दर खाने दिन | अन्तर्राष्ट्रिय साक्षरता दिवस | विश्व फिजियोथेरापी दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

दर खाने दिन | अन्तर्राष्ट्रिय साक्षरता दिवस | विश्व फिजियोथेरापी दिवस




दर खाने दिन विशेष अडियो सामग्री

नेपाल यतिखेर तीजमय छ । विश्वभर नेपाली जहाँ जहाँ छन् तीजमय माहौल बनाएर बसेका छन् कि कसो दिदी बहिनीहरू ? टिभी रेडियोमा आएका तीजाम्य गीत, पत्रपत्रिकाका तीजाम्य शुभकामना, सामाजिक सञ्जालका तीजाम्य अनुभूतिका संगालो अनि बाटा–घाटामा राताम्य तीजाम्य सजावट अनि सौन्दर्य, तीजले नछोएको कहाँ छ र ?

तीजलाई कठोर व्रत भन्दा पनि समर्पणका रूपमा हेर्ने गरिन्छ । आउनुहोस् आज बात मारौँ, दर खाने दिनबारे । हुन त, आजभोलि तीजको दर तीजभन्दा महिनौँ अघिबाटै शुरु भइसकेको हुन्छ, दर । तथापि परम्परागत रूपमा तीजको एकदिन अगाडि वास्तविक दर खाने चलन छ ।

शताब्दीऔँदेखि महिलाहरूको शौभाग्यका लागि बसिने यो तीजका आयाम आजभोलि समयसँगै आधुनिक हुँदै गएको छ । महिनौ अगाडिदेखि दरखाने चलन, तडक–भडक र सामाजिकीकरणको नाममा अतिरञ्जित गर्दै भड्किलो संस्कार र चलनहरू हामीले देख्दै आएका छौँ । तीजलाई विशुद्ध सरल अनि महत्वपूर्ण चाडका रूपमा मात्र लिइनु जरुरी छ । यो चाडलाई गरिब–धनी सबैको पहुँचमा हुने गरी मनाइनु जरुरी छ । अर्कोतर्फ गर्मीको मौसम छ । स्वास्थ्यको पनि विशेष ख्याल गर्नु नै छ । धेरै चिल्लो–पिरो खानेकुरा, गरिष्ट र तामसी भोजनका अधिकतम सेवनले थप बिरामी गराउन सक्छ । तसर्थ, दर खाने क्रममा यसमा धेरै ख्याल गर्न जरुरी हुन्छ ।

निराहार तथा निर्जला रही तीज मनाउँदा फल प्राप्त गरिन्छ । अविवाहिताका लागि असल पति र विवाहिताका पति अनि परिवारको स्वास्थ्य एक दिनको तीजले मात्र नभई वर्षभरिको समन्वय, समझदारी र सहकार्यले, एक–अर्काप्रतिको समर्पण, सम्मानले मात्र निर्धारण गर्नसक्छ । यस दिन पुरुषहरूको पनि उत्तिकै दायित्व हुन्छ, आमा, दिदी–बहिनी अनि पत्नीको यो सहृदयताका लागि । पुरुषले पनि जिम्मेवारी उठाउन जरुरी छ । आजका दिन उहाँहरूलाई सम्मान गर्दै अनि ख्याल गरेर असल सहयात्रीको भूमिका निभाउन जरुरी छ । तपाईं अविवाहित पुरुष हुनुहुन्छ भने के थाहा तपाईंका लागि पनि कोही कतै भोलि व्रत बस्नेवाला हुनुहुन्छ कि ?

भोलिको कठिन तीजको व्रतलाई आजको दरले भ्याउनुपर्ने हुन्छ । किनभने भोलिको व्रत केवल व्रतमात्र नभई दिनभरिको नाचगान, कुराकानी, पूजापाठ अनि रमाइलो पनि हो । यसरी नारीहरू एकै ठाउँमा भेला भएर रमाइलो गर्दै मध्यरातमा बसेर मीठा–मीठा परिकारहरू खाने चलन नै दर हो ।

दरको कुरा गर्दा सामान्यतया पकवानहरूमा ढकने, आलुदम, आलु–कवाफ, दूध, कुरौनी, फलफूल, मिठाई लगायतका अडिला कुराहरू सेवन गर्ने चलन छ । अझ विवाहित चेलीका लागि त दरको महत्व वास्तवमै अगाढ स्नेहमयी हुन्छ । माइतीको निम्तोमा दर खान पुगेका चेलीहरू आजको दिन आमा, हजुर या भाउजुहरूको स्नेहमा लुटपुटिँदै उपरखुट्टी लगाएर घरको कुनै सुर्ता नराखी खाने, रमाउने चलन छ ।

तीजमा माइत जाने लालसा, नयाँ सारी लाउने चाहना, गाउने गीतका भाका अनि अविवाहित महिलाहरूका लागि भनेजस्तो राम्रो जीवन साथी पाउँ भन्ने अघोषित वरदानहरू तीजका सर्वमान्य तथ्यहरू हुन् । दर खाने दिनका याद गर्दै माइत जान नपाएका चेलीहरूको वेदना पनि गहभरि आँशुसँगै पोखिन्छ छताछुल्ल, कहिले गीतमा त कहिले प्रीतमा ।

यसपाला तीजमा यस्तै भयो आमा
अर्कोपाला तीजमा खोलाले नछेके

यस्ता कैयन भाकाहरू छन्, जसलाई लैबरीको भाकामा तिजाम्य वेदना पोख्न प्रयोग गरिन्छ–शदियौँदेखि नेपाली समाजमा ।

यसपाला बाढी–पहिरोले कतिपय चेलीका घरहरू अनि धेरैका माइतहरू बगाएको छ, अनि सँगसँगै तिनीहरूको सपना र आकांक्षाहरू पनि । बग्दै गरेका दराजका पल्ला अनि ट्याङ्कीभित्र बगेका राता सारी अनि गहनाहरू पानीको भेलले कता पुर्याए कता ? तीजको यो लहर यो वर्ष सबैतिर समान छैन । यता नाचगान हुँदै गर्दा उता रुवावासी हुँदैछन् । यता सारीको सप्कोले नाचेर फर्किएपछिको पसिना पुछ्दै गर्दा उता सारीका सप्कोले आँशु पुछिरहिनेछ । मीठा पकवानमा र सङ्गीतमा झुमेका यताका दरहरू उता चुर्लुम्म डुबेको दैनिकिमा चिउरा दालमोठसँग मेल नखान सक्छन् । यसपालिको तीजमा एक अर्काको दुःख बाँड्ने र सुख साँट्ने साझा थलोको निर्माण गरौँ ।

तीज एउटा संस्कारमात्र नभई सभ्यता हो । हेर्नेले यसलाई नारीवादी चाडका रूपमा हेर्ने गर्छन् । तर आँखाका डिल अनि मनका भित्ता खोलेर हेर्ने हो भने तीज नारी र पुरुषको समानता अनि लैगिंक समानताको उत्साह पनि हो । आमा, छोरी, बुहारी, सासु, आमाजु, दिदी, बहिनी लगायत सम्पूर्ण महिला नातागोताहरूको साझा चौतारीका रूपमा तीजलाई लिन सकिन्छ ।

वैदिक हिन्दू सनातन परम्परा, संस्कार तथा महिला सौभाग्यको प्रतिक स्वरूप रातो सारी, छड्के तिलहरी, लगनको पोते लगायतका गरगहना र वस्त्रादी पहिरिएर तीजको दिनमा निराहार व्रत लिएर मठ मन्दिर, टोल छिमेकमा भेला भई नाचगान गर्दै रमाइलो गर्ने चलन रहिआएको छ ।

जे होस् आज दर खाने दिनको हामी सबैलाई मुरी–मुरी शुभकामना । हामी सबै जनाको परिवारको सु–स्वास्थ्य र दीर्घायू कायम होस् । अनि भनेजस्तो जीवन–साथी पाइयोस् अनि सम्पूर्ण दिदी–बहिनीहरूको शौभाग्य अटल रहोस् ।

अन्तर्राष्ट्रिय साक्षरता दिवस

एकफेर यसो परिकल्पना गरौं । यदि हामीले अक्षर कोर्न नजान्ने भएको भए, संसार कति अफ्ठेरो हुन्थ्यो होला । यी अक्षर, कथा, कविता, पैसा, सूचना लगायत केही पनि बुझ्न सकिने थिएन । आधुनिक विश्वमा शिक्षा अनि साक्षरतालाई आधारभूत मानव अधिकारसँग जोडेर हेर्ने गरिए तापनि विश्वभरि लगभग ७७ करोडभन्दा बढी मानिस सामान्य लेखपढ गर्ने सीप नभएका भन्ने स्पष्ट तथ्य अध्ययनहरूले देखाउँछ । हाम्रा छेउछाउमा बसोबास गरिरहेका हरेक उमेर समूहका कोही न कोही असाक्षर सजिलै भेटिन्छन् ।

सामान्य अक्षर चिनेर लेखपढ गर्न र अङ्कहरू अनि सामान्य हिसाब बुझ्न पाउनु सबैको मौलिक अधिकार हो । तथापि यी कुराहरू कागजका पानाहरूबाट बाहिर आएर वास्तविक जीवनशैलीमा साकार भएर आउन जरुरी छ ।

साक्षरतासम्बन्धी ग्लोवल मनिटरिङ््ग रिपोर्टका अनुसार, संसारका प्रत्येक ५ मध्ये एक जना पुरुष र दुई तिहाई महिलाहरू अझै पनि असाक्षर छन । अझ धेरैको अत्यन्त न्यूनस्तरको साक्षरता सीपहरू छन् । धेरै जना बालबालिकाहरू अझै पनि विद्यालय जान पाउँदैनन् । अनि पाउनेहरू पनि दैनिक विद्यालय जान सक्दैनन् । पश्चिमी र दक्षिणी एसिया लगायतका देशहरू साक्षरता दरमा अझै कमजोर देखिन्छन् ।

कोरोना भाइरसका कारण यो वर्ष नेपाल समेत विश्वका धेरै राष्ट्रहरूमा विद्यालय खुल्न सकेका छैनन् । केही विद्यालयले अनलाइन कक्षामार्फत विद्यार्थीहरूलाई पढाइरहेका छन् भने धेरैजसो विद्यालयमा पठनपाठन ठप्प छ । डिजिटल शिक्षामा त्यति धेरै अघि नहुँदा नेपालका धेरै विद्यार्थीहरूले यो महामारीका कारण शिक्षाबाट टाढै रहनु परेको छ । हाम्रो संसारबाट यो भाइरस चाँडै हटेर जाओस् । विद्यालय फेरि संचालन हुन् । पठनपाठन छिट्टै शुरु होस् । हाम्रो कामना ।

सेप्टेम्बर ८, अर्थात् विश्व साक्षरता दिवस । सन् १९६५ मा युनेस्कोले हरेक वर्षको सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसको रूपमा मनाउने घोषणा गरेको हो । विश्वभरिका विद्यालय, समुदाय र संस्थाहरूले साक्षरताका लागि जनजागरण फैलाउन यो दिवस विभिन्न तरिकाले स्वःस्फूर्त रूपमा मनाउने गर्छन् । सबै जना साक्षर हुनु सबैजनाको दायित्व हो । नेपालको परिपेक्ष्यमा डिजिटल युग अनि त्यसको उपयोगिताको प्रयोग गरेर डिजिटल शिक्षा अनि साक्षरताका लागि जनजागरण अझै अपुग्दो छ ।
'Literacy for a human–centred recovery : Narrowing the digital divide' भन्ने नाराका साथ सन् २०२१ को साक्षरता दिवस विश्वभर मनाइँदैछ । मानवकेन्द्रित पहुँचलाई ध्यानमा राखेर डिजिटल पहुँचलाई समान राख्न यस वर्ष पैरवी गरिएको छ । कोभिड–१९ को विनाशलाई सुधार गर्न साक्षरता पनि एउटा हतियार हो ।

हात–हातमा भएका मोवाइल अनि घरघरका इन्टरनेटहरू शिक्षा र साक्षरता भन्दा पनि नचाहिँदा सञ्चार अनि समय व्यतित गर्ने फजुल माध्यम मात्र बन्नु हुँदैन । लेखिने अक्षरहरू र अंकहरूको महत्व एकदमै धेरै र अतुलनीय छ । विकसित समाजको परिकल्पना यी अक्षर र अङ्क हरूसँग सबैजना मानवको परिचय नगराइकन सम्भव पक्कै पनि छैन । साक्षरताले मानवको परिचय र उसको संस्कारलाई अझै वृद्धि गर्छ । अक्षर र अङ्कको महत्व अनि शिक्षाको उज्यालो मानवका लागि एकदमै जरुरी छ । आज यदि हामीमा अक्षरको ज्ञान नभएको भए लेख्नेले लेख्न र पढ्नले पढ्न नसक्ने भए यो साक्षरता दिवसको पृष्ठभूमि हाम्रो पात्रोमा न त लेखिने थियो न पढिने थियो । अक्षरले भावना र जानकारी दर्शाउँछ र अङ्कले तथ्य अनि सम्बन्ध दर्शाउँछ ।

नेपालमा पौढ शिक्षालगायतका कार्यक्रमहरूलाई पनि निरन्तरता दिन जरुरी छ, किनभने चाहे बालक होस या वृद्ध, शिक्षा सबैलाई जरुरी छ ।

खरिपाटी अनि धुलेपाटीमा अक्षर कोरेर अक्षर उक्काउन जानेकादेखि कालोपाटी अनि स्लेटसम्म प्रयोग गरेका पुस्ताहरू हामीसँग छन् । भित्तामा झुण्ड्याएका चार्टमा ‘क’ बाट कछुवा पढेकादेखि कम्प्युटरमा अक्षर चिनेका पुस्तासम्म नेपाली समाजले देखेको छ । तर फेरि पढ्न नजानेका अनि विद्यालय जानसम्म धौ–धौ पुस्ताहरू लगायत अक्षर नै नचिन्ने अनि औँठाछाप लगाउनुपर्ने ब्यक्तिहरू पनि यही समाजमा छौँ ।

उनीहरूलाई हामीले आफ्नो तर्फबाट के गरी साक्षरसम्म बनाउन सक्छौ । चाहे अक्षर–मालाका पुस्तकहरू पढाएर या निःशुल्क दैनिक पढाइदिएर वा पढ्ने वातावरण श्रृजना गरेर स्कुलसम्म उनीहरूलाई पु¥याइदिएर नै हुनसक्छ । सबैलाई साक्षर बनाउनु सबैको दायित्व हो । साक्षरताप्रति सबैको दायित्ववोध होस्, ‘शिक्षा धनं सर्वप्रधानम्’ ।


विश्व फिजियोथेरापी दिवस


मानिसका प्राथमिक क्षमता अनि पहिचान एउटा महत्वपूर्ण दक्षतामा अडेको छ । त्यो दक्षता हो, मानवको गतिशीलता । गतिशीलताले नै मानिसलाई यहाँबाट उहाँ पु¥याउँछ । सपना अनि जानकारी दिलाउँछ । मानिस–मानिसबीचका सम्बन्ध स्थापित गर्छ, अनि मानिसलाई सामाजिक बनाउँछ, हैन र ?

विभिन्न मांशपेशीजन्य समस्या, हाडको समस्या अनि कुँजोपनाले मानवलाई गतिशीलताको यो दक्षता र अभ्यासबाट विमुख गर्न सक्छ । यही गतिशीलतालाई कायम राख्न फिजियोथेरापिस्टहरूको सीप अनि अध्ययन आवश्यकता पर्छ । यसै आवश्यकतालाई ध्यानमा राखेर हरेक वर्षको सेप्टेम्बर–८ मा विश्व फिजियोथेरापी दिवस विभिन्न कार्यक्रम गरेर मनाइन्छ्र ।

सन् १८१३ मा स्वीस जिम्न्यास्ट हेनरिक लिंगले रोयल इन्टिच्यूट अफ जिम्न्यास्ट खोलेर गरेका हुन् । त्यस संस्थाले विश्वमै सर्वप्रथम गतिशीलता र पीडा निवारणका लागि मसाज अर्थात् मालिस, सुधारात्मक व्यायम अनि अन्य कसरतहरूको शुरुवात गरेको हो ।

त्यसपछि सन् १८९४ मा बेलायतमा चार्टड सोसाइटी अफ फिजियोथेरापी खोलेको पाइन्छ । फिजियोथेरापीको पहिलो कलेज भने अमेरिकाको वासिङटनमा वाल्टर रीड आर्मी अस्पतालमा भएको हो । प्रथम विश्वयुद्धताका यस अस्पतालमा फिजियोथेरापी शाखाको शुरुवात भएको हो ।

नेपालमा भने फिजियोथेरापीको इतिहास कोट्याउँदा नयाँ चिकित्सा पद्धतिका रूपमा केही दशक अघिमात्र केही निजी अस्पतालहरूले औपचारिक शुरुवात गरेको पाइन्छ । विस्तारै अब फिजियोथेरापीका सेवाग्राही र प्रदायकहरू बढ्दै गएका छन् । सन् १९८० को दशकमा सैनिक अस्पताल, कुष्ठरोग निवारक उपचार पद्धति अनि केही भारतबाट तालिम प्राप्त स्वास्थ्यकर्मीमार्फत फिजियोथेरापी गरिने पाइन्छ ।

सन् १९८३ मा आईओएमले फिजियोथेरापीलाई एसएलसीपछिको ३० महिने कोर्सका रूपमा औपचारिक मान्यता दिएको हो । यस क्रममा सन् १९९० सम्म करिब ५० जनाले तालिम लिएको इतिहास हामीले पायौ । तर पुन सन् १९९० मा फिजियोथेरापी अध्यापन नेपालमा बन्द हुन गयो । तथापि विभिन्न अनौपचारिक तालिम र कार्यगत प्रशिक्षण भएको थियो । सन् २००२ पछि धुलिखेल मेडिल इन्स्टिच्यूटले फिजियोथेरापीलाई औपचारिक शुरु गरेको पाइन्छ । यसपछि क्रमशः नेपालमा पनि यो कोर्स अनि सेवाप्रदायक बढ्दै गएका हुन् ।

सशस्त्र द्वन्द्वपश्चात् विसं २०६३ पछि अंगभंग र घाइते सैन्यदस्ताको पुर्नवास र पूर्नस्थापनाका लागि सैनिक क्याम्प अनि अस्पतालहरूमा फिजियोथेरापीको प्रयोग अत्यधिक गरिएको पाइन्छ । ‘नेप्टा’ नामको नेपाली फिजियोथेरापिस्टहरूको पेशागत संगठन बनेको छ । फिजियोथेरापी आफैँमा उपचार पद्धतिको मेरुदण्ड हो । आजभोलि झन् अस्तव्यस्त जीवनशैली अनि निरन्तर कम्प्यूटर र मोवाइल प्रयोग गर्दाको अवस्थिति नमिल्नाले ढाड अनि गर्दनको दुखाई सामान्य र सबैभन्दा दोहोरिने पीडा भइसकेको छ, हैन र ?

अंगभंग, अंग काट्नुपर्ने, दुर्घटनाको चोटपछि लगायत अन्य विभिन्न प्रक्रियामा फिजियोथेरापी अत्यावश्यक छ योगाभ्यासलाई पनि यहाँ फिजियोथेरापीसँग जोड्न चाह्यौँ । आर्युवेदले आहार र विहारलाई समान प्राथमिकता दिएको छ । योगाभ्यासहरू पनि परिस्कृत फिजियोथेरापीका आधारहरू हुन् । पतन्जली र धनवन्तरीका पुस्तक अनि अध्ययनहरूमा स्वस्थ रहन योगासनहरूको चर्चा पाइन्छ ।

गतिशीलता नै जीवन हो, स्वास्थ्यको ख्याल राखौँ ।
फिजियोथेरापिस्ट र सेवाग्राहीहरू सबैलाई शुभकामना !

हाम्रो पात्रोका लागि सुयोग ढकालद्वारा तयार आलेख ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.