चैते दशैं | भौमाष्टमी व्रत | श्वेत मत्स्येन्द्रनाथ रथ यात्रा | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरु

चैते दशैं | भौमाष्टमी व्रत | श्वेत मत्स्येन्द्रनाथ रथ यात्रा





यस वर्षको चैते दसैँमा तपाईँहरुलाई स्वागत छ । भन्नलाई चैते भनिन्छ । तर यस वर्ष चाहिँ चैते दसैँ बैशाखमा परेको छ । वि.सं. २०७७ सालको चैते दसैँ गएर २०७८ मा खप्टिएको हो । २०७७ सालमा मलमास परेका कारणले हरेक चाडपर्व एक महिना अघि पछि परेका हुन् ।

दसैँ अर्थात् नेपालीहरुको महान चाड अनि नवरात्रिका रुपमा प्रसिद्ध सांस्कृतिक महत्व बोकेको पर्व । यो चैते दसैँ पनि असोज–कार्तिकमा आउने मुख्य दसैँको एउटा प्रतिबिम्ब चाड हो । पुराना कथनहरुका अनुसार, पहिले–पहिले मुख्य दसैँ चैतमा पर्ने गर्दथ्यो । तर उक्त समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली साथै दसैँको गरिष्ठ भोजन अनि हिँडडुलले धेरैजना बिरामी परेपछि दसैँलाई वर्षको मध्यमा सारिएको मान्यता छ । जे होस् जसो होस्, चैते दसैँको रौनक पनि कम छैन् । चैते दसैँलाई कतिपय ठाउँमा सानो दसैँ भन्ने चलन पनि छ । भारत, बंगलादेश अनि म्यानमारमा चैते नवरात्रि भन्ने चलन पनि छ ।

वास्तवमा दसैँ भन्ने बित्तिकै दशमी भन्ने बुझिन्छ । तर फेरि नेपालमा दसैँको रौनक भने अष्टमीको दिन बली दिनेमा केन्द्रित रहन्छ । आजको दिन पनि तिथिका हिसाबले अष्टमी हो । दानवीय शक्तिमाथि दैवी शक्तिको विजय उत्सवका रुपमा मनाइने चैते दसैँमा पनि मुख्य दसैँमा झैँ विभिन्न शक्तिपीठहरुमा पशुबलि भोग दिने गरिन्छ ।

चैत शुक्ल अष्टमीका दिन उपत्यकाभित्र गुह्येश्वरी, दक्षिणकाली, शोभाभगवती, रक्तकाली, नक्साल भगवती, मैतीदेवी र संकटामा बिहानैदेखि दर्शनार्थीको घुँइचो लाग्ने गर्छ । तलेजु भवानी, हनुमान ढोका दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर लगायतका उपत्यकाका मन्दिरहरुमा आज बलि दिइन्छ र यस्ता बलि दिने कार्यक्रममा नेपाली सेनाको समेत सहभागिता रहन्छ । बलिका क्रियाकलापहरु पर्यटकहरुले सार्वनजिक रुपमा हेर्न पाउँछन् । पर्यटकीय रुपमा पनि आजको चाड उत्तिकै महत्पूर्ण छ । अर्कोतर्फ प्राचीन समयदेखि नै काठमाडौं उपत्यकाका यी देवालयहरुमा बलि चढाउने क्रम निरन्तर चलिरहेको छ । उपत्यका बाहिर पनि भगवती मन्दिरहरु अनि शक्तिपीठहरुमा समेत दर्शनार्थीको घुँइचो हुने गर्छ । कतिपय भगवती मन्दिर क्षेत्रमा भने भव्य मेला लाग्ने गर्छ ।

आजकै दिन मर्यादा पुरूषोत्तम प्रभु श्री रामचन्द्र आफ्नो १४ वर्षे बनबास सकाएर अयोध्या फिर्नुुभएको मानिन्छ । आफ्नी श्रीमती सीताको अस्मिता रक्षार्थ अनि पापी रावणको दुस्साहस र असुरमुखी व्यवहारबाट संसारलाई जोगाउन भगवान श्री रामले रावणको बध गर्नुभएको थियो । यसरी रावणको बध गर्न देवी दुर्गाले रामलाई मद्दत गर्नुभएको थियो । आज राम अनि दुर्गा लगायत अन्य धेरै देवी–देवताको पूजा गरिन्छ । यी सम्पूर्ण कुराहरु उहाँको १४ वर्षे बनबासभित्रै भएको थियो । आज अर्थात् चैते दसैँका दिन उहाँको सकुशल आगमन भएकोमा अयोध्याबासी लगायत सबैले असत्यमाथि सत्यको जितको रुपमा चैते दशैं मनाएका हुन् भन्ने सामाजिक मान्यता छ ।

मुख्य दसैँमा झैँ चैते दसैँमा पनि दुर्गा पूजा गरी मिष्ठान्न भोजन चढाइन्छ । देवी मन्दिरहरुमा देवी भागवत पाठ पारायण तथा कालिका पुराणका देविस्त्रोतहरु पाठ गरिन्छ । घरमा उपलब्ध खाद्यान्न परिकारहरुलाई बनाई तुल्याई खाई रमाइलो गरी चैते दसँै मनाइन्छ । आज अशोकको फूल खाने गरिन्छ । फुल खाँदा रोगब्याधी नष्ट हुने आम विश्वास छ ।

छोरी चेली लगायत दिदी–बहिनी अनि कर कुटुम्भहरुलाई बोलाएर खुवाउने चलन छ । माशांहारीरुले माछा–मासु खाने चलन छ । यसका लागि बलि दिइन्छ भने शाहाकारीहरुले भने घिरौला, भाण्टा, कुभिन्डो या अन्य फलफूललाई खुट्टाको टेको लगाएर बलि दिने चलन छ ।

असत्य अनि असमानता घटदै जाओस्, सत्य अनि सत्यवक्ताको सधैँ जित होस् । असत्य भन्दा सत्यको महत्व जिवन्त हुन्छ र भइरहोस् । जय होस्

भौमाष्टमी व्रत

चैते दसँै अर्थात् चैतमा पर्ने दशैं । साबिकको दसँँैको झैँ यस दसँैमा पनि नवरात्रि पूजन गरिन्छ । भन्नलाई चैते दसैँ भनिएपनि खासमा आजको तिथि चाहिँ अष्टमी हो । अष्टमी तिथिमा बलि दिने, खानपान गरिने र भोज हुने भएकाले हुन सक्छ चैते दसँैको दिन भनेर अष्टमी तिथिलाई चलनचल्तीमा ल्याइयो । यो ब्यवहारिक पनि छ किनभने निधारमा टिका लगाउने चलनलाई चैते दसँैमा खासै महत्व दिइँदैन । यसो भएपछि दसँैका रुपमा अष्टमीलाई नै मान्दा घरपरिवार र इष्टमित्र सबैको रमाइलो माहौल बन्न सहज हुन्छ ।

यसरी अष्टमी तिथि दशैंको एउटा रौनक हुन्छ भने आजका दिनमा नै भौमाष्टमी व्रत लिने चलन पनि रहन्छ । सनातन धर्मका अनुयायीहरुले हरेक चाडलाई आ–आफ्नो तवरले मनाउन र सम्झना गर्न सक्छन् । यस दिनको भोजभत्तेर भन्दा पर बसेर अध्यात्मिक फलका लागि व्रत लिने चलन पनि आफैँमा अनुपम छ । भौमाष्टमी व्रतमा विशेषगरी मंगल ग्रहको पूजा तथा ग्रहशान्ति समेत गर्ने गरिन्छ । अष्टमी तिथिमा शक्तिको उपासना गर्नुको फल धेरै हुन्छ । भौमाष्टमीमा विशेषगरी गोरखकाली भगवतीको पूजा तथा उपासना गर्ने प्रचलन छ । गोरखास्थित भगवती गोरखकालीको मन्दिरमा आज दर्शनार्थीहरुको विशेष पूजाका उपस्थिति रहने गर्दछ ।

अन्य व्रतहरुमा झैँ बिहानै उठेर स्नान गर्ने, भजन कीर्तन गर्ने, अर्चना गर्ने र पवित्र पुस्तकहरुको अध्ययन गर्ने अनि आत्मसात् गर्ने चलन छ । यस वर्षको भौमष्टमीको सबैलाई शुभकामना छ ।

श्वेत मत्स्येन्द्रनाथ रथ यात्रा
जनबहा द्यः जात्रा
सेतो मच्छिन्द्रनाथ रथयात्रा : एउटा प्राचीन संस्कृति

काठमाडौंको असन र इन्द्रचोकबीचमा जनबहा द्यः को मन्दिर छ । जुन मन्दिर १० सौँ शताब्दीमा स्थापना भएको ऐतिहासिक मन्दिरका रुपमा लिइन्छ । काठमाडौं एउटा शहर मात्र होइन सभ्यता नै हो भने मच्छिन्द्रनाथ देवता मात्र नभएर काठमाडौंका एउटा संस्कारको केन्द्रबिन्दू हुन् । यिनै करुणामयी मच्छिन्द्रनाथलाई अवलोकितेश्वर पनि भनिन्छ । अवलोकितेश्वर अर्थात् समग्रताका देवता ।

अर्कोतर्फ अवलोकितेश्वर भन्नाले संस्कृतमा कमल बोकेका देवता भनेर पनि बुझिन्छ । पानीका यी देवता अनि पानीमै फूल्ने कमलको फूलको यो सम्बन्धलाई पनि यस जात्राले आत्मसात् गरेकै छ । बोधीसत्वका हरेक आयामहरु अवलोकितेश्वरसँग मिल्न आउँछन् । सेतो मच्छिन्द्रनाथ अर्थात अवलोकितेश्वर, ती भगवान जसले आफ्ना भक्तहरुलाई पृथ्वीलोकमा फर्केर हेर्दछन् । माया गर्छन् अनि माया बाँड्छन् । छैठौँ शताब्दीबाट शुरु भएको मानिएको यस जात्रालाई पछि आएर १७आँै शताब्दीपछी ब्यापक रुपमा प्रचलनमा ल्याइएको भएतापनि यसका यथेष्ट प्रमाणहरु पाइन्न । तथापि प्राचीनकालदेखि नै काठमाडौँ सभ्यता अर्थात् बागमती सभ्यताको मुटुका रुपमा सेतो मच्छिन्द्रनाथ रहिआएको कुरा इतिहास साक्षी छ ।

यस जात्रा नेपाल सम्वतको छैठौं महिना चौलाको ८ औं दिन शुरु भएर १०औँ दिनमा समापन हुन्छ ।

जनबहा द्यः जात्राका रुपमा सेतो मच्छिन्द्रनाथको जात्रा हरेक वर्ष मच्छिन्द्रनाथको प्रतिमालाई रथमा राखेर घुमाउने चलन छ । आउनुहोस् सबैभन्दा पहिले हामी कुरा गराँै यस जात्राको मनाउनु पछाडिका ऐतिहासिक मान्यताकाबारेमा

किन मनाइन्छ त सेतो मच्छिन्द्रनाथको जात्रा ?
यक्ष मल्लको शासनकालमा कान्तिपुरी नगरीमा खोलामा स्नान गरेर पवित्र भएर स्वयम्भूनाथको दर्शन गर्ने र यसो गर्दा मृत्युपर्यन्त स्वर्ग जाने विश्वास थियो । एक दिन मृत्युका देवता यमराजले स्वयम्भूनाथको यो शक्तिबारे जानकारी पाएर आफू स्वयं स्वयम्भूनाथमा दर्शन ण्गर्न आउँछन् । यमराज यसरी स्वयम्भूनाथमा दर्शन गर्न आउँदा राजा यक्ष मल्लले यमराजलाई बन्दी बनाएर राख्छन् ।

यसरी बन्दी भएपश्चात् यमराजले आफ्नो मुक्तिका लागि आर्य अवलोकितेश्वरको प्रार्थना गर्छन् । यमराजको प्रार्थना सुनेपछि अवलोकितेश्वर स्वयं पानीबाट प्रकट भएर दर्शन दिन आउनुहुन्छ । सेतो रगंका अनि आँखा आँधी बन्द भएका यी भगवानले कालिमाटी र बागमतीमाका उनलाई भेटन राजा यक्ष मल्ललाई मन्दिर बनाउन आज्ञा दिन्छन् । अनि वर्षेनी यिनै अवलोकितेश्वर भगवानको महिमाका लागी रथ यात्रा र प्रार्थना गर्ने चलन स्वरुप प्राचिनकालदेखि नै सेतो मच्छिन्द्रनाथको जात्रा गर्ने चलन काठमाडौंमा शुरु भएको मानिन्छ ।

यसो गर्नाले खुशी अनि लामो जीवनको वरदान पाइने विश्वास छ । चैत्र महिनाको शुक्ल पक्ष अष्टमीमा शुरु हुने यस रथयात्रा ३ दिनको पर्व स्वरुप हुने गर्दछ । सेतो मच्छिन्द्रनाथको प्रतिमालाई रथमा राखेर एक ठाउँबाट अर्को ठाउँसम्म लगिन्छ । हरेक दिन मच्छिन्द्रनाथको रथ आफ्नो गन्तव्यमा पुगेपछि सिपाहीहरुले तोप पड्काएर जनाऊ दिने चलन छ ।

काठमाडौंको जमलमा पहिलो दिन रथलाई विश्राम गराइन्छ । अनि रत्नपार्क हुँदै भोटाहिटी र असन दोश्रो दिन पु¥याइन्छ । यसैगरी अर्को दिन अर्थात् तेश्रो दिन मरुहिटी र जैसीदेवल हुँदै लगनटोल पु¥याइन्छ । यी तीनै दिन भक्तालुहरुले सेतो मच्छिन्द्रनाथप्रतिको आफ्नो अगाध स्नेह र आस्था अभिव्यक्त गर्छन् । यसरी भक्तजनहरुले तानेका रथ अनि कंसकार समुदायका भक्तजनहरुले बाजा बजाउँदै अनि स्थानीय झाँकी र कलात्मक अभिव्यक्तिका साथै विभिन्न देवदेवीको मुखुण्डो लगाएर नाचगान गर्दै एक ठाउँबाट अर्को ठाउँ लगिन्छ । यस्तै जात्रा ललितपुर र दोलखामा पनि बुगां ध्य जात्राका रुपमा गरिन्छ ।

यस जात्राको शुरुवात त पहेला अर्थात् पौष महिनामै भइसक्छ भन्दा तपाईलाई अचम्म लाग्न सक्छ, तर सत्य यही हो । हरेक वर्ष पौष महिनामा शुक्ल पक्षको अष्टमीका दिन मच्छिन्द्रनाथको रथलाई मच्छिन्द्रनाथ मन्दिरमा लगेर दूध, घिऊ आदि कुराहरुले सफाई गरिन्छ । यस कार्यक्रममा जिवित देवी कुमारीको पनि सहभागिता रहन्छ । यसरी पौष महिनामै सरसफाई गरी तैयार गरिएको रथ या भनौँ खटलाई चैत्रको यस जात्रामा प्रयोग गरिन्छ ।

यस वर्ष वि.सं. २०७८ सालको सेतो मछिन्द्रनाथको जात्राको सबैलाई शुभकामना । शहरबासी अनि देशबासीहरुमा उहाँको कृपाले शान्तिको प्रतीक कमलको फूल फुलिरहोस् ।

सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.