नेवारी समूदायमा आजको दिन म्हपूजा भनेर धुमधामकासाथ मनाउने चलन रहेको छ, नेवारी भाषामा एक अक्षरले बनेका शब्दहरुको बाहूल्यता पाइन्छ, म्ह को शाब्दीक अर्थ चाँही देह या शरीर भन्ने बुझाउँदछ र यसअर्थमा म्ह पूजाको अर्थ आफ्नो देहप्रतिको आदरयूक्त याचना हो । आजको दिन आत्मतत्तवलाई वोध गराउने अनि सजिवताको आभाष गराउने दिन पनि हो । नेवारी भाषामा म्हं शब्दको प्रयोग र ईतिहास केलाउँदै जाने हो भने यसको प्रयोग उपसर्ग र प्रत्ययकारुपमा ब्यापक रुपमा वोलिचालीका वाक्याशंहरुमा प्रयोग भएको पाइन्छ । जस्तै छित म्ह फुला ? अर्थात तपाईलाई सञ्चै छ ?
म्ह फु अर्थात सञ्चै छ
म्ह मफु अर्थात् सञ्चो छैन
म्ह अर्थात देहवाचक अनि चेतनाप्रदायक शब्द, चेतना नभएका अनि जड वस्तुहरुमा म्ह को प्रयोग हुँदैन । यसै चेतना अनि स्व-तत्वलाई उजागर गर्दै नेवार समुदायमा आज म्हपूजा मनाउने चलन रहेको छ । नेवारी समूदायमा आफ्नै शरीर भित्रको चेतनाप्रदायक यस आत्मतत्व अनि परमात्मालाई पूजा गर्दै आजको दिन आफ्नै अभूतपूर्व शरीरको पूजा गरिन्छ । शरीरमा शान्ति नभइकन शान्ति नहुने विश्वास अनुरुप आजको दिन अष्ट चिरञ्जीवीको प्रतिक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ र सोहि मण्डपमाथि बिभिन्न खाद्यवस्तु राखेर आफैंले आफैंलाई खुवाईन्छ ।
यो लेखलाई अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस् ।
अन्य वर्षहरुमा आजकै दिन नेवार समुदायले नेपाल संवतको नयाँ वर्ष अर्थात् पहिलो दिन अर्थात न्हुदँया भिन्तुना (नयाँ वर्षको शुभकामना आदान प्रदान) गर्ने चलन हुन्थ्यो तर यस वर्ष भनें भोली अर्थात भाइटीकाका दिन गोवरधन पूजा र भिन्तुना पर्न गएको छ ।
गाईगोरु पूजा, हलि तिहार
आज तिथि अनुसार गोवरधन पूजा परेन यद्धपि आजको दिन गाईगोरु, हलिफाली अनि अन्य कृषिजन्य औजारहरु पूजा गर्ने चलन छ । कृषिप्रधान नेपाली दैलोहरुमा हिँउदको शुरुवातसंगै वर्खायामभरि थन्काएर राखेका हलो, कुटो, कोदालो लगायतका औजारहरु बाहिर निकालेर आजका दिन पूजा गर्ने चलन छ । यसकारण पनि आजका दिनलाई हलितिहार भनिएको हो ।
कृषिकर्ममा सहयात्रा गर्ने जीवहरु गाई, गोरु लगायतको पनि आज पूजा गरिन्छ, उहिले उहिले त आजको दिन गाईको गोडा मुनीबाट छिर्ने चलन पनि थियो भन्ने लोकउक्तिमा पाइन्छ । गोवरधन पूजा भोली परेका हुनाले गाइगोरु पूजा भोली पनि गरिन्छ ।
आजको दिनको अर्को ब्यापक रौन्क हो , देउसी । हिजो भैलेहरुको भाका अनि आज देउँसेहरुको भाका । हुन त कोरोना त्रास र स्वास्थ संकटका कारण यसवर्ष यि रमाइला कुराहरु थाती नै रहने भए तर अर्कोवर्षको रौनक अनि वितेका वर्षको यादमा हामी संझना बिर्सना गरिहन्छौं ।
अनि तपाईको के छ त योजना ? जाने हैन त देउसी खेल्न ?
वलिराजाले पठाएका भनेर मानिने टोलछिमेकका पुरुषहरुको यो सांगीतिक दस्ता जस्लाई देउसे भनिन्छ अनि यिनीहरुले गाउने अनि प्रस्तुत गर्ने सांगीतिक कोसेली, जस्लाई देउसी भनिन्छ । आउनुहोस, हाम्रो पात्रो परिवारको यो तिहारको देँउसी कोसेली अडियो स्वीकार गर्नुहोस् ।
देउसीमा एकजना भट्याउने ब्यक्ति हुन्छन्, सामान्यतया भाका, स्वर अनि छन्दमा यि भट्याउने ब्यक्ति जानकार हुन जरुरी छ । केही देउसीका सर्वप्रिय भाकाहरु वाहेक धेरैअन्य पक्तिंहरु परिस्थितीपरक हुन सक्छन्, कहिलेकाँही देउसेको अपेक्षाअनुरुप देउसीको दक्षिणा नपाँउदा चाँही
यो घर हेर्दा सिँहदरवारजस्तो
आँगनहेर्दा टुँडिखेल जत्रो
दक्षिणा हेर्दा माग्नेलाईजस्तो
आदिजस्ता पक्तिहरु अनि
केराको थम्वा
हामी यतिजना भाई जम्मा
झिलीमिली झिल्ला
ताते रोटी मिल्ला जस्ता पत्तिंहरु हामीमध्य धेरैको वाल्यकालसँग जोडिएको होला ।
देउसेले दिएको आशिषले साच्चीकै विशेष मान्यता राख्दछ,
यसपाला आँउदा जस्ताको छाना
अर्कोसाल आँउदा पक्काको छाना
त्यस्पछि आँउदा चाँदीको छाना
त्यसपछी आँउदा सुनको छाना
यो घरैका केटा केटी
दुवोमौलाजस्तै मौलाइमा रहुन जस्ता आशिषहरु साँच्चीकै समय सान्दर्भीक छन् । वास्तवमै हामीसबैलाई देउसेले दिएको आशिष लागोस्, सदभाव वढोस् । आजको दिन रिसराग सबै भुलेर छरछिमेकको घरमा देउसीखेल्न जाने र सदभाव वढाउने चलन छ । देउसीवाट उठेको रकमले कुनै सामाजिक कार्य गर्ने या वाँढेर लिने या वनभोज जाने पुरानो रिती नेपाली समाजमा पुस्तौ पुस्ताले दोहोर्याइरहेको छ ।
आजको दिनको हार्दिक शुभकामना ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: