पशुपतिनाथको छाया दर्शन
हिउँद अब क्रमशः ओरालो लाग्दै छ, सूर्य नारायणको दिशा उत्तरायण तर्फ लागेपछि दिनहरू लामा र न्याना हुन थालेका छन् । उत्तरायणको सुरुवात सँगै पशुपतिनाथ मन्दिर मा एउटा विशेष अवसरको आयोजन हुन्छ, , पशुपतिनाथको छायाको दर्शन गर्ने ।
हरेक वर्ष माघ शुक्ल चतुर्दशी का दिन विशिष्ट अर्चना गरेर सर्वसाधारणलाई पशुपतिनाथको शिव लिङ्गको छाया दर्शन गराउने चलन छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा र स्थानीय नेवा समुदायका भक्तजनहरूले पशुपतिनाथको शिव लिङ्गलाई आजका दिन पूजा गर्ने र नयाँ मुकुट पहिराउने चलन रहेको छ । यसरी पूजा अर्चना सकिएपछि मन्दिरको दक्षिणपट्टिको चोकमा जल भरेर शिव लिङ्गको छाया प्रतिबिम्बित गराई त्यस स्थानमा आउने भक्तजन तथा तीर्थयात्रीलाई दर्शनको प्रबन्ध मिलाउने गरिन्छ।
सनातन सभ्यताको केन्द्रबिन्दु अनि इतिहास भन्दा पनि पुरानो विश्वभरिका हिन्दुहरूको आराध्य देव पशुपतिनाथ क्षेत्र देव पतन, जय बागेश्वरी, गौरी घाट, चाबहिल, कुटुम्वाहल, सिफल, गौशाला, पिगंलास्थान र श्लेष्मान्तक वन आसपासको विशाल क्षेत्रमा फैलिएको छ । पवित्र बाग्मती नदिका प्रवाहले सिञ्चित पाशुपत क्षेत्रभित्र करिब ४९२ साना ठुला विभिन्न शैलीका मन्दिर, सत्तल, ढुङ्गे धारा, देवालय, मठ लगायत करिब १ हजार शिव लिङ्ग रहेको पाइन्छ ।
यस दिन पशुपतिमा विशेष रहन्छ, आराध्य देवको प्रतिमाको छाया हेर्न भक्तजनहरूको विशेष घुँईचो रहन्छ । यसरी छाया हेर्ने समय भनेँ दिउँसो देखि साँझको आरती नहुन्ज्यालसम्म हेर्न पाइने प्रबन्ध मिलाइएको हुन्छ । मौका मिलेसम्म यस पवित्र अवसरमा दर्शन गर्न जान नभुल्नुहोला ।
पूर्णिमाको महत्व
शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथीमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रुपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असिम कृपा प्राप्त हुने र स्वास्थ, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ । पूर्णिमाको दिन विशेषगरि भगवान शिव र विष्णुको आराधना गरिन्छ । भगवान विष्णुलाई गरिने विशेष अर्चनालाई सत्य नारायण पुजाको स्वरुपमा गरिन्छ । सामान्यतया सत्य नारायण पुजा जहिले गरे पनि हुने कार्य हो यद्धपि पूर्णिमाको दिनमा गरिने यस पुजाको फल निकै धेरै पाइन्छ ।
पूर्णिमा व्रतको महत्व
वैज्ञानीक हिसाबले हेर्दा पूर्णिमाको दिन पृथ्वीमा गुरुत्ववलको प्रभाव धेरै रहने र यस दिन व्रत बसेर भगवानको नाम सुमरण गर्दा आत्मशुद्धि हुने बताइन्छ । यस दिन व्रत बस्नाले मेटावोलीक प्रक्रिया सुदृढ रहने, ग्याष्ट्रिक समस्याहरु हल भएर जाने र शरीरमा सकारात्मक उर्जा बढ्ने हुन्छ । यस दिनको व्रत बिहान सूर्योदयको समयवाट साँझमा चन्द्रोदय भएसम्म गरिन्छ । कसै कसै ले निराहार र निर्जल बसेर यस व्रत लिन्छन् भने कसै कसैले एक छाक मात्र खाएर, अलिनो आहार ग्रहण गरेर व्रत बस्दछन् । साँझमा चन्द्रोदय पछि चन्द्रमाको दर्शनसंगै व्रत समापन हुन्छ ।
-हाम्रो पात्रोको लागि सुयोग ढकाल
Liked by: