शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथिमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रूपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असीम कृपा प्राप्त हुने र स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ । पूर्णिमाको दिन विशेषगरि भगवान् शिव र विष्णुको आराधना गरिन्छ । भगवान् विष्णुलाई गरिने विशेष अर्चनालाई सत्य नारायण पुजा को स्वरूपमा गरिन्छ । सामान्यतया सत्य नारायण पूजा जहिले गरे पनि हुने कार्य हो यद्यपि पूर्णिमाको दिनमा गरिने यस पुजा को फल निकै धेरै पाइन्छ ।
वैज्ञानिक हिसाबले हेर्दा पूर्णिमाको दिन पृथ्वीमा गुरुत्ववलको प्रभाव धेरै रहने र यस दिन व्रत बसेर भगवानको नाम स्मरण गर्दा आत्म शुद्धि हुने बताइन्छ । यस दिन व्रत बस्नाले मेटावोलीक प्रक्रिया सुदृढ रहने, ग्यास्ट्रिक समस्याहरू हल भएर जाने र शरीरमा सकारात्मक ऊर्जा बढ्ने हुन्छ । यस दिनको व्रत बिहान सूर्योदयको समय वाट साँझमा चन्द्रोदय भएसम्म गरिन्छ । कसै कसै ले निराहार र निर्जल बसेर यस व्रत लिन्छन् भने कसै कसैले एक छाक मात्र खाएर, अलिनो आहार ग्रहण गरेर व्रत बस्दछन् । साँझमा चन्द्रोदय पछि चन्द्रमाको दर्शनसँगै व्रत समापन हुन्छ ।
विश्व स्तनपान सप्ताह प्रारम्भ
विश्व स्तनपान सप्ताह एक वार्षिक उत्सव हो जुन, १ देखि ७ अगस्टसम्म प्रत्येक वर्ष आयोजित गरिन्छ। विश्व स्तनपान सप्ताह सन् १९९२ बाट मनाउन सुरु गरिएकोमा विभिन्न तथ्यांक अनुसार विश्व स्तनपान हप्ता १२० भन्दा बढी देशहरूले आयोजना गर्ने गरेको पाइन्छ। विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ विश्व स्तनपान सप्ताह लगायतका संस्थाहरू र अन्य सम्बन्धी संस्था र अभियानहरूको प्रत्यक्ष संलग्नतामा हरेक वर्ष विश्व स्तनपान सप्ताह विश्वभरि भव्यताका साथ आयोजना गरिन्छ ।
स्तनपान सप्ताह को उद्देश्य
जीवनको पहिलो ६ महिनाको लागि पूर्ण स्तनपान लाई बढवा दिने लक्ष्य लिएर आएको यस साताव्यापी उत्सवको उद्देश्य नयाँ आमाबुबाहरूको बिच जागरूकता पैदा गर्न र संसारभरमा शिशु स्वास्थ्यमा सुधार गर्नु नै हो।
स्तनपान के हो ?
सामान्यतया शिशुलाई आफ्नै आमाको दूध चुसाउनु नै स्तनपान हो। नवजात शिशुको आधारभूत अधिकारका रूपमा लिइने स्तनपान लाई सुरुवाती या प्रारम्भिक अनि पूर्ण गरी दुई भागमा वर्गीकरण गर्न सकिन्छ ।
प्रारम्भिक स्तनपान
शिशु जन्मेको एक घण्टाभित्र आमाको दूध ख्वाउन सुरु गर्नु नै प्रारम्भिक स्तनपान हो । यसो गर्नाले शिशुले दूध चुस्ने क्षमता प्राप्त गर्नुका साथै शिशुको शरीरमा ग्लुकोजको कमी हुनबाट पनि बचाउँछ। साथै बच्चा जन्मेदेखि केही दिनसम्म आउने पहेँलो प्रकारको बिगौती दूधमा रोगसँग लड्न सक्ने प्रतिरक्षा क्षमता धेरै हुने भएकोले बच्चालाई रोग लाग्नबाट समेत बचाउने हुँदा यसलाई शिशुको पहिलो प्राकृतिक खोप पनि भनिन्छ।
पूर्ण स्तनपान
शिशु जन्मेदेखि ६ महिनासम्म आमाको दूध मात्र खुवाउनु नै पूर्ण स्तनपान हो। शिशुको लागि आवश्यक पर्ने पानी, मिनिरल, ग्लुकोज तथा अन्य भिटामिन र रोग प्रतिरक्षात्मक तत्त्व समेत आमाको दूधमा नै प्राप्त हुने भएकोले अन्य कुनै पनि किसिमको थप खाना ख्वाउन आवश्यक हुँदैन।
पूर्ण स्तनपान का फाइदाहरू
६ महिनासम्म स्तनपान गराउँदा शिशुहरूको शारीरिक र मानिसक वृद्धि र विकासका लागि सहयोग पुग्दछ।
पूर्ण स्तनपान गराएका बच्चाहरूको दिमागी क्षमता अन्य बच्चाभन्दा तीक्ष्ण हुने हुन्छ। सङ्क्रामक रोगबाट बच्ने र आर्थिक भार पनि नपर्ने तथा आमाको स्वास्थ्यमा समेत सकारात्मक फाइदा भएकोले स्तनपान अमृत समान हुन पुगेको छ।
दीर्घकालीन रूपमा बच्चाको मृत्युदर घटाउन समेत स्तनपान को भूमिका रहेको छ। शिशु ६ महिना पुग्न साथ आमाको दूधका साथसाथै पोसिलो थप आहार ख्वाउन थाल्नु पर्दछ र कम्तीमा दुई वर्षसम्म थप आहारका साथ स्तनपान लाई पनि निरन्तरता दिनु पर्दछ।
वर्ष २०२३ को स्तनपान सप्ताह को नारा
यस वर्ष जागिरे या काम गर्ने दम्पतीलाई ध्यानमा राख्दै स्तनपान र काममा जानुपर्ने आमाबुवा बिचको अफ्ठेरोलाई कम गर्न नारा तय गरिएको छ । “Enabling breastfeeding: making a difference for working parents.
स्तनपान सम्बन्धी कानुनी व्यवस्था
- सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को परिच्छेद ३ को दफा १३ मा उल्लेख गरिएको प्रसूति बिदाको अधिकार भित्र नवजात शिशुलाई स्तनपान प्रवर्द्धन र सहजीकरणको लागि ९८ दिन पूर्ण तलबी बिदाको व्यवस्था गरेको छ भने आवश्यक परेमा चिकित्सकको राय सल्लाहअनुसार बढीमा एक वर्षसम्म बेतलबी बिदा पाउने अधिकारको व्यवस्था गरेको छ।
- सबै प्रकारको सरकारी, गैर सरकारी वा निजी सङ्घ-संस्थाले आफ्नो कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दूध खुवाउनको लागि आवश्यक व्यवस्था मिलाउनु पर्ने उल्लेख छ।
- हरेक कार्यालय, स्कुल, बस, पार्क र एयरपोर्ट जस्ता स्थानमा छुट्टै स्तनपान कक्ष हुनु पर्ने व्यवस्था गरेको छ।
- स्तनपान नवजात शिशुको लागि नैसर्गिक अधिकारको रूपमा परिभाषित गरिएको छ।
- स्तनपान लाई/आमाको दूधलाई प्रतिस्थापन गर्ने सबै प्रकारका तयारी खाना/वस्तु बिक्री वितरण नियन्त्रण ऐन २०४९ र नियमावली २०५१ मा उल्लेख भएको प्रावधानहरू।
- प्रसूति गृह वा अस्पतालहरूमा प्रारम्भिक स्तनपान लाई प्रवर्द्धन तथा स्थापित गर्न मातृ शिशुमैत्री कक्षको व्यवस्था गर्नु पर्नेछ।
हालको स्तनपान को स्थिति
नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले नेपालमा पूर्ण स्तनपान दर घटेको तथ्याङ्क सार्वजनिक गरेका थियो । सन् २०२२ को मङ्सिर महिनामा प्रकाशित अध्ययनअनुसार सन् १९९६ मा प्रतिमहिला ७५ प्रतिशतले पूर्ण स्तनपान गराउँथे भने अहिले घटेर ५६ प्रतिशत पुगेको तथ्याङ्कले देखाएको छ।
इसै गरी उक्त अध्ययनका अनुसार स्तनपान का साथै नेपालमा प्रजनन दर आधाले घटेको तथ्याङ्कले देखाएको छ।
सर्वेक्षणले नेपालमा प्रजनन दर आधाले घटेर २।१ मा झरेको देखाएको छ। सन् १९९६ मा प्रतिमहिला ४।६ बच्चा जन्माउँथे। नेपालमा औसतमा दुई सन्तान हुने गरेका छन्।
बच्चालाई स्तनपान गराउँदा सुन्दरता घट्छ या स्तनपान भन्दा प्याकेटका खानेकुराहरू नै राम्रो भन्ने कुतर्क अझै पनि समाजमा पाइन्छ । यसका अलावा काम गर्ने आमाहरू र स्तनपान मैत्री संरचना नुहुन पनि घट्दो स्तनपान दरको कारक हो ।
स्तनपान जीवनको अभिन्न चरण हो, सबै जनाले यस विषयमा ख्याल गरौँ ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: