकिन्छ भनेर सुझाइएको छ ।

१. राम्रो अध्ययन बानीलाई प्रोत्साहन दिनुहोस्:
तपाईंको बच्चाहरूलाई राम्रो अध्ययन बानीहरू विकास गर्न प्रोत्साहन दिनुहोस् जस्तै नियमित अध्ययन तालिका बनाएर त्यसलाई पालना गर्न लगाउनुहोस् । समय समयमा विश्राम पनि गर्नु आवश्यक हुन्छ र जे कुराले उनीहरूको पढ्ने शैलीलाई अलमल्याइरहेको छ त्यो कुराहरूलाई न्यून गरिदिनुहोस् ।

२. अध्ययनको लागि अनुकूल वातावरण प्रदान गर्नुहोस्:
तपाईंको बच्चालाई अध्ययन गर्नको लागि उचित ठाउँको व्यवस्थापन गरिदिनुहोस् । अध्ययन गर्ने ठाउँ शान्त र राम्रोसँग उज्यालो हुने ठाउँ भयो भने अध्ययन गरेको कुरा ग्रहण गर्न सहज हुन्छ ।

३. भावनात्मक समर्थन प्रस्ताव गर्नुहोस्:
तपाईंको बच्चाहरूलाई नियामित रूपमा प्रोत्साहित र उत्प्रेरित गर्नुहोस् । उनीहरूलाई परीक्षाको बेला निकै तनाव भइरहेको हुन्छ । यस्तो बेलामा उनीहरूलाई सक्दो प्रयत्न गर्न प्रोत्साहन गर्नुपर्छ र यो तनावपूर्ण समयमा भावनात्मक समर्थन प्रदान गर्नुहोस् । आफ्नो बच्चा भन्दा राम्रो पढ्ने बच्चाहरूको उदाहरण दिएर अनावश्यक तनाव नदिनुहोस् ।

४. स्वस्थ जीवनशैली प्रदान गर्नुहोस्: 
आफ्नो बच्चालाई विशेषगरि परीक्षाको बेला पर्याप्त निद्रा, स्वस्थ खाना, र नियमित व्यायाम गराएर स्वस्थ जीवनशैली कायम राख्न प्रोत्साहन दिनुहोस् । परीक्षा छ भनेर राती अबेरसम्म पढ्न लगाउने या सवेरै छिटो उठेर पढ्न लगाउने अभिभावकहरू थुप्रै हुनुहुन्छ, थप समय पढ्न लगाउनु ठिक हो तर आफ्नो बच्चाहरूको निन्द्रा पर्याप्त मात्रामा पुगेको छ या छैन, उनीहरूलाई आवश्यक पर्ने विश्राम पाइरहेका छन् या छैनन् ? यी सबैकुराहरूमा अभिभावकहरूले ध्यान पुर्याउन आवश्यक हुन्छ ।

माथि उल्लेखित सुझावहरू अपनाएको अवस्थामा विद्यार्थीहरूको अंक राम्रो आउनेछ र यसले विद्यार्थीहरूको पढ्ने बानीमा पनि सुधार हुनेछ 

सम्पूर्ण विद्यार्थी अनि अभिभावकहरूलाई शुभकामना ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.