पाहाँचःह्रे अर्थात् अतिथि चतुर्दशी
‘पाहाँ’ भन्नाले अतिथि भनेर बुझिन्छ भने ‘चःह्रे’ भनेको चतुर्दशीलाई भनिने गरिन्छ । यो दिनलाई ‘पिशाच चतुर्दशी’ पनि भनिन्छ । चैत्र कृष्ण पक्षको चर्तुदशीलाई पाहाँचःह्रे भनेर रमाइलोका साथ मनाउने परम्परागत चलन छ । यस वर्षको यो अन्तिम चर्तुदशी पनि हो । सकिँदो जाडो, शुरुवाती गर्मी अनि सुख्खापनाको मौसममा हुन सक्ने रोगव्याध र विपत् मुक्तिका निम्ति धार्मिक र आस्थागत गन्तव्यका रूपमा यो चर्तुदशीलाई लिइन्छ ।
पहिले–पहिले त नेवा समुदायमा आजका दिन मकलमा आगो बालेर उक्त धुँवा घरमा लगाउने र त्यसको प्रभावले भूतप्रेत लगायतका कुराहरू र विपतहरू नलाग्ने, रोगव्याध निर्मूल हुने विश्वास गरिन्थ्यो । आफूमात्र भोज खाने या रमाइलो गर्ने नभई सबै साथीभाई र मित्रजनलाई बोलाएर भोज गर्ने र रमाइलो गर्ने चाड भएकाले होला यस चर्तुदशीलाई पाहुना आउने भनेर पाहाँ भनिएको हुनुपर्छ ।
यो दिनलाई हिन्दूू र बौद्ध दुवै मार्गका नेवा समुदायले अत्यन्त श्रद्धाका साथ मान्ने गर्छन् । आजका दिन गणेश, भैरव, भगवती र अष्टमातृकाको विशेष पूजा गर्ने र खट निकाल्ने चलन पनि छ । टोल–टोलमा रहेका देवी–देवताहरूलाई कुखुरा, हाँस, बोका, राँगा बली दिएर चाड मनाउने चलन छ । नक्साल भगवती, तख्ती अजिमा, लुँचुभुलू अजिमा, न्ह्याय्कंतला अजिमा, कंगः अजिमा, न्यतमरु अजिमा, वटु र टेत्रबहाःका लुँमधि अजिमा, चारढुंगेमा नरसिंहको खट जात्रा गरिन्छ । यसरी विभिन्न टोलमा विभिन्न देवताहरूको जात्रा गर्दा बाजा बजाउँदै, गीत गाउँदै देवताका खट बोकेर घुमाउने गरिन्छ ।
आजको दिन इन्द्रायणी (लुति अजिमा) बाहेक अरु सबै अजिमाहरूलाई खटमा राखेर पूजा गर्न टोल–टोलमा लिएर जाने गरिन्छ । इन्द्रायणी आफ्नो अरु अजिमा दिदीबहिनी भन्दा निक्कै गरिब थिइन् । एक दिन दिदी अजिमाले सबैलाई भोज बोलाउँदा इन्द्रायणी अर्थात् लुति अजिमा सम्पन्न नभएकाले उनलाई हेला गरेर खाना फ्याँकेर दिन्छिन् । त्यसरी फ्याँकेको खानाले लुति अजिमाको बच्चाको अनुहारमा लाग्न गइ रगत निस्किन्छ ।
अपमानित भएर त्यहाँबाट सरक्क निस्किएर हिँडेकी इन्द्रायणीले बाटोबाट एउटा फर्सी किनेर लान्छिन् । तर त्यो फर्सी काट्दा त्यहाँबाट एउटा सर्प निस्किन्छ । इन्द्रायणीले अब त्यो फर्सी पनि खान नहुने भनेर फ्याक्न जाँदा एक्कासी त्यो फर्सी सुनमा परिणत हुन्छ । त्यसपछि, अर्को वर्ष फेरि दिदी अजिमाले भोज बोलाउँदा, इन्द्रायणी सम्पन्न भएर जान्छिन् ।
यसपटक उनको छुट्टै सत्कार गरिन्छ । तर, लुति अजिमाले यो सत्कार आफ्नो धनका लागि मात्र भएको भनेर आफू त्यहाँबाट बच्चाहरूसहित निस्किन्छिन् । त्यसैले आजको दिन इन्द्रायणीको भने खट निकालेर पूजा गरिँदैन । इन्द्रायणीको पूजा आजभन्दा लगभग ४ महिना अघि नै बाला चतुर्दशीको दिन गर्ने गरिन्छ ।
आजको दिन बेलुका लुकेको महादेव (लुकुमहाद्यः)को विशेष पूजा आराधना गरी मनाइन्छ । भूत, प्रेत या पिशाचलाई महादेवका गणहरू मानिन्छ । आज भन्दा आठ दिनअघि अर्थात् चैत्र कृष्ण अष्टमीको दिन सानो शिवलिङ्गलाई एउटा खटमा राखी बाजा बजाएर काठमाडौँको बुद्ध बिहारको फोहोर फ्याक्ने ठाउँमा सफा गरेर राख्ने गरिन्छ । फोहोर ठाउँमा जे भेट्यो त्यही खाएर बसेको यो महादेवको पिशाच रूप हो । आजको दिन यी महादेवलाई त्यहाँबाट निकालेर सफा गरी पँहेलो रायो, लसुनको बोट, जाँड र भोजका अन्य परिकारहरू चढाएर पूजा गरिन्छ । यो चाडमा यही पिशाचरूपी महादेवको पूजा आराधना गरिने भएकाले नै यसलाई पिशाच चतुर्दशी भनिएको हो ।
आजको दिन नेवार समुदायमा मुकुण्डो लगाएर नाच देखाउने प्रचलन पनि छ । आजको दिन नेवार समुदायमा एउटा भव्य भोज आयोजना गरी आफ्ना चेलीबेटी, आफन्त र इष्टमित्रहरूलाई घरमा बोलाउने चलन छ । यसैकारण पनि आजको दिनले पारिवारिक सम्बन्धमा माया, प्रेम, सद्भावना र एकतालाई थप मजबुत बनाउने मान्यता राखिन्छ ।
यो चर्तुदशीको अर्को आकर्षण भनेको यसको भोलिपल्ट हुने घोडेजात्रा हो । भनिन्छ, गुरुमापालाई टुँडिखेलमा गाडिराखेकाले घोडाको खुट्टाले कुल्चाउनुपर्छ भनी घोडा दौडाउने गरिएको हो । नेपाल सम्बत् ७८७ तिर काठमाडौंका राजा प्रताप मल्ल र पाटनका राजा श्रीनिवास मल्लबीच मनमुटाव भएकाले पाटनका जनता काठमाडौंमा घोडेजात्रा हेर्न नजाऊन् भनी पाटनमै भोलाख्यः टोलमा एउटा घोडा दौडाउने चलन गरिएको हो भनिन्छ ।
यी विषयमा भोलि घोडेजात्राका दिन विशेष सामाग्री पस्कनेछु । आजका लागि सबैमा पाहाँचःह्रेको शुभ कामना ।
-----
सुयोग ढकाल
Liked by: