परमा एकादशी व्रत/अन्तर्राष्ट्रिय युवा दिवस | Hamro Patro

ब्लग - साहित्य / चाडपर्व तथा दिन विशेष सामग्रीहरू

परमा एकादशी व्रत/अन्तर्राष्ट्रिय युवा दिवस





परमा एकादशी, ३ वर्षमा एकफेर आउने एकादशी

कृष्ण र युधिष्ठिरको संवाद
युधिष्ठिर महाराजले प्रश्न गर्दछन् कि हे जर्नादन पुरुषोत्तम मासको कृष्ण पक्षमा पर्ने एकादशी कुन हो ? यसको व्रत कसरी लिने अनि यसको महिमा के हो भनेर ? उत्तर दिन स्वयम भगवान् श्री कृष्ण विराजमान हुनुहुन्छ, आउनुहोस् आज यहीँबाटै सुरु गर्दछौँ परमा एकादशीको व्रत कथा ।

चेतनाका स्वामी श्री कृष्णले यस साहसी दिनलाई अनि पवित्र तिथिलाई परमा एकादशी भनिन्छ भनेर आफ्नो उत्तर सुरु गर्नुभयो । यस एकादशीको व्रत लिनाले जीवनको सार्थकता प्राप्त हुने, समस्त पाप क्षय हुने दुख कष्ट दूर हुने अनि मोक्ष प्राप्त हुने बताइन्छ । यस एकादशीमा स्वयम श्री कृष्णकै अर्चना गरिन्छ, युधिष्ठिरको प्रश्नलाई उत्तर दिँदै श्री कृष्णले कम्पील्य नगरको एक जना साधुबाट आफूले सुनेको एउटा व्रत कथा सविस्तार सुनाउनुहुन्छ । यस एकादशी अधिक मास अर्थात् पुरुषोत्तम महिनामा मात्र पर्ने भएकाले केवल ३ वर्षमा मात्र एकफेर आउने गर्दछ, अतुलनीय फल भएको यस एकादशी विशिष्ट अनि व्यापक छ। आउनुहोस् यस एकादशीको मनोहर कथा श्रवण गरौँ ।

परमा एकादशीको व्रत कथा
कम्पील्य नगरमा एक जना भक्त ब्राह्मण सुमेधा र उनको श्रीमती पवित्रा निवास गर्दथे । सुमेधा अत्यन्त गरिब थिए र मागेर आफ्नो परिवारको पेट भर्दथे । यसरी मागेर गुजारा चलाउने सुमेधाको घरमा कहिल्यै पनि पर्याप्त श्रोत साधन जुट्न सक्दैन थियो तथापि उनको अत्यन्त सुन्दरी स्त्री पवित्रा सदैव आफ्नो पतिको सेवा र साथ दिने गर्दथिन् । आफ्नो पूर्वजन्मको पापबाट अत्यन्त दरिद्र अनि कष्ट सहन गर्नुपर्ने पवित्राको भाग्य हुन्छ, कतिपय अवस्थामा त पाहुनाहरूलाई आफ्नो खाना दिएर आफू भोकै पनि उनी बस्नुपरेको हुन्छ । यति हुँदा पनि पवित्राको मुखको कान्ति र सहनशीलतामा कुनै कमी भनेँ आँउदैन् ।

गरिबीको कारणले पत्नीको कष्ट देखेर एक दिन सुमेधाले पत्नीसँग सल्लाह गर्दछन् कि यस कष्ट निवारण गर्न उनी अब परदेश जानेछन् र धन आर्जन गरी ल्याउनेछन् भनेर । सुमेधाले आफू धनीहरुकोमा धन माग्न जाँदा पनि कसैले धन नदिएको अनि घरपरिवार चलाउन धन जरुरी भएको व्यक्त गर्दछन्, अब कष्ट निवारणका लागि परदेश गएर कुनै उद्योग गर्ने अनि धन लिएर फर्की आई कष्ट हरण गर्ने निर्णयका लागि उनले पवित्राको बिचार माग्दछन् । सुमेधाका अनुसार विद्वानहरूले पनि उद्योगको प्रशंसा गरेका छन्, मनुष्यलाई भाग्य नभईकन स्वर्ण नमिल्ने र पूर्वजन्ममा जो मनुष्यले विद्या र भूमिको दान गरेको हुन्छ उसलाई मात्र यस जन्ममा विद्या र भूमि प्राप्त हुने पनि बताउँदछन् । विधाताले भाग्यमा लेखेको कुरा टाल्न नसकिने कुरा सुमेधाले पवित्रालाई बताउँदछन् ।

पवित्राले आफू आफ्नो पतिको जुनै निर्णयमा पनि साथ रहेको बताउँदछिन् तथापि पवित्राको आशय पतिलाई एक्लै परदेश पठाउने कुराको समर्थनमा हुँदैन । र त्यसै समय कौडिन्य मुनी उनीहरूको घरमा आइपुग्दछन् । मुनीलाई आफ्नो वरकत र गक्ष अनुसार स्वागत सत्कार गरेर पतिव्रता पवित्राले दरिद्रताको हरण गर्ने उपायका बारेमा प्रश्न गर्दछिन् । पुरुषोत्तम मासको कृष्ण पक्षको परमा एकादशीको व्रत महिमालाई दरिद्रता नाश अनि समस्याको मुक्तिसँग जोडेर मुनीले क्रमशः सुमेधा र पवित्रालाई व्याख्या गर्दछन् । यस एकादशीको व्रतले पाप, दरिद्रता अनि हानी क्षय सँग जोडेर मुनीले व्याख्या गर्दछन् ।

यसै व्रत लिनका लागि भगवान् शिवले धनका राजा कुबेरलाई भनेको कुरा देखि यसै एकादशीको व्रतका कारणले राज्य अनि घरबार प्राप्त गरेका राजा हरिसचन्द्रसम्मका उदाहरण मुनीले सुमेधा र पवित्रालाई बताउँदछन् । यसरी यस परमा एकादशीको व्रत मनोहर कथा श्रवण गरेपछि सुमेधा र पवित्राले यसै अनुरूप गर्दछन् र उनीहरूको कष्ट र दरिद्रता निवारण भएको भनी एकादशी महात्मामय उल्लेख गरिएको पाइन्छ । कता कता सुमेधाको कथा अहिलेको नेपाली परिवेशसँग मिलेको पनि भान हुने रहेछ, कमाई का लागि विदेश जाने सोच अनि भाग्यले नदिएको साथ आदि। यस परमा एकादशीको मनोहर सयलले नेपाल भूमिमा सकल भाग्य, कर्म अनि भक्ति सञ्चार गरोस् ।

परमा एकादशी व्रत विधि
एक्लिन अगावै अर्थात् दशमीबाटै तामसी भोजन नगरी शुद्ध भएर र भोगविलासमा बन्देज गर्दै ब्रह्मचर्य पालन गर्नुपर्दछ ।

बिहानै श्रीमान् श्रीमती उठेर प्रातकालिन स्नान गर्ने र सम्भव भएसम्म पतिपत्नी दुबैका आमाबुवा पनि यस व्रतविधीमा सहभागी हुन जरुरी मानिन्छ । एकादशी महात्मैको कथा श्रवण, भोजन नगरी भक्ति भावमा लीन हुने अनि तनमन दुवैको शुद्धीकरण गरेर व्रत बस्न आव्हान गरिएको पाइन्छ ।

एकादशीको भोलीपल्ट द्वादशीमा सकल परिवार प्रातः स्नान गरेर अनि पञ्च रात्रिकी व्रत बस्न र दान पुण्य गर्न जरुरी रहेको बताइन्छ । धन अनि समृद्धिका लागि यस एकादशीको महिमा जति अन्य कुनै एकादशीको महिमा पाइन्न, ३ वर्षमा एकफेर आउने भएकाले यस एकादशी विशेष अनि अत्यन्त फलदायी पनि मानिन्छ भनी एकादशी महात्मै अनि स्कन्द पुराणमा पनि उल्लेख गरेका पाइन्छ ।

यस एकादशीमा भगवान् विष्णुलाई फुल, धूप, बत्ती लगायत हाते पखां पनि चढाउने चलन छ । नजिकैको विष्णु मन्दिरमा जाने अनि भक्ति भावका साथ हरिको नाम उच्चारण गर्ने भजन गाउने, दान पुण्य गर्ने लगायत विष्णु सहस्त्रानाम पुस्तक समेत पढ्ने गरिन्छ । यस एकादशीको भक्तिपूर्वक व्रत लिने कसैलाई पनि दुख्न नहुने भनी एकादशी महात्मामय उल्लेख गरिएको छ ।

एउटा सामान्य वर्षमा २४ वटा एकादशी हुन्छन् तर पुरुषोत्तम मासमा एकादशी बढेर २६ हुने गर्दछ । यसरी अधिक मासमा थपिने २ एकादशीमा परमा र पद्मिनी एकादशी पर्दछन् । परमा एकादशीलाई हरिवल्लभ एकादशी पनि चलन छ ।

“ॐ नारायण विदमहे वासुदेवाय धिमही थन्नो विष्णु प्रचोदय”
यसको अर्थ हुन्छ: मलाई भगवान् नारायणको शरणमा पर्न देऊ, भगवान् वासुदेवले मलाई सद्बुद्धि प्रदान गरुन् र भगवान् विष्णुले मलाई ज्ञानको ज्योति प्रदान गरुन् । कुनै पनि मन्त्रोच्चारण गर्दा यसले हाम्रो शरीरमा शक्ति उत्पन्न गर्दछ र यसलाई ब्रह्माण्ड वा हाम्रो वातावरणमा नै सञ्चार गर्नुपर्ने हुन्छ । यसरी यो शक्ति सञ्चारपछि तत्स ब्रह्मर्पण मास्तु मन्त्रको उच्चारण गर्दै तर्पणका रूपमा ब्रह्माण्डमै प्रदान गर्न सकिन्छ । अथवा, आशीर्वादको रूपमा यो शक्तिलाई हाम्रा इष्टमित्र तथा परिवारजनसम्म पनि पु¥याउन सकिन्छ । ब्रह्माण्डमा तर्पणको रूपमा प्रदान गर्दा, हामी स्वयम्लाई ब्रह्माण्डले पुनः शक्ति प्रदान गर्छ । धार्मिक हिसाबले मात्र नभई स्वास्थ्यको हिसाबले पनि एकादशीको व्रत प्रभावकारी हुने भएकाले यसले भलो नै हुन्छ । अबको ३ वर्षपछि मात्र पुन परमा एकादशी आउनेछ, यस पावन तिथिको सबैलाई शुभकामना । सबैको मन अनि तनमा हरिको वास होस्, मनमा दया होस् अनि आँखामा करुणा होस् ।

अन्तर्राष्ट्रिय युवा दिवस



अन्य वर्षहरू झैँ यस वर्ष पनि अगस्त १२ का दिन संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । व्यक्ति, परिवार, समुदाय, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरूको भूमिकाको महत्वलाई दर्साउन हरेक वर्ष संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । यो दिवसले अन्तर्राष्ट्रिय जगतलाई सकारात्मक दिशातर्फ लैजान युवा सहभागितालाई थप सक्रिय गर्ने नव प्रवर्तनात्मक उपाय तथा हुनसक्ने परिवर्तनलाई पनि उजागर गर्छ ।

२०२३ नारा
2023 Theme: Green Skills for Youth: Towards a Sustainable World. Today, the world is embarking on a green transition.
अर्थात् युवाहरूलाई हरित सीपहरू दिएर दिगो विकासको पैरवी भन्ने अर्थ लाग्दछ । हरित अर्थात् प्रकृतिमैत्री सीपहरूमा यस वर्ष विशेष चर्चा भइरहेको छ । यसका साथै यी ग्रिन स्कील्सलाई कृषि र खाद्यान्न सुरक्षासँग पनि जोडिएको छ ।

युवाहरूको सीप र कौशललाई केन्द्रमा राख्दै यो वर्ष खाद्यान्न प्रणालीको रूपान्तरण र समग्र पृथ्वीको नै स्वास्थ्यलाई महत्त्व दिइएको छ । खाद्यान्न सुरक्षा र खाद्यान्न सार्वभौमिकतालाई यस वर्ष महत्त्व दिइएको छ । नेपालजस्तो कृषि–प्रधान देशमा कृषिको व्यवसायीकरण, कृषिमा युवाहरूको सहभागिता आदि कुराहरूलाई महत्वका साथ हेरिनुपर्ने स्पष्ट देखिन्छ ।

युवा जनसङ्ख्यालाई संसारका कुनै पनि देशले आ–आफ्नै उमेरको परिधिमा राखेको छ, तथापि युवा भनेको मानव जीवनमा अत्यधिक जोस, जाँगर, उत्साह अनि शक्ति भएको उमेर–समूह पनि हो । नेतृत्व गर्न मन लाग्ने, जे पनि गर्न सक्छु जस्तो लाग्ने, उत्साह अनि संवेगसहितको युवा अवस्था शक्ति र सामर्थ्यले भरिपूर्ण अवस्था हो ।

त्यसैले पनि होला, युवाहरूलाई परिवर्तनका संवाहक मानिएको किनभने परिवर्तनका लागि नयाँ सोच, ऊर्जा, चेतना, मौलिकता अनि हक्की स्वभाव जस्ता अनेक तत्त्वहरूका सम्मिश्रण चाहिन्छ र यसका लागि युवा अपरिहार्य छ । युवा अवस्थामा मान्छे पुराना भन्दा नयाँ, परिवर्तनकारी र आन्दोलनात्मक तरिका र कुनै पनि मुद्दाको अन्तिम नतिजा निकाल्ने कुरामा विश्वास राख्छन् । इतिहास साक्षी छ, युवाहरूको सहभागिताविना कुनै पनि आन्दोलन, परिवर्तन, युद्ध अनि विकास भएका छैनन् यस अर्थमा युवा शक्ति भनेको अवसर र सही अर्थमा परिचालन गर्न नसकिएमा चुनौती दुवै हुन् ।

नेपाली गाउँहरूमा आजभोलि पहिलेजस्तो युवाहरूको सङ्ख्या बाक्लो देख्न कहाँ पाइन्छ र ! हाम्रा देशका युवाहरू गएका दशकदेखि रोजगारी, अध्ययन तथा सम्भावना खोजीको सिलसिलामा विदेश जाने क्रम झन्–झन् बढेको छ । संसारले युवाको महत्त्व बुझेर ठूल्ठूला कार्यहरू, विकासका लहरहरू र ऊर्जायुक्त दिवसहरू आँट्दासम्म पनि नेपालले आफ्ना युवा शक्तिलाई देशभित्रका विभिन्न सम्भावनायुक्त क्षेत्रहरूमा अझै अटाउन सकेको छैन । हाम्रा युवाहरू मुख्यतः खाडी, कोरिया, जापानका देशमा पसिना बगाइरहँदा यता गाउँमा मलामीसम्मको जनशक्ति हम्मे–हम्मे परेको समाचार विभिन्न सञ्चार माध्यमबाट आएकै हुन् ।

वैदेशिक रोजगारबाट आएका विप्रेषण ‘रेमिटेन्स’को पैसाले सिमेन्टका सग्ला घर, राम्रा लुगाफाटा, मीठा खाना अनि महँगा टिभी, मोबाइलहरू हात–हातमा देखिए तापनि यसरी सधैँ लाहुरे नियतिले जीवन चल्छ त ? देश विकास हुन्छ र ? सोच्नुपर्ने समय आएको छ ।

दिनहुँ जसो बाकसमा बन्द भएर आउने नेपाली युवाका शवहरू अनि तिनमा आश्रित परिवारका आँसुको हिसाब–किताब आजको दिनमा सरकार र सरोकारवाला संयन्त्रसँग माग्ने बेला आएको छ । युवाहरू गहना हुन भने देशको सम्पत्तिलाई बिदेसिनु नै नपर्ने वातावरण सृजना होस् । देशमा बढ्दो राजनीतिक सङ्कट, समाजका हरेक अन्तर्वस्तुमा हाबी भइरहने पारम्परिक चिन्तनलाई चिर्न भए पनि हाम्रो देशमा युवा शक्तिको सबैभन्दा बढी आवश्यक छ । पुल–पुलेसा, बाटो–घाटो अनि विभिन्न पुनर्निर्माण तथा विकासका अग्रगामी सोच र त्यो सोचमा भरपर्दो तागत भरेर देशलाई समृद्ध बनाउन युवाहरूको भूमिका अपरिहार्य छ, ‘हे युवा जय युवा ।’

युवाहरूलाई देश र जनताप्रति जवाफदेही हुने गरी काम गर्न प्रेरित गर्ने उद्देश्यले नेपालमा पनि साउन २८ गतेका दिन ‘अन्तर्राष्ट्रिय युवा दिवस’को अवसरमा विभिन्न कार्यक्रम सहितको समारोह आयोजना गरेर भव्य रूपमा मनाइने छ । बिहान काठमाडौँको भृकुटीमण्डपबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायत राष्ट्रिय खेलकुद परिषदको सहभागितामा प्रभातफेरी कार्यक्रम हुनेछ ।युवाहरूले आफ्ना माग र आवश्यकतालाई सरकार र सरोकारवालाहरूसमक्ष लैजान जागरूक र तदारुकता हुन जरुरी छ । स्वरोजगार ऋण र सीपमूलक शिक्षा प्रणालीजस्ता अवधारणा साकार पार्न नेपाली युवाहरूको जोडदार आवाज उठ्न जरुरी छ । जहाँ आवाज कमजोर भयो बुझे हुन्छ विकास ठप्प भयो । परिवर्तन ठप्प भयो ।

यस कारण पनि परिवर्तनका संवाहक युवाहरूको भूमिका अनन्त छ । युगान्तकारी परिवर्तन र विकासको अभिभारा नेपाली युवाहरूको कुशल काँधमा छ । जय होस् ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.