यी छोराछोरी बढ्लान् कमाई गर्लान्
दूध–भात देलान मलाई
बुढाबुढी भइसकेका आमाबुवाबाट छोराछोरीप्रतिको चाहना अनि अपेक्षा सामान्यतः यस्तै यस्तै हुने गर्छ हाम्रो समाजमा । साँझमा कामबाट थाकेर घर फर्कदै गरेका बुवाले हातमा बोकेको प्लाष्टिकको पातलो झोलाभित्र घरमा पर्खिरहेका छोराछोरीका लागि सानै सही तर केही कुरा भने लगिदिएका हुन्छन् ।
संसारमा आमा बुवाले सबैभन्दा खुशी आफ्ना सन्तानमा देख्न चाहन्छन् । रुँदा आँशु पुच्दै अनि हाँस्दा अझै हसाउँदै । आफ्नो गक्षले भ्याएसम्मको जीवन अनि शिक्षा–दीक्षा दिएर हामी सबैलाई हाम्रा आमाबुवाले हुर्काएका हुन् । आमाबुवा अनि अभिभावक जे भने पनि हामी तिनीहरूकै सपनाको एउटा पुञ्ज हौँ । समय क्रमसँगै बुवाको पाखुराको बल कम हुन्छ । आमाको शरीर कमजोर हुँदै जान्छ, अनि जीवनको चक्र, बुढेसकाल शुरु हुन्छ ।
ज्येष्ठ नागरिक अर्थात् पाका उमेरका बृद्धबृद्धाहरू, प्रायः देशहरूमा ६० वर्ष पूरा भएका नागरिकलाई राज्यले ज्येष्ठ नागरिकको श्रेणीमा राखेको हुन्छ । उमेर ढल्कँदै गएपछि अरुहरूप्रति निर्भरता बढ्छ नै । जीवनशैलीको कष्ट अनि माया ममताको चाहलाई झर्को फर्को गर्दै नेपालमा बुवाआमालाई बृद्धाश्रममा पठाउने अनि हेला गर्ने चलन पनि देखिएकै छ । स्मरणरहोस्, पछिल्लो पुस्तालाई हामीले देखाएको सम्मान र सदाशयताले नै आउने पुस्ताले हामीलाई दिने माया र सद्भाव निर्धारण गर्छ ।
उमेर ढल्कदै गएपछि एक्लोपना बढ्दै जान्छ । आफ्ना मन मिल्ने साथीभाईको कमी अनि पुराना यादको बहावले बहकाउने गर्छ । मानव जीवन क्रममा यस अवस्था सबैभन्दा संवेदनशील अवस्था हो ।
समाजको खुल्ला डवली अनि पलेँटीहरूमा ज्येष्ठ नागरिकहरूलाई बोल्न, अभिव्यक्त गर्न अनि अनुभव साट्न खुल्ला अवसरहरू प्रदान गरौं । यहाँ पालोको पैँचो सबैले तिरेका छन् । हामी पनि कुनै दिन ज्येष्ठ नागरिक हुनेछौं । त्यसो हुँदा ज्येष्ठ नागरिक मैत्रि समाज निर्माण गरौं ।
हाम्रो परिवारका ज्येष्ठ नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाउनु भयो होला त ? अनि कोभिडपछिको बढेको डिजिटल संरचनामा हाम्रा ज्येष्ठ सदस्यहरूको पहुँच कतिको छ त ? यसै कुरालाई आधार मान्दै यस वर्ष सन् २०२१ को ज्येष्ठ नागरिक दिवसको नारा नै 'Digital Equity for all ages' राखिएको छ ।
यसै कुरालाई आत्मसात् गर्दै विश्व समुदायले पनि हरेक वर्षको अक्टोबर १ तारिखमा विश्व ज्येष्ठ नागरिक दिवस मनाउने गर्दछ ।
विश्व मुस्कान दिवस
तपाईं हामीमा के चाहिँ यस्तो चिज छ, जसले सजिलै अरुलाई आकर्षित गर्न सक्छ ? यो चिजले हाम्रो मनोभाव हाम्रो व्यक्तित्वलाई दर्शाउने गर्दछ । धेरै सोच्नै पर्दैन, यो चिज हाम्रो अनुहारमा झल्कने मुस्कान हो । कुनै पनि औपचारिकता र मजबुरीबाट मुक्त हाम्रो मीठो मुस्कान । मुस्कान हाम्रो मनबाट निस्किएको एउटा यस्तो भाव हो, जसले हाम्रो वरिपरिका मानिसलाई पनि खुशी तुल्याउँछ । सबैलाई आफूतिर आकर्षित गर्छ ।
एउटा ढंगको मुस्कान सबैका लागि महत्वपूर्ण भएकाले मुस्कानको महत्वलाई आत्ममनन् गर्न वर्ष अक्टोबर महिनाको पहिलो शुक्रवार विश्वभर मुस्कान दिवस मनाइन्छ ।|
वर्चेस्टरका एक कलाकार हार्वे बलले सन् १९६३ मा अभिनयको क्रममा मुस्कानसहितको भाव अनुहारमा प्रस्तुत गरे । जसले मानिसहरूको ध्यान मुस्कानको महत्वतिर केन्द्रित हुन पुग्यो । त्यसपछि सन् १९९९ देखि यो दिवस औपचारिक ढङ्गमा मनाउने गरिन्छ । सन् २००१ मा हार्वे बलको निधन भयो । त्यतिबेला उनको सम्झनामा बनेको ‘विश्व हार्वे बल मुस्कान फाउण्डेसन’ले आजको दिनमा थुप्रै ठाउँमा मुस्कान दिवस विशेष कार्यक्रमहरू आयोजना गर्दै आएको छ । यस फाउण्डेसनको नारा छ, ‘संसारलाई मुस्कानले सुधार गर्नुहोस् ।’
सन् २०२१ को मुस्कान दिवसको नारा चाहिँ' do an act of kindness, help one person smile' छ । कोरोना भाइरसबाट आक्रान्त विश्व अब बल्लतल्ल सामान्य अवस्थामा फर्किरहेको छ । समाजमा मुस्कानको महत्व आफू हाँस्ने मात्र नभई अरुलाई पनि हसाउँने हिसाबले उल्लेख गरिएको छ ।
यतिखेरको प्रतिष्पर्धाको समयमा धेरै मानिसहरूले जीवनमा अघि बढ्न यो हदसम्म मेहेनत गर्ने गर्छन् कि उनीहरूले एउटा मीठो मुस्कान दिन समेत भुलिसकेका हुन्छन् । तर जीवनको एउटा महत्वपूर्ण कार्य भनेकै आफू मुस्कुराउनु र अरुलाई मुस्कुराउन सिकाउनु हो । अनि मुस्कुराउन प्रोत्साहन गर्नु हो । हँसमुख मानिसहरू सजिलै सबैको मनमा बस्ने गर्छन् ।
सबैलाई विश्व मुस्कान दिवासको शुभकामना । सँधै मुस्कुराएर जीवन जिउनुहोस्, खुसी हुनुहोस् !
दशमी श्राद्ध
पृथ्वी र स्वर्गबीचमा भएकको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना । सकल पितृहरूले वैतरणी नदी तर्न पाउन अनि पितृप्रेम कायम रहोस् । पितृहरूको आर्शिवाद कायम रहोस् । सदीक्षा र शुभेच्छा कायम रहोस् । हामी आजको स्वरूपमा पितृहरूको अवशेष र पितृहरूकै स्वरूप हौँ, हैन र ?
प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपरान्हकालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्डदान गर्नुपर्नेछ । तर्पण, दियो पूजा, विश्वदेवा ब्राह्मण लगायत पूजा तोकिएको समय अघि नै गर्न सकिनेछ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता छ ।
वैदिक सनातन संस्करमा सामान्यतया पितृकर्म अर्थात् श्राद्ध दुईपटक गरिन्छ । वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस वर्षको सोह्र श्राद्धको शुरुवातसँगै हरेक परिवारमा शान्ति, खुशियाली कायम भइरहोस् । पितृहरूको आशिष सदासर्वदा कायम होस् ।
–––
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: