महाभारत कालदेखि भीमा एकादशीको महत्व विलक्षण रुपमा लिएको पाइन्छ । कुन्तीपुत्र भीमले यो एकादशीमा व्रत बसेका थिए । गरुढ पुराणअनुरुप भीम अत्यन्त खन्चुवा, मोटा र बलवान थिए । उनी व्रत बस्न सक्लान् भन्ने कमैलाई मात्र लागेको थियो । तर भीमले बहुतै त्याग र समर्पणका साथ यो एकादशीको व्रत बसे । त्यसपछि माघ शुक्ल एकादशीको नाम नै भीमा एकादशी रहन गयो ।
भीमले एकादशीको व्रत बसेका कारण सबै पित्रृ ऋणहरुबाट मुक्त भएको गरुढ पुराणमा उल्लेख छ । जसरी कुमार्गी राजाले राज्य, कुपुत्रले कुल, दुष्ट पत्नीले पति, अधर्मले धर्म, खराब मन्त्रीले राजा, अज्ञानताले ज्ञान, अशौचले शौच, अश्रद्घाले श्रद्धा, असत्यले सत्य, उष्णताले शितलता, अनाचारले सम्पत्ति, विष्मयले तप, अशिक्षाले ज्ञान, क्रोधले शान्ति र निकम्मताले फलको नष्ट गर्छ, ठीक त्यस विपरित भीमा एकादशीको ब्रतले सबै पाप त्यसरी नै नष्ट गरी मानिसलाई सुमार्ग प्रदान गर्ने र समृद्घि प्राप्त हुने धार्मिक विश्वास छ ।
भीमा एकादशीको व्रतबाट ब्रम्ह हत्या, सुरापान, सुनको चोरी, गुरु–पत्नी गमन जस्ता पापहरु नास गर्ने शक्ति प्राप्त हुन्छ । नैमिषक्षेत्र, कुरुक्षेत्र, प्रभासक्षेत्र, यमुना, गङ्गा लगायत सवै तीर्थहरु पुगे बराबर धर्म प्राप्त हुन्छ । भीमा एकादशीको व्रत कुनै पनि दान, जप, होम तथा अन्य पुण्य कर्महरुभन्दा ठूलो मानिन्छ । यतिसम्म कि एउटा पृथ्वी दान गर्नुभन्दा पनि भीमा एकादशीको ब्रतको महात्मे ठूलो मानिएको छ ।
भीमा एकादशी माघ शुक्ल पक्षमा पर्छ । अन्य एकादशीहरु झैं भीमा एकादशीलाई पनि पाप हरण गर्ने अर्को महत्वपूर्ण एकादशी मानिन्छ । भीमा एकादशीको व्रतबाट मनुष्यले भोग र मोक्ष दुवै प्राप्त गर्ने धार्मिक विश्वास छ ।
कलियुगमा भगवानको नाम जप्नुलाई नै सबैभन्दा ठूलो यज्ञ अथवा धार्मिक कार्यका रुपमा लिइन्छ । एकादशीमा भगवान बिष्णुको नाम जप्ने तथा आराधना गर्ने महत्वपूर्ण दिन हो । अरु एकादशीका दिन झैं भीमा एकादशीका दिन पनि रात्रि जाग्राम बस्ने र बिष्णुको कीर्तन गरिन्छ । भीमा एकादशीका दिन भगवान बिष्णुलाई धूप, दिप तथा नैवेद्यले पूजा गरी खिँचडी पकाएर चढाउने धार्मिक परम्परा छ ।
भीमा एकादशीका दिन बिष्णुरुपि बराहदेवको स्वर्णप्रतिमा बनाएर ताम्रपत्रमा स्थापना गरी सेतो ब्रस्त्रले ढाकेर दिप प्रज्वलन गरी ‘ॐ बराहाय नम’ मन्त्र उच्चारण गर्नु अझ फलदायी मानिन्छ । यसरी गरिएको बराह पूजाले समस्त मानव प्राणी ‘पित्रृ, गुरु र देव’ तीनै ऋणबाट मुक्त हुने उल्लेख गरिएको छ ।
यस एकादशीमा सुनसरीको बराहक्षेत्रमा भगवान बिष्णुको बराह अवतार दर्शनार्थ भक्तजनको घुँइचो लाग्छ । यसका साथै अन्य देवालय र तीर्थस्थलमा समेत भक्तजनको घुँइचो रहन्छ ।
संक्रमण जोखिममाबाट जोगिँदै धर्मको रक्षा गरौं । सबैको जय होस् ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: