बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरु

बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती




बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती विशेष अडियो सामग्री

बुद्ध शब्दको अर्थ संस्कृत शब्द बुध अर्थात् जाग्नु भन्ने हुन्छ । पूर्ण रूपमा सांसारिक मोहको पीडाबाट जागेका एक महान् व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथ–प्रदर्शक अनि प्रवर्तक हुन्, बुद्ध । यस्ता महान् गुरु जसले आफ्ना प्रवचनमा भगवानले संसार सिर्जना गरेको भन्ने कुरा भन्दा पनि संसारमा धर्म र नियमको पहिचान गर्दै मानिसलाई सांसारिक मोह र तनावबाट ब्युझाउन सहयोग गरे ।

जसरी कुनै सामान या मेशिन किन्दा त्यसको प्रयोग गर्ने तरिकाहरूसहितको यसो गर्नु या नगर्नु भन्ने तथ्यसहितको प्रयोग पुस्तिका पाइन्छ, त्यस्तै जीवन अनि जगतसम्बन्धी सहज अनि सफलताका प्रयोग पुस्तिका बुद्धले दिएर गएका छन् । हृदयको खेतमा सत्यता अनि शान्तिको बिऊ विजारोपण गर्न सिकाउने बुद्धको जन्म ईशापूर्व ५४३ मा हालको नेपालको कपिलवस्तु जिल्लामा सालको रुखहरू भएको बगैँचाको बीचमा भएको थियो ।

आज विश्व बुद्धको आदर्शलाई शिरोधार्य गरेर हिँडेको छ । शान्ति, सत्यता, अहिंसा अनि सरलताका लागि बुद्ध संसारका गुरु हुन् । २५०० वर्ष भन्दा अघिको उनको ज्ञानको अविरल कुञ्जले मानव समुदायलाई एउटा नयाँ शान्त आयाम दिएको छ । आउनुहोस्, आज बैशाख शुक्ल पूर्णिमाको दिन अर्थात् बुद्ध जयन्तीमा यिनै महापुरुष गौतम बुद्धको चर्चा गरौँ । गौतम बुद्धका जीवनमा यो बैशाख शुक्ल पूर्णिमाले ठूलो महत्व छ । उहाँको जन्म, ज्ञान प्राप्ति अनि समाधी यही बैशाख पूर्णिमाकै दिन भएको हो ।

शाक्यमुनीको जन्म विषयमा दुई तर्कहरू
शाक्यमुनिको जन्म विषयमा र मितिको हिसाबका लागि सिंहली र केन्टोनिज गरी दुई थरि मत छन् । एउटा मत लेखन अर्थात् साहित्यिक कृतमा आधारित छ भने दोश्रो मत चाहिँ शिलालेखमा आधारित छ । नेपालमा भने सिंहली मत अनुरूपको मिति चलेको छ, यो साहित्यिक श्रोतमा आधारित छ । सिंहलद्वीप श्रीलङ्कामा सिंहली मतको विकास भएको हो । नेपालमा थेरवादी बौद्ध धर्मको प्रचार–प्रसार श्रीलङ्काबाट भएको छ ।

त्यसकारण नेपालमा सिंहली मत अनुसारको भगवान् बुद्धको जन्म मिति प्रचलित छ । केन्टोनिज मतको विकास पूर्वी चीनको केन्टन शहरबाट भएको हो । भगवान् बुद्धले महापरिनिर्वाण प्राप्त गरेपछि प्रत्येक वर्ष केन्टनको एउटा ढुङ्गाको गुफाको पहरोमा एउटा थोप्लो अङ्कित गरेर बुद्धको महापरिनिर्वाण वर्षको अभिलेख राख्न थालियो । यसलाई डटेट रेकर्ड भनिन्छ । सन् ४८९ सम्म यस्तो थोप्लोको संख्या ९७५ पुगेको थियो ।

भगवान् शाक्यमुनि बुद्धको जन्म ई.पू .५६६ मा भएको मानिएको छ । यदि सिंहली मतलाई मान्ने हो भने भगवान् बुद्धको जन्म ई. पू. ५६६ भन्दा पहिले भएको देखिन आउँछ । भगवान् बुद्ध महावीर जैन भन्दाअघिको देखिन आउँछ । तर केन्टोनिज मतलाई मान्दा ई.पू. ५६६ मा बुद्धको जन्म भएको थिति–मिति मिल्न आउँछ ।

यिनै शाक्यमुनिको जन्म, समाधी अनि ज्ञान प्राप्तिको दिनका रूपमा आज विश्वको उत्तरीदेखि दक्षिणी ध्रुवसम्म, मृत सागरदेखि प्रशान्त महासागरको मारियानाज ट्रेन्चसम्म अनि बनारसदेखि बेइजिङसम्म आ–आफ्नै तरिकाले बुद्ध जयन्ती मनाइन्छ । आज हामी सबैका गौतम बुद्ध २५६५ वर्ष हुँदैछन् । भौतिक शरीर नाश भएपनि आफ्ना ज्ञान, वचन अनि अध्यात्मिक सीपमार्फत् बुद्ध हामी सबैको चित्तमा विराजमान नै छन् ।

बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो । उनी जन्मना साथ उत्तरतर्फ ७ कदम हिँडेर औलालाई हावातर्फ देखाएका भन्ने किंवदन्तीहरू सुनिन्छ । यसका अनुसार, उनी महाआत्मा रहेका र भगवानको धर्तीमा भएको अन्तिम अवतार रहेको जानकारी र जनाऊँ भएको मानिन्छ । जन्मना साथ पोखरीमा स्नान गराइएका यिनी सिद्धार्थ गौतमले नुहाएका यो पोखरीलाई सिद्धार्थ कुण्ड भनिन्छ । यसरी अलौकिक जन्म भएका राजकुमार सिद्धार्थ गौतम कि आमा मायादेवीको भने उनी जन्मेको ७ दिनमै दुःखद मृत्यु भएको थियो ।

यद्यपि अत्यन्त अनुशासित र मर्यादित राजकुमार सिद्धार्थ गौतमले १६ वर्षको उमेरमा यशोधरासँग विवाह गरेका थिए । सम्पूर्ण जीव–जगत र प्राणीलाई अगाध स्नेह जनाउने बानी भएका यिनी सिद्धार्थ गौतम २९ वर्षको उमेरमा सम्पूर्ण सुखसयल छाडेर ज्ञानको खोजीमा निस्केका हुन् । यी राजकुमारलाई मानव जीवनमा आईपर्ने पीडा र दुःख निवारण गर्ने ज्ञानको खोजी थियो । वर्षौपछिको यिनको तपस्याले निकालेको दर्शन र ज्ञान नै बुद्धत्व हो । ज्ञान प्राप्तिको पथमा बिरामी मानिसहरू, घाइतेहरू, लोभीका साथ–साथै आफ्ना सबैकुरा अरुलाई दान गरेर भिक्षु भएका मानिसको अवस्था पनि सिद्धार्थ गौतमले नियाले ।

त्यसपश्चात् आफू पनि भिक्षु हुने निर्णय गरेका सिद्धार्थ गौतम नै आज संसारका महान गौतम बुद्ध हुन् । यसरी सांसारिक दुःखको कारण खोज्दै उनी २९ वर्षको उमेरमा गृहत्याग गरी बोधगया भन्ने ठाउँमा एक वृक्ष मुनि अधिष्ठानपूर्वक तपश्यामा लिन भए । तपश्याका क्रममा बुद्धलाई सम्यक सम्वोधी अर्थात् महाज्ञान प्राप्त भयो । त्यसपछिका वर्षहरूमा उनले त्यही महाज्ञानलाई बाँडे । संसारभर भगवान् बुद्ध भनी कहलिए । बुद्ध धर्म एक अनिश्वरवादी धर्म मात्र नभइकन एउटा अहिंसा, अधर्म अनि असत्यबाट मानवलाई जोगाउने एउटा दर्शन् हो, सर्वव्यापी दर्शन ।

यो धर्म शाक्यमुनि गौतम बुद्ध र उनका अनुयायीहरूका शिक्षामा आधारित रहेर तयार भएको हो । गौतम बुद्धलाई वर्तमान कल्पको चौथौ सम्यक सम्बुद्ध मानिन्छ ।

विश्वमा ३५ करोड बढी मानिसले बुद्ध धर्म मान्छन् । यो विश्वको चौथौं ठूलो धर्म हो । बुद्ध धर्म र उपदेश मान्ने अनुयायीहरू नेपालसहित चीन, भारत, श्रीलंका, बर्मा, थाइल्याण्ड, लाओस, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मंगोलिया, कोरिया लगायतका देशमा फैलिएका छन् ।

संसारभरि फैलिएको बुद्ध दर्शनको उदगम् बिन्दू नेपालमा भएकाले नेपाललाई शान्तिको देश पनि भनिन्छ । तसर्थ, बुद्धको जन्मभूमिमा आजको दिनमा विभिन्न देशहरूले संसारभरिबाट अदभूत् मन्दिर गुम्बाहरू निर्माण गरेका छन् । बुद्धले ८० वर्षको उमेरमा निर्वाणा प्राप्त गरेका हुन् । उनले बोधगयामा कठोर तपस्या ध्यानपश्चात् महाज्ञान प्राप्त गरेका थिए । बुद्धका सबै शिक्षा र उपदेशहरूको संग्रहलाई त्रिपिटक भनिन्छ ।

त्रिपिटकमा बुद्धका ३२ भौतिक गुणहरूको स–विस्तार वर्णन गरिएको छ । त्यहाँ बुद्धका ८२ हजार र उनका प्रमुख शिष्यहरूका २ हजार गरी ८४ हजार ज्ञान–सूत्रहरू संग्रहित छ्न् । बुद्धको मुख्य दार्शनिक सिद्धान्त प्रतित्य–समुत्पाद हो । आधारभूत गुणहरू अनित्य, दुःख र अनात्मलाई बुद्धका आधारभूत सिद्धान्त मानिन्छ । गौतम बुद्धलाई हिन्दू धर्मावलम्बीहरूले भगवान विष्णुका दश अवतारहरूमध्ये एक अवतार मान्छन् ।

गौतम बुद्धलाई एसियाको तारा पनि भनिन्छ । बुद्ध नेपालभूमिमा जन्मिएको हुँदा बुद्ध जयन्तीका अवसरमा नेपाल सरकारले बर्षेनी सार्वजनिक विदा दिँदै आएको छ ।

बुद्ध भन्नाले बोधी प्राप्त वा अन्तिम सत्यको पहिचान गरेको महामानवलाई बुझिन्छ । उत्तर कोरियाले अशान्त भएर संसारतर्फ क्षेप्यास्त्र तेरस्याईरहँदा, रंग, सम्पत्ति, भाषा र भूगोलका आधारमा विभेद भइरहँदा बुद्धको दर्शनले शान्तिको शान्तपूर्ण वकालत गरिरहेको छ । बुद्धका ज्ञानलाई आत्मसात् गरेमात्र पनि पृथ्वी गज्जबको ग्रह हुनेछ । संसारलाई अर्को बुद्ध चाहिएको छ, फर्की आउ शाक्यमुनि, शान्तिको सन्देश लिएर आऊ है । बुद्ध जयन्तीको शुभकामना ।

उभौली पर्व

अनि यसपालाको उभौलीमा साकेला चण्डी नाच्न कतिको तैयार हुनुहुन्छ त ? तर, कोराना भाइरसका कारण चाहे जसरी रम्न सकिने स्थिति चाहिँ छैन । किरात समुदायमा अत्यन्त लोकप्रिय चण्डी नाच सबै जनाको सुस्वास्थ्य, दिर्घायू र समृद्धिको कामना गर्दै नाचिन्छ । आउनुहोस्, प्रकृतिका सन्तति, विश्व प्रसिद्ध किरात समुदायले मनाउने वसन्त क्रृतुको उभौली पर्वको कुरा गरौँ ।

प्रकृतिका पुजारी यस समुदायले बैशाख पूर्णिमाका दिन अन्न बाली सप्रियोस् । राम्रो बाली लागोस् । पृथ्वीमा कहीँ कतै खाद्यन्नको कमी नहोस् भन्दै यस उभौली पर्व मनाउँछन् । चण्डी नाच गरिने भएकाले आज चण्डी पूर्णिमा पनि भनिन्छ । चण्डी पूर्णिमा भन्नाले सुम्निमा अर्थात पार्वतीको सृष्टि भएको दिन हो । त्यही भएर उभौलीका अवसरमा सांस्कृतिक महोत्सवका रूपमा यो पर्व मनाउने गरिन्छ ।

कृषि उन्मुख यी दुई यस्ता पर्वहरू छन्, जसले सम्पूर्णतया कृषि र बालीको जनाऊ दिने गर्छन् । यी दुईवटा पर्वहरूमा किरात समुदायले मनाउने उभौली र उधौली पर्व हुन् । बैशाख पूर्णिमामा उभौली र मंसिर पूर्णिमामा उधौली मनाइन्छ । उभौलीलाई बालीनाली लगाउने र उधौलीलाई थन्क्याउने अवसरका रूपमा मनाइन्छ । उभौलीमा सुम्निमा र पारुहाङले सम्पूर्ण श्रृष्टि जगतको रक्षा गर्ने विश्वास गरिन्छ । बैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको यो पर्व लगातार एक महिनासम्म मनाइन्छ ।

बालीनालीका रक्षक तत्वहरू जस्तै कि प्रकृति, आवहवा, देवी–देवता र पृथ्वीको आज पूजा गरिन्छ । कोभिड संक्रमण नभएको भए, आज काठमाडौंको टुँडिखेलमा उभौलीको रौनक जम्ने थियो । कोभिड संक्रमण र निधेषाज्ञाका कारण पारम्परिक भेष–भूषामा सजिएका किराती समुदायको गोलबन्द हुँदै पुरुष–महिला सगैँ नाचेकोे अत्यन्त रसिक माहौल यसपालि कमै देख्न पाइनेछ ।

अनि पुरुषहरू लेकाली कोट, दौरा÷सुरूवाल लगाउने, बुकी–फूल सिउरिने र नेपाली टोपी लगाएर खुकुरी भिरेर नाच्छन् भने महिलाहरूले कम्मरमा पटुकी बाँधेर चौबन्दी चोली र छिटको फरिया लगाउने र पहेला गरगहनासहित सजिएर नाच्ने चलन छ । हातमा चौरीको पुच्छर, चम्मर, सिल्लिमो, पोमी र सिम्कौली सेउली हल्लाउँदै सोई ढोले सोई अर्को ढोले खोई भन्दै नाच्दा त माहौल नै अर्को हुन्छ ।

यसरी नाँच्दा स्याउला, ढोल, झ्याम्टा, बिनायो तथा हारी जस्ता बाजाहरू बजाउँदै अनि विभिन्न कृषि कार्य गरेझैँ जस्तै धान काटेको, दाहुनी गरेको जस्तो मुद्रामा नाचिन्छ । कोभिड कारणले सार्वजनिक ठाउँहरुमा यसपालि यस्ता दृश्य देख्न सकिने अवस्था छैन ।

संसारभरिका किरात समुदायलाई उभौली पर्वको शुभकामना ।

चण्डेश्वरी जात्रा र चण्डी पूर्णिमा व्रत

वैशाख शुक्ल पूर्णिमालाई चण्डी पूर्णिमा पनि भनिन्छ । वैशाख शुक्ल पूर्णिमाका दिन चण्डिका भगवती प्रकट भएर भगवतीले चण्डनाम दैत्यलाई बध गरेको कथन छ ।

यसैकारण उक्त भगवतीको नामाकरण नै चण्डी राखिएको हुनुपर्छ । अनि एवं रितले बैशाख शुक्ल पूर्णिमा चण्डी पूर्णिमाको नामबाट प्रसिद्ध भयो ।

चण्डेश्वरी पूर्णिमामा व्रत लिने चलन छ । यो पूर्णिमालाई पावन र अत्यन्त फलदायी तिथिका रूपमा लिइन्छ । देवी भगवतीको चण्डी स्वरूपको महिमालाई विशेष अर्चना गर्दै, शक्ति र समानताको अनुग्रहका साथ यस पूर्णिमाको व्रत लिइन्छ । उभौली पर्वमा आजका दिन यसै चण्डी स्परूपको देवीको अनुग्रहका लागि चण्डी नाच नाच्ने चलन छ । परम्परागत नेपाली संस्कृति तन्त्रमय छ ।

यसैकारण पनि यो दिन क्षेत्री समुदायका धेरै थरहरूको कुल–देवता पूजा र देवाली पनि पर्छ ।

यस दिन चण्डी पूर्णिमाको व्रत लिने चलन छ । यसरी चोखो भएर व्रत लिने र भगवान विष्णुको आराधना गर्नाले अनि चण्डी भगवतीको स्मरण गर्नाले वर्षभरि सामथ्र्य र शक्तिको सञ्चार हुने विश्वास छ । बैशाख शुक्ल पूर्णिमाको दुई दिनदेखि भव्य रूपमा चण्डेश्वरी जात्रा मनाइने गरिन्छ । आजबाट चण्डेश्वरी जात्राको औपचारिक शुरुवात भएको छ ।

विशेषतः काठमाडौं नजिकैको बनेपा शहर, पलाञ्चोक भगवती, आसपासका क्षेत्रमा जात्राको रौनक रहने गर्छ । तर कोभिड संक्रमण र निषेधाज्ञाका कारण यो वर्ष यस्ता जात्रा देख्न पाइने छैन । बनेपामा बाजागाजासहित रथलाई चण्डेश्वरीसम्म लगेर भोलिपल्ट देवीको मूर्तिलाई रथमा राखेर लिएर फर्कने चलन छ ।

यो जात्राको अर्को रौनक भनेको कलनदान हो । जात्रामा भक्तजनको भीडमा प्रसादका रूपमा मासु फाल्ने चलन छ । यसरी मासुरूपी प्रसाद फलिनुलाई नै कलनदान मानिन्छ । भीडमा फालिएको मासुका टुक्रा पाउनेलाई भाग्यमानी मानिन्छ । यो जात्रा प्राचीनकालदेखि चल्दै आएको छ । जसमा भाग लिन दोलखा, ललितपुर, भक्तपुर, काठमाडौं, रामेछाप लगायतका ठाउँबाट समेत मानिसहरू आउने चलन छ । चण्डेश्वरी देवीको उत्पत्तिको विषय चण्डासुर नामक राक्षससँग जोडिन्छ ।

चण्डासुरले महादेवको वरदान पाए । बरदानबाट शक्तिशाली भएसँगै उत्पात् मच्चाउन थाले । त्यसपछि देवी स्वरूपमा चण्डेश्वरीले चण्डासुरको बध गरेको कथन छ । चण्डासुरको मृत्युको खुशीयाली यो जात्रा मनाइँदै आएको विश्वास गरिन्छ । बनेपा लगयातका आसपासका नेवा समुदायले आराध्यदेवकै रूपमा चण्डेश्वरीलाई लिन्छन् । चण्डासुरको बधपछि चण्डेश्वरीलाई देवलोकमा बाजागाजासहितले स्वागत गरिएको र यसै खुशीयालीमा सत्ययुगबाटै जात्रा गरिआएको मान्यता छ ।

जात्राको पहिलो दिन बनेपाको तीन धारामा रथको निर्माण गरिन्छ । अनि रातिमा देवी चण्डेश्वरीको मूर्ति प्रतिस्थापित गरेर दोस्रो दिन बनेपा बजार घुमाएर चण्डेश्वरीको स्वागत गरिन्छ ।

जात्रामा कङ्पुग बाजा, शाही बाजा विधि बाजाका रूपमा र सनही बाजा र धिमे बाजासमेत बजाइन्छ । यो जात्रा सनातन संस्कार अनि प्राचीनतम सभ्यताको एउटा अलौकिक उदाहरण हो ।

जात्रामा कम्तीमा १४ वटा बली पूजासमेत गरिन्छ । नेवारी समुदायले जात्रा सम्पन्न गरेपछि आफन्तजनलाई आमन्त्रण गरेर भोज खुवाउने चलन रहेको छ ।

वैशाख शुक्लपूर्णिमा र भोलिपल्ट दुई दिनसम्म मनाइने जात्राको अघिल्लो दिन उहिलेका राजा महाराजले प्रयोगमा ल्याएका गरगहना र सिक्काको पूजा–आजा समेत गर्ने प्रचलन छ ।

चण्डेश्वरी जात्राका अतिरिक्त काभ्रे जिल्लामा उग्रचण्डी नालामा भगवती महालक्ष्मीको, साँगामा नासिका भगवतीको, चौकोटमा श्वेतगणेशको, पलाञ्चोक भगवती, श्रीखण्डपुरमा श्वेत भैरबको र पनौतीमा इन्द्रेश्वरको जात्रा बर्सेनि हुने गरेको छ ।

चण्डेश्वरी जात्रालाई अन्य जात्राहरू झैँ यस वर्ष पनि कोरोना संक्रमण जोखिमका कारणले सीमित र न्यून मानवीय चहल–पहलका बीचमा आयोजना हुँदैछ ।

कोभिड महामारी छ, जात्राको भीडभाड गर्नु संक्रमित हुन सक्ने हुँदा जोगिनुपर्नेछ ।

चण्डासुरहरूको बध गर्न हरेक युगमा चण्डेश्वरीको आगमन होस् । धर्मको जय होस्, अधर्मको नाश होस् ।

कुर्म जयन्ती

विष्णुको कछुवा स्वरूपलाई कुर्म भनिन्छ । कुर्म जयन्ती बैशाख शुक्ल पूर्णिमामा पर्छ । क्षीर सागर मन्थनका दौरान यसै कुर्म अवतारले मद्राञ्चल पर्वतलाई आफ्नो ढाडमा उठाएर हिँडेको कथन छ । विष्णुको प्रथम अवतार मत्स्य हो भने दोश्रो चाहिँ कुर्म अवतार हो । माछाबाट क्रमशः जल अनि थल दुवैमा यथोचित रहन सक्ने कुर्म अवतारमा विष्णु भगवान पर्दापण भएको मानिन्छ ।

यो दिन व्रत बस्ने चलन छ । एक दिन अगावै जाग्राम बस्ने, विष्णु सहस्त्रानाम पढ्ने र अन्य वैदिक मन्त्रहरू पढ्ने चलन रहन्छ । यस दिन दानपुण्य गर्नाले धेरै फाइदा हुने विश्वास पनि गरिन्छ ।

कुर्म अवतारमा योगमायाको उपस्थिति रहने विश्वासका कारण आजको दिन निर्माणका कार्यहरू । कला अनि शिल्पका कार्यहरूको थालनी गरिनु बिशेष फलदायी मानिन्छ । यस जयन्तीको सबैमा शुभकामना ।

गोरखनाथ जयन्ती


बैशाख शुक्ल पूर्णिमाको दिन धेरै महापुरुषहरूको यस धर्तीमा पर्दापण भएको छ । यिनै महान पुरुष र सिद्धयोगीहरूमा गुरु गोरखनाथको पनि नाम आउँछ ।

नाथ सम्प्रदायका शुरुवात गर्ने यी महान् सिद्धयोगीको जन्म भएको यस पावन दिनका धेरै महत्वपूर्ण आयामहरू छन् । गुरु मत्स्येन्द्रनाथ नेपालको बुङमतीमा जन्म भएका काठमाण्डौबासीका इष्ट गुरु, सहकालका देवता अनि सिद्ध गुरु हुन् । यिनै सिद्ध गुरुका पुत्र अनि शिष्यका रूपमा गुरु गोरखनाथको धर्तीमा आगमन भएको हो ।

गोरखनाथ मठका अनुयायीहरूले गुरु गोरखनाथ जयन्ती या गुरु गोरखनाथको जन्म अनि मृत्युमा विश्वास गर्दैनन् । उनीहरूका अनुसार, गोरखनाथ गुरु अनन्तकालदेखि विद्यमान सिद्ध गुरु जो जीवन मृत्युको चक्रबाट बिल्कुलै अलग हुनुहुन्छ । नेपालको राजपरिवार पनि गुरु गोरखनाथको कृपाले पुलकित भएक कथनहरू छन् । गोरखा राज्यको नाम पनि गोरखनाथसँग मेल खान्छ । यद्यपि गोरखाको नाम र गोरखनाथबीचको आधिकारिक सम्बन्ध भने पाइएको छैन ।

पृथ्वीनारायण शाहलाई पनि गुरु गोरखनाथले एकीकरणपूर्व दर्शन दिएका कथनहरू आजसम्म पनि दुरुस्तै सुनिन्छ । नाथ सम्प्रदायका अनुसार विष्णुले आफू कमलको फूलमा बिराजमान हुँदा श्रृष्टि गर्ने इच्छा राखे । तर आफू वरिपरि पानी मात्रै पाए । अनि पातालमा गुरु गोरखनाथलाई भेट गरेर गोरखनाथले दिएका खरानी पानीमा छरेपछि त्यस खरानीको प्रतापले भुँई बनेकोे कथन छ । हुन पनि हो, गोरखबाटै धर्तीको रक्षा भन्ने बुझिन्छ ।

आदिनाथ महादेवका शिक्षाहरूलाई सरलीकृत गर्दै सनातन संंस्कारको रक्षा अनि जागरणलाई अघि बढाउन गुरु गोरखनाथको उल्लेखनीय योगदान छ ।

गर्गसहिंताको अनुसार महादेवले स्वयम् नै यसो भन्नुभएको थियो

अहमेवास्मि गोरक्षो मद्रूपं तन्निबोधत।
योग मार्ग प्रचाराय मयारूपमिदं धृतम्

अर्थात् म नै गोरक्ष हुँ, गोरक्षलाई मेरो नै रूप जान्नु, योग मार्गको प्रचारका लागि मैले यो रूप धारण गरेको हुँ ।

शिवका सच्चा स्वरूप अनि प्रकृतिको उपर पूर्ण स्वामित्व र सिद्ध प्राप्त गर्नुभएका महान गुरु गोरखनाथको जयन्तीको अवसरमा सबैलाई अनेक शुभकामना ।

बैशाख स्नान समाप्ति

न माधवसमो मासों न कृतेन युगं समम्।
न च वेदसमं शास्त्रं न तीर्थं गंगया समम्।।

स्कंदपुराण, वै वै मा. द्द–ज्ञ

अर्थात् बैशाख समान कुनै महिना छैन । सत्ययुग समान कुनै युग छैन । वेद समान कुनै शास्त्र छैन । र, गंगाजी समान कुनै तीर्थ छैन । चैत्र पूर्णिमाबाट बैशाखे स्नान शुरुवात भएको छ । तीर्थमा जाने, जलकुण्डमा जाने, पवित्र स्नान गर्ने र भगवानको स्मृति गर्ने यस स्नानको आजबाट औपचारिक समापन गरिँदैछ ।

यस वर्षमा कोरोना त्रासका कारणले तातलैया र नदीनालाहरूमा भक्तजनहरूको लस्कर देख्न पाइएन । आशा छ आउँदा वर्षहरूमा भाइरस सामान्य भएर जानेछन् ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.