अन्तर्राष्ट्रिय मातृभाषा दिवस
पृष्ठभूमि
हरेक वर्ष फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाइँदै आएको छ । तत्कालीन पूर्वी पाकिस्तान (हालको बङ्गलादेश) मा बङ्गाली भाषा (मातृभाषा) बोल्न पाउनुपर्छ भनेर माग गर्दा सन् १९५२ मा त्यहाँका विद्यार्थीहरू मारिएको दिनको संस्मरणमा यो दिवस मनाउन थालिएको हो । सन् १९९९ नोभेम्बर १७ मा यूनेस्कोले पनि यस दिनलाई विशेष दिनका रूपमा स्वीकार गरेको थियो । पछि सन् २००० मा संयुक्त राष्ट्र सङ्घले समेत यस दिनलाई मातृभाषा दिवसका रूपमा आह्वान गरेपछि विश्वभर यो दिवस मनाउन थालिएको हो । बङ्गलादेशमा भने अहिले पनि आजको दिन राष्ट्रिय बिदा दिने गरिन्छ । यस दिवसका माध्यमबाट विश्वका विभिन्न भाषा तथा संस्कृतिहरूको विविधतालाई स्वीकार गरी बहु भाषा र बहु संस्कृतिलाई संरक्षण प्रदान गरिएको छ । मातृभाषाकै संरक्षणका लागि जागरण स्वरूप संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् २००८ लाई अन्तर्राष्ट्रिय भाषा वर्ष रूपमा मनाइएको थियो ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२४ को नारा “बहुभाषी शिक्षा अन्तरपुस्ताको शिक्षाको स्तम्भ हो भन्ने अर्थात् "Multilingual education is a pillar of intergenerational learning” रहेको छ । आज २५० मिलियन बालबालिका र युवाहरू अझै पनि विद्यालय जान सक्दैनन् र ७६३ मिलियन वयस्कहरूले आधारभूत साक्षरता सीपहरू मा पारगंत हुन नसकेको अवस्था छ भनी यूनेस्कोले जनाएको छ ।
नेपालमा बोलिने भाषाहरू
नेपालमा बोलिने भाषाहरूको सङ्ख्या १३१ पुगेको छ । भाषा आयोगको प्रतिवेदन अनुसार २०७६/७७ अनुसार थप दुई भाषा नयाँ थपिएसँगै नेपालमा बोलिने भाषाहरूको सङ्ख्या १३१ पुगेको हो । हाल नयाँ थपिएका भाषामा मारेक(याक्खा) र नावा शर्पा रहेका छन् ।
यसअघि भाषा आयोगको २०७५/७६ को अध्ययन प्रतिवेदन अनुसार ६ वटा भाषा थपिएका थिए । राना थारु(कञ्चनपुर), राना फु (मनाङ), चुम (स्यार) गोरखा, पाइके(डोल्पा), सेराके(सेके) (मुस्ताङ), नुब्री, लार्के रगरी ६ भाषा थपिएका थिए ।
राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा बोलिने भाषाको सङ्ख्या १२३ वटा थियो । त्यो सङ्ख्या बढेर अहिले १३१ पुगेको हो ।
सबै भाषाको रक्षा र संवर्द्धनमा सरोकारवालाको ध्यान पुगोस्, अर्थपूर्ण शुभकामना ।
प्रदोष व्रत
ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात् !
शिव गायत्री मंत्र
प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।
प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: