Tithi Ke Ho Ra Tithiko Mahattwa Ke Chha | Hamro Patro

ब्लग - साहित्य / Blog

तिथि के हो र तिथिको महत्त्व के छ ?





हाम्रो वैदिक ज्योतिष अन्तर्गत पञ्चाङ्ग (तिथि, वार, योग, नक्षत्र र करण)मा तिथिको महत्त्व विशेष रहेको छ । चन्द्रमाको आधारमा गणना गरिने मितिलाई नै तिथि भनिन्छ । एउटा सूर्योदयबाट आर्को सूर्योदयसम्मको जुन समय हुन्छ त्यसलाई अहोरात्र भन्ने गरिनछ त्यसैलाई तिथि मानिन्छ । यसै तिथि कै आधारमा सबै प्रकारको मुहूर्त (साइत) निकाल्ने गरिन्छ ।

हाम्रो वैदिक शास्त्रमा चन्द्रमाको गति अनुसार २९.५ दिनको एक चन्द्रमास हुन्छ र यो चन्द्रमास अर्थात् महिनालाई लगभग १५/१५ दिनको दुई भागमा विभाजन गरिएको हुन्छ, जसलाई कृष्णपक्ष र शुक्लपक्ष भनिन्छ । क्षीण चन्द्रमा जब बढ्न थाल्छ, तब शुक्लपक्षको तिथि र जुन दिनबाट चन्द्रमा घट्न थाल्छ, तब कृष्णपक्ष प्रारम्भ हुन्छ ।

शुक्लपक्षको तिथिमा प्रतिपदाबाट सुरु भएर द्वितीया, तृतीया , चतुर्थी , पञ्चमी, षष्ठी, सप्तमी, अष्टमी, नवमी, दशमी, एकादशी, द्वादशी, त्रयोदशी, चतुर्दशी र पूर्णिमासम्म हुनेछ भने कृष्णपक्षमा प्रतिपदाबाट प्रारम्भ भएर द्वितीया, तृतीया, चतुर्थी, पञ्चमी, षष्ठी, सप्तमी, अष्टमी, नवमी, दशमी, एकादशी, द्वादशी, त्रयोदशी, चतुर्दशी र औँशी सम्मको हुनेछ अतः समग्रमा तिथिहरूको नाम १६ हुन्छ, जसको महत्त्व यसरी बुझ्न सकिन्छ

संज्ञाका दृष्टिले तिथिलाई छ वर्गमा बाँडिएको हुन्छ, जस्तै नन्दा, भद्रा, जया, रिक्ता, पूर्णा, पक्षरन्ध्र ।
प्रतिपदा, षष्ठी, एकादशी = नन्दा
द्वितीया, सप्तमी, द्वादशी = भद्रा,
तृतीया, अष्टमी, त्रयोदशी = जया
चतुर्थी, नवमी, चतुर्दशी = रिक्ता
पञ्चमी, दशमी, पूर्णिमा = पूर्णा
चतुर्थी, षष्ठी, अष्टमी, नवमी, द्वादशी, चतुर्दशी = पक्षरन्ध्र

प्रतिपदा :
प्रतिपदा पहिलो तिथि हो । प्रतिपदाको स्वामी अग्निदेव हुनुहुन्छ । प्रतिपदा तिथि आनन्द दिने हुन्छ । यस तिथिमा गृह निर्माण, गृह प्रवेश, वास्तुकर्म, विवाह, यात्रा आदि शुभ हुन्छ । कृष्ण पक्षको प्रतिपदामा चन्द्रमालाई बली हुन्छ (शुभ कार्यको लागि राम्रो) र शुक्ल पक्षको प्रतिपदामा चन्द्रमा निर्बल (शुभ कार्यको लागि नराम्रो) मानिएको छ ।

द्वितीया : द्वितीया तिथिलाई सुमङ्गल भनिन्छ, जसको देवता ब्रह्माजी हुनुहुन्छ । यो भद्रा संज्ञक तिथि हो । सोमवार र शुक्रवारमा यो तिथि राम्रो मानिदैन । बुधवारको दिन दुबै पक्षको द्वितीया तिथिमा विशेष सामर्थ हुनेहुन्छ र यो सिद्धिदात्री हुन्छ, यो समयमा गरेका सबै कार्य सफल हुनेहुन्छ ।

तृ‍तीया : तृतीया तिथिको स्वामिनी गौरी हो । बुधवार मृत्युदा (अशुभ) र मङ्गलवार यो तिथि सिद्धदा (शुभ) हुनेहुन्छ । शुक्ल र कृष्ण दुबै पक्षको यस तिथिको शिवपुजन निषेध हुन्छ । यो तिथि आरोग्य दिने वाला हुन्छ ।

चतुर्थी व्रत : चतुर्थी तिथिमा व्रतको उल्लेख पुराणमा पाइन्छ। चतुर्थी तिथिको स्वामी गणेशजी हुनुहुन्छ । यो तिथि 'रिक्ता संज्ञक' मानिन्छ । अतः यस तिथिमा शुभ कार्य वर्जित रहन्छ । चतुर्थी तिथिमा विहीवारको दिन मृत्युदा हुन्छ र शनिवारको चतुर्थी सिद्धिदा हुन्छ र चतुर्थी 'रिक्ता' हुनाले जुन दोष यस्तो विशेष स्थितिमा समाप्त हुन्छ । चतुर्थी तिथिमा व्रत र गणेशजीको आराधना गर्नाले सङ्कटबाट मुक्ति मिल्ने, आर्थिक लाभ प्राप्त हुने, सुख र सौभाग्य दिनेवाला हुन्छ ।

पञ्चमी : पञ्चमी तिथि का स्वामी नाग हो । यो 'पूर्णा संज्ञक' हो । पुष महिनाको दुबै पक्षमा यो तिथि शून्य फल दिनेवाला हुन्छ । पञ्चमी तिथिको दिशा दक्षिण हुनेहुन्छ । पञ्चमी तिथिमा गरेको कार्य शुभफल दायक नै हुन्छ । शनिवार पञ्चमी परे मृत्युदा हुन्छ । विहीवारको दिन यही पञ्चमी तिथि भने सिद्धिदा भएर विशेष शुभ फलदायी हुन्छ । शुक्ल पञ्चमी सुख दिनेवाला र कृष्ण पञ्चमी श्रीप्राप्ति कारक हुन्छ ।

षष्ठी : षष्ठी तिथिको स्वामी कार्तिकेय हो । आइतवार षष्ठी परे मृत्युदा र शुक्रवारमा सिद्धिदा हुनेहुन्छ । माघ कृष्णमा भने शून्य हुन्छ । यसको दिशा पश्चिम हो ।

सप्तमी : सप्तमीको स्वामी सूर्य हो । शुक्रवारको सप्तमी मृत्युदा र बुधवार सिद्धिदा हुनेहुन्छ । आषाढ कृष्ण सप्तमीमा शून्य हुन्छ । यसको दिशा वायव्य हो ।

अष्टमी : कलावती नामको यो तिथि जया संज्ञक हो । मङ्गलवारको अष्टमी सिद्धिदा र बुधवारमा मृत्युदा हुनेहुन्छ । यसको दिशा ईशान हो । शुक्ल पक्षको यस तिथिको शिवपुजन निषेध हुन्छ ।

नवमी : नवमी तिथि चैत्रमा शून्य संज्ञक हुन्छ र यसको दिशा पूर्व हो । शनिवारमा सिद्धदा र विहीवार मृत्युदा हुनेहुन्छ, अर्थात् शनिवार गरिएका कार्यमा विशेष सफलता मिल्ने र विहीवार गरिएका कार्यबाट सफलता सम्भावना न्यून हुनेहुन्छ ।

दशमी :
शनिवार दशमी मृत्युदा र विहीवारमा सिद्धिदा हुनेहुन्छ । आश्विन महिनामा दशमी शून्य सङ्ख्यक हुनाले सबै शुभकार्यमा वर्जित हुन्छ । यसको दिशा उत्तर हो ।

एकादशी : एकादशी तिथिमा व्रत, सबै प्रकारको धार्मिक कार्य, भगवानको उत्सव, उद्यापन, वास्तुकर्म, युद्ध र न्यायकार्यसँग सम्बन्धित कार्य, शिल्पकारिता, व्रतबन्ध, शीलान्यास र यात्रा सम्बन्धि कार्य गर्नको लागि यस दिन उत्तम मानिन्छ ।

द्वादशी : यसको दिशा नैऋत्य हो । यो 'भद्रा' संज्ञक तिथि हो । सोमवार मृत्युदा र बुधवार सिद्धिदा हुनेहुन्छ । आइतवार मध्यम फल दिने वाला रहन्छ ।

चतुर्दशी : चतुर्दशी तिथि रिक्ता संज्ञक हो र यसलाई क्रूरा पनि भनिन्छ । त्यसैले यो तिथिमा सम्पूर्ण शुभ कार्य निषेध हुनेहुन्छ । यसको दिशा पश्‍चिम हो ।

पूर्णिमा : पूर्णिमाको अधिपति चन्द्रमा हो । कार्तिक पूर्णिमा, माघ पूर्णिमा, शरद पूर्णिमा, गुरु पूर्णिमा, बुद्ध पूर्णिमा आदि मुख्य पूर्णिमा हुन्छ । यस तिथिमा शिल्प, आभूषणसँग सम्बन्धित कार्य गर्न सकिन्छ । संग्राम, विवाह, यज्ञ, जलाशय, यात्रा तथा शान्ति दिने वाला र शुभ तथा मङ्गल कार्यको लागि उपयुक्त तिथि पूर्णिमा हो ।

औँशी : तिथिलाई नकारात्मक शक्तिसँग जोडेर हेर्ने गरिनछ । यस दिन चन्द्रमा आकाश मण्डलमा देखिदैन र सबैतिर सून्यताको स्थिति रहन्छ । यसदिन शुभकार्य र रतिराग पूर्ण वर्जित हुन्छ, तर सोमवती आमावास्य (सोमवारे औँशी),भौमवती अमावस्या (मङ्गलवारे औँशी), मौनी अमावस्या (माघ महिनाको औँशी), गाई तिहारे औँशी, पौषे औँशी, कुशे औँशी, सोह्रश्राद्ध औँशी आदिको भने स्नान, दान, धर्म, श्री: प्राप्ति, पितृमोक्ष आदिको लागि विशेष रहनेहुन्छ ।

हाम्रो वैदिक परम्परामा यीनै सम्पूर्ण १६ वटा तिथिमा नै सम्पूर्ण पर्व र शुभ साइत तय हुने गर्दछ । प्रत्येक तिथिको अधिपति र देवताहरूको सम्बन्ध रहेको हुनाले शुभ अशुभ तय हुन्छ, त्यसैले हाम्रो पर्व र शुभ साइतको लागि झनै तिथिको महत्त्व बढी रहन्छ । अस्तु ॥

-ज्योतिषाचार्य प. नारायणप्रसाद दुलाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.