विश्व खोप सप्ताह
हरेक वर्ष, अप्रिल महिनाको अन्तिम हप्ता लाई विश्व खोप सप्ताहको विश्वव्यापीकरण खोप समुदायले मनाउने गर्दछ । खोपहरूको जीवन बचाउने शक्ति लाई उजागर गर्दै वर्ष २०२४ मा खोप समुदाय र विश्वव्यापी स्वास्थ्य सेवा प्रदायकहरूले विश्व स्वास्थ्य सङ्गठनको खोप प्रवर्धनको ५०सौं वार्षिकोत्सवलाई पनि मनाउने छन् ।
सबै उमेरका मानिसहरूलाई रोगबाट जोगाउन भ्याक्सिनहरूको प्रयोगलाई प्रवर्द्धन गर्ने लक्ष्य सँगै खोपको महत्त्व र आवश्यकतालाई आज विशेष चर्चा गरिन्छ । विश्व खोप सप्ताहको अन्तिम लक्ष्य भनेको धेरै मानिसहरू र तिनीहरूका समुदायहरूलाई खोपबाट रोक्न सकिने रोगहरूबाट सुरक्षित राख्नु हो।
वर्ष २०२४ को विश्व खोप सप्ताह २४ देखि ३० अप्रिलसम्म विश्वभरि विभिन्न कार्यक्रमहरू गरेर मनाइन्छ ।
विसं २०७२ सालको महाभुकम्पको सम्झना
मध्यान्ह १२ बजेपछि मुलुक सन्त्रासमा परेको थियो । त्यो अत्यास र कहाली लाग्दो क्षण सम्झँदै डर लाग्छ ।अझै सम्झँदा पनि निसास्सिन पुग्छौ । जुन दिन नेपालले महाभूकम्पको दैवी प्रकोप खेप्यो । विक्रम संवत् २०७२ सालको भूकम्पको नवौं वर्ष पुगेको दिन हो, आज ।
९० सालको जस्तै भूकम्प आउन सक्छ भन्ने त्रास रहँदा रहँदै ८२ वर्षपछि ७२ सालमा महाभूकम्प आयो । भूकम्पीय जोखिमका हिसाबले जोखिमपूर्ण देश नेपालमा ७२ र ९० का बिचबिचमा पनि अनेक ससाना र ४६ सालमा मध्यम भूकम्प आएको थियो । आज वैशाख १२ अर्थात् ७२ सालको भूकम्पको वार्षिक दिन, आउनुहोस् पुनरावलोकन गरौँ ।
२०७२ को महाभूकम्पमा जनधनको क्षती
भूकम्पपछि सरकारले राष्ट्रिय योजना आयोगको अगुवाइमा सङ्कलन गरेको तथ्यांक अनुसार त्यो भूकम्पमा ८ हजार ८ सय ९१ जनाभन्दा बढीको मृत्यु भएको थियो । भूकम्पमा घाइते भएकाहरू उपचारकै क्रममा मृत्यु हुने क्रम पछिसम्म चलेको थियो । जसमा २२ हजार ३ सयभन्दा बढी घाइते भएका थिए । अझ भूकम्पपछिको कुपोषण र रोगले मानिसको ज्यान लियो नै । त्यो भूकम्पमा ९ लाख घर ध्वस्त भएको थियो ।
हजारौँको ज्यान लिने त्यो महाभूकम्प अनि त्यसपछिका अनगिन्ती पराकम्पमा प्रकृतिसँग मानव संरचनाहरूले घुँडा टेकेका थिए । अनि मानवको सम्बन्ध र घरका तल्ला होइन मनको सन्तोषले गरेको थियो ।
२०७२ को भूकम्पले केवल संरचना मात्र बिगारेन कि हाम्रा पहिचान अनि ऐतिहासिक धरोहरलाई पनि उत्तिकै विनाश गरेको छ ।
काष्ठमण्डप जसको नामबाट काठमाडौँ सहर रहन गयो । त्यही संरचना नै धुलो–पीठो बनाएको भूकम्पले धरहरालाई पनि ढालेको थियो ।
भूकम्पबाट हामीले सिक्नु पर्ने पाठहरू के के हुन् ?
नेपाल भूकम्पीय जोखिमका हिसाबले पनि उच्च जोखिममा रहेको देश हो । भूकम्पीय जोखिमको उच्चता भए पनि जोखिम न्यूनीकरणका लागि भने खासै पहल भएको पाइँदैन । भूकम्प कुनै जनाऊ दिएर आउँदैन । तसर्थ, अबका दिनमा भूकम्पीय विनाश र जनधनको नाश कम गर्न संरचना निर्माणमा कडाइ अनि जनजागरणमा केन्द्रित हुन जरुरी देखिन्छ ।
स्मरण रहोस्, जमिनमुनिका प्लेटहरूको चलायमानका कारणले आउँदा पुस्ताले पनि भूकम्पको जोखिम सहन गर्नै पर्नेछ । भूकम्प टार्न नसके पनि यसको जोखिम न्यूनीकरण गर्न सबै जना लागि परौँ । आजको दिनमा ती ज्ञात–अज्ञात मृत आत्माहरूलाई पनि श्रद्धा सुमन अर्पण गर्न चाह्यौँ, जसले भूकम्पमा ज्यान गुमाउनुभयो ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: