आज हामी गुँला पर्वको साम्रगी लिएर आएका छाँै । वर्षभरि नेपाली चाडबाड अनि दिन विशेषको सँगालो लिएर आउने यहाँहरूको प्रिय मोबाइल पात्रो ‘हाम्रो पात्रो’मा । वर्षाको मादकता अनि जोखिम दुवै आफ्नो चरमोत्कर्षमा छ । धानको रोपाईँ कतिको सकियो होला ? सदाझैँ बर्खाका प्रकोपहरू पहिरो अनि बाढीका समाचारहरू सुन्नमा आइरहेका छन् । बादलहरू कहिले पागल भएर वर्षन्छन् त कतै कन्जुस् हुँदै जलथोपाहरू नझारी बसेका छन् । जे–होस् जसो होस्, यस वर्षको यस महिना अनि विशेषतः बर्खाको मध्यान्तरपछि आउने गुँला पर्वमा सबैलाई स्वागत ।
गुँला पर्वको कुरा उक्काउँदा म आज स्वयम्भू महापुराणलाई यहाँ उद्यृत गर्न चाहन्छु । मञ्जुश्रीले आफ्ना अनुयायीहरूका लागि बनाएको शहर नै आजको काठमाडाँै हो । यसरी स्वयम्भु चैत्यलाई केन्द्रमा राखेर शुरु भएको बागमती सभ्यताको शुरुवाती दिनमा मञ्जुश्रीले शुरु गर्नुभएको चैत्य सेवाको चलन नै पछि गुँला पर्वको स्वरुपमा जानिन्छ । नेपाल सम्वतका अनुसार, गुँला एक महत्वपूर्ण महिना हो । स्थानीय नेवार वा नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौ र ‘ला’को अर्थ महिना भन्ने हुन्छ । अर्थात्, नवौ महिना भन्ने बुझिन्छ । विक्रम सम्वत् अनुसार साउन शुक्लपक्ष प्रतिपदादेखि भाद्र शुक्लपक्ष प्रतिपदासम्म एक महिनाको अवधि नै गुँला हो ।
यस गुँला महिनामा गुँला पर्व नेवाः समुदायमा विशेष रुपमा अनि काठमाडौँ उपत्यका लगायत अन्य केही नेवाः समुदायको बाहुल्यता भएका ठाउँमा मनाइन्छ । नेवाः समुदायका बौद्धमार्गी परिवारमा यो पर्वको उल्लास अझ बढी आत्मिक अनि चिन्तनगत रुपमा रहेको पाइन्छ । भगवान बुद्ध अनि उहाँका अनुयायीहरू दिव्य प्रवचन अनि ज्ञानको प्रचारमा जाँदा बर्खाका समयमा यात्रा नगरी एकै ठाउँमा बस्ने भएकाले यस पर्वलाई बर्खा अनि ज्ञानको एउटा संगम पनि मानिने गरिन्छ । विशेषगरी नेवार समुदायले मनाउने गुँला पर्वमा बिहान स्वयम्भू भगवानको दर्शन गर्न जाने परम्परा रहिआएको छ ।
आज काठमाडौं उपत्यकाका चोक चौराहहरूमा विशेष गुँला संगीतको श्रवण गर्न सकिन्छ । अनि गुम्बा, मन्दिर, आत्मिकस्थलमा भक्तजनको आवागमन धेरै रहन्छ । बहीद्यः स्वःवनेगु नेवाः संस्कृतिको अनन्य पाटो हो, जहाँ अघिअघि बाजा अनि संगीत अनि पछि–पछि भक्तजनहरू हुन्छन् ।
आजका दिनमा यस्ता झाँकीहरू प्रशस्तै देख्न सकिन्छ, काठमाडौँ उपत्यकामा । द्यः थायेगु आजको विशेष क्रियाकलापमा पर्छ । आज कालो माटोलाई प्रयोग गरेर कालो काँचो माटोले स–साना स्तुपा बनाउने चलन छ । काठमाडौँ र ललितपुरमा पन्जारा अर्थात् बुद्ध लगायत अन्य साधु सन्तको प्रतिमा अनि भगवानको प्रतिनिधित्व गर्ने खटलाई शहरमा घुमाउने अनि चामल लगायतका चिजबिज जम्मा गर्ने चलन पनि छ । बौद्धमार्ग एउटा सन्तुलनको वकालत गर्ने दर्शन हो, जहाँ दान अनि शान्ति लगायत आत्मिक चिन्तनलाई धेरै महत्व दिने गरिन्छ ।
हुन त, गुँला एकदिनको मात्र चाड त हैन, यस चाडलाई चन्द्रमानका बिभिन्न तिथिमा बिभिन्न प्रकारले मनाइन्छ । बर्खाको अन्त्यसँगै आउने खुला आकाश अनि सफा बादलका टुक्राहरूमा आ–आफ्ना दिनचर्याका खाका गज्जबले कोरौँ, सबैलाई शुभकामना ।
हाम्रो पात्रोका लागि सुयोग ढकालले तयार पारेको आलेख ।
अन्तर्राष्ट्रिय आदिवासी दिवस
‘आदि’ भनेको आदिम समयदेखि भन्ने बुझाउँछ । यसर्थ, कुनै पनि ठाउँमा आदिम समयदेखि बसोवास गरिरहेका र त्यस भूमिको माटोलाई खनी खोस्री आफ्नो पुस्ता धानिरहेका कलाकौशल र हस्तकला लगायत थुप्रै मौलिक पहिचान भएका समुदायलाई आदिवासी भनिन्छ ।
आदिवासी र तिनको संस्कृति संरक्षण निम्ति २३ डसेम्बर १९९४ को संयुक्त राष्ट्रसघंको साधारण सभाले ९ अगस्तलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो । संयुक्त राष्ट्रसघंले यसअघि नै सन् १९९४ देखि २००४ सम्म आदिवासी दशक समेत ‘कर्म र मर्यादाका लागि दशक’ भन्ने नाराका साथ आव्हान गरेको थियो ।
यो दिवस पहिचान गर्न सिर्जित संयुक्त राष्ट्र संघको लोगो बङ्गलादेशका कलाकार रेबन देवानले तयार पारेका हुन् । यो लोगोमा हरियो पातका दुई वटा कान जस्तो आकृतिले पृथ्वीलाई दुईपट्टिबाट घेरेको देखिन्छ ।
अन्तर्राष्ट्रिय आदिवासी दिवसको सन् २०२१ को नारा भने'Leaving no one behind, Indigenous peoples and the call for a new social contract' तय भएको छ । यसको अर्थ चाहिँ नयाँ सामाजिक संरचनाको आवश्यकता अनि आदिवासीसहितको समावेशी समाजको पैरवी भन्ने लाग्छ ।
मानव सभ्यताको विकाससँगै बसाईँ–सराईंको क्रम शुरु भएपछि क्रमशः आप्रवासीहरूको घनत्व बढ्न गई उनीहरूको पहिचान, अस्तित्व, फरक गुण अनि रिति–थितिमा कमी आउन थालेको छ । विश्वको कुल जनसंख्याको ५ प्रतिशत रहेका आदिवासीहरूले विश्वको कुल गरिब जनसंख्याको १५ प्रतिशत भाग ओगटेका छन् । पृथ्वीको ध्रुवीय क्षेत्रदेखि दक्षिण प्रशान्त किनारसम्म रहेका आदिवासीहरूको पहिचान र उपस्थिति घट्दो क्रममा छ, किनकि पछि बसोबास गरेर आएका आप्रवासी समुदायहरू पेशा, पहिचान, बसाईँ लगायतका विविध कारणहरूले हाबी हुँदै आएका छन् ।
संयुक्त राष्ट्रसंघको आदिवासी समुदायको अधिकारसम्बन्धी घोषणपत्रको आर्टिकल १४ मा आदिवासी समुदायले आफ्नो संस्कृति, भाषा, रिति–रिवाज र चलनअनुरूप सुहाउँदो शैक्षिक प्रणाली, संस्थाहरू स्थापना र नियन्त्रण गर्न पाउने अधिकार दिएको छ । अनेकन अध्ययनहरूले स्पष्टसँग आदिवासी र गैरआदिवासी समुदायबीच शैक्षिक अवसर, विकास अनि समष्टिगत रूपमा मानवअधिकारका सुविधाहरूमा भएको ठूलो असमानता देखाउँछ । आफ्नो पहिचान र थलोका लागि पुस्तौँदेखि एकै ठाउँमा खनी–खोस्री, प्रकृतिसँग पैँठेजोरी खेल्दै आएका आदिवासी समुदाय विश्वका लागि प्राचीन सम्पत्ति हुन् । उनीहरूको पहिचान कायम राख्दै विकासको मूलधारमा ल्याउनु विश्व समुदायको प्रमुख चुनौती भएको छ ।
बहु–जाति बहु–धर्म र बहु–संस्कृति भएको हाम्रो देश नेपालका अधिकांश भू–भागमा आदिवासी समुदायहरूको बसोबास छ । बद्लिँदो परिवेशसँगै आदिवासी समुदायमा प्रभावित भएको छ । तीव्र रूपमा उनीहरूले आफ्नो पहिचान, रिति अनि मौलिकतालाई जीवित राख्ने भरमग्दूर कोशिस गरिरहेका छन् । अर्कातिर त्यही मौलिकता नयाँ पुस्ताले भुल्दै गएको, पुराना संस्कृतिहरूलाई निरन्तरता दिन नसकेको र आफ्नो मौलिक थर समेत परिवर्तन गरेर पहिचान हराउँदै गएको दृश्य अत्यास लाग्दो छ ।
तीतो सत्य के हो भने आदिवासीहरूको बसोवासलाई बिगार्दै अनि उनीहरूलाई विस्थापित गर्दै बनाइएका शहर, बसाईएका सभ्यता र जोडिएका कारखानाभन्दा उनीहरूको आफ्नो ठाउँमा हुने मौलिक उपस्थिति नै संसार र समुदायकालागि फाइदाकारक हुनेछ ।|
आदिवासी समुदायका लागि सहज, सरल र विकसित समाज हामी सबैको दायित्व हो । चाहे हामी गैरआदिवासी हौँ या आदिवासी समुदाय हौँ । आउँदो पुस्तालाई समाजको यथार्थ चित्र र विकासको उद्गमबिन्दुको प्रतिबिम्ब देखाउन जरुरी छ । आदिवासी दिवसको सबैलाई दायित्वबोध होस् । सबैमा शुभकामना !
हाम्रो पात्रोका लागि सुयोग ढकालले तयार पारेको आलेख ।
Liked by: