गोवर्द्धन पूजा/म्ह: पूजा/नेपाल सम्बत् | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

ब्लग - साहित्य / Blog

गोवर्द्धन पूजा/म्ह: पूजा/नेपाल सम्बत्





आज तिहारको चौथो दिन- गोरु तिहार, हल तिहार र गोबर्धन पूजा जस्ता बिभिन्न नामले मनाईदैछ । गोरुको पूजा गरिने भएको हुँदा यस पर्वलाई गोरु तिहार भनिएको हो । खेतबारी जोत्ने र गाडा तान्ने गोरुको सम्मान स्वरुप गोरु तिहार मनाईएको हो । बर्षभरी अन्न उब्जाउन हलो तानी मानिसहरुको पालनपोषण गर्ने गोरूको विशेष पूजा गरिएको हो । यस दिनलाई हल तिहार पनि भनिन्छ । सयपत्री लगायत अन्य फुलको माला उनेर गोरु र बहरलाई माला लगाई चामलको रोटी (बाबर) पकाएर खान दिईन्छ । गोरु पूजागर्दा चामलको पिठोमा विभिन्न खालका रंग मिसाएर रंगिचंगी बनाई ढाडमा बुट्टावाला छाप बनाईदिने गरिन्छ ।


आज गोबरलाई गोबर्धन पर्वतको प्रतीकका रुपमा गोबर्धन पूजा गरिन्छ । गोवर्धन पूजा तिहार चाडभित्रको एउटा प्रमुख पर्व हो । पौराणिक कथा अनुसार गोबर्धन पर्वतमा ग्वालाहरूसंगै भगवान कृष्ण पनि बस्दथे । ग्वालाहरू देवराज इन्द्रको पूजा गर्दथे, तर जति भक्ति गरेपनि उनीहरूले इन्द्रबाट केहि पाउँदैनथिए । गोकुलवासीहरूलाई केही नदिने इन्द्रको पूजा किन गर्नु भनि श्रीकृष्णले एकदिन गोकुलवासीहरुलाई भनेपछि उनीहरुले पनि पूजा गर्न छाडे । बरु इन्द्रको साटो उनीहरुले खनिज, घाँस, पानी र दाउरा दिने गोबर्धन पर्वतको पूजा गर्न थाले । आफ्नो सट्टा गोबर्धन पर्वतको पूजा हुन थालेपछि इन्द्रले पनि रिस थाम्न नसकि गोकुलमा भिषण असिना पानीको बर्षा गराईदिए । गोपालहरु असिना पानीले त्राहित्राही बनेको देखेर कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीको कल्याण गरी आश्रय दिए । अन्त्यमा इन्द्रले आफ्नो हार स्विकार गरी कृष्ण समक्ष क्षमा मागे । भनिन्छ, उक्त दिन कार्तिक शुक्ल प्रतिपदाको दिन भएको र त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो ।

गोबर्धन पूजा सकिएपछि आजैदेखि देउसी खेल्ने चलन पनि छ । देउसीमा नाचगान गरी घरघरमा आर्शिवाद बाँडिन्छ । देउसी खेल्ने प्रचलन बली राजाको पालादेखि शुरु भएको भनाई छ । तिहार पर्व देउसीकै कारण पनि लोकप्रिय बनेको हो । देउसेहरुले परम्परागत भेषभूषा लगाएर बली राजाका प्रतिनिधिका रुपमा विभिन्न देवकथा, उपकथा, शुभवचनहरु भट्याउँदै नाचगान गर्दछन् र श्रद्धापूर्वक प्राप्त गरेको दान दक्षिणा ग्रहण गर्दछन् । लक्ष्मीपूजाका दिनदेखि भैलो खेलिन्छ भने गोरु पूजाका दिनदेखि यसरी देउसी खेल्ने चलन रहेको छ ।


म्ह: पूजा


कात्तिक शुक्ल प्रतिपदा अर्थात तिहारको चौथो दिन नेवारी समुदायमा भने म्ह: पूजा गरेर धुमधामका साथ मनाइन्छ । नेवारी समुदायका हरेक घर परिवारका सदस्यहरु भेला भएर म्हः पूजा गर्ने चलन रहेको छ । नेवारी भाषामा म्हः भनेको शरीर हो । म्हः अर्थात आफ्नै शरिरको पूजा गर्ने अनौठो र रोचक पर्वका रुपमा यो पर्व रहिआएको छ । आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफैंलाई आराधना गरी शरीरभित्रको चेतनपुञ्जलाई पूजा गरिन्छ । समग्र देवी देवता, ऊर्जा शक्ति, विश्व-ब्रम्हाण्ड मानव शरीरभित्र नै रहेको विश्वास गरी यस्तो अभुतपूर्व शरिर नै परमेश्वर इश्वरको बासस्थल भएको विश्वास गरी आफ्नै शरिरको पूजा गरिन्छ । अर्को अर्थमा आफ्नो उद्धार आफैले मात्र गर्न सकिने म्ह: पूजाको दार्शनिक पक्ष रहि आएको छ । शरीरमा शान्ति नभएसम्म आत्मशान्ति नहुने भएकाले तान्त्रिक विधि अनुसार म्हः पूजा गरिन्छ । म्ह: पूजागर्दा अष्ट चिरञ्जीवीको प्रतिक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ र सोहि मण्डपमाथि बिभिन्न खाद्यवस्तु राखेर आफैंले आफैंलाई खुवाईन्छ ।


नेपाल सम्बत्


आज नेपाल सम्बत् समेत फेरिने भएकोले नेपाल सम्बत् अनुसारको नयाँ वर्ष पनि मनाइन्छ । राष्ट्रिय विभूति शंखधर साख्वाःले ११३५ वर्षअघि देशभरका जनतालाई ऋणमुक्त पारेर चलाएको सम्बत् नै नेपाल संवत् हो । उक्त दिन आजै भएकोले नेपाल सम्बत् अनुसार नयाँ वर्ष मनाईन्छ । यस उपलक्ष्यमा ‘न्हू दँया भिन्तुना’ भन्दै देशैभरी र विदेशमा समेत भिन्तुना र्याली निकालिन्छ । नेपाल सम्बत् चन्द्रमासमा आधारित समय चक्र अथवा साल हो । विशेषत: नेवार समुदायले मान्ने यो संवत नेपालको मौलिक सम्बत् पनि हो । तत्कालिन अवस्थामा भक्तपुरका राजा राघव देवको आदेश अनुसार सरकारी कार्यालहरुमा यो सम्बत् लागू गरिएको थियो भने पछि चन्द्र शमशेरको कार्यकालसम्म प्रचलनमा रह्यो । यो सम्बतको पहिलो दिन बिक्रम सम्बत् अनुसार कार्तिक शुक्ल पक्षका दिनमा पर्दछ । यो सम्बत् अनुसार एउटा औंसीबाट अर्को औंसीलाई एक चन्द्रमास गणना गरिएको छ । सोहि अनुसार १२ औंसीको एक वर्ष मानिएको छ, जस अनुसार ३५४ दिनको एकवर्ष हुन जान्छ । नेपाल सम्बत् अनुसारका महिनालाई क्रमश: कछला, थिंला, पोंहेला, सिल्ला, चिल्ला, च्वला, बँछला, तँछला, देल्ला, गुँला, ञला र कौला भनिन्छ । यो सम्बत् हाल आधिकारिक रूपमा प्रयोगमा नआए पनि नेपाल सरकारले निर्णय गरी मान्यता प्रदान गरेको छ । नेवार समुदायमा चैं यो सम्बत निकै प्रयोगमा रहेको छ ।

- हाम्रो पात्रोको लागि बाबुराम भण्डारीले तयार पार्नु भएको




Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.