विजयादशमी | Hamro Patro

ब्लग - साहित्य / Blog

विजयादशमी





आज विजयादशमी अर्थात नवरात्रीको दशौं दिन, बडा दशैंको सबैभन्दा महत्वपूर्ण दिन । यस दिन दुर्गा भवानी पूजाको विसर्जन गरि मान्यजनहरुबाट प्रसाद स्वरुप टिका जमरा लगाइन्छ । भगवान रामचन्द्रले बनबासका बेला दुर्गा स्वरुपा महामायाको नौ दिनसम्म पूजा आराधना गरेपछि महामाया देवीको कृपाले नवमीको रातमा ‘भोलीको दिन मेरो प्रसाद स्वरुप टिका जमरा लगाई रावणसंग युद्ध लडेमा विजयी हुन्छौ’ भनेर आशिर्वाद दिनुभएको थियो । आश्विन शुक्ल दशमीका दिन घडाको जलको अभिशेक लिई दुर्गा भवानीको प्रसाद स्वरुप टिका जमरा लगाई भगवान रामले रावणमाथि विजयी प्राप्त गरेका थिए । त्यहि दिनदेखि विजया दशमीका नामले आजको दिन सवैले चामलमा दहि र रातो रंग मिसाएर बनाईएको टिका जमरा लगाउने र मान्यजनबाट आशिर्वाद लिएर दशैं मनाउँदछन् । 


दशैंको धुन सुन्न माथिको भिडियो सुन्नुहोस

यस दिन नवरात्रिभर अर्थात घटस्थापनादेखि नौ दिन पुजा आराधना गरिएकी नवदुर्गा भवानीको पूजास्थल र प्रतिमालाई बिसर्जन गरिन्छ । यस दिन सबैले फूल, अक्षता लिएर क्षमा प्रार्थनासाथ घडाको अभिशेक लिएर दुर्गा पूजा विसर्जन गर्दछन् । त्यसपछि घरको मुल ढोकाको दैलो माथि टिका र जमरा टाँसेर विधिवत रुपमा टिका लगाउने साईत हेरेर विजया दशमीको टिका फुकाईन्छ । टिका लगाउँदा विभिन्न प्रकारका श्लोकयुक्त आशिर्वाद बचनहरु बाचन गरिन्छ । सवैभन्दा प्रचलित श्लोक यस प्रकार रहेको छ-




आयु द्रोण सुते, श्रीयंच दशरथे, सत्रु क्षयम् राघवे,

ऐश्वोर्यं नहुषे, गतिस्च पवने, मानंम् च दुर्योधने,

दानम् सुर्य सुते, बलम् हलधरे, सत्यम् च कुन्ती सुते,

बिज्ञाने बिदुरे भवति भवताम् किर्तिस्च नारायणे ।

यसको अर्थ- द्रोणका छोरा अस्वत्थामाको जस्तो आयु, दशरथको जस्तो कीर्ति, रामको जस्तो अजात सत्रुत्व हरणको क्षमता, नहुस राजाको जस्तो ऐस्वर्य, वायुको जस्तो गति, दुर्योधनको जस्तो मान, सूर्यका छोराजस्ता दानी, भीम जस्तो बल, युधिष्ठिर जस्तो सत्यवान्, विदुरको जस्तो ज्ञान, नारायणको जस्तो कीर्ति र सम्मान होस् भन्ने हो ।

वडा दशैंका दिन घरका मूलि अर्थात जेठो सदस्यको हातबाट बाँकी सदस्यले टिका ग्रहण गर्दछन् । त्यसपछि टिका थाप्न आएका आफन्त, पाहुना, कुटुम्ब तथा इस्टमित्रहरुलाई क्रमैसंग टिका लगाईदिने र आफू पनि मान्नुपर्ने मान्यजन् कुटुम्बकहाँ गएर टिका थाप्ने चलन रहेको छ । मान्यजन सहित चेलिबेटी, ज्वाँईचेलालाई गच्छे अनुसारको दक्षिणा दिइन्छ । दशैंको टिका थाप्न टाढाटाढा रहेका विछोडिएका घर परिवारका सदस्य र आफन्तहरु घरमा भेला हुने हुँदा यस चाडलाई भेटघाट र मिलनको सुखद् अवसरका रुपमा पनि लिइन्छ । विदेशमा रहेकाहरू समेत दशैंमा मान्यजनका हातबाट टिका थाप्न घर पुग्दछन् । दशैंको मर्म भनेकै मान्यजनप्रतिको श्रद्धा र आत्मियताको सम्मान पनि हो । दशैंमा केहि नहुनेले पनि भरसक नयाँ लुगा लगाउने र जोहो गरेरै भएपनि मिठो मसिनो खाने चलन छ । दशैंका बेला रातो टिका लगाएर टाउको र कानमा पहेंला जमरा सिउरिएर हिंड्ने मानिसको भिड साँच्चै रमाइलो देखिन्छ । नेपाल बहुजाती बहुभाषीको देश भएकोले यहाँ ठाउँ अनुसार फरक-फरक रुपमा चाडवाडहरु मनाईन्छन् । केहि मिल्दाजुल्दा र केहि फरक संस्कारका साथ चाडवाड मनाइन्छन् । नेपाली परम्परामा दशैंको टीका दशमी तिथीदेखि पूर्णिमासम्म पाँच दिन लगाइन्छ । यसको कारणचैं टाढा रहेका आफन्तहरुले समेत टिका लगाउने अवसर पाउन भन्ने हो । तर पश्चिमी नेपालमा भने विजया दशमीको टिका दशमीका दिनमात्रै लगाउने प्रचलन रहेको छ ।

आज विजयको प्रतिक स्वरुप घरमा राखिएका खड्गहरु निकालेर प्रदर्शन गरिन्छ । काठमाडौं उपत्यकामा पचली भैरव र अस्टमात्रिकाको नृत्य देखाइन्छ । विजया दशमीका दिन टिका र जमराले फुलपातीमा लगाईएको रोटे पिङ र लिङ्गे पिङको पूजा गरेपछि मात्रै खेलिन्छ । दशैंमा हरेक हिन्दु धर्मावलम्बीहरुको सवैभन्दा ठुलो चाड भएकाले घर छोडी जहाँ जुन अवस्थामा रहेको भएपनि घर फर्किने चलन रहेको छ । यसैगरी नेपाल सहित भारतमा पनि दशैं मनाईंदै आएको छ । पश्चिम बंगालमा दशैंमा दुर्गा पूजा गर्दै विशेष रुपमा मनाइन्छ । दुर्गा भवानीलाई भव्य सुशोभित पण्डालहरुमा सजाइन्छ । विजया दशमीका दिन पूजाको आयोजना गरि प्रसाद वितरण गरिन्छ । 


- हाम्रो पात्रोको लागि बाबुराम भण्डारीले तयार पार्नु भएको



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.