‘युद्धका समयमा भएका यौन हिंसा अनि बलात्कारबाट जन्मेका बालबालिकाले पहिचानको द्वन्द्व र अस्तित्वका लागि युद्ध सकिएको दशकौँसम्म पनि संघर्ष गर्नुपर्ने हुन्छ । हिंसामा परेका बालबालिकाहरूका आमा युद्धपछि पनि आफ्नै समुदाय र परिवारबाटै पनि अपहेलित हुनपर्ने हुन्छ ।
यस वर्षको द्वन्द्वमा यौन हिंसाको उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसमा युद्धका समयमा भएका यौन हिंसाका पीडितहरूका आवाज संयुक्त राष्ट्र संघ अझ बुलन्द गर्न चाहन्छ । उनीहरूले भोगेका भेदभाव, लाज अनि समाजले दिएको ध्रुवीकरणविरुद्ध हामी सबै एक हुन जरुरी छ ।’ माथिका भनाई संयुक्त राष्ट्र संघ महासचिव एन्टीनो गुइटेरसका हुन् ।
विश्वले युद्ध देखेको छ, भोगेको छ । इतिहासका पानामा युद्धका विभत्स रूपहरू लगभग हरेक देश अनि पृष्ठभूमिमा छन् नै । अझ पनि भोग्नुपर्ने स्थितिहरू पनि यथावत् छन् ।
कुनै अर्को जात, धर्म, देश या पहिचान भएको शासक या सैनिकले कमजोर देशलाई निर्ममतापूर्वक हराउँछन् । यसरी युद्धका क्रममा अनि पछि पनि युद्धग्रस्त देशका नागरिकमाथि यौन हिंसा हुने गर्छ । यस्ता हिंसाबाट हजारौं–लाखौं मानिसहरू वर्षेनी पीडित हुने गर्छन् र हुँदै आएका छन् । नेपालमै पनि त सशस्त्र द्वन्द्वका समयमा यस्ता धेरै घटना अनि दुव्र्यबहार भएको छ । त्यसको परिघटना र असरहरू आजसम्म पनि हामीले समाजमा देखिरहेका छौँ ।
युद्धमा भएका यौन हिंसाबाट जन्मेका बालबालिकाका मुद्दा अनि समस्या पुस्तौंसम्म चल्ने गर्छ । उता यसरी हिंसामा पर्ने महिलाका वेदना अनि तिनका ध्वनि र प्रतिध्वनिहरू शताब्दीयौंसम्म चल्ने गर्छन् ।
यसरी युद्धका समयमा भएका यौन हिंसापश्चात् असुरक्षित गर्भपतन अनि अन्य यौन तथा प्रजजन समस्याका कारणले हजारौंको अकालमै मृत्यु पनि हुन्छ । यस्ता यौन हिंसामा पर्नेहरूका वेदनाको सम्बोधन अनि अधिकारको प्रत्याभूत गर्दै विश्वसमक्ष उनीहरूका आवाज सुनाउन हरेक वर्ष जून १९ तारिखमा संयुक्त राष्ट्र संघले द्वन्द्वमा यौन हिंसाको उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाउने गर्छ ।
यसरी द्वन्द्वका समयमा जन्मेका बच्चाहरूको शारीरिक स्वास्थ्य अनि मानसिक स्वास्थ्य दुवै राम्रो हुन नसक्ने सम्भावना धेरै हुन्छ भने उनीहरूका पहिचान अनि कानुनी संरक्षण पनि नहुन सक्छ । अप्रत्यक्ष रूपमा भएपनि यी बालबालिका पनि जन्मदैं द्वन्द्वका शिकार हुँदै जन्मेका हुन् । यी बालबालिकाहरूको देश या नागरिकता अनि अन्य पहिचानगत समस्याको छिनोफानो हुन नसक्दा अधिकांशहरू बेचबिखन, मानव तस्कर लगायत अन्य जोखिमयुक्त क्षेत्रमा लगिन्छन् । जुन दर्दनाक अनि दुःख लाग्दो कुरा हो ।
द्वन्द्वको पनि नियम हुन्छ, जहाँ निशस्त्रलाई हमला नगर्ने, स्वास्थ केन्द्रमा हमला नगर्ने लगायत थुप्रै नियम हुन्छन् । तर युद्धमा जति नियम अन्य कहीँ पनि मिचिने गरिँदैन ।
युद्धग्रस्त क्षेत्रमा सैनिक या अन्य जत्था अनि राज्यहीनताको फाइदा उठाउने तत्वले बलात्कारलाई प्रश्रय दिने गर्छन् । जुन अत्यन्तै गलत क्रियाकलाप हो । निर्दोष असहाय अनि निहत्थामाथि गरिने युद्धजन्य हरेक अपराधहरू बन्द गरिनु जरुरी छ भनी आजको दिनमा वकालत पनि गरिन्छ । प्यालेस्टाइन, सिरिया, इराक लगायत सैंयौ अफ्रिकन देशहरू आज पनि बाहिरी या आन्तरिक द्वन्द्वको खतरामा छन् । द्वन्द्वमा यौनजन्य हिंसा रोक्न राज्यहरू सफल हुन् अनि भएका हिंसाका परिघटना अनि असरहरू न्यून गर्न सफल हुनु जरुरी छ ।
कोराना भाइरस संक्रमण जोखिमका कारणले भएको लकडाउन, बढेको घरेलु हिंसा अनि अनेकन क्रियाकलापहरूले हिंसाविरुद्ध अझ विशेष द्वन्द्वसँग सम्बन्ध राख्ने यौन हिंसाविरुद्ध गरिने उजुरी न्यून जस्तो भएको छ । घरहरू बन्द छन्, तर भित्ताहरूमा हिंसाका लेप लागेका हुन सक्छन् । यस वर्षको ‘द्वन्द्वमा यौन हिंसा उन्मूलन दिवस’का दिन यी विषयमा बहस गर्र्नेछ ।
द्वन्द्वमा यौन हिंसाको उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसको शुभकामना ।
सुयोग ढकाल
Liked by: