यी दिनहरू पनि कति चाँडो बितेका हुन् ?
छ वर्षअघि बैशाख १२ गते । मध्यान्ह १२ बजेपछि मुलुक सन्त्रासमा परेको थियो । त्यो अत्यास र कहाली लाग्दो क्षण सम्झदै डर लाग्छ ।अझै सम्झदा पनि निस्सासिन पुग्छौ । जुन दिन नेपालले महाभूकम्पको दैवी प्रकोप खेप्यो । विक्रम सम्वत् २०७२ सालको भुकम्पको छैठौं वर्ष पुगेको दिन हो, आज ।
त्यो महाभूकम्पको त्रास अझै बाँकी छ । अनि भूकम्पले लडाएको संरचनाहरू अझै पनि ठडिन बाँकी नै छन् । उक्त भूकम्पले अन्य थुप्रै पाठहरू सिकाएर गयो । जनधनको क्षति गर्यो । आज त्यतिखेरका दृश्यहरूलाई पुनरावलोकन गरिन्छ ।
भूकम्पपछि सरकारले राष्ट्रिय योजना आयोगको अगुवाईमा संकलन गरेको तथ्यांकअनुसार त्यो भूकम्पमा ८ हजार ८ सय ९१ जनाभन्दा बढीको मत्यु भएको थियो । भूकम्पमा घाइते भएकाहरु उपचारकै क्रममा मृत्यु हुने क्रम पछिसम्म चलेको थियो । जसमा २२ हजार ३ सयभन्दा बढी घाइते भएका थिए । अझ भूकम्पपछिको कुपोषण र रोगले मानिसको ज्यान लियो नै । त्यो भूकम्पमा ९ लाख घर ध्वस्त भएको थियो ।
विक्रम सम्वत् २०७२ को बैशाख १२ को भूकम्पको त्रास हाम्रो मन मष्तिष्कमा अझै कसै–कसै रूपमा बसेकै छ । घरबाहिर गाडी दौड्दा घर केही हल्लिएको अनुभव भएमा मात्रै पनि त्रासले हामीलाई अत्तालिन वाध्य पार्न छाडेको छैन ? आज ६ वर्ष पूरा भएसक्दा बल्ल धरहराको निर्माणले स्वरूप पाएको छ । भूकम्पको केन्द्रविन्दू गोरखा वारपाक वासिन्दाहरुले भर्खरै मात्र घर पाउँदैछन् ।
शहरका अलि कम, तर पहाडी बस्तीलाई पूरै उजाड बनाइदियो । भूकम्पले घरका संरचना ध्वस्त पारेपछि नागरिकहरु पाल, त्रिपाल र छाप्रामा बस्न वाध्य भए । पहाडी बस्तीमा तीन तले घर हुन्थे । भूकम्पसँगै एक तले घरमा झर्न वाध्य भएका छन् । ग्रामीण घरहरुका स्वरुप पनि परिवर्तन भएको छ, भूकम्पपछि ।
त्यो विपत्तिमा नेपालप्रति विश्व नै सहानुभूति देखाए । उनीहरुले राहत, उपचारकर्मीदेखि आर्थिक सहयोग उपलब्ध गराएका थिए । हुन पनि त्यो भूकम्पको मार गरिब परिवारमाथि नै प¥यो ।
हजारौंको ज्यान लिने त्यो महाभूकम्प अनि त्यसपछिका अनगिन्ती पराकम्पमा प्रकृतिसँग मानव संरचनाहरूले घुँडा टेकेका थिए । अनि मानवको सम्बन्ध र घरका तल्ला होइन मनको सन्तोषले गरेको थियो । अझ ६ वर्षसम्म पनि पूरा नभएका पुनः उस्तै संरचना अनि निर्माणको बेथिति देख्दा भने हामीले कति सजिलै अनि छिट्टै महाभूकम्पलाई भुल्यौं भन्ने पनि भान हुन्छ । भूकम्पको नाश, बियोग अनि ज्ञान सबै कुरालाई आत्मसात् गर्दै अघि बढ्न जरुरी देखिन्छ ।
दरबार स्क्यावरहरू अझै पनि निर्माणकै क्रममा छन् । काष्ठमण्डप पनि बन्दैछ । २०७२ को भूकम्पले केवल संरचना मात्र बिगारेन कि हाम्रा पहिचान अनि ऐतिहासिक धरोहरलाई पनि उत्तिकै विनाश गरेको छ ।
काष्टमण्डप जसको नामबाट काठमाडौं शहर रहन गयो । त्यही संरचना नै एकपलमा धुलो–पीठो बनाएको भूकम्पले धरहरालाई पनि ढालेको थियो । काष्ठमण्डप अनि धरहराविनाको बुचो राजधानी आजसम्म पनि शहरवासीसँग आफ्ना पहिचान र मौलिकताको धरोहरको पुर्ननिर्माणको आशामा छन् ।
नेपाल भूकम्पीय जोखिमका हिसाबले पनि उच्च जोखिममा रहेको देश हो । भूकम्पीय जोखिमको उच्चता भएपनि जोखिम न्यूनीकरणका लागि भने खासै पहल भएको पाइँदैन । भूकम्प कुनै जनाऊ दिएर आउँदैन । तसर्थ, अबका दिनमा भूकम्पीय विनाश र जनधनको नाश कम गर्न संरचना निर्माणमा कडाई अनि जनजागरणमा केन्द्रित हुन जरुरी देखिन्छ ।
अब यस वर्ष भने धरहरा लगायत ऐतिहासिक संरचनाले स्वरूप पाउन् । प्रकृतिसँग सामना गर्न नसकेतापनि आउने जोखिम न्यूनीकरण गर्न सबैजना सचेत हुन सकौं । यसअघि १९९० सालको भूकम्पका कथाहरू अब २०७२ सालका कथाहरूले प्रतिस्थापित गरेको छ ।
स्मरणरहोस्, जमिनमुनीका प्लेटहरूको चलायमानका कारणले आउँदा पुस्ताले पनि भूकम्पको जोखिम सहन गर्नै पर्नेछ । भूकम्प टार्न नसके पनि यसको जोखिम न्यूनीकरण गर्न सबै जना लागि परौं । आजको दिनमा ती ज्ञात–अज्ञात मृतआत्माहरूलाई पनि श्रद्धासुमन अर्पण गर्न चाह्यौं, जसले भूकम्पमा ज्यान गुमाउनुभयो । बैशाख १२ विक्रम सम्वत् २०७२ को भूकम्पको सम्झना ।
विश्व औंलो दिवस
लामखुट्टेको टोकाईबाट सर्ने एउटा अत्यन्त जोखिमयूक्त रोग 'औंलो' विरुद्धको दिवस संसारभर प्रत्येक २५ अप्रिलमा मनाईन्छ । औंलोलाई अंग्रेजीमा मलेरीया भनिन्छ, आउनुहोस गएका वर्ष अनि दशकमा लाखौंको ज्यान लिएको यस रोगका बारेमा केही जानकारीतर्फ । एनोफेलिस लामखुट्टेको टोकाईबाट औंलो को संक्रमण मान्छेमा सर्ने गर्दछ । सन् २०१५ को अध्यन अनुसार संसारभर अझै पनि ९१ बढी देशमा मलेरीयाको संक्रमण रहेको पुष्टी गरेको छ ।
आशालाग्दो कुरा के हो भनें समयमै उपचार पाएमा मलेरिया निको हुन सक्दछ तथापी विकासोन्मुख देशका नागरीकहरूमा यसबारे देखिएको चेतनास्तरको कमी, स्वास्थोपचारको अभाव, गरिबी अनि हेलचेक्राईका कारणले मृत्यूको संख्या आशातित घट्न सकेको छैन् ।
मलेरीया विरुद्धको खोप नलगाएका ब्यक्तिहरुमा यसको संक्रमणको दर उच्च हुन्छ, मलेरीया ओसार्ने लामखुट्टेले टोकेको ७ देखि १५ दिन भित्र यसका लक्षणहरु देखिन्छन् । यसका लक्षणहरुमा रक्तअल्पता, श्वाँस-प्रश्वाँसमा समस्या, सेरिबरल मलेरिया आदि हुन्छन् । सन् २०१५ सम्ममा लगभग संसारका आधि जनसंख्यानै मलेरियाको जोखिममा थिए, बालवालिका, गर्भवती आमाहरु, एच.आई.भी. संक्रमितहरु तथा जमेको पानी वरपर बस्ने समूदाय अनि सरसफाइमा ध्यान नदिने र घुमन्ते मान्छेहरु यस रोगको उच्च जोखिममा रहन्छन् ।
विश्व स्वास्थ्य संगठनको सन् २०१६ को एक अध्यन अनुसार संसारभरिमा २ करोड १२ लाख मलेरिया संक्रमित रहेको र ४ लाख २९ हजार ले ज्यान गुमाईसकेको तथ्याङ्क छ, अफ्रिकी महादेशमा त यसको प्रकोप अझै बढी छ ।
मलेरियाको रोकथामकालागि समय समयमा दिइने खोप, समयमै अावश्यक अाैषधोपचार तथा घरभित्र वा बाहिर सुत्दा अनिवार्य झूलको प्रयोग महत्वपूर्ण छ । घर वरिपरि सरसफाई गर्ने, पानी जम्न नदिने, पानी जम्नसक्ने सरसामानहरूको उचित व्यवस्थापन गर्ने, जलाउन मिल्ने फोहोरहरूलाई व्यवस्थित ठाउँमा जलाइदिने र समय समयमा मलेरिया सार्ने लामखुट्टेहरुलाई भगाउने किटनाशक/रसायन छर्केर पनि न्यूनीकरण गर्न सकिन्छ ।
भावी पुस्तालाई मलेरियाबाट जोगाउन तोकिएको उमेर हदमैं खोप लगाउन जरुरी छ, मलेरीयाका किटाणुहरु शरीरमा प्रवेशगरेपछि क्रमशः कलेजोमा जान्छन्, विस्तारै किटाणूले मूल रक्तप्रवाहमा छिरेर यिनीहरुले रातो रक्त कोशिकामा हमला गर्दछन् । बेलैमा उपचार नभएमा यसको संक्रमणले सजिलै ज्यान लिन्छ, हामी सबैजना सतर्क हुन जरुरी छ ।
सन् २००७ मा तात्कालिन अमेरिकी राष्ट्रपती जर्ज डब्लु बुशको नेतृत्वमा हरेक वर्ष एप्रिल २५ लाई मलेरिया दिवसको रुपमा मनाउने क्रम शुरु भएको हो । आज संसारभरि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै मलेरिया दिवस मनाईन्छ, नेपालमा पनि विभिन्न स्वास्थ्य संस्था, स्वास्थ्य क्षेत्रमा काम गर्ने संघ-सस्था अनि कर्मचारीहरुले विभिन्न कार्यक्रम मार्फत् तथा घरदैलो जस्ता विभिन्न जनचेतना कार्यक्रमको अायोजना गरेर सू-सूचित गर्नेगर्दछन् ।
अल्छी गरेर झूलको प्रयोग नगरी सुत्ने बानी नगरौं, घर वरपर सफा राखौं, स्वास्थ्य संस्थामा जाँच गराऔं अनि बाहिर बस्दा शरिर पुरै ढाक्ने पुरा कपडा लगाऔं, आफू पनि बचौं र अरुलाई पनि बचाऔं ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: