सोह्र श्राद्ध समाप्ति | औँसी श्राद्ध र पितृ विसर्जन
पितृ पक्षको समापन
१६ दिनको पितृ पक्षको समापन भएको छ । आजको दिनलाई सर्व पितृ औँसी पनि भनिन्छ । यसरी पूर्णिमाबाट सुरु भएको पितृ पक्ष ठ्याक्कै औँसीमा आएर समापन हुन्छ । १६ दिनको पितृ पक्षमा आफ्नो पितृको मृत्यु तिथिमा पारी हिन्दु धर्मावलम्बीहरूले पितृ कर्म अर्थात् श्राद्ध गरिसकेका छन् ।
श्राद्धको दिन घरमा विशेष चहलपहल हुन्छ । आफन्त अनि पण्डितको आगमनसँगै कर्ताले पितृ कर्म गर्दा कपाल खौरेर अनि नयाँ जनै फेर्नुपर्छ । बिहानैदेखि नैवेद्य अनि अनेक प्रकारका शुद्ध खानेकुरा घरमा पकाइन्छ । अनि र श्राद्ध चलिरहँदा पण्डितकै निर्देशन अनुरूप घिउ, पुष्प, अबिर–केसरी लगायतका पितृ कर्मका आधारभूत श्राद्धका सामाग्री ठाउँमा लगिरहनु पर्छ ।
हिन्दु संस्कारमा श्राद्ध एकदमै महत्त्वपूर्ण कर्म हो । जसलाई सामान्यतया परिवारको ज्येष्ठ पुत्रले गर्छन् । तथापि सर्व पितृ औँसीका दिन पुत्रले आफ्ना पिता पक्ष र माता पक्ष दुवैतर्फका पितृहरूलाई तर्पण दिने गर्छन् ।
पितृ गायत्री मंत्र
देवताभ्यः पितृभ्यश्च महायोगिभ्यः एव च। नमः स्वाहायै स्वधायै नित्यमेव नमोनमः।।
यसको अर्थ देवताहरू, पितृहरू, महान योगीहरू, स्वाहा र स्वधालाई सधैं नमस्कार गर्नु हो।
लैङ्गिक समानता र पितृ कर्म
पुत्रलाई मोक्षको बाटो भनी हिन्द शास्त्रमा उल्लेख भएको आधारमा विभिन्न पक्षबाट यस कुरालाई नारी विरोधी र लैङ्गिक असमानतासित पनि जोडेर हेरिने गरिएको पनि पाइएको छ । तथापि श्राद्ध, तर्पण अनि अन्य शुभ कार्यमा छोरी–बुहारी अनि चेलीबेटीको पनि उत्तिकै महत्त्व छ ।सनातन धर्मको हरेक शुभ कार्य अनि संस्कारमा कर्ताका रूपमा पुत्रको उपस्थितिलाई प्राथमिकता दिएको भए पनि नारीहरूलाई पनि उत्तिकै महत्त्व दिएको छ । भान्जा–भान्जी अनि चेलीबेटीको उपस्थितिविना श्राद्ध कर्म पूर्ण हुन सक्दैन ।
पुत्र अनि पुत्री पितृका लागि समान छन् । आजभोलि पितृ कर्ममा अनि काजक्रियामा छोरीहरूको समान सहभागिता र कर्ताकै रूपमा भूमिका सराहनीय छ । धर्म अनि संस्कारले छोराछोरी दुवैलाई उत्तिकै ठाउँ दिएको छ ।
पिण्ड दिएपछि गौमुत्र अर्थात् गहुत खाएर अनि टिकोटालो गरेर समापन गरिएको श्राद्ध कर्मपश्चात् अब दसैँको औपचारिक उत्साह र उमङ्गको सञ्चार हुनेछ । पितृहरूको सम्झना अनि सम्मानका लागि यी १६ दिनहरू अत्यन्त महत्त्वपूर्ण हुन्छन् । चाडबाड अगावै पितृहरूप्रतिको यो समर्पण र सद्भावले हाम्रो संस्कारलाई वास्तवमै धनी बनाएको छ ।
नवरात्रि सुरु
अर्कोतर्फ अब सर्व पितृ औँसीको भोलिपल्टबाट नवरात्रि सुरु हुँदै छ । सँगै शक्ति पीठहरूमा प्रातकालदेखि नै श्रद्धालु भक्तजनहरूको घुइँचो र मेला लाग्ने गर्छ । दसैँको तैयारी र किनमेल, लगाउने नयाँ लुगा अनि खसी–बोकाको तैयारी अनि खोजी सुरु भइसकेको होला ।
कपडा सिलाउने ठाउँमा नयाँ कपडा सिलाउने अनि कपडाको नाप लिने भ्याई नभ्याई होला । अबका बजारमा खसी–बोकाको माग अनि किनबेच बढ्दो क्रममा हुनेछ । भोलि अर्थात् घटस्थापनामा जमरा राख्ने ठाउँ र नवरात्रिभरि पूजा गरिने पूजा स्थलको सरसफाइ पनि गरिने बेला आएको छ ।
दसैँको तैयारीको सुरुवातका क्रममा अब घर वरिपरि सरसफाइ गर्ने, घर बाहिर भएका परिवारका सदस्य अनि पढ्न बाहिर बसेका विद्यार्थीहरू उत्साहका साथ घर फर्किने तैयारी अनि गाडी या प्लेनको टिकटको खोजी कार्य पनि सुरु भइसकेको छ । यो उल्लासको समय हो । आशाको सञ्चार भएको समय हो । परिवारहरू भेला हुने समय हो । सँगै माया र सद्भाव बढोस् ।
औँसी श्राद्ध र पितृ विसर्जन
सोह्र श्राद्धको अन्तिम दिन, आश्विन कृष्ण पक्ष औँसीलाई सर्व पितृ मोक्ष औँसी भनिन्छ । यस दिन अगावैका तिथिहरूमा तिथि थाहा भएका पितृहरूको श्राद्ध गरियो भने आजका तिथिमा चाहिँ तिथि मिति थाहा नभएका र अन्य कारणले श्राद्ध रोकिएका सबै मृतकहरूको सम्झनामा श्राद्ध गरिने हुँदा यस दिनलाई सोह्र श्राद्धको सबैभन्दा महत्त्वपूर्ण दिन मानिन्छ ।
पितृ मोक्ष औँसीका दिन पशुपति, वराहक्षेत्र, जनकपुर, मुक्तिनाथ, दामोदर कुण्ड, रिँढी, देवघाट लगायत देशका अन्य पितृ धर्मस्थलहरूमा गएर श्राद्ध गर्ने लोक चलन छ ।
यस दिनमा श्राद्ध गर्दा सबै पितृहरूको श्राद्ध सम्पन्न हुन्छ भन्ने मान्यता छ । शुक्ल पक्ष वा कृष्ण पक्ष जुनसुकै तिथिमा आफन्तहरू बितेका भए पनि प्रतिपदादेखि औँसीसम्मका पन्ध्र दिनमा गरिने श्राद्धलाई पितृ मोक्ष औँसीमा श्राद्ध गर्न सकिन्छ । पूर्णिमा तिथिमा गर्नुपर्ने श्राद्ध पनि यसै औँसीमा गर्ने परम्परा छ ।
हिन्दु परम्परा अनुसार छोरा तथा नातिले आफ्ना पितृहरूको श्राद्ध गर्नुपर्ने चलन छ । पितृ पक्षको अन्तिम दिन भएकाले वर्षभरि कुनै कारणले श्राद्ध गर्न असम्भव भएको खण्डमा अमावस्या औँसीका दिन श्राद्ध गरिन्छ ।
पितृहरूको उद्धारका लागि घर–घर र तीर्थस्थलहरूमा श्राद्ध गरी पितृहरूको सम्झना गर्ने धार्मिक प्रचलन छ । सर्व पितृ मोक्ष औँसीमा पनि अन्य श्राद्ध कर्ममा झैँ पितृहरूका नाउँमा श्राद्ध तर्पण गरिन्छ । श्राद्ध गर्नाले पितृहरूले आफ्ना सन्तानलाई ऋणमुक्त गरिदिने तथा चित्त शुद्ध गराउने मान्यता छ । दसैँ–तिहार लगायत नेपालीहरूका मुख्य चाडपर्वका अगाडि आउने पितृ पक्षमा पितृहरूको सम्झना र सम्मान गरिन्छ ।
सोह्र श्राद्धको अन्तिम दिन सर्व पितृ मोक्ष औँसीलाई पितृ विसर्जन गर्ने दिन भनिन्छ । यो औँसीमा श्राद्ध सम्पन्न गरेपछि मानिसहरू महान् चाड बडादसैँको तयारीमा लाग्ने गर्छन् । ल है, हामी सबैलाई दसैँको शुभकामना, सर्वमङ्गलम् ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: