बाला चर्तुदशी | शतबीज छर्ने | अन्तर्राष्ट्रिय अपाङ्ग दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरु

बाला चर्तुदशी | शतबीज छर्ने | अन्तर्राष्ट्रिय अपाङ्ग दिवस





आज शतवीज छर्ने हो, आज मसिंर कृष्ण चर्तुदशी अर्थात बाला चर्तुदशी पनि भनिन्छ र आजको दिन मृत्यूवरण गरेका पितृहरुको मोक्षयात्राका लागी अत्यन्त महत्पूर्ण दिनका रुपमा मानिन्छ । नेपाल अनि भारतका विभिन्न शक्तिपीठ अनि त्रिवेणी धामहरुमा आज शतवीज छर्ने तिर्थालुहरुको घुईँचो रहने गर्दछ । शतवीज भन्नाले पितृ उद्धारकालागी धार्मीक वनहरु जस्तै कैलाश डाँडा, श्लेष्मान्तक बन अनि अन्य बनहरुमा गई छर्ने सातप्रकारको अन्नहरु पर्दछ ।

यस्ता अन्नहरुमा धान, गहुँ, मास, मुगी, कागुन, र सामा मिलाईएको सप्तधाना यूक्त शतवीज र विभिन्न प्रकारका फूलहरु रहनेगर्दछ । शतवीज छर्नेकुरामा ठाँउअनुसार आफ्ना आफ्नै चलनहरु रहेको पाईन्छ र माथी उल्लेख गरेका अलावा चना, तील, मकैहरुपनि राखेर शतवीज छर्ने चलन रहेको छ भने अन्नका साथसाथै कागती, निबुवा, विमिरो, सुन्तला, स्याउ, उखु, अम्बा,केरा पनि राख्ने चलन रहेको छ । यसरी शतवीज छर्नका लागी चर्तुदशी भन्दा एकदिन अगाडिनै अर्थात त्रयोदशीकै दिन राती जाग्राम वसेर दिप प्रज्वलन गर्दै अनि भजन किर्तन गर्दै आँखा झिमिक्क नपारी भोलीपल्ट विहानै स्नान गरेर चोखोनितो बनेर मात्र शतवीज भर्ने चलन छ । यसरी पृथ्वीलोकमा छरिएको शतवीज चाँही पितृहरुको लोकमा गएर अकुंरण हुने र यिनै विजकाकारणले पितृहरु कहिल्यै भोकै बस्न नपर्ने मान्यता रहेको छ ।

काठमाडौको पशुपतिनाथ अनि आसपासका किरातेश्वर, गौरीघाट, गुहेश्वरी, आर्यघाटको तट, श्लेषमान्तक बन लगायत पूर्वी नेपालको चतरा, बराहक्षेत्र, पर्वत जिल्लाको सेतीवेणी धाम, गुल्मी शान्तिपुरको चक्रेश्वर मन्दिर, नवलपरासीको देवघाट धाम, धनुषाको क्षिरेश्वर लगायत देशभरिका शिवालय एवं त्रिवेणी धामहरुमा विशेष घुईँचो अनि मेला लाग्ने गर्दछ । पितामाता या पितामह या मातामह अर्थात हजुरवुवा अनि हजुरआमा या सातपुस्ता भित्र जुठो बार्न पर्ने जो कोहीको पनि जुठो बार्ने या बर्खि बार्ने क्रममा पूरा गर्नुपर्ने नियम पुरागर्न नसकेमा या कुनै त्रुटीभएमा बाला चर्तुदशीको दिन पवित्र खोलामा तिनफेर डुबुल्की मारेर चोखो भई शतवीज छर्नाले र त्रयोदशीमा जाग्राम वसेर मृतात्माको नाममा दिप प्रज्वलन गर्नाले सम्पूर्ण दोषवाट मुक्तिपाउने जनविश्वास रहेको छ ।

यसरी दिप प्रज्वलनगर्न शिवालय या शक्तिपीठ नै पुग्ननसकेको खण्डमा मृतात्माको नाममा घरमै श्रद्धाकासाथ वत्ति प्रज्जवलन गरेर, दुना या टपरीमा बत्तिलाई राखी माथीवाट ज्वाला निस्कने ठाँउ दिएर अर्को दुना, टपरी या वोहतीले छोपेर खोलामा वगाउने चलन छ । यसरी सहजै वत्तिवगेको खण्डमा पितृले वैतर्नी तरेको र वत्ति सहजरुपमा नबगेको खण्डमा पितृले वैतर्नी नतरेको मान्यता पनि छ ।

सबैभन्दा रोचक प्रसँग चाही आजको दिन पशुपतिको विश्वरुप मन्दिर छेउको गणेशको मुर्तीसँग समबन्धीत छ । उक्त गणेशको मुर्तीलाई कान नसुन्ने रुपको भगवानका प्रतिकका हिसाबले लिईन्छ र तसर्थ भक्तालुहरु ले जोड जोडले चिच्याएर, कराएर, हल्लाएर उक्त मुर्तीलाई कान सुनाउन खोज्ने चलन र अथक प्रयासहरुले बालाचर्तुदर्शीको अन्त्यमा रोचक महत्व राख्दछ ।

बाला चर्तुदशी एउटा मित्रताको प्रसँग पनि हो, बाला एकजना असुर हुन भनेँ उन्का साथी व्रिसलाई राजाले बाला लाई मार्नकालागी पठाएका हुन्छन् । बाला ले आर्यघाटमा मृतकका आफन्तलाई तर्साउने र मृतकको शव खाईदिने गरेकाले जनताहरुले धेरै दुख्ख पाएका हुन्छन् । व्रिसले आफ्नो साथी बाला लाई छलले मार्न उचित ठान्दैनन र मित्रताको न्यानो परिधीभित्र बाला ले जस्तोसुकै असुरभएको भएपनि आफ्नो साथी भएकाले हत्या गर्न नसक्ने भएकाले गएर श्लेषमान्तक बनमा गएर आदिददेव शिवजीको तपस्या गर्दछन् । शिव व्रिसको तपस्याले प्रसन्न भएर बालालाई असुरजुनीवाट मुक्त गरिदिन्छन् र व्रिसलाई शतवीज छरेर आफ्नो साथी बालालाई पापवाट मुक्त गराउन आज्ञा दिन्छन् । यसरी शतवीज छर्ने चलन शुरुभएको र आजको यो दिन मित्रताको दृष्टान्तकारुपमा पनि उत्तिकै महत्पूर्ण रहेको कुरा बाला र व्रिसको यो कथाले प्रष्टपारेको छ ।

बाला चर्तुदशीको हामीसबैलाई शुभकामना, मृतात्माहरुले चिर शान्ति पाउन अनि हाम्रो मित्रता कायम रहोस् । फेरि अर्को विशेष चाड या दिनका वारेमा जानकारी लिएर आउनेनै छौ, तवसम्मलाई नेपालको सर्वाधीक डाउनलोड गरिएको अनि नेपालीहरुले अत्याधिक रुचाउनुभएको मोवाईल सहयात्री हाम्रो पात्रो नविराई प्रयोग गर्नुहोला ।
जयहोस्

अन्तर्राष्ट्रिय अपाङ्ग दिवस


१५ वर्षकी आशा सुनार, पर्वत जिल्लामा बस्छिन्, दुबै खुट्टामा पोलियो लागेर हिँड्न नसक्ने उनि आफ्नो स्कूलको दोश्रो तल्लामा चढ्न सक्दिनन किनकि भर्‍याङ्ग अपाङ्गमैत्री छैन र ठाडो उकालो चढ्न उनकालागि कदापी सहज छैन । के उनको विद्यालयको यो संरचना उनकोलागि योग्य छ त?

अनि आशा सुनारको जीवनका अफ्ठेरोहरु कोरोना पछिको विश्वमा झनै अफ्ठेरोमा परेको छ । कोरोनाले यसवर्ष पारेको विषम प्रभावका कारण आशाजस्ता धेरै अपांगता भएका मान्छेहरु जीवन झनै कष्टकर भएको छ ।

यस्तै आशाजस्ता लाखौं अरु मान्छेहरु छन्, संसारको कूल जनसंख्यामध्ये १५ प्रतिशत जनसंख्यालाई कुनै न कुनै रुपको अपाङ्गता छ तर उनिहरुको हरेक ठाँउमा समान पहुँच छैन ।

महोत्तरी जिल्लाका काशी साह दृष्टिविहिन छन्, नागरीकता लिन जाँदा सिडियो कार्यलयमाथी जान उनलाई अप्ठेरो भयो । यस्ता धेरै कार्यालय र संरचनाहरूमा अपाङ्गता भएकाहरुको समान पहुँच छैन् ।

टिभीमा आउने समाचार मैले केही पनि बुझ्दिन र कति मनलागे पनि सिरियलहरु बुझ्न सक्दिन, अरुहरु हास्य कार्यक्रम हेरेर हाँसेको देख्दा मलाई पनि बुझेर हाँस्न मन लाग्छ तर सक्दिन बाग्लुङ्ग कि सुस्त श्रवण बहिनी विनिता डिसीले हाम्रो पात्रोसंग कुराकानीको क्रममा बताउनुभयो ।

यस्तै गुनासो बाँकेका दृष्टिविहिन शिवराज वि.के.को छ, कुनैपनि पत्रिकाहरु व्रेललिपीमा आँउदैनन्, हामी बाहिरी संसारका सुचनाबाट कहिलेसम्म पर रहने ?

म्याग्दीका दृष्टिविहिन साथी गणेश सुवेदि, आफ्नो प्यारो मोबाईल सहयात्री हाम्रो पात्रो हरेक दिन चलाउनुहुन्छ, वहाँले अडियोका मार्फतबाट दिन विशेषका जानकारी लिनुहुन्छ, अझै सहज र अपांगमैत्री अडियो राखिदिन वहाँको हाम्रो पात्रोसँग आग्रह छ र हाम्रो पात्रो पनि आफ्ना प्रयोगकर्ताको भावना प्रति कटिवद्ध छ । अपांगमैत्री समाज र सुचनाका संरचनाहरु आजको आवश्यक्ता हो ।
-------------
वास्तवमै समाजलाई र संसारलाई अपाङ्गमैत्री बनाउन जरुरी छ, समावेशी भनेको भाषा, संस्कृती, भू-भाग मात्र नभई अपाङ्ग साथीहरुलाई पनि सहज तवरमा संगै लिएर विकासको दौडमा हिंड्न सफल बनाउनु पनि हो ।

यसको अर्थ हुन्छ, अपांगता मैत्री, समावेशी, पहुँचपूर्ण र दिर्घकालिन पोष्ट कोभिड विश्वका लागि सुधारात्मक पूर्ननिर्माण भन्ने हुन्छ ।

अपाङ्गतालाई समान अवसरले सकारात्मक वातावरणकाबिचमा राख्नसके सपाङ्ग झै अथवा त्यो भन्दा धेरै व्यवस्थित ढङ्गले कुनैपनि चुनाैतिको सामना गर्न सक्दछन् । चाहे ती साहित्यकार झमक कुमारी जस्ता पात्र हुन् या हेलेन केलर या स्टेफेन हक्वीनस् नै किन नहुन । खाने मुखलाई जुँगाले छेकेको छैन, समाजमा रहेका कुनै न कुनै किसिमले अपाङ्गतामा रहनुभएका दाजुभाई, दिदीवहिनी, आमाबुवाहरुमा आज हाम्रो पात्रोको हार्दिक नमन र सम्मानका शब्दहरु ।

सन् १९९२ बाट हरेक वर्षको ३ डिसेम्बर दिन संसारभरि विश्व अपांङ्गता दिवस मनाईन्छ । आजको दिन विभिन्न कार्यक्रम तथा गोष्ठी, र्‍यालीहरु आयोजना गरिन्छ, समानता र हौसलाको नारा गुञ्जायमान हुन्छ र वर्षभरि यी आवाजहरु गुञ्जीरहुन् भन्ने कामना पनि छ ।

अपाङ्गता भएका ब्यक्तिहरुले गर्नुभएको सकारात्मक र उपलब्धिमूलक कथाहरुलाई पनि आज विश्व समूदायले विभिन्न माध्यम मार्फत् अवलोकन र श्रवण गर्नेगर्दछन् भने अर्कोतर्फ अपाङ्गमैत्री समाज अनि संरचनाकालागि पैरवी पनि गरिन्छ । हरेक सरकार अनि सङ्गठनहरुले अपाङ्गगता भएकाहरूलाई प्राथमिकतामा राख्ने अनि समान वातावरण दिने प्रतिवद्धता राखेका हुन्छन र आज त्यो वाचा गरेका कुराहरू उपलब्धिका रूपमा कति प्राप्त भए वा भएनन भन्ने याद दिलाउने दिन पनि हो ।

अपाङ्गता भएको जनसंख्यालाई साथै लिएर हिंड्न नसक्ने हो भने संसारले दिगो र फराकिलो विकास पाउन सक्दैन् । समावेशी र समान समाजको परिकल्पना नै आजको टड्कारो आवश्यक्ता हो ।

नेपाल सरकार लगायत विभिन्न सरकारी र गैर सरकारी संस्थाहरुले अपाङ्गताकालागि धेरै परियोजना कानुनतः पैरवीहरु गरिरहेका छन् । अपाङ्गता विभिन्न किसिमको हुन्छ र हरेक प्रकारका अपाङ्गताकालागि विशेष प्रविधी र ब्यवस्था जरुरी हुन्छ, सबैको ध्यान यसतर्फ पुग्न जरुरी छ । प्रत्येक विद्यालयहरुमा सहज अपाङ्गमैत्री शिक्षा जस्तैः व्रेल लिपी अनि साङ्केतिक भाषामा शिक्षाको व्यवस्था, सहज आवत-जावतगर्न अपाङ्गमैत्री संरचना जरुरी छ । अपाङ्गता भएका साथीहरुमा राज्यले गरेका लगानी पक्कै खेर जाँदैन किनकि सक्षम नागरीक उत्पादन गर्न सके वहाँहरुको सेवा र क्षमताले राज्यको विकासमा नै थप टेवा पुग्नेछ ।

तपाई हामी चाहे सपाङ्ग छौं या अपाङ्ग, हामीले चाहेर या नचाहेर अपाङ्गता हुने या नहुने हैन् । अपाङ्गता भएका साथीहरुलाई माया, सद्भाव, समान हेराई अनि हौसलाको खाँचो छ । वहाँहरुको आत्मविश्वास सदैव कायम रहोस् अनि सृजनात्मक अनि संरचनात्मक कार्यमा वहाँहरुको निरन्तर अर्थपूर्ण सहभागीता होस् ।

आफ्नो जीवनयापनकालागि अर्काको भर पर्न नपरेमा मात्र आत्मस्वाभिमान अनि समानताको भावना पलाउँदछ, सरकार, अन्तराष्ट्रिय समूदाय र गैरसरकारी संस्थाहरुको पनि अपाङ्गता भएका साथीहरुको जीवनयापन सीप र आम्दानीको सृजना गर्नेतर्फ ध्यान दिएको पाईन्छ, जुन अत्यन्त राम्रो विषय हो । सीपमूलक व्यवसाय गरेर जीवनयापन गर्न सक्षम बनाउँदै शिक्षाको न्यानो उज्यालोबाट अपाङ्गता भएकै कारणले छुट्न नपरोस्, समाजमा समान ब्यवहार पाईयोस् अनि सहज स्वास्थोपचार व्यवस्थित होस् । अपाङ्गता सोंचले सिमित नहोस् अनि यसमा सबै साथीहरुको साथ, सहयोग अनि प्रतिवद्धता रहोस् ।

डिसेम्बर ३ को विशेष क्षमतासहितको यो फरक उर्जायूक्त दिन विशेषको सबैलाई शुभकामना ।
----
हाम्रो पात्रोका लागी सुयोग ढकालले तयार पार्नुभएको ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.