आशासे यत् नव वर्ष भवतु मङ्गलकरम् अद्भुतकरञ्च।
जीवनस्य सकलकामनासिद्धिरस्तु।
भावार्थ:
हामीलाई विश्वास छ कि नयाँ वर्ष तपाईँका लागि एउटा सुखद आश्चर्य लिएर आउनेछ । तपाईँले जीवनमा जे चाहनुभएको त्यो तपाईँलाई प्राप्त होस् ।
सिरुवाको शुभकामना ! जुटशितलको शुभकामना !! बैशाखीको शुभकामना !!!
नयाँ वर्ष विक्रम संवत् २०८१ आजदेखि हाम्रा सामु उपस्थित भएको छ । सबैमा नयाँ वर्षसँगै सुख, शान्ति, लक्ष्य प्राप्तिमा सफलता मिलोस् ‘हाम्रो पात्रो’ सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छ ।
बितेको वर्ष जे भयो भयो, नराम्रोले सिकाएर गयो । जे भयो राम्रो त्यसले सजाएर गएको ठान्नुपर्छ । अबको वर्ष शुभ हुन्छ । प्रगति हुन्छ । अनि स्वस्थे, सुखद र कल्याणकारी हुन्छ, हामीले उत्साही विश्वास राख्नुपर्छ ।आराध्य देव, राष्ट्रदेव महादेव झैँ ‘समय’ पनि शून्य अनि निराकार, अन्त्यहीन अनि बलवान पनि । समय रोक्न, नियन्त्रण गर्न मानिसको बसको सवाल होइन । तथापि मानिसहरू निरन्तर साहस गरिरहन्छन्, समयलाई आफ्नो प्रकारले गणना गरिरहन्छन् । हात या भित्तामा भएको घडी अनि क्यालेन्डरहरूले यस्ता समयको मापन गर्ने गर्छन्, दिन, घडी, पला, नक्षत्र, पक्ष, मास अनि वर्षहरू फेरिरहन्छन् । सँगै धर्तीमा अनुहार फेरिरहन्छन्, अनि फेरिन्छ, मानिसहरूका पेरिफेरी पनि ।फूलेका आँप, लिची, दाना बसेका नासपतीका हाँगाहरू, बोट–बिरुवामा भर्खरैका चिल्ला पातहरूले वसन्त आगमनको सूचक स्वरूप कुहु–कुहु गरेका सुन्दर कोइलीका सुमधुर गीतले पनि सबैलाई नव वर्षको शुभकामना सन्देश प्रवाह गरेझैँ लाग्छ ।गत वर्षको तीता–मीठा यादहरूलाई याद मात्रै बनाउँदै भित्ताका क्यालेन्डरहरू पुराना भए । हात–हातमा भएका मोबाइलले डिजिटल क्यालेन्डरका रूपमा अपडेट ‘हाम्रो पात्रो’ यहाँहरूका लागि विक्रम संवत् २०७९ का विशेष पारम्परिक चाडबाड, वैदिक कर्मकाण्डी, सामाजिक, राजनीतिक तथा सरकारी सम्पूर्ण आधिकारिक जानकारीका साथ उपलब्ध छ । यहाँहरूले एप्लिकेशनका लागि देखाउनुभएको हौसलापूर्ण संलग्नता र सल्लाह सुझावले हामी हाम्रा तमाम प्रयोगकर्ताहरूप्रति कृतज्ञ छौँ ।
विक्रम संवतको पृष्ठभूमि
संसारभरिका मानिसहरूले विभिन्न प्रकारका आ–आफ्नै तरिकाले र आ–आप्mनै समयमा नयाँ वर्ष मनाउने चलनमा ल्याएका छन् । तर विक्रम संवत् भने एउटा पुरानो अनि ऐतिहासिक संवतको रूपमा विशेषतः पूर्वीय दर्शन अनि पौराणिक वैदिक सनातन संस्कारमा व्याख्या गरिएको छ । विक्रम संवत् अङ्ग्रेजी संवत् अर्थात् एडी भन्दा ५६ दशमलव ७ वर्षले अगाडि छ । यसबाटै प्रमाणित हुन्छ यसको महत्त्व अनि मानव सभ्यतामा वैदिक सनातन हिन्दु धर्मको प्रभाव र उमेर । विक्रम संवत् समग्र तिथि मितिहरू पृथ्वी र चन्द्र बिचको कोण अनि अवस्थितिमा फरक पर्छन्, सायद त्यसैले पनि यसलाई चन्द्र मास भनिएको हुनपर्छ ।
कसरी मापन गरिन्छ त चन्द्र मासमा समयलाई ?
चन्द्रमा र सूर्यबिचको देशान्तरीय कोणको १२ डिग्रीको वृद्धि हुने समय मापनलाई तिथि भनिन्छ । सामान्यतया १९ देखि २६ घण्टासम्मको एउटा तिथि हुन्छ । पक्ष भन्नाले १५ वटा तिथिहरू हुन र कृष्ण र शुक्ल पक्ष गरी दुई वटा पक्षहरू हुन्छन् । दुई वटा पक्षहरू मिलेर लगभग २९ दशमलव ५ तिथिको एउटा मास हुन्छ । नयाँ चन्द्र उदाएपछि कृष्ण पक्षको अँध्यारो निस्पट्ट समयसम्मको पक्ष एक मास हो ।
२ मासको एक ऋतु हुन्छ, ३ ऋतुको एक आयना हुन्छ अनि एक वर्ष भनेको २ आयना हो ।
प्राचीन कालमा राजा विक्रमादित्यले सुरुवात गरेका यो संवत् नेपालको औपचारिक, आधिकारिक संवत् पनि हो, जसको औपचारिक आत्मसात् नेपालले श्री ३ चन्द्र शमशेरको पालादेखि गरेको हो ।
विक्रम संवत् अनुसार हरेक नयाँ वर्ष वैशाख महिनाको १ गते अर्थात् आजकै दिनबाट सुरु हुन्छ । विक्रम संवत् सूर्यसँग सम्बन्धित भएकाले महिनाहरू पनि ग्रह नक्षत्रका नामसँग सम्बन्धित छन् । नेपालको संवत् प्रणाली सूर्य पात्रोसँग सम्बन्धित छ ।जब पृथ्वीले सूर्यको एक परिक्रमा पूरा गर्छ, त्यति बेला चैत्र शुक्ल प्रतिपदा हुन्छ र सूर्य मीन राशिबाट पुनस्चः मेष राशिमा प्रवेश गर्ने गर्छ । यही बेला नयाँ वर्षको सुरुवात हुन्छ, जसलाई सूर्यको शून्य अंश पनि भनिन्छ ।
वैशाखको घामसँगै प्रारम्भ भएको यो संवत् क्रमशः वर्षाको रोपाई, गोडमेल अनि दसैँ तिहारको रौनक हुँदै अन्नबाली भित्राइँदै, हिउँदको सिरेटो छिचोल्दै चैतमा आइपुगेपछि अन्त्य हुन्छ । यसबिचमा अन्य धेरै खाले माहौल र चाडबाड पर्छन् । विशेष तिथि मिति लगायत अनगिन्ती चाड–पर्वहरूले नेपाली समाजलाई आफ्नो परम्परा, संस्कृति तथा रहनसहनका वास्तविक चित्रहरूले सजाउने गर्छन् ।
कसरी मनाइइदैछ त नयाँ वर्ष ?
तराईमा आजको दिनलाई सिरुवा भनिन्छ भने पूर्वी तराईमा जुटशितल भनेर एक–अर्कामा पानी छ्यापेर मनाउने चलन छ । बारीमा पाकेका केरा, दही लगायतका खानेकुराहरू खाने अनि विशेषतः तरुवा, भरुवा अनि मुन्गा अर्थात् सोइजनको तरकारी खाने चलन आजको दिनमा व्यापक छ । सिरुवाका मेलामा नयाँ लुगा लगाएर जाने, जिलेबी खाने अनि खेलौनाहरू किन्ने आज केटाकेटीहरूका लागि विशेष रौनक रहन्छ । तराईमा कहीँ–कतै पाकेका गहुँहरू त काट्न पनि थालिसकियो होला, आलसका र खेसारीका दानाहरू भित्राई सकियो कि बाँकी छ ?
पहाडका खेतका गराहरूमा छरिएका मकैहरू चराहरूले नखाउन् भनेर बुख्याँचा राख्ने चलन र बुख्याँचा बनाउने समय र नयाँ वर्षको उत्साह लगभग एकै समयमा पर्छ । चराहरूले मकै नखाउन्, सरोवर उम्रिउन मकैका बोटहरू, अनि त सहरमा तपाई मल्टिप्लेक्समा चलचित्रको मनोरञ्जन लिँदै पप–कर्न र चीसोको मज्जा लिन पाउनुहुनेछ । टोल, बजारमा ठेलामा सल्काइएका कोइलामा पोलिएका मकैको स्वाद लिन पाउनुहुनेछ ।
पहाडी, मध्य पहाडी भेक अनि हिमाली भेकमा पनि उत्साहका साथ मीठो खाएर, राम्रो लगाउँदै नयाँ वर्ष उत्साह–उमङ्ग साटासाट गर्ने गरिन्छ । वैशाखका सुरुवाती दिनहरूमा भएका अनि गरेका कुरा वर्षभरि दोहोरिन्छ भन्ने विश्वास राखिन्छ । अनि यी सुरुवाती दिन मीठो खाने, राम्रो लाउने अनि सकारात्मक विचार ल्याउने दिनका रूपमा लिइन्छ । टिभी, रेडियो, पत्रपत्रिका सबैतिर नयाँ वर्षको शुभकामना छाएका छन् ।
के मधेसी, के पहाडी, के हिमाली, के शूद्र, के ब्राह्मण, के जनजाति ? सबैलाई एकताको सूत्रमा बाँध्न सक्ने नेपाल आमाको यो आँगन झन् रङ्गिन अनि बलियो बनाउन सक्ने हिम्मत राष्ट्र अभिभावकलाई प्राप्त होस्, सिमाना सुरक्षित बनाउनु छ । सबै नेपाली जनमा हामी एक थियौँ, छौँ र अनन्त एक भई रहिरहनेछौंः
संसारैभरि यो वर्ष धर्म, संस्कार अनि परोपकारको जय होस्, अधर्मको नाश होस्, विश्वको कल्याण होस्, प्राणीमा प्राण होस् अनि प्रकृतिले माया गरुन् र प्रकृतिलाई माया गर्ने समाजको पनि विकास होस् । जय जय देश, जय जय नेपाल, नव वर्ष २०८१ को मङ्गलमय शुभकामना !
––––
शुभेच्छुक:
हाम्रो पात्रो परिवार
प्रस्तुति: सुयोग ढकाल
बिस्का: जात्रा
विक्रम संवत्को नयाँ वर्षको प्रथम दिन नै राजधानी काठमाडौँ वरपर भक्तपुर, धापासी, ठिमी, टोखा लगायतका ठाउँहरूमा बिस्का जात्रा मनाइन्छ ।
बिस्का जात्रा कि बिस्केट जात्रा ?
बिस्का यो जात्राको पुरानो र मौलिक नाम हो, बिस्केट हैन । विक्रम संवत्को प्रथम दिनमै यस जात्रा परेता पनि यो जात्रा मनाउने कारणहरू विक्रम सम्वत्सँग जोडिएको पाइँदैन । बिलकुल फरक र मौलिक यस जात्राका विषयमा केही कुराहरू प्रस्तुत छ:
बिस्का जात्राको किम्बदन्ती
ठिमीको बालकुमारी अनि भक्तपुर दरबार स्क्वायर क्षेत्रमा बिस्का जात्राको मनोरम रौनक रहन्छ । किंवदन्ती अनुसार नागको मृत्युसँग यस जात्राको सम्बन्ध छ । बिस्काको अर्थ नै सर्पको मृत्यु भन्ने हुन्छ । भैरव र भद्रकालीको भीमकाय रथ तानेर खल्ला टोल लगिन्छ । टौमडीस्थित न्यातपोल मन्दिर अघिल्तिर राखेर हरेक वर्ष चैत महिनामा यस रथलाई तयार गरिन्छ । मुख्य आकर्षण त रथलाई भक्तपुरका माथिल्लो र तल्लो भागका बासिन्दाले आ–आफ्नो क्षेत्रमा तानेर लिएर जाने क्रममा भएको तानातान हो । बडो गज्जबको प्रतिस्पर्धाबिच जात्राले क्रमशः रौनक थप्दै जान्छ । पछि रथलाई तानेर खल्ला टोल लगिन्छ ।
सिन्दूर जात्रा
उता ठिमीमा भने सिन्दूर जात्रा पनि निकालिन्छ । लायकुमा ठिमीका बासिन्दाले आ–आफ्नै स–साना रथ ल्याउने गर्छन्, धिमे बाजाको मधुर सङ्गीतमा सिन्दुरे नयाँ वर्ष झनै गज्जब हुन्छ । उता बोडेमा चाहिँ जिब्रो छेड्ने गरिन्छ । नयाँ वर्ष सुरु गर्ने उत्साहजनक परिवेश यस जात्राले प्रदान गर्छ ।
जिब्रो छेड्ने जात्रा
बोडेमा नीलबाराही क्षेत्र आसपासमा बस्ने मानिसहरूलाई भूतप्रेतले धेरै दुःख दिने गर्नाले तान्त्रिक विद्या अनुसार भीमदत्त नामक तान्त्रिकले दुःख दिने पिशाचलाई समातेर त्यसको जिब्रो छेडेर, बलेको महाद्वीप बोकाएर, बोडे घुमाएपछि त्यस क्षेत्र आसपासका मानिसहरूलाई पिशाचले दुख नदिने, रोग, अनिकाल, महाभूकम्प हुन नदिने बाचा गरेको थियो। त्यसपछि, ठिमीमा यो जात्रा मनाउने परम्परा चलेको हो ।
यी विविध क्रियाकलाप अनि उत्सर्गको यस जात्रा नयाँ वर्ष प्रारम्भ हुनु ४ दिन अगावै सुरु हुने गर्छ । यो जात्रालाई शत्रुहन्त जात्रा पनि भनिन्छ । जात्रामा भक्ति भावसहितको सहभागिता जनाउनाले शत्रु क्षय हुने पनि विश्वास राखिन्छ ।
सुरक्षाका हिसाबले यस जात्रा संवेदनशील मानिन्छ । तसर्थ सुरक्षा–निकायहरू यस जात्रामा विशेष रूपमा तैनाथ गरिन्छन् ।
कला, संस्कार, परम्परा अनि इतिहास बोकेका यी जात्रा जुगौजुग अघि बढोस् । नवपुस्ताले यसको महत्त्व र गरिमा बुझ्न सकुन् । सबलाई सुख होस् । सबको जय होस् । मङ्गल होस् ।
मेष सङ्क्रान्ति
बैशाख १ गते अर्थात् मेष सङ्क्रान्ति पनि हो । १२ वटा राशिहरूका आधारमा १२ वटा महिना निर्धारण भएका छन् । वैशाख अर्थात् प्रथम महिना अनि यसै महिनामा प्रथम दिन अर्थात् १२ वटामध्ये प्रथम राशि मेष राशिको सङ्क्रान्ति ।
यो सङ्क्रान्तिका दिन विभिन्न परिकार पकाउने, खाने चलन हुन्छ । लामा लामा त्यान्द्रा भएका रुखमा फल्ने सजिवनको तरकारी, तरुवा, भरुवा अनि अन्य परिकार खाने चलन हुन्छ । विशेषतः तराईका भू–भागमा आजबाट विभिन्न स्थानीय मेलाहरूको समेत सुरु भएको छ ।
गहुँ काटे पछिको छ्वालीहरू बग्रेल्ती भएका खेतमा आली आलीमा राखिएका पसल, खेलौना अनि खानेकुराका त्रिपालले बेरिएका पसलहरूको रौनक बेग्लै हुन्छ । मेलाको यस्तै रौनक पहाडी अनि मध्य पहाडी भू–भागमा पनि देख्न सकिन्छ । समग्र संक्रान्तिहरूमा आजको यो मेष सङ्क्रान्ति सबैभन्दा रङ्गिन सङ्क्रान्ति हो ।
नयाँ कक्षामा बढोत्तरी हुने विद्यार्थीदेखि जागिरे जीवनमा नयाँ वर्षको प्रवेश सम्म । अबको वर्षमा गरिने योजना अनि सफलता सूत्रहरू नेपाली जीवन शैलीमा मेष सङ्क्रान्तिका दिनमा सुरु गरिन्छ ।
माया गर्नेहरू तल नपरुन् । सपना देख्ने आँखा सँगै पाइला पनि अघि बढुन् । यस वर्ष विश्वको कल्याण होस् । प्राणीमा प्राण होस् अनि सत्यको जय होस् ।
सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु
मा कश्चिद्दुःखभाग्भवेत् ।
ॐ शान्तिः शान्तिः शान्तिः ॥
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: