जीवनमा एकपटक पुग्नैपर्ने ठाउँ गोसाईंकुण्ड हो । आजको दिनबाट हजारौँ भक्तालुहरू अनेक जनविश्वासका साथ वर्षेनि कुण्डमा स्नान गर्न जाने परम्परा छ । काठमाडौंबाट उत्तरी दिशाको रसुवा जिल्लामा पर्ने पवित्र तीर्थ गोसाईंकुण्ड स्नान गर्ने भक्तजनको आगमन आजबाट दशमीको तिथिसम्म दिन प्रतिदिन बढ्दै जाने गर्छ । तर, यसपालि कोभिड महामारी र निषेधाज्ञाका कारण यस्तो दृश्य देख्न सकिन्न ।
यसरी दशमीसम्म चल्ने पवित्र स्नानको शृंखलालाई दशहरा स्नानका रूपमा पनि लिइन्छ । दशहरा स्नान अवधिभरि सनातन दर्शनका अनुयायीले सखारै उठेर कुण्डमा जाने अनि स्नान गर्ने चलन छ । ज्येष्ठ महिनाको गर्मीमा अनि धानको रोपाइँ शुरु हुनुअघिको दशहरा स्नानले कृषि कार्य र आउँदो वर्खायामका लागि तयारी गराउँछ ।
समुद्र मन्थन गरेर निस्किएको विषबाट सारा जगतलाई जोगाउन भगवान शिवले पिएको त्यो विष घाँटी अड्किएको र त्यो विषसहित निलाद्री पर्वत पुग्नुभएको विश्वास छ । सबै देवताहरू त्यो विषको व्यवस्थापन गरी दिनु पर्यो भनी भगवान शिवसमक्ष पुगेपछि शिवले त्यो विष आफूले पिएका थिए । तर त्यो विष घाँटीमा अड्किएपछि छटपटी शान्त पार्न भौतारिँदा शिव भगवान निलाद्री पर्वतमा पुगी त्रिशुल भित्तामा प्रहार गर्नुभयो । त्यसपछि त्यहाँ धारा बनेको र त्यही धाराबाट बगेर आएको पानीले कुण्ड बनेको विश्वास गरिन्छ । त्यही कुण्डमा भगवान शिवले विषको औडाह शान्त पारी त्यही आफू रहनु भएको धार्मिक विश्वास छ । त्यसैले पनि गोसाईंकुण्डमा स्नान, दान र तर्पण गर्नाले पितृहरू उद्धार भई स्वर्ग जाने, जीवनभर गरेको पापबाट मुक्ति पाउने र आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक मान्यता छ ।
दशहरा स्नान आरम्भ
ज्येष्ठ शुक्ल प्रतिपदाको महत्व अत्यधिक छ । आजको तिथिमा नै वैदिककालमा भागिरथीले गंगाको पृथ्वीलोकमा आगमन गराएका हुन् । यस अगाडि पवित्र गंगा देवलोकमा मात्र बहने गरेको तर यसपछि गंगाको अवतरण पृथ्वीलोकमा भएको विश्वास छ । यसरी ज्येष्ठ शुक्ल प्रतिपदाको माता गंगाको आगमनको तिथिमा तुलसीको बिज रोपेर अनि पवित्र स्नानको शृंखलाहरू शुरु गर्ने चलन छ । यिनै स्नानको शृंखलालाई दशहरा स्नान भनिन्छ ।
प्रतिपदादेखि एकादशीसम्म १० दिन चल्ने पवित्र स्नानका यी शृंखलाहरूमा हरेक दिन एकप्रकारको पाप नाश हुने विश्वास छ । यसरी दश दिनमा दश प्रकरका पापहरूबाट मुक्ति पाउने भएकाले नै दशहरा स्नान भनिएको हो । ज्येष्ठ शुक्ल प्रतिपदादेखि एकादशीसम्मका ११ दिन गङ्गा वा नदी किनारमा गई स्नान गरेमा दश प्रकारका पाप नाश हुने धार्मिक विश्वास छ ।
कसैले नदिई कुनै वस्तु लिनु, विनायज्ञ हिंसा गर्नु, परस्त्रीगमन गर्नु, कठोर वचन बोल्नु, असत्य बोल्नु, परनिन्दा गर्नु, बेमतलबको प्रलाप गर्नु, अरूको सम्पत्ति हडप्ने इच्छा राख्नु, अरूलाई हानि पुर्याउने इच्छा राख्नु र विनाकारण दुराग्रह राख्ने जस्ता पाप ११ दिनको गङ्गा, त्रिवेणी वा नदीमा गई स्नान गरेमा नाश हुने शास्त्रीय मान्यता छ ।
कोरोना संक्रमण जोखिमले सुनसान बनाएका तीर्थस्थल र नदीनालाहरू भक्तजनको आगमनका लागि व्यग्र छन् । आशा छ, यो वर्षको दशहरा व्रतका शृंखलाहरूले अदृश्य भाइरसको प्रकोप पनि बगाएर लगोस् । यो वर्ष घर–घरमा नै बसेर दशहरा स्नान गरिनेछ । पापहरू बगून्, पुण्य बढून् ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल