क्रिसमस डे | मोक्षदा एकादशी व्रत | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

क्रिसमस डे | मोक्षदा एकादशी व्रत




क्रिसमस डे विशेष अडियो सामग्री

क्रिसमसको शुभकामना! मेरि क्रिसमस!
आज भब्यताका साथ इसाई धर्मका अनुयाईहरू साैहार्दता तथा खुशियालीको चाड क्रिसमस मनाउँदैछन् । संभवतः संसारभरि धेरै देशहरुमा एकैदिन अर्थात आजैको दिन चारैतिर सार्वजनिक विदा हुनेगर्दछ । विदेश तिर धेरैजसो ठाँउमा जाडोको सिरेटोले आफ्नो गति बढाइसकेको हुनुपर्छ । हिउँद, हिउँ अनि चिसो सिरेटोबिचको यो पर्व क्रिसमसका धेरै पाटाहरु हिउँसंग जोडिएका छन् । क्रिसमसको यो पावन पर्वको उल्लास एउटा क्रिसमस गीतको सरल नेपाली अनुवादबाट शुरु गरौंः

बाहीरको चिसो भयावह छ तर बालेको आगो न्यानो छ
आज जानपर्ने कुनै ठाउँ छैन्, पारिदेउ हिउँ पारिदेउ
अँङ्गेना छेउ बस्या छु, हिउँ नरोकिएपनि ठिकै छ
भुट्नलाई मकै ल्याएको छु
सेन्टा क्लसले ईच्छा पूरा गरिदिनेछन्, सबैलाई मेरि क्रिसमस् !


इतिहास साक्षी छ, मानव समूदायले आफ्ना देवता, अगुवा अनि सम्माननीय ब्यक्तित्वहरुको जन्मदिन ब्यापक उत्साह अनि सदभावका साथ मनाउने गर्दछन् । चाहे त्यो भगवान कृष्ण होउन्, वुद्ध, गुरु नानक होउन या पैगम्बर मोहम्मद । आज भने इसाइ धर्मका प्रवर्तक जिसस अर्थात् प्रभू येशुको जन्मदीन हो ।

विभिन्न प्राचीन यूरोपियन दस्तावेजका अनुसार क्राईस धर्तीमा आउनपूर्वनै पनि हिउँदको यो मध्य समयमा आगो र प्रकाशको चाड मनाइने कुरा उल्लेख छ । समयसंगै आजको दिनलाई क्रिसमसका रुपमा मनाउन थालिएको हो । इस्वि संवतका अनुसार हरेक वर्षको डिसेम्बर २५ लाई क्रिसमसका रुपमा मनाइन्छ भने केही देशहरुले डिसेम्बर २४ मा पनि मनाउने गर्दछन् ।

इस्वि सम्वतलाई क्राईसको जन्म अगाडी र एनोनो डोमिनी क्राईस पछाडी गरि दुई भागमा बाँडिएको छ । आज यसै उपलक्ष्यमा संसारभरिनै उपहारहरु साटासाट गरिंदै, क्रिसमस रुख सिङ्गार्दै, भोज आयोजना गरेर अनि गिर्जा घरहरुमा गएर क्रिसमस मनाइन्छ । नजिकै जङ्गल हुने समूदायमा घरका पुरुषहरु जङ्गल गएर ठूला रुखका मूडाहरु काटेर ल्याउने र आँङ्गनमा बालेर यो पर्व मनाउने गरिन्छ ।

अङ्ग्रेजी पढ्दा हामी नेपालीहरु सबैले ए फर एप्पल बी फर बल गरि पढेका हौं, यसै क्रममा X for X-Mass Tree पनि पढेका छौं । चित्रमा सिँङ्गरिएको सानो धुपीकोजस्तो देखिने च्याट्ट मिलेको यो रुख अर्थात क्रिसमस-ट्री आजका दिनमा प्राय देखिन्छन् । संयूक्त राज्य अमेरिकामा मात्रै ३ देखि चार करोड यस्ता क्रिसमस रुखहरुको खरिद बिक्रि गरिन्छ । आज खरिद गरिन्छ । स्मरण रहोस् यस्ता रुखहरु तयार हुनलाई कम्तिमा पनि १५ वर्ष लाग्दछ । चाडवाडमा परम्परागत रुपमा जनावरहरु मारेर खाने चलन मानव समूदायमा सर्वत्र छ, आज धेरै जनावर र चराहरू, कुखुराहरु खानकालागि काटिन्छन् । हिउँदको मध्य विन्दुमा जनावरहरुलाई चर्न पठाउन गाह्रो हुने र गोठालाहरुले काटेर घाँस या पराल ल्याउन पनि गाह्रो हुने भएकाले यसरी जनावरहरु काटेर संख्या घटाइने तथ्य पनि विभिन्न पुस्तकमा उल्लेखित पाइन्छ ।

क्रिसमसको ठूलो आकर्षण भनेको सान्टा क्लस हुन्, रातो टोपी लगाएका अनि सेतो दाह्री, जुङ्गा भएको मोटोघाटो ठूलो शरिरको साधूले सबैलाई उपहार दिने र खुशी बाँड्नेछन् भन्ने विश्वास छ । सान्टा क्लसको प्रतिक्षामा आज धेरै केटाकेटीहरु रातीअबेरसम्म सुत्दैनन् । कोही कोही ब्यक्तिहरु सान्टा क्लसको भेषमा उपहार र कोसेली बाँडदै, साँट्दै हिंड्दछन् । नाकको ठाउँमा गाँजर, रातो मफलर र अँग्रेजी ह्याट पहरिएको हिउँ जम्मा पारेर बनाएको 'Snow Man' विदेशका हिमाली क्षेत्रहरूमा अत्यन्त लोकप्रिय छ । त्यस बाहेक हिउँकै चरा बनाउने, हिउँमा खेल्ने अनि नाचगान गर्ने चलन पनि छ ।

चाडपर्व एउटा उत्साह हो जसलाई धर्म भन्दा पनि संस्कार, संस्कृती, साैहार्दता अनि नितान्त खुशीको अभिब्यक्तिका रुपमा लिन जरुरी छ । नेपालमा पनि धेरै इसाई धर्मावलम्बिहरू छन् । वहाँहरु लगायत सबैकोलागि यो महान क्रिसमस रमाइलोहोस् । 

अन्य वर्षहरु झैं यसवर्षको क्रिसमस त्यति भिँडभाड नहोला । कोरोना पछिको नयाँ नर्मलमा अनेकन कुराहरु वर्जित छन् यद्धपी प्रभु येशुसंगको प्रेम र संकल्प अनि क्रिसमसको आपसी सद्भाव चाँही बढेर जाओस् । 

खुशी खुशी मनाँउ, खुशी खुशी मनाँउ, भन भन प्रभु येशु ख्रिस्ट को जय ।
अनेक शुभकामना

मोक्षदा एकादशी व्रत | गीता जयन्ती

महाभारत युद्धमा अर्जुनले आजकै दिन भगवान श्रीकृष्णबाट मानवतालाई नयाँ दिशा दिने गीता उपदेश प्राप्त गर्नु भएको थियो । जगत कल्याणको ज्ञान प्रदान गर्न शुरु भएको आजको तिथिलाई अर्थात मोक्षदा एकादशीलाई गीता जयन्तीका रुपमा पनि संकल्प गरिने गरिन्छ ।

कलियूगमा भगवान तत्वसंग मानको छुटेको र कमजोर भएको समबन्ध स्थापना लागि र पूर्नस्मरणका लागि गीता जयन्तीको ठूलो भूमिका रहन्छ । आजका दिन मोक्षदा एकादशीको व्रतका साथै अनेकन संकल्पहरु, अध्ययनहरु र पाठहरुका वाचाहरु गरिन्छन् । म आजवाट दैनिक गीता स्तोत्र पाठ गर्नेछु, विष्णु सशस्त्रानाम जाप गर्नेछु लगायत अन्य पुस्तक र ग्रन्थहरु अध्ययन गर्नेछु भन्ने संकल्पका लागि आजका दिन उत्कृष्ट मानिन्छ ।

श्रीमद्भागवत् गीता महापूराण अनुसार मोक्षदा एकादशी मंसिर शुक्ल पक्षको एकादशीलाई भनिन्छ । एकादशी भन्नाले विशेष गरी भगवान बिष्णुको पूजा हो । आज बिष्णु प्रतिमा स्थापना गरी धूप, दीप, नैवेद्य चढाइन्छ । त्यसैगरी ब्राह्मण भोजन गराई दक्षिणा दिनाले धार्मिक फल प्राप्त हुने विश्वास छ । सवै पापहरुबाट मोक्ष प्राप्त हुने भएकोले यस एकादशीको ब्रत लिनु धार्मिक दृष्टिकोणले उपयुक्त मानिन्छ । पापबाट मोक्ष गराउने भएकोले नै यस एकादशीलाई ुमोक्षदाु भनिएको हो । मोक्षदा एकादशीको ब्रत बसेपछि पुर्वजहरुले सवै पापबाट मुक्ति पाई स्वर्गको बास पाउने धार्मिक मान्यता रहेको छ ।


मोक्षदा एकादशी व्रतकथा

पौराणिक कथन द्वापर युगमा गोकुल नगरमा वैखानस नाम गरेका राजाले राज्य गर्दथे । राजा वैखानसले एकपटक सपनामा आफ्ना पिता नर्कमा परेको र उद्दारका लागि आफुलाई अनुनय विनय गरेको देखे । यस्तो सपनाले वैखानस चिन्ताले ब्याकुल बने । उनले बिहानै उठि राज्यसभाका गुरु पुरोहित तथा ब्राम्हणहरुलाई बोलाएर सपनामा देखेको कुरा सबिस्तार सुनाए । त्यसपछि गुरु ब्राम्हणहरुले पर्वत नाम गरेका एकजना तपश्वि ऋषिमुनिलाई भेटे उद्दारको तरिका थाहा लाग्ने लगाए । वैखानसले पनि पर्वत मुनिकहाँ पुगि सवै बेलिबिस्तार सुनाए । पर्वत ऋषिले ध्यानदृष्टिले हेरि सवै जानी बुझि पूर्वजन्मको पापले गर्दा तपाँईका पिताले नरक भोग्नु परेको हो भनि वैखानसलाई बताइदिए । त्यसबाट मुक्तिका लागि सवै विधी पुरा गरी मंसिर शुक्ल एकादशी अर्थात मोक्षदा एकादशीको ब्रत गरेको खण्डमा नरक बासमा परेका पित्रीको उद्दार हुने कुरा पर्वतमूनिले बताइदिए । वैखानसले पनि पर्वत ऋषिले भने अनुसार मोक्षदा एकादशीको ब्रत बसि नरकमा फसेका आफ्ना बुबाको उद्दार गरे । त्यसैबेलादेखि यहि धार्मिक कथा अनुसार अहिले पनि भक्तालुहरु मोक्षदा एकादशीको ब्रत बस्ने गर्दछन् र पापमा फसेका पित्रीहरु उद्दार गर्ने गर्दछन् ।

आजका दिन व्रत लिनाले पितृ उद्धार हुने र मोक्षको मार्ग खुल्ने अवधारणा छ । दानव होस् या दैत्य, आजको दिन मोक्षका लागि उतिकै महत्वपूर्ण मानिन्छ ।

आज गीता उपदेशको पुस्तक सहित श्रीकृष्ण र वेदव्यासको पनि भक्तिपूर्वक पूजा गरिन्छ । मोक्षदा एकादशीको ब्रत बस्नका लागि अघिल्लो दिन अर्थात दशमिकै दिन शुद्ध भई नियमपूर्वक जौको रोटी र मुँगको दाल बनाई एक पटक मात्रै भोजन गर्नु पर्दछ । त्यसैगरी एकादशीको ब्रत समाप्त गरी भोलिपल्ट द्वादशीका दिन बिहानै स्नान गरी एक छाक खाएर उपबास बस्नु पर्दछ । एकादशीका दिनमा भने भगवानको पूजा आराधना गरी रात्री समयमा गीता श्लोक गाउँदै जाग्राम बस्नु पर्दछ । गीताले अज्ञानता र अन्धकारबाट मुक्त गरी मानव जीवनलाई समृद्धि र सत्कर्म तर्फ लैजान्छ । यसो गर्नाले मानव जीवनमा विचारको श्रेष्ठता प्राप्त हुने विश्वास रहेको छ ।

-सुयोग ढकाल 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.