महाअष्टमी / महानवमी | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

ब्लग - साहित्य / Blog

महाअष्टमी / महानवमी





महा नवमी लाग्ने महा अष्टमीको मध्यरातमा बलि सहित असुर संहारकर्ता कालदुर्गे कालरात्रिको पूजा गरिन्छ । आजै आफूले प्रयोग गर्ने खुकुरी, तरबार, खड्गहरु जस्ता फलामका घरेलु औजार, कलपुर्जा र सवारी साधनलाई पनि दशैं घरमा राखेर विशेष पुजाआजा गर्ने गरिन्छ । नेपाली सेना र प्रहरीका हातहतियार तथा कोतखानामा रहेका अन्य हतियारहरुको पनि पूजा गरिन्छ । नवरात्रिको आठौं दिनमा देवी दुर्गाको महाकाली रुप (भद्रकाली) को विशेष पूजाआजा गरिन्छ । पौराणिककालमा सतिदेवीले पिता दक्षप्रजापतिले आफ्ना पति परमेश्वर महादेवको निन्दा गरेपछि हरहर महादेव भन्दै बाबु दक्षप्रजापतिको यज्ञमा फाल हानेर आत्मादाह गरिन् । त्यहि बखत ब्यूँझिएका महादेवले आफ्नी सावित्री सतिदेवीको त्यो हाल भएको थाहा पाएर रिसले चुर हुँदा दक्षको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली देवी यसै अष्टमीका दिन उत्पन्न भईन् । त्यसैले यस दिन भद्रकालीलाई सोह्र सामाग्रीहरु जुटाएर पूजा गर्ने गरिन्छ । नवदुर्गा पार्वतिका शक्ति स्वरुपाहरु- शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री आदिको पूजाआजा गरिन्छ । पूजा पश्चात बोका, कुखुरा, हाँस, राँगा आदिको बलि दिने चलन रहेको छ । 


Click above video for Mangal Dhoon

महाअष्टमीका दिन मानिसहरुले आफ्ना कुल, देवीदेवताहरु पनि पूजा गरी बलि चढाउने गर्दछन् । सात्विकहरूले भने नरिवल, कुभिण्डो, केरा, घिरौँला जस्ता फल अर्पण गर्दछन् । महा अष्टमिका दिन हनुमानढोकास्थित दशैं घरको तलेजु भवानीमा ५४ वटा राँगा र त्यत्ति नै बोकाको बलि दिइन्छ । आज काठमाडौं उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराही लगायतका मन्दिरहरूमा पूजा आराधना गरी बलि चढाउनेहरुको घुइँचो लाग्ने गर्छ । त्यसैगरी सप्तरीको भारदहस्थित कंकालिनी देवीको मन्दिरमा जहाँ हजारौंको संख्यामा खसीबोका, राँगा, हाँस र कुखुरालाई बलि चढाइन्छ । काभ्रेको पलाञ्चोक भगवती, बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, वीरगन्जको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डडेल्धुराको उग्रतारा लगायतका मन्दिरहरूमा पनि शक्तिरूपा भगवतीको पूजा अर्चना गरिन्छ । दुर्गा सप्तशती र देवी स्तोत्र पाठ पनि गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले जीवन पश्चातको मोक्ष चाहने हुँदा देव मन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुहरुले मोक्ष प्राप्त गरी अर्को जुनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको पाइन्छ । तर बलि प्रथाको पछिल्ला दिनमा भने चर्को बिरोध हुन थालेको छ । यसले हिंसा बढाउने र हरेक प्राणीको जन्मिसकेपछि बाँच्न पाउने सास्वत: अधिकार हुने भन्दै बलिको आलोचना हुने गरेको हो । 


महा नवमि

नवरात्रिको नवौं दिन शक्तिस्वरुपा दुर्गा भवानी (महालक्ष्मी देवी) को पूजाआजा गरिन्छ । महा अष्टमिमा झैं कतिपय ठाउँमा भने नवमीमा समेत कलपूर्जा, हातहतियारहरूको पूजा गरिन्छ । कन्याहरूको पूजा गरी भोजन पनि गराईन्छ । पूजाआजाका लागि काठमाडौँको तलेजु भवानीको मन्दिर यस दिन सर्वसाधारणको लागि खुल्लै गरिन्छ । घटस्थापनाका दिन विधिपूर्वक राखिएको जमरा महा नवमिका दिन देवी मन्दिर तथा अन्य शक्तिपीठहरुमा चढाउने गरिन्छ । यस दिन घरघरमा विशेष पूजाअर्चना र दुर्गा सप्तशती पाठ गरिन्छ । महा नवमिमा दुर्गा भवानीलाई जति धेरै बली दिन सक्यो त्यति धेरै पुण्य लाभ हुने धार्मिक विश्वास गरिन्छ । नवदुर्गा भवानिले असुरहरूको निर्मूल गरेको दिन महा नवमिलाई मानिन्छ । नवरात्रिको नवौ दिनमा सिद्धिद्धात्रि देवीको पूजाआजा गरिन्छ । दुर्गा भगवतिले असुरहरु नास गर्ने क्रममा उनीहरुको सैन्य शक्ति तहसनहस बनाउँदा प्राण बचाउन असुरहरु भेष बदलेर खसी, बोका, भेडा, हाँस, कुखुराको रुप धारण गरेका थिए । त्यहि भएर महा नवमिका दिन मौलामा यी पशुको बली दिने चलन चलेको बुढापाकाहरु बताउँछन् । शाकाहारीहरूले भने आज कुभिन्डो, घिरौंला र मूला आदि बलिका रुपमा देवी भगवती सामु अर्पण गर्ने गर्दछन् । 

पुराणमा उल्लेख भएअनुसार महा नवमिमा चामुण्डादेवीले रक्तबिज नामक असुरको संहार गरी देवत्व र सत्यको रक्षा गर्नु भएको थियो । नवमिमा कोतहरूमा हर्षबढाईं गरी कोतपूजा र निशानपूजा पनि गरिन्छ । आज उपत्यकाभित्रका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवति, भद्रकाली, शोभा भगवति, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराही लगायतका शक्तिपीठमा बलि चढाउनेहरुको घुइँचो लाग्ने गर्दछ । बलिको अर्थ त्याग, बलि दिनु अर्थात् त्यागिदिनु भन्ने हुन्छ । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईर्ष्या, द्वेष, छल, कपट गरी दस प्रकारका विकारको त्यागका लागि पनि महा नवमि पूजा गर्ने चलन रहेको छ । नवदूर्गाका प्रसादले यी सवै विकारहरु नास हुन् भनेर पूजा गरिन्छ । कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद, मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मानिन्छ । यी प्रतिनिधि पात्रहरूको प्रवृत्ति स्वरूप मानवमा कामुकता, क्रोधीपन, लोभीपन, मोह र अहङ्कार तथा दुर्भावना उत्पन्न हुने हुँदा यी सवैको अन्त्‍यका लागि प्रतिकात्मक रुपमा बलि पूजा गरिन्छ । 

- हाम्रो पात्रोको लागि बाबुराम भण्डारीले तयार पार्नु भएको




Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.