अधिकमास समाप्ति | मत्स्यनारायण मेला समाप्ति | विश्व खाद्य दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरु

अधिकमास समाप्ति | मत्स्यनारायण मेला समाप्ति | विश्व खाद्य दिवस






रामाय रामचन्द्राय रामभद्राय वेधसे।
रघुनाथाय नाथाय सीतायाः पतये नमः॥

रघुवंशका नेतृत्वकर्ता भगवान राम, रमाभद्र, रामचन्द्र, समस्त वेदहरुका भगवान अनि सीता माताका देव भगवान रामप्रति हार्दिक नमन ।

यस वर्षको दिव्य पुरुषोत्तम मासको आजवाट बिधिवत समापन हुँदैछ, आउनुहोस आज यसै पेरिफेरिमा कुरा गरौं । आज दिव्य पुरुषोत्तम मासको व्रतको उधापन अनि पुरुषोत्तम मासको उपलक्ष्यमा बिभिन्न तिर्थस्थलमा लगाइएका पुरुषोत्तम आराधनात्मक सर्वसिद्धि श्रीमद्भागवत् महायज्ञ अनि यज्ञादि पनि सागें गरिन्छ । यसका साथै नेपाल अनि भारतका बिभिन्न ठाँउमा अधिकमासको समयमा पदयात्रा र परिक्रमा गर्ने चलन छ जसको पनि विधीवत अन्त्य आजैबाट हुनेछ ।
मलमास भनिएका कारणले आफ्नो स्वामित्वको खोजी गर्दै अधिकमासले बिलौना गरेपछि अधिकमासको स्वामित्व भगवान बिष्णु स्वयले लिएको रोचक कथा छ । श्रीकृष्ण स्वयमले मलमासलाई आफ्नो हरेक गुणले भरिपूर्ण गरिदिने वचन दिएका कारणले मलमास बिशेष मानिन्छ, अतः यस दुर्लभ पुरुषोत्तम मासमा दानपुण्य, व्रत बस्नाले अधिक फल प्राप्त हुन्छ ।

भविष्य पुराणका अनुसार भगवान श्री कृष्ण स्वयमले अधिकमासमा व्रत लिने, दानपुण्य गर्ने अनि शरीर र आत्मा शुद्ध राख्नेलाई अनेकन फल प्राप्त हुने, पाप र कष्ट मोचन हुने भनि उल्लेख गरेको छ। पद्म पुराणले पनि अधिकमास अनि श्री कृष्णलाई जोडेर वहाँकै शव्दमा हरेक मानवले अधिकमासमा दानपुण्य गर्न जरुरी रहेको वताएको छ र यसका साथै श्री कृष्णको अर्चना, भागवत गीताको पाठ अनि बत्ति या दियोको दान र प्रज्जवलन लाई विशेष मानेको पाइन्छ ।

शकुनि, चतुष्पद, नाग व किंस्तुघ्न यि चार करणलाई रवि अर्थात सूर्यको मल भनिने गरिन्छ तसर्थ यि कुराहरु सक्रन्तिसंग जोडिएका हुनाले यस महिनाले मलमास पनि भनिएको हा । आजवाट मलमास, अधिकमास र पुरुषोत्तम मासको अन्त भएको छ ।

संक्षेपमा मलमास
सूर्यको गति हनुसार गणना गरिने मासलाई सौर्य मास भनिन्छ भने चन्द्रको गति अनुसार गणना गरिने मासलाई चन्द्र मास भनिन्छ। सौर्यमासमा सामान्यतया २९ देखि ३२ दिन सम्मको महिना हुन्छ भने चन्द्रमासमा एक पूर्णिमादेखि अर्को पूर्णिमासम्म २९ दिन १२ घन्टा ४४ मिनेट र २४ सेकेन्डको एक चन्द्रमास हुन्छ। सामान्य रुपमा तिथीहरु चन्द्रमास अनि गतेहरु सौर्यमास भनेर बुझ्न सकिन्छ ।

यसरी सौर्यमासको गणनामा ३६५ दिनको एक बर्ष हुन्छ भने चन्द्रमासको गणनामा ३५४ दिनको एक बर्ष हुन्छ। यसरी प्रत्यक साल चन्द्रमास सौर्यमास भन्दा ११ दिनले पछि हुँदै आँउछ अनि ३ बर्षमा ३३ दिन ले चन्द्रमास र सौर्यमासको फरक पार्दछ जसलाई अधिकमास या मलमासले मिलाप गरिन्छ ।

यस वर्षको अधिकमास या मलमासको आज समापन हुँदैछ, आजवाट अबको ३ वर्षका लागि मलमास आउनेछैन् । बिसं २०७७ असोजमा मलमास परेकाले दसैँ र तिहार लगायत चाडपर्वहरू पछि सरेका हुन।मलमासमा पानी बार्न माइत गएका पत्नीहरु आजवाट पुन घर फर्कने क्रम शुरु हुनेछ भने सामान्य मासहरु अब शुरु भएका छन् ।

यस वर्षकोे मलमासको समाप्तीसंगै हामीसबैका जीवनका बाधाहरु हटेर जाउन । जीवनसंगत अनि जीवन पर्यन्त पनि मोक्षको द्धार खुल्ला रहोस् ।
धर्मको जय होस्
अधर्मको नाश होस्
प्राणीमा प्राण होस्
विश्वको कल्याण होस्
शव्दमा सरस्वती अनि हृदयमा हरिको वास होस् ।

मत्स्यनारायण मेला समाप्ति
मलमास अवधिभर कीर्तिपुरबाट चार किमी दक्षिणमा पर्ने मत्स्यनारायण मन्दिरमा नारायणको पूजा र पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा छ। मत्स्यनारायणलाई मच्छेनारायण पनि भनिने चलन छ । भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धर्मग्रन्थमा समेत उल्लेख छ।

सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार भएको मन्दिरमा माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शंख, चक्र, गधा र पद्म लिएको मूर्ति छ। विष्णुले दस अवतार लिंदा सबभन्दा पहिले मत्स्य शरीर धारण गरी प्रलयकालमा समुद्रमा डुंगाको काम गरी वेदलाई सुरक्षा गरेको पुराणमा उल्लेख छ।

चार नारायणको दर्शन गर्ने उद्देश्य बोकेका भक्तजनले मत्स्यनारायण मन्दिरको दर्शन गर्न छुटाउँदैनन् र यस वर्ष पनि लाखौंको सख्याँमा भत्तजनहरु मत्स्यनारायण मन्दिरमा दर्शन गर्न गएको पाइएको छ । मलमासबाहेक नववर्षलगायत जनैपूर्णिमाको दिनमा पनि मत्स्यनारायणको दर्शन गर्ने भक्तजनको घुइँचो लाग्दछ । पछिल्लो मलमास बिसं २०७५ मा चाँही मत्स्यनारायण मन्दिरमा पुरुषोतम आराधनात्मक सर्वसिद्धि श्रीमद्भागवत् महायज्ञको शुक्रवार समापन गरिएको थियो । यसवर्ष भनें कोरोना त्रास अनि संक्रमण जोखिमले मेला आयोजना हुन सकेन, आगामी वर्षहरुमा हरिको कृपाले जीवन र किर्तन पून सामान्य होस् भन्ने अपेक्षा र प्रार्थना छ । वैदिक सनातन धर्मका अनुसार भगवान हरिको दश अवतार मान्यता रहेको छ । दश अवतार मध्ये मत्स्य अवतारलाई पहिलो अवतारको रुपमा लिएको छ । पृथ्वीको शुरुवात सगै भगवान नारायण ले सोही स्थानमा रहेको कुण्डमा मत्सयको रुपपछि दिव्यस्वरुपको दर्शन दिनु भएको मत्सयपुराण लगायतका धार्मिक शास्त्रमा उल्लेख छ । मलमासको समापन संगै अब यसवर्षको चाडपर्वको लर्को शुरु हुनेछ । सबैको भलो होस् ।
शान्ति पाठवाट समापन गर्न चाह्यौं
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः,
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेत्।
ऊँ शांतिः शांतिः शांतिः


सबै सखी हुन्, सबै रोगमुक्त रहुन, सबैजना मंगलमय घटनाको साक्षी बन्न पाउन, कसैले पनि दुख्खको भोगी बन्नुनपरोस् ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल

अधिक मासको अन्तिम दिन के गर्ने ?

शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं,
विश्वाधारं गगनसदृशं मेघवर्ण शुभाङ्गम् ॥
लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यम्,
वन्दे विष्णुं भवभयहरं सर्वलोकैकनाथम् ॥

जसको स्वरूप शान्त छ, जो शेषनागको शैयामा शयन गर्नुहुन्छ, जसको नाभिमा कमाल छ, जो देवताहरूकोपनि ईश्वर र जो सम्पूर्ण ब्रह्माण्डको आधार हुनुहुन्छ, जो सर्वत्र व्याप्त हुनुहुन्छ, नीलमेघको समान जसको वर्ण छ, जसको सम्पूर्ण अङ्ग सुन्दर र मनमोहक छ, यस्तो लक्ष्मीपति कमलको सामान नेत्र छ र जसलाई योगिहरू द्वारा ध्यान गरेर मात्र प्राप्त सकिन्छ, जो जन्म र मरण रूपी भय सहित सबै प्रकारको भयलाई नाश गर्नेवाला हुनुहुन्छ, जो सम्पूर्ण लोकको स्वामीपनि हुनुहुन्छ र सम्पूर्ण चराचर जगतको ईश्वर हुनुहुन्छ, यस्ता भगवान् विष्णुलाई बन्दना गर्दछु ।

यो वर्ष अधिक मास असोज २ गतेदेखि ३० गते सम्म रहन गएको र त्यसको अन्तिमदिन पौराणिक सिद्धात अनुसार अधिकमासमा सनातनी श्रद्धालुहरूले व्रत, उपवास, विष्णु भगवानको जप, पूजा, पाठ, ध्यान, भजन, कीर्तन, भगवतभक्ति, श्रीमद्भागवत महापुराण, श्रीविष्णुपुराण लगायत पुरुषोत्तम माहात्म्य आदिको श्रवण, पठन, गर्नुका साथै अधिक मासको अन्तिम दिन विष्णु भगवानको ३३ नामले पूजा गरी काँसको थालीमा ३३ वटा मालपुवा राखेर पहेंलो कपडाले ढाकेर मालपूआ दान गर्नाले अनन्त पुण्य मिल्ने शास्त्रोक्त वचन रहेको छ । विष्णु भगवानको ३३ नाम यस प्रकार रहेको छ ।

विष्णवे नमः, जिष्णवे नमः, महाविष्णवे नमः, हरये नमः, कृष्णाय नमः, अधोक्षजाय नमः, केशवाय नमः, माधवाय नमः, रामाय नमः, मधुसुदनाय नमः, अच्युताय नमः, पुरुषोत्तमाय नमः, गोविन्दाय नमः, वामनाय नमः, त्रिविक्रमाय नमः, संकर्षणाय नमः, श्रीकण्ठाय नमः, बैकुण्ठा यनमः, नारायणाय नमः, अनिरुद्धाय नमः, प्रद्युम्नाय नमः, जनार्दनाय नमः, दामोदराय नमः, श्रीपतये नमः, वासुदेवाय नमः, नृसिंहाय नमः, शेषशायिने नमः, पृश्निगर्भाय नमः, उरुक्रमाय नमः, श्रीधराय नमः, गोपीजनवल्लभाय नमः, गोपालाय नमः र गोलोकाधिपतये नमः । अस्तु ॥
-ज्यो. प. नारायणप्रसाद दुलाल

विश्व खाद्य दिवस


सन् २०२० को अक्टोबर १६ तारिखमा फेरि विश्वले अन्य वर्षहरु झैं विश्व खाधान्न दिवस मनाँउदैछ तर फरक परिवेश र फरक तवरमा । कोभिड १९ को त्रास र यस्ले ल्याएको रुपान्तरणहरुले गर्दा मानव सभ्यताले फेरि फर्केर आफ्नो आधारभूत आवश्यक्ताहरु हेर्ने दिन आएको छ । माटोसंग पर भएर किवोर्ड र वाइफाइसंग टपक्कै जोडिएको पुस्तालाई माटो र उव्जनीको महत्व अनि टेबलमा राखिएको खानाका बिरुवाहरुको जरासंगको समबन्ध सिकाउन आजको दिवस असाध्यै महत्वपूर्ण छ ।

भरिएका भकारी, चामलका बोराहरु, चिउरा, गहुँ, कोदो अनि बार्दलीमा झुण्डाएका मकैका घोघाहरु यि अनि यस्ता धेरै अन्नहरु अनि खाधान्नहरु नेपाली घरमा अनि गाँउमा देखिन्छन्, पाइन्छन् । पशुपती नाथको कृपा नै मान्न पर्दछ, अहिलेसम्म नेपाली समाजमा अनि नेपाली माटोमा उव्जनी अनि मछिन्द्रनाथको कृपाले पानीका थोपाहरु ले हरियाली कायम गरिनै रहेका छन् ।
कूल जनसख्याँको ८० प्रतिशत भन्दा बढि कृषीकार्य मा रहेको तथ्याकं भएको दुई दशक अगाडीको नेपालमा अहिले पनि अधिकांश घरधुरि हरु कृषीकर्म संगै माटो खनीखोस्रिएर आफ्ना जिवीका चलाँउदछन् । अझै पनि ६० प्रतिशत भन्दा बढी जनसंख्याका नेपाली कृषि कार्यमा प्रत्यक्ष र परोक्ष किसिमले संलग्न रहेको तथ्याङ्क रहेको छ । हामीमध्ये पनि धेरैजनाको पारिवारिक पेशा नियाल्ने हो भने एक या दुई पुस्ता अगाडी कृषकको छाप रहेको भेटिन्छ ।

हरेक वर्षको अक्टोवर १६ को दिन विश्वभरि खाधान्न संकट र भोकमरिको विरुद्ध एक्यवद्धभइ लड्नकालागि विश्व खाद्यान्न दिवस मनाइन्छ । विश्व खाद्यान्न तथा कृषी संगठन एफ.ए.ओ. का अनुसार जलवायू परिवर्तनले निम्त्याएको सबैभन्दा ठूलो चुनौती भनेको खाद्यान्न संकट नै हो । स्थानीय विशेषता रहेका अन्नवाली विस्तारै उत्पादन हुन छाड्नु, अत्यधिक विषादीको प्रयोगले उत्पादनशिल विशेषतायूक्त माटोको क्षमतामा ह्रास आउनु र विस्तारै रैथाने विउ विजन लोप हुँदै जानू २१ औँ शताब्दिको खाद्यान्न व्यवस्थापनको चुनाैति हो ।
बिश्वकै ईतिहास हेर्ने हो भनें पनि दोश्रो बिश्वयूद्ध पछिको समयमा खाधान्नो खोजीमा लाखौं मान्छेहरु एक ठाँउवाट अर्को ठाँउमा अनि एउटा देश वाट अर्कोमा बसाँई सरेको देखिन्छ, बसाँईसराई र खाधान्नको सुरक्षा एउटा गहन समबन्ध भएको तथ्य हो ।

एक ठाँउवाट अर्को ठाँउमा बसाईसर्दा आगमन बिन्दुमा भएको सिमीत खाधान्न र उत्पादकत्वमा ह्रास आउने कारणले खाधान्न संकट बिकसीत ठाँउमा झन धेरै हुने संभावना छ ।
५० बर्ष अगाडीको शहर र आजको शहर तुलना गर्ने हो भनें उव्जाउने हात भन्दा खाने मुख मात्र बढेका छन्, खाधान्न संकट व्यबस्थापनका लागि यो एउटा समस्या हो । प्रविधी, सञ्चार र भौतिक पूर्वाधारमा रमाइरहेको बिश्वलाई सुस्तरि खाधान्न उत्पादन तर्फ लगानी र उत्साह घटेकाले हुने भावी समस्या प्रति जागृत गराउन पनि बिश्व खाधान्न दिवस महत्वपूर्ण छ । एउटा तथ्याकंका अनुसार सन् २०२५ सम्मा बिश्वमा खाधान्न अभाव भएर बिकसीत देशका ठूला ठूला निगमहरु बिकासोन्मुख देशका खाली जमिनमा कृषी गर्न लगानी गर्ने दावा गरिएको छ । त्यसैले यसपटकको विश्व खाद्यान्न दिवसको नारा नै Grow, Nourish and Sustain together भन्ने रहेको छ ।

संसारका न्यूनतम् आर्थिक अवस्था भएका विपन्न वर्गहरुमा कृषक, माछा मार्ने मान्छेहरु र घरपालुवा जनावर पाल्ने जस्ता पेशागर्ने मान्छेहरु छन् जसलाई बढ्दो पृथ्वीको तापक्रम, प्रकृती अनि मौसम सम्बन्धि बारम्बार हुने प्रकोपहरुले धेरै दुःख दिनेगर्दछ । अर्कोतर्फ पृथ्वीको जनसंख्या पनि दिनानूदिन बढ्दो क्रममा छ र बढ्दो जनसंख्याको यो अनुपातलाई खाद्यान्न पर्याप्ततातर्फ लैजान कृषिका पारम्परीक विधीहरुलाई पनि जलवायू परिवर्तन अनुकूल बनाउँदै अझ उत्पादनमुखी र ब्यवसायीकरण गर्न जरुरी छ । थोरै जमिनमा पनि माैसम तथा वेमाैसमी कृषी गरेर धेरै भन्दा धेरै उत्पादन सक्नु, खाद्यान्नको एकदमै मितब्ययी प्रयोग गर्नु आजको आवश्यक्ता हो । खाद्यान्न वितरण गर्ने प्रणालीहरु पृथ्वीका तमाम जीवनसम्म समान, सहज रूपले नीतिसम्वत पुर्याउन  आवश्यक छ ।

मानव सभ्यतापूर्वनै कृषि एउटा पेशाकारुपमा आएको हो, कृषि कार्यलाई आजभोली माटोसंगको धुलाम्मे, हिलाम्मे फोहोरी पेशा र दुःख पाइने पेशाका रुपमा नयाँ पुस्तालाई व्याख्या गरिन्छ तर वास्तविकता त के हो भने आज कोही किसानले शहरभन्दा पर खेतमा पसिना चुहाएर अन्न रोपिदिएन भने भोली हामी सुकुमार भएकै भरमा थालमा अन्न झर्दैन ।

विशेषतः नेपालमा अझैपनि हामीहरु ब्यवसायीक कृषिमा सक्षम छैनौ र त्यस्का मूल कारण कृषि शिक्षामा विद्यार्थीहरूलाई प्रोत्साहन, आकर्षण गर्न नसक्नु, सरकारी नीतिनिर्माणका कुराहरूमा गफ धेरै काम कम हुनु अथवा यस्ता अन्य अनेक कारणहरु छन् ।

वर्षभरि परिवारलाई खान पुग्ने अन्नलाई भकारीमा थुपार्नु सम्म मात्र कृषि कार्यलाई सिमीत गर्न हुँदैन, कृषिमा क्रान्ति ल्याउन जरुरी छ र कृषिलाई सरल पेशा नबनाएर यसलाई उद्योगका रुपमा परिभाषित गर्न जरुरी छ । हाम्रो कृषि पेशा र संलग्न कृषक एउटा सफल उद्यमी र समाजसेवी भएर पेशालाई आफू पनि बाँच्ने र समूदायसम्म गुणस्तरीय उत्पादन पुर्याउने एउटा उदाहरण नबनेसम्म हाम्रो कृषिमा परिवर्तन आउन सक्दैन ।

सन् १९६० को दशकमा नेपाल संसारभरि चामलको छैठौ धेरै निर्यात गर्ने देशहरुमा पर्थ्यो तर विस्तारै नेपालमा कृषिकार्य ह्रास हुँदै गयो र आज नेपालले चामल लगायत धेरै कृषिजन्य उत्पादनहरु आयात गर्ने कार्यले शिखर चुम्दै छ ।

नेपालीहरु वैदेशीक रोजगारप्रति आकर्षित हुन थालेपछि हाम्रा हलो र जूवाहरुमा खिया लाग्न थालेका छन्, गोरु र गोठ सुनसान भएको छ । भकारीवाट झिकेर खाइने धान चामलको साटो बोरामा पसलबाट अन्न आउन थालेको छ तर हाम्रो उब्जनशील खेत र माटोहरु बाँझै छन् । ति खेतहरुको अनि माटोको उचित प्रयोग गर्नसक्ने प्रविधी, पूँजी र सीप भएमा नेपालीहरु विदेशिन पर्दैनथियो होला, यस तर्फ ध्यान दिन जरुरी छ ।

संसारमा कूल प्रयोग हुने अन्नमा एकतिहाई खेर जाने अनि फालिने तथ्याङ्क छ, यो दूर्भाग्य हो । भोकमरीग्रस्त क्षेत्रमा खान नपाएर मान्छेहरु भोकभोकै छाला र हड्डीमात्र भएर बाँचिरहेका छन्, जीवनरक्षा गर्नसक्ने खानेकुराहरु हामी खेर फालिरहेका पनि हुन्छौ, अन्नको महत्व बुझ्न जरुरी पनि छ । किनभने जब भोकको कुरा आँउछ, संसारमा कसैले पनि भोकै बस्न नपरोस भन्ने कुरा सबैजनाको प्राथमिकतामा हुनपर्दछ ।

स्कूलको पाठ्यक्रममा पूर्वब्यवसायीक शिक्षाका रुपमा कृषि कार्य र औजारहरुका बारेमा शिक्षा दिने बिषय हटाइएको धेरै भयो । आउँदा पुस्ताहरुलाई कृषिकार्य प्रति उत्सुक्ता जगाउन र ज्ञान बढाउन जरुरी छ । अबका दिनमा नेपाली माटोहरु ब्यवसायीक प्रकृतीमा खोस्रिने प्रणाली आउन्, देशमैं कृषि औजारका कारखाना र अनुसन्धान कार्य पूर्नजीवित बनाइयोस् र कृषिलाई सहज कर्जा र पूँजी उपलब्ध हुन सकोस । कृषक, उपभोक्तहरुबिचको मझौलियाहरुको चलखेल कम होस र उत्पादक र उपभोक्ताबिच पारदर्शी सम्बन्ध कायम होस् । भूमीको वितरण पनि उत्पादन सहयोगी रुपमा होस, सिंचाइको सुविधा सरल होस अनि बजार ब्यवस्थापन पनि न्यायोचीत होस् ।

विश्व खाधान्न दिवसको सबैलाई शुभकामना !

हाम्रो पात्रोका लागी सुयोग ढकालले तयार गर्नुभएको ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.