रविसप्तमी व्रत/सूर्य पूजा / भूमी पूजा | Hamro Patro

ब्लग - साहित्य / चाडपर्व तथा दिन विशेष सामग्रीहरू

रविसप्तमी व्रत/सूर्य पूजा / भूमी पूजा





के यहाँहरूलाई थाहा छ ?
हप्ताका हरेक बारहरूले सौर्य मण्डलका कुनै न कुनै ग्रहको प्रतिनिधित्व गर्छन् । आइतबार अर्थात् सूर्यको बार, सूर्यलाई रवि पनि भनिन्छ । यसर्थमा रवि बार परेको सप्तमीलाई रवि सप्तमी भनिन्छ । यो दिन व्रत बस्ने र उपासना गर्ने चलन हुन्छ । रवि बारको सप्तमीलाई दुर्लभ मानिन्छ ।

यस्तो संयोग परेको दिन भगवान् सूर्य नारायणको पूजा, अर्चना व्रत आदि गरिन्छ । नवग्रह तथा देवताहरूका पनि बन्दनीय सूर्य भगवान् सम्पूर्ण जगतलाई आफ्नो स्वभावको तेजले प्रकाशमय बनाउने र प्रेरणा प्रदायक सूर्य भगवानको यो दिन उपासना गर्नाले पद, प्रतिष्ठा, ऐश्वर्य, सन्तान सुख तथा मानो वाञ्छित फल मिल्ने शास्त्रोक्त कथन छ ।

सूर्य पूजा
सूर्यलाई अर्घ निवेदन गर्ने मन्त्र:
एहि सूर्य सहस्रांशो तेजोराशे जगत्पते ।
अनुकम्पय मां भक्त्या गृहाणार्घं दिवाकरः ।।
ॐ भूर्ब्भुवः स्वः जगतसाक्षिणे श्रीसूर्यनारायणाय नमः ।।

सूर्यको प्रभाव पृथ्वीमा र यहाँका हरेक जीवहरूमा अनेक रूपमा विद्यमान छ । सम्भवतः मानवले देखेको हालसम्मको सबैभन्दा विशाल, चम्किलो र प्रभावशाली ग्रह नै सूर्य हो । यसर्थमा सूर्यको अर्चना धार्मिक र वैज्ञानिक दुवै हिसाबले जरुरी छ ।

हुन त, सूर्य नारायणलाई धर्म र विश्वासबाट फरक रूपले हेर्ने हो भने सूर्य आफैमा एक निरपेक्ष शक्ति अनि सापेक्ष प्रभाव हुन् । सूर्य नै देवता हुन् अनि सूर्य नै धर्म पनि । संसारका हरेक धर्म र पहिचानका मानिसहरूले कुनै न कुनै रूपमा सूर्यप्रति आफ्नो साधुवाद र भक्ति दर्साउने गर्छन् ।

सत्य चाहिँ के हो भने, सूर्य नारायणमा भएको हाइड्रोजनको प्रताप र शक्ति कायम रहुन्जेलसम्म नै पृथ्वीको अस्तित्व र यहाँका जीवात्माहरूको प्राण सम्भव छ । त्यसपछि प्रलयको विकल्प छैन । अन्धकार हारक सूर्य देवतालाई सम्झना गर्ने अनेक दिनहरूमध्ये रवि सप्तमी एक दिन हो, जहाँ तिथि र बारको यस अनुपम संयोगलाई आध्यात्मिक रूपमा परिभाषा गरिएको छ ।

सूर्य भगवानलाई प्रातः कालमा सात्त्विक स्वरूप ब्रह्म मानिन्छ । मध्यान्हमा तमोगुण प्रदान गर्ने सूर्य भगवानलाई देवादि देव महादेवको स्वरूप मानिन्छ भने सन्ध्या कालमा राजसी स्वरूपमा विद्यमान हुने सूर्यलाई विष्णु स्वरूप मानिन्छ ।

उदय ब्रह्मणोरूपं मध्यान्हेतु महेश्वरः ।
अस्तकाले स्वयं विष्णु त्रिमूर्तिश्च दिवाकरः ।।


बाह्र कलाले युक्त यस्तो विशेषता भएको सूर्यको पूजा एवं उपासना गर्ने क्रममा धता, अर्यमा, मित्र, वरुण, ईन्द्र, विवश्वान्त, पुखा, पर्जन्य, अंशवान, भग, त्वष्टा, विष्णु आदि १२ स्वरूपको आव्हान गर्ने गरिन्छ ।

सामान्यतया सूर्यलाई प्रसन्न बनाएर शुभ फल प्राप्त गर्न आइतबार व्रत बस्ने गरिन्छ । आइतबारको व्रत प्रारम्भ रवि सप्तमीको शुभ संयोगबाट या शुक्ल पक्षको पहिलो आइतबारबाट प्रारम्भ गर्नुपर्ने शास्त्रोक्त कथन छ । यस्तो शुभ संयोगको अवसरमा रातो वस्त्र लगाएर सूर्य नारायणको उपासना गर्नु पर्छ । सकिन्छ भने बाह्र महिना व्रत बस्ने नसके बाह्र वटा आइतबार व्रत बस्नु पर्छ । व्रतको दिन प्रातः सूर्य नारायणको पूजा अर्चना गरी अर्घ निवेदन गरी व्रत बस्न सकिन्छ ।

यस्तो व्रत आदि उपासना गर्नाले सूर्यको जस्तै विद्या र बुद्धि तेजमय हुने र ज्योतिष शास्त्रअनुसार जातकको जन्म कुण्डलीमा सूर्यजन्य दोष एवं ग्रह पिडा भए यस्तो शुभ दिनमा गरिएको आव्हानले ग्रह पिडा कम हुने र सूर्यनारायणको शुभ–आशीर्वाद प्राप्त हुनेछ ।

भूमि पूजन
भूमि पूजा अर्थात् भूमे पूजा पनि भनिन्छ । असारमा रोपाई सुरु गर्नु अगावै पन्चत्व स्वरूपमा भूमिको पूजन गर्ने चलन छ ।
मगर समुदायको चर्चित पर्व भूमे १८ मगरात अन्तर्गत रोल्पा, रुकुम, सल्यान, पाल्पा, दैलेख, जाजरकोट आदि जिल्लामा र दाङ लगायत राप्ती अञ्चलका सबै जिल्लामा धूमधामसँग मनाइन्छ। रुकुमको मगर समुदाय आफ्नै पहिरनमा शुक्रवार बाजागाजासहित लेकमा पुगी वन देवतालाई पूजा गरेर फूल टिपी फर्किएको छ ।यसका अलावा नेपालभरिका सबै जिल्लाहरूमा भूमि पूजा गर्ने आआफ्नो चलन छ । पुर्खाले जङ्गल खोस्रेर खेतीपाती गर्न थालेदेखि नै यो पर्व मनाउन थालिएको इतिहास छ ।

भूमे पुजा को सम्बन्ध कृषि र बादलसँग हुन्छ
असार १ गते बाट नै औपचारिक रूपमा भूमि पूजनको विधिहरू सुरु हुन्छ । भूमे पुजा को सम्बन्ध कृषि र बादलसँग हुन्छ, ज्येष्ठको अन्तिम दिनमा लेकबाट फुल टिपेर ल्याएर खते खरियानका भूमे पूजा सुरु गरिन्छ । लेक अर्थात् बादलहरू रहने उच्च भूमि , यहाँ वाट ल्याएका फूलहरू खेतका फाँटमा राखेर पूजन गरेपछि वर्षाको कमी नहुने मान्यता छ । यस वर्ष नेपाल भरि नै निकै चर्को गर्मी र खडेरी बढेको पाइयो, यस अर्थ भ्यागुताको बिहे देखि अन्य थुप्रै विधिहरू गरेर बर्खाको आव्हान गरिरहेको यस अवस्थामा भूमे पुजा को महत्त्व झनै बढेर गएको छ । बाढी पहिरो, हुरी बतास जस्ता प्राकृतिक प्रकोपबाट बच्नलाई र राम्रो खेतीपातीको कामना गर्दै भूमि माताको असार मसान्तमा पूजा गरी करिब हप्ता दिनसम्म नाचेर धूमधामसँग मनाउँदछन् र त्यस बेला हरेक गाउँमा एउटा सानोतिनो मेला नै लाग्दछ त्यस कारण यस भूमे पर्वलाई कसै कसैले भूमे मेला भनेर पनि भन्दछन् ।


कसरी गरिन्छ भूमि पूजन ?
चाहे भूमिमा केही निर्माण होस् या कृषीकार्य, भूमि परीक्षण एवं शोधपश्चात् भूमि पूजा गर्नुपर्छ। कुनै पनि कामको शुभारम्भ एवं निर्विघ्न पूर्वक समाप्तिको लागि माटोमा गणेश स्थापना पूजन गर्ने चलन छ । सनातन दर्शनमा भूमिलाई गौ रूप समान मानिन्छ, त्यस कारण भूमिलाई षोडशोपचारबाट गणपतिको स्मरणका साथै इष्टदेव एवं कुल देवतालाई प्रणाम अभिवादन एवं अर्चनोपरान्त पूजा गर्ने गरिन्छ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.