Hamro Haribodhini Ekadashii | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

हरिबोधिनी एकादशी व्रत




हरिबोधिनी एकादशी व्रत विशेष अडियो सामग्री

हरिबोधिनी एकादशीलाई एकादशीहरुमा सबैभन्दा ठूलो एकादशीका रुपमा लिइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठूली एकादशी भन्ने पनि छ । यसको महिमाका कारण पनि यसलाई ठूलो एकादशी भनिएको हो ।

जनविश्वास तथा धार्मिक परम्पराअनुसार आजको दिन भगवान विष्णु उठ्नुहुन्छ भन्ने छ । हरिशयनी एकादशीबाट चीर निद्रामा सुत्नुभएका विष्णु भगवान आज उठ्ने विश्वास भएकाले पनि आजको एकादशीलाई विशेष मानिन्छ ।

आजको दिन तुलसीको विवाहको दिन भनेर पनि चिनिन्छ । वैदिक सनातन हिन्दु धर्मशास्त्रमा आयुर्वेदमा पनि महत्त्वपूर्ण भूमिका भएको तुलसीको बिरुवाको धार्मिक, साँस्कृतिक र वैज्ञानिक रुपमा पनि निकै महत्त्व रहेको छ । त्यसैले त हिन्दु धर्मालम्बीहरुले आआफ्नो घरमा पनि तुलसीको मठ बनाउने र त्यसलाई पूजा गर्ने गर्छन् ।

वैदिक सनातन सँस्कारमा तुलसी पूजाको ठूलो महत्त्व छ । हजारौँ वर्षदेखि सनातन सँस्कारीहरु प्रातःकालमा नै उठेर तुलसीमा पानी चढाएर र नमन गरेर मात्र आफ्नो दैनिकीमा लागेको पाइन्छ ।

वैदिक सनातनमा तुलसीको महत्त्व प्रत्येक विशेष उत्सव वा कुनै धार्मिक कार्यमा पनि रहँदै आएको छ । मानिसको जन्म हुँदा होस् या मृत्यु हुँदा नै किन नहोस्, सनातनी सँस्कारमा तुलसीको बिरुवा वा तुलसीको पातको प्रयोग हुँदै आएको छ, यसको महत्त्व रहेको छ ।

हिन्दू धर्मालम्बीहरुले आँगनको छेउमा बनाएको तुलसीको मठलाई पवित्र स्थान मानिने चलन छ । तुलसीको पातको पनि विशेष महत्त्व रहेको छ । अनि तुलसीको डाँठबाट बन्ने मालालाई त निकै पवित्र मानिन्छ ।

तुलसीको महत्त्वको विषयमा पद्म पुराणको एउटा प्रसंगलाई लिन सकिन्छ । बिन्दा देवीले पृथ्वीमा आएर भगवान विष्णुलाई आफ्नो पतिको रुपमा पाउन गरेको तपस्यासँग तुलसीको महत्त्व जोडिएको छ । त्यस्तै, श्रीमद् भागवत पुराणमा पनि तुलसीको बिरुवाको दैविक गुणलाई व्याख्या गरिएको छ ।

भोजनमा सधैं तुलसीको पात पनि राख्ने भगवान श्रीकृष्णसँग पनि तुलसीका विभिन्न प्रसंगहरु जोडिएका छन् । त्यसैले पनि अन्जुलीभर पानी लिएर तुलसीको पातमा सफा हृदयले अर्पण गर्दा मात्रै पनि श्रीकृष्ण भगवानको कृपाले आफूले चाहेको फलहरु मिल्ने विश्वास पनि गरिएको छ । स्कन्द पुराणमा पनि तुलसीको पूजा गरेमा अनन्त फल प्राप्त हुने प्रसंग उल्लेख गरिएको छ ।

हरिशयनी एकादशी अर्थात् तुलसी रोप्ने एकादशीमा रोपिएको तुलसीको बिरुवा आजको दिनसम्म निकै हुर्किएको हुन्छ । अषाढ शुक्ल एकादशीमा रोपिएको तुलसीको बिरुवालाई आजको दिन पिपलसँग विवाह गरिदिने प्रचलन पनि रहेको छ ।

यसका लागि तुलसीको मठको चारैतर्फ बाँसको लिङ्गो गाड्ने अनि रंगरोगन गरेर शृङ्गार गर्ने चलन रहेको छ । आजको दिन हिन्दू धर्मालम्बीहरुले रुद्री पूजा गर्ने चलन पनि रहेको छ ।

भगवान विष्णुका अनेक नाममध्ये एक नाम हो, नारायण । आजको दिन विष्णु भगवानको चर्चा गर्दा काठमाडौं उपत्यका र नारायणसँग सम्बन्धित केही विषयमा पनि चर्चा गरौँ ।

परापूर्वकालदेखि काठमाडौं सहरमा भगवान विष्णुको अनुकम्पा रहिरहोस् भनेर उपत्यकाका चारैतर्फ विष्णु भगवानको प्रतिमा पनि राखिएको छ । भगवान विष्णुको अनुग्रह काठमाडौंमा सधैं परोस् भन्नका लागि यसो गरिएको हो । काठमाडौंको पश्चिममा इचङ्गुनारायण, पूर्वमा चाँगुनारायण, उत्तरमा विशंखुनारायण अनि दक्षिणमा शेषनारायणले काठमाडौं उपत्यकालाई सधैं हेरिरहेका छन् भन्ने मानिन्छ ।

आजको दिन यी ठाउँहरुमा विशेष पूजा गर्ने चलन पनि रहेको छ । श्रद्धासहित भक्तजनहरु यी ठाउँमा पुग्ने गर्छन् । विहानैदेखि भगवान विष्णुको प्रतिमा भएका ठाउँमा पुगेका श्रद्धालुहरुले साँझ अबेरसम्म पूजापाठ गर्ने चलन रहेको छ । पहिले पहिले त यी चारै नारायण भएको ठाउँमा भक्तालुहरु हिँडेर एकै दिनमा पुग्ने गरेको चर्चा पनि सुनिन्छ ।

यसरी एकै दिनमा यी ठाउँहरुमा पुग्दा अन्त्यमा शेषनारायण भएको ठाउँमा भक्तालुहरु पुग्ने गरेका थिए । शेषको अर्थ अन्त्य भएकाले पनि यस्तो गरिएको हुनसक्ने विश्वास छ । केही पछि यी चारै नारायण पुग्न नसक्ने भक्तालुहरुका लागि पाटनको कृष्ण मन्दिरको छेउमा चार नारायणको प्रतिमा राखिएको छ । यी चार नारायणको प्रतिमामा फेरो लगाउँदा पनि चारै नारायणमा पुगेको जत्तिकै फल मिल्ने विश्वास गरिन्छ ।
आजको दिन नेपालभरका विभिन्न भगवान विष्णुका मन्दिर तथा तिर्थस्थलमा तिर्थाटन गर्ने भक्तजनहरुको व्यापक भीड लाग्ने गर्छ ।

नमोः नवः तुलसी कृष्ण प्रियशी
कृष्ण राधा सेवा को सबै अभिलासी

हरिबोधिनी एकादशीको शुभकामना ।

–सुयोग ढकाल
––––––––––––––––––––––––

तुलसी विवाह विधि र विशेषता


देवी त्वं निर्मिता पूर्वमर्चितासि मुनीश्वरैः ।
नमो नमस्ते तुलसी पापं हर हरिप्रिये ।।

कार्तिक शुल्क एकादशी अर्थात् हरिबोधनी, ठूली एकादशी वा तुलसी विवाहको नामले समेत प्रसिद्ध यस दिन विशेषगरी विष्णु भगवानको पूजाअर्चनासहित तुलसी विवाहको उत्सव मनाइन्छ । सनातन धर्म अनुसार आषाढ शुल्क एकादशीदेखि सुतेर भगवान विष्णु चार महिनापछि आफ्नो निन्द्राबाट यही पवित्र दिनमा उठेको मानिन्छ ।

भगवान विष्णुले सबैभन्दा पहिले तुलसीको प्रार्थना सुन्नुभएको र त्यसै प्रार्थनाका प्रभावले निन्द्राबाट उठ्नुभएको विश्वास गरिन्छ । यही दिन तुलसीको विवाह विष्णु भगवानसँग भएको मानिन्छ । अनि शालिग्राम वा पिपलसँग तुलसीको विवाह भगवान विष्णु र लक्ष्मीजीको विवाहको प्रतीकात्मक विवाह मानिन्छ ।

यस दिन विहान सूर्योदयभन्दा पहिले उठेर स्नान गर्ने र भगवान विष्णुको पूजनसहित तुलसी विवाह गरेर व्रत बस्ने परम्परा छ । तुलसी विवाहको लागि तुलसीको मठ या गमलामा गेरु वा रङ्ग आदिले रंगरोगन गरेर सजाइने गरिन्छ । अनि चारैतिरबाट ऊखु, साल, बाँस या नियालोलो मण्डप बनाएर त्यसमाथि फूल तथा कपडाले सजाएर तुलसीलाई वस्त्र तथा सौभाग्य लगाएर शृङ्गार गर्नु पर्दछ ।

दियो, कलश, गणेशसहित सबै देवी–देवताहरुको र श्री शालिग्रामको श्रद्धा एवं भक्ति पूर्वक पूजन गर्नु पर्दछ र आजकै दिनबाट नयाँ धान कुटेर चामलको न्वागी भगवानलाई अर्पण गरि प्रसाद स्वरुप न्वागी खाने प्रचलन पनि रहेको छ ।

पूजन गर्दा ॐ तुलसी दामोदराभ्यां नमः भन्दै पाद्य जल, अर्घ, आचमनी, दुध, दही, घ्यू, मह, चिनी तथा पञ्चामृतले स्नान गराउनु पर्दछ । तत्पश्चात् शुद्ध जलले स्नान गराई तुलसी तथा शालिग्राममा आफ्नो गच्छे अनुसार श्रद्धा एवं भक्तिले चन्दन, रोली, सिन्दुर, टिका, वस्त्र, सौभाग्य चढाउनु पर्दछ र जौ, तिल, फूल, माला, सहित सम्पूर्ण उपचारले पूजा गर्दै धूप, दिप, नैवेद्य, ऋतुफल, कन्दमूल, पान, सुपारी आदि द्वारा गरिएको पूजाबाट मनोवाञ्छित फल प्राप्त हुने शास्त्रक्त कथन रहेको छ ।

त्यसपछि पहेँलो फूल हातमा लिएर प्रार्थना गर्दै पुष्पाञ्जली पनि गर्नु पर्छ । एउटा नरिवल, दक्षिणासहित भगवान शालिग्राम हातमा लिएर तुलसीको सात पटक परिक्रमा गर्नु पर्दछ । तत्पश्चात् आरती गरी तुलसी विवाह उत्सव पूर्ण गरिन्छ ।

आजको दिन भगवान विष्णुको भजनकिर्तन गर्दै रातभर जाग्राम बस्ने चलन पनि छ । यसरी गरिएको पूजा एवं आराधनाबाट हामीलाई सुख, समृद्धि र सबै प्रकरको मनोकामना प्राप्त हुने धार्मिक विश्वास रहेको छ । अस्तु ।।

– पं. नारायणप्रसाद दुलाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.