पाहां चाह्रेको भोलिपल्ट टोलैपिछे कर्म नचलाइएका बालबालिकाहरुलाई बेसार राखी पकाएको भात, गेडागुडी, तरकारी, तोरीको साग र दाल पातमा राखेर खुवाउने गरिन्छ ।
नेवार समुदायलाई चाडपर्वको धनी समुदाय पनि भन्ने गरिन्छ । वर्षभरि कुनै न कुनै चाडपर्व पर्ने भएकाले पनि नेवार समुदायलाई चाडपर्वको धनी समुदाय भनिएको हो । यस्तै अनेक चाडपर्वमध्येको पाहां चाह्रे वा पासा चाह्रे पनि एक हो । हरेक वर्ष चैत कृष्ण चर्तुदशीको पिशाच चर्तुदशीदेखि चैत शुक्ल परेवाको दिनसम्म मनाइने यो पर्व यसपालि पनि भित्रिसकेको छ ।
पाहांको अर्थ अतिथि भन्ने हुन्छ, पासाको मतलब साथी । चाह्रे भनेको चर्तुदशी हो । नेवारी परम्पराअनुसार आपूmले मात्र खाएर पुग्दैन आफन्त तथा इष्टमित्रलाई पनि बोलाइ खुवाउनुपर्छ भन्ने गरिन्छ । पाहुना तथा साथीहरुलाई बोलाएर भोज खुवाउने भएरै यो चाडलाई पाहां वा पासा चाह्रे भन्ने गरिएको हो । भक्तपुरमा बिस्केट जात्रा, ललितपुरमा रातो मच्छिन्द्रनाथको रथजात्राजस्तै पाहां चाह्रेलाई काठमाडौंको मुख्य जात्राको रुपमा लिने गरिन्छ । यो जात्रा विशेषगरी काठमाडौंको किलागलदेखि तल र लगनदेखि माथिको बीचको भागमा विशेष रुपमा मनाउने गरिन्छ । जाडो महिना सकिने र गर्मी सुरु हुने समयमा हावाहुरी आउने र विभिन्न किसिमले लाग्ने रोगलाई रोक्न धार्मिक उपायअनुसार यो चाड मनाउने गरिएको हो । भूतप्रेत, दुष्ट आत्मा र पिशाचबाट जोगाउन पनि पाहां चाह्रे मनाउने गरिन्छ । यो जात्रामा विभिन्न देवीदेवताको पूजा गरिन्छ भने पाहां चाह्रेको भोलिपल्ट टँुडिखेलमा घोडा दौडाएर घोडेजात्रा मनाइन्छ । यो पर्वलाई तान्त्रिक दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ ।
विशेषत काठमाडौं उपत्यकाका नेवार समुदायले बडो श्रद्धापूर्वक विभिन्न टोलमा रहेका गणेश, भैरव, भगवती र विशेष गरी अष्टमातृका देवीको पूजा गर्ने र खट जात्रा गर्ने गर्दछन् । देवीदेवताहरुको पूजा गर्ने क्रममा कुखुरा, हाँस, बोका, राँगाको बली दिने चलन पनि छ । यो जात्रामा लुमधि अजिमा (भद्रकाली), कंगः अजिमा (कंकेश्वरी), म्ह्येपी अजिमा (ज्ञानेश्वरी), मैती अजिमा (मैतीदेवी), तख्ती अजिमा (नीलबाराही), न्यतमरु अजिमा (नरदेवी), बछला अजिमा (भुवनेश्वरी) र लुँती अजिमा (इन्द्रायणी) स्थापना गरेर खट जात्रा निकालिन्छ । जात्रा निकाल्दा बाजा बजाउँदै, गीत गाउँदै देवताको खट बोकेर घुमाउने गरिन्छ । पर्वको अन्तिम दिन राति काठमाडौंको संरक्षक मानिने लुँमधि अजिमा, वटु अजिमाको खट टुँडिखेलमा ल्याइन्छ । त्यसपछि कंगः अजिमाको खट पनि ल्याइन्छ । टुँडिखेलमा देवता जुधाउने भनी टेबहादल र वटु अजिमाको खटमा बसेका मानिसहरुले हातमा बालिरहेका मसाल साटफेर गरी तीनपटक खट घुमाएर फर्काइन्छ । अन्य ठाउँमा पनि देवता जुधाउने काम हुन्छ । असनमा देवता जुधाइरहँदा असनका मानिसहरुले घरघरका झ्यालबाट पूmलअक्षता, टीका, अबिर र चामलको पिठोले बनाएको रोटीका टुक्राहरु फाल्ने गर्छन् । यो रोटीको टुक्रालागि ¥यालीमा उपस्थित भक्तजनहरु ठेलामठेल नै हुने गर्दछ । यो रोटीमा विशेष अद्भूत शक्ति हुने जनविश्वास छ ।
पाहां चाह्रेको भोलिपल्ट टोलैपिछे कर्म नचलाइएका बालबालिकाहरुलाई बेसार राखी पकाएको भात, गेडागुडी, तरकारी, तोरीको साग र दाल पातमा राखेर खुवाउने गरिन्छ । यसरी बनाइएको यो खानेकुरालाई मरःजा पनि भनिन्छ । व्रतबन्ध वा इहीः नगरिएको बालबालिकाहरुलाई मरःजा खुवाउँदा रोग नलाग्ने, स्वस्थ रहने र भूतप्रेतले नछुने विश्वास गरिन्छ । यहि दिन टुँडिखेलमा घोडेजात्रा मनाउने चलन पनि छ । गुरुमापालाई टुँडिखेलमा गाडेर राखेकाले घोडाको खुट्टाले कुल्चाउनुपर्छ भनी घोडा दौडाउने गरिएको विश्वास छ ।
यो पर्व काठमाडौंको नेवार समुदायको इन्द्र जात्रापछिको दोस्रो ठूलो जात्रा मानिन्छ । इतिहासकारहरुका अनुसार, यो पर्व मल्लकालिन समयदेखि मनाउन सुरु गरिएको हो । हरेक चाडपर्वको आफ्नै महत्व हुन्छ । नेवारहरुले लामो समयदेखि मनाउँदै आएको पाहां चाह्रे पर्वले प्राकृतिक वातावरण, रहनसहन, स्वास्थ्य तथा जीवनमा व्यवहारिक अस्तित्वको समायोजनको ज्ञान दिन्छ अनि यो चाडको आफ्नै मौलिकता पनि छ । यसले दिने ज्ञानको अनुसरण गर्नु र यसको मौलिकता जोगाउनु सबै समुदायको साझा कर्तव्य हो । नेवार समुदायको यस पर्वले सबै समुदायको सुस्वास्थ्य र भलो होस् ।
सबैमा शुभकामना ।
×
Liked by: