हरिपरिवर्तिनी एकादशी | विश्वकर्मा पूजा | वास्तु दिवस | कन्या संक्रान्ति | राष्ट्रिय चलचित्र दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरु

हरिपरिवर्तिनी एकादशी | विश्वकर्मा पूजा | वास्तु दिवस | कन्या संक्रान्ति | राष्ट्रिय चलचित्र दिवस




हरिपरिवर्तिनी एकादशी विशेष अडियो सामग्री

वर्ष २०७८ को हरिपतरिवर्तिनी एकादशी र कन्या संक्रान्ति अनि हरेक कन्या संक्रान्तिमा पर्ने विश्वकर्मा पूजा समेत एकै दिन पर्न गएको छ ।

हरिपरिवर्तिनी एकादशीलाई जयन्ती एकादशी र वामन एकादशी पनि भनिन्छ । पापहरूको नाश गर्न यो एकादशीको व्रत भन्दा ठूलो अरु कुनै उपाय नभएको शास्त्रीय मान्यता छ । हरिपरिवर्तिनी एकादशीमा निष्ठापूर्वक व्रत लिनाले वाजपेय यज्ञको फल प्राप्त हुने विश्वास छ ।

पौराणिक कथन अनुसार, भदौ महिनाको शुक्लपक्ष एकादशीको नाम हरिपरिवर्तिनी एकादशी हो । आषाढ शुक्ल हरिशयनी एकादशीमा सुत्नु भएका भगवान विष्णुले निन्द्रा अवस्थामा कोल्टे फेरेको दिन भएकाले यो एकादशीलाई हरिपरिवर्तिनी एकादशी भनिएको हो । शेषनागको पिठ्यूँमा यसै एकादशीका दिन कोल्टे फेरेका कारण तीनै लोकका स्वामी भगवान विष्णुको आज पूजा गरिन्छ । पूजापछि ताँबो, चाँदी, चामल र दही दान गरिन्छ ।


त्रेतायुगमा विरोचन नामक दैत्यका छोरा बलि, विष्णु भगवानका परमभक्त थिए । तर उनले इन्द्रसित पूर्वाग्रह थियो ।

जसकाकारण इन्द्रलोक तथा सम्पूर्ण देवताहरूलाई पराजित गरेका थिए । वृहस्पतिसहित इन्द्रादी देवता विष्णु समिप पुगी वेद मन्त्रद्वारा स्तुति गर्न थालेपछि बलिबाट देवगणलाई मुक्त गराउन विष्णुले आफ्नो पाँचौ अवतारका रूपमा वामन रूप धारण गर्नुभयो । र, तेजस्वी बलिसँग आफ्नो पाइताला राख्न तीन पाइला भूमिको याचना गर्नुभयो ।

महाबलिले ती तीन पाइला जमीन आफ्ना लागि अत्यन्तै सानो याचना ठानेर तीन पाइला भूमि दान दिने संकल्प गर्नुभयो । तर विष्णुले आफ्नो त्रिविक्रम रूपलाई फैलाएर भू–लोकमा पद, भूवर्लोकमा जंघा, स्वर्गलोकमा कम्मर, महःलोकमा पेट, जनलोकमा हृदय, यमलोकमा कण्ठ, सत्यलोकमा मुख राख्नुभयो भने दोश्रो पद स्वर्गलोकमा राख्नुभयो । अब तेस्रो पद कहाँ राखुँ भनी बलिलाई सोधेँ । अनि बलिले वाचास्वरूप आफ्नो शीर झुकाए र विष्णुले आफ्नो तेश्रो पद उनको टाउकामा राखेर मर्त्यलोक पाताल पुर्याईदिनुभयो । विष्णुभक्त बलिले पाताल लोकमा पनि विष्णुसँगै रहने याचना गरेपछि भाद्रपद शुक्ल एकादशीका दिन बलिको आश्रममा विष्णुस्वरूप रहनुभएको पौराणिक कथा अनुसार हरिपरिवर्तिनी एकादशीको मान्यता स्थापित हुन पुगेको हो ।

कन्या संक्रान्ति
आकाश अनि मौसममा दसैँको छापहरू देखिन थालिसकेका छन् । विशाल निलो आकाशमुनि घट्दो गर्मीसँगै शीतलता महसुस हुन थालेको छ । र्वााले भिजेका माटाहरू अब सुस्तरी सुक्न थालेका छन् । भदौरे धान अनि घैया त पाकिसकेर दसैँका लागि चिउरा समेत कुट्ने तर्खर भइसकेको होला ।

वर्षमा १२ महिना र १२ वटै संक्रान्ति हुन्छन् । यी १२ संक्रान्तिलाई ४ वटा वर्गमा वर्गीकरण गरिएको हुन्छ– आयन, विष्णुभा, विष्णुपादी र सदसितामुखी । सम्पूर्ण संक्रान्तिहरू दान पुण्य क्रियाकलापका लागि अत्यन्त महत्वपूर्ण मानिन्छन ।

हिन्दूहरूको सौर्य पात्रो अनुसार छैठौं महिनाको शुरूको दिन कन्या संक्रान्ति हो । आजका दिन सूर्य सिंह राशीबाट कन्या राशीमा प्रवेश गर्छन् । यसकारण पनि आज कन्या संक्रान्ति भनिएको हो ।

अरु वर्षहरू झैँ सामान्य वर्ष भए यतिखेर दसैँमा घर फर्कन गाडीको टिकट, प्लेनको टिकट लगायतका कुराहरूको लाइन बढ्दो हुनेथियो । औंला भाँची–भाँची घर जाने अनि आउने दिन, कार्यालय अनि विद्यालय विदाको गणना गरिँदै खुशीको माहोल हुनेथियो । तर यस वर्ष अलि पर भएको हुँदा अझै समय छ । दसैँका लागि खसी–बोका, कपडा अनि पारिवारिक जमघटमा लोकप्रिय खेल तासको जोहो भइसक्नुपर्ने समय हो ।

तर कोभिड–१९ को संक्रमणका कारण कतिको जागिरको स्थायित्वमा प्रश्न छ, कतिका व्यापारहरू चौपट भएका छन् । अनि बन्द शटरहरूभित्र सपनाका अंशहरू बोकेर यसवर्ष विश्वभरि नै त्रास र मन्दीको वातावरण छ । हामी कहाँ पनि दसैँको रौनक यसवर्ष मास्क अनि घरका छानाभित्र मात्रै सीमित हुने भय र स्वास्थ सुरक्षा र संक्रमणबाट जोगिने उपायको खोजी अर्कोतर्फ छ । भाइरस र जीवीकोपार्जनको विश्वव्यापी प्रतिस्पर्धामा सबैलाई सुरक्षित रहन आग्रह छ ।

कुन कोठामा जमरा राख्ने छलफल पनि सधैंजसो दसँैको मुख्य पारिवारिक वहसको विषय हुने गर्छ । यो वर्ष जहाँ हुनुहुन्छ, त्यहीँ जमरा र उल्लास रोप्नुहोस् । दसँैको रौनक कम होला । तर जीवनको रौनक बैग्लै छ । आशा राखाँै, शीघ्र राम्रो हुनेछ ।

विश्वकर्मा पूजा

असोज महिनाको १ गते अर्थात् कन्या संक्रान्तिलाई निर्माण तथा प्रविधि उत्पादन तथा अध्ययनका विद्वान श्री विश्वकर्मा बाबाको पूजाका रूपमा पनि मनाउने गरिन्छ । आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू यिनै विश्वकर्मा बाबाको सम्मानमा पूजाआजा गर्ने गर्छन् ।

विश्वकर्मा बाबा देवताहरूका लागि शिल्प विशेषज्ञ र हरेक देवताका भवनहरूको निर्माता, हतियार शिल्पकार र यानहरूका रचयिता तथा निर्माता हुन् । शास्त्रहरूका अनुसार, विश्वकर्मा ब्रह्माका पुत्र हुन् । यिनका ५ छोराहरू र एकमात्र छोरी थिइन् । उनको एकमात्र छोरी सन्ध्याको विवाह वैश्विक उर्जा तथा तापका प्राकृतिक श्रोतका मालिक भगवान सूर्यसँग भएको थियो ।

विश्वकर्मा बाबा हस्तकला, शिल्पकार, हतियारविज्ञका रूपमा कला अनि हजारौँ वस्तुगत रचनाका प्रेरणा हुन् । यतिखेरको आधुनिक युगमा पनि उनले वैदिककालमा गरेको प्रविधि तथा अनेक निर्माणका अभ्यासहरूको सम्मान स्वरूप नेपालका अधिकांश ग्यारेज, कारखाना, उत्पादन प्रविधि स्थल अनि धातुका विविध कार्यहरूमा सक्रिय विविध कार्यस्थलहरू एकदमै सजिसजाऊ अनि झकिझकाऊ हुने गर्छन ।

विश्वकर्मा बाबाको पूजामा विश्वकर्मा बाबाको मूर्ति स्थापना गरी उक्त दिन पूजा गर्ने र भोलिपल्ट रितिपूर्वक नदी, ताल, तलैयामा मूर्ति सेलाउने चलन छ । आजको दिन यातायातका साधनहरूको विशेष पूजा गरिन्छ । तसर्थ, आजको दिन सार्वजनिक यातायातका साधनहरू सहज उपलब्ध नहुन सक्छन् ।

विश्वकर्मा पूजाकै दिन हरेक वर्ष असोज महिनाको १ गते, कन्या संक्रान्ति पारेर वास्तु दिवस मनाइने चलन छ । हरेक निर्माण संरचनाहरूको ढाँचा तयार गर्दा वास्तुलाई प्राथमिकतामा राखिन्छ । आजभोखि यो चलन पूर्वीय सभ्यतामा मात्र नभई पश्चिमाहरूमा पनि निकै प्रचलित छ । वास्तुविधा पनि एउटा प्राचीनतम् विज्ञान, वेद र खोजको धार हो । विश्वकर्मा बाबा निर्माणका पर्याय हुन् । यिनी वास्तुविधाका पनि जानकार थिए । यसै कुरालाई मध्यनजर राख्दै एकै दिन विश्वकर्मा पूजा र वास्तु दिवस मनाइन्छ ।

दिशा र कोणहरू निर्धारण गरेर, पञ्चतत्वको अवस्थिति अनि जमिनको आकारलाई आधार मानेर तय गरिने वास्तुसीप अनुरूपको ढाँचा बनाइएमा उक्त संरचनामा सदैव सुख, समृद्धि अनि ऐश्वर्यको बास रहन्छ भन्ने विश्वास पाइन्छ । वास्तुशास्त्र अनुसार विश्वमा बनाइएको एकमात्र शहर भने सिंगापुर रहेको बताइन्छ । प्राचीनतम् वास्तुशास्त्रको आधुनिक अवलम्बन अनुरूप सिंगापुरको वास्तु आत्मसात् आजको विश्वका लागि ज्वलन्त उदहारण हो ।

वास्तुविधा र वास्तुशास्त्रको महत्व विश्वभरि फैलियोस्, कल्याण होस् ।

राष्ट्रिय चलचित्र दिवस

यस वर्षको चलचित्र दिवसको दलान पछिल्ला केही वर्षभन्दा अलिक सुधारात्मक छ । सिनेमाको मुख्य गन्तव्य चलचित्र घरहरू कोरोना संक्रमणका कारणले वर्षौ बन्द भएर बल्लतल्ल खुल्ने तर्खरमा छन् । कोरोना त्रासमा समयमा रिलिज हुन नपाएका अनेकन सिनेमाहरू, कामको कमी भएका सिने जनशक्तिहरू अनि आगामी वर्षहरूको अन्यौल चाहिँ उस्तै छ ।
त्यसैगरी हरेक वर्ष असोज १ गते राष्ट्रिय चलचित्र दिवसका रूपमा पनि मनाइन्छ । चलचित्र विकास बोर्डले सन् २०१२ मा हरेक वर्ष असोज १ गतेका दिन कार्यक्रमहरू गर्दै दिवस मनाउने क्रम चलाएको हो ।

शुरूवाती दिवसहरूमा एक सप्ताह नै यस चलचित्र सप्ताह अनि दिवसका रूपमा मनाउने अवधारणा रहे तापनि सुस्तरी असोज १ मा मात्र कार्यक्रमहरू गरी मनाउन थालिएको हो । चलचित्र बिकास बोर्ड भने सन् २००० को ३० जूनमा स्थापित संस्था हो, जसको मूल उद्देश्य चलचित्र प्रद्र्धधन अनि चलचित्रकर्मीहरूको संस्थागत विकास पनि हो ।

सन् १९५१ मा नेपाली भाषाको तर कोलकातामा उत्पादन गरिएको चलचित्र ‘सत्य–हरिश्चन्द्र’ जसलाई डिबी पराजुलीले निर्माण गरेका हुन् । त्यपछि नेपालमै उत्पादित चलचित्र ‘आमा’ सन् १९६४ अक्टोबर ७ मा प्रदर्शन गरिएको हो । सुस्तरी अनेकन आरोह–अवरोह पार गर्दैै अब नेपाली सिने जगत विश्व मानचित्रमै आफ्नो छति उभ्याउन सफल हुँदै गएको छ ।
विक्रम सम्वत् २०२१ मा चलचित्र ‘आमा’मा रेडियो नेपालका तत्कालीन गायक र संगीतकार शिवशंकर मानन्धर अनि सुश्री भुवन चन्दले नायिकाका रूपमा भूमिका देखाएका थिए । त्यसपछि विसं २०२३ मा अर्को बहुप्रतीक्षित नेपाली चलचित्र ‘माइतीघर’ प्रदर्शनमा आयो । काठमाडौंको माइतीघर मण्डला उतिबेला त्यही चलचित्रको उत्पादन समूहको कार्यालय रहेका कारणले माइतीघर नामाकरण गरिएको छ । भारतीय अभिनेता माला सिन्हा र नेपाली सिपी लोहनी अभिनित माइतीघरको जोडी पछि गएर वास्तविक जीवनकै पनि जोडी बन्न गए ।

त्यसैगरी विसं २०२४ मा हिजो आज र भोलि अनि विसं २०२८ मा ‘परिवर्तन’ अनि ‘मनको बाँध’ जस्ता चलचित्रहरू आए । कहिले ‘राते काँईला’को त्रास अनि कहिले ‘शंकर’को साथ, कहिले ट्रक ड्राइभरका ‘पिरती’ त कहिले ‘बसन्ती’को इतिहाससँगै नेपाली सिने जगतले रफ्तार लिँदै आयो । अब ‘कालो पोथी’, ‘निभ्न लागेको दियो’, ‘देश खोज्दै जाँदा’ आदि जस्ता विश्वव्यापी जान तरिकाले सक्ने नेपाली चलचित्रहरूलाई कहिलेकाँही एरिक भ्यालीको ‘क्याराभान’ अनि ‘हनीहन्टर’ जस्ता छोटा तर मार्मिक भिडियोहरूले पनि धेरै सिकाएका हुन् ।

भारतीय दक्ष कलाकार अनि प्रविधि आयात गरेर बनाइने शुरूवाती नेपाली चलचित्रहरू अब ५० वर्षपछिको अवस्थामा आफैँमा निर्भर र विश्व गुणस्तरका हुन थालेका छन् । यही क्षेत्रमा अध्ययन गरेका अनि बुझेका नेपालीविज्ञ अनि कर्मठ मष्तिष्क र हातहरूले क्यामरा अनि पर्दामा आफ्नो बाजी मारिरहेका छन् । केही तिता अनि केही मीठा अनुभव र उपलब्धिसँगै नेपाली चलचित्र आजको स्थानमा आइपुगेको हो ।

यो वर्ष पनि ‘थाहा’ आन्दोलनका अभियन्ता रूपचन्द्र बिष्टको जीवनमा आधारित चलचित्र ‘रुदाने’ लगायत अन्य केही चलचित्रहरूसँग दर्शकको ठूलै आशा राखेका छन् ।

दर्पण छाँयाका प्रतिबिम्ब नभुलेको नेपाली दर्शकको हृदय कहिले हाकु काले त कहिले थिन्ले लुण्डुपको मर्मस्पर्शी यथार्थ अभिनयसँग लुटपुटिएको छ । अब त नेपाली चलचित्रले पनि करौडौँको व्यापार गर्न थालेको छ भने विदेशमा पनि नेपाली समुदायको मायाका कारणले बजार बिस्तार भएको छ ।

ग्ल्यामर र मारकाटबाट पर रहेर पनि चलचित्र उत्कृष्ट बन्न सक्छ भन्ने उदाहरण प्रशस्त स्थापित भएको छ । आरामदायी सिनेमा हलदेखि सहज बजार व्यवस्थापनसम्म अब नेपाली चलचित्र पनि एउटा मापदण्ड र अनुभवको उपज भएको छ । असोज १ गतेको यो राष्ट्रिय चलचित्र दिवसलाई अझ भव्य रूपमा मनाउन सकियोस्, चलचित्र बनाउने र माया गरेर हेरिदिने सबैलाई शुभकामना ।

यसवर्षको चलचित्र दिवसको दलान अलिक फरक कठघरामा उभिएको छ । सिनेमाको मुख्य गन्तव्य चलचित्रघरहरू कोरोना संक्रमणका कारणले बन्द छन् । अझै पूरै कहिले खुल्ने हुन् थाहा छैन ? यतिमात्र हैन, कोरोना त्रासमा समयमा रिलीज हुन नपाएका अनेकन सिनेमाहरू, कामको कमी भएका सिने जनशक्तिहरू अनि आगामी वर्षहरूको अन्यौल पनि उस्तै छ ।

यस वर्ष विश्वभरिका सिने जगतलाई धैर्य अनि प्रतीक्षाको खाँचो छ । अनि खाँचो छ, थोरै आशा र उर्जाको । शीघ्र सबै कुरा सामान्य होस् । क्यामराको लेन्स खुलोस् । लाइटका बत्तीहरू बलुन् । एक्सन र कट सुनिन–देख्न पाइयोस् । हामीहरू सिनेमाघरमा फेरि जान हतारमा छौं । हामीलाई हँसाउने, रुवाउने र समाजको चित्र दुरुस्तै देखाउने सिनेमाको खाँचो छ ।
हामी छिटै सिनेमा हलमा गएर नेपाली चलचित्र हेर्न चाहन्छौं । संवाद र चरित्रसँगै हाँस्न, रुन अनि भुल्न चाहन्छौं । हामीलाई समाजको वास्तविक चित्रण देखाउने अनि भावनामा बगाउने चलचित्रहरूको खोजी छ । सबै कुरा शीघ्र सामान्य हुनेछ ।
क्यामरा र पर्दा दुर्वतर्फ लक्षिणको बनोस्

समाजको सही दृश्य अनि संवाद चलचित्रमा हृदस्पर्श गर्ने गरी आओस्

नेपाली चलचित्रलाई माया गरौँ

राष्ट्रिय विज्ञान दिवस


विज्ञान सिद्धान्तसहितको यन्त्र हो । यसले मानिसको दैनिक जीवन सरल बनाइरहेको हुन्छ । तर संस्कृति जीवन हो । यसले मानिस र समाजलाई जीवन्त तुल्याइरहेको हुन्छ । यसकारण मुलुकको समृद्धिका लागि विज्ञान र संस्कृति साथ साथ लैजानु जरुरी छ । पूर्खाले आज्र्याको धरोहर मात्रै होइन मौलिक विज्ञान, प्रविधि र संस्कृति बचाइराख्न आवश्यक छ ।

संस्कृति मानिसलाई अनुशासित र मर्यादित बनाउने जीवित कला हो । आधारभूत शिक्षाले दिन नसकेका कतिपय प्रकृति–प्रदत्त शिक्षण विधि संस्कृतिले सिकाइरहेको हुन्छ । संस्कृतिभित्रको विज्ञानको पाटो वा वैज्ञानिकता केलाउन नसक्नु अलग कुरा हो ।

आधुनिक विज्ञानले प्राविधिक पाटोलाई इंगित गराइरहेको हुन्छ । विज्ञानले मानिसलाई उपकरण वा यन्त्रजनित त बनाउला संस्कृतिले बराबर मूल्य र पहिचान दिन चाहिँ सक्दैन । अतः हाम्रो संस्कृति सापेक्ष मूल्य र पहिचान खोज्न र त्यसका लागि भूमिका निर्वाह गर्नु यो अभियानको एउटा अंश हो ।

सन्दर्भः राष्ट्रिय विज्ञान दिवस
वि.स. २०७० असोज १ देखि सरकारले राष्ट्रिय विज्ञान दिवस मनाउन थालेको हो । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा गठित संयुक्त सरकारले वि.सं. २०६९ मा निर्णय गरी विसं २०७० देखि राष्ट्रिय विज्ञान दिवस मनाउन थालिएको हो ।

यो दिवसका केही उद्देश्य निर्दिष्ट छन् । जस्तै, देशका सबै वर्ग, समुदाय तथा पेशागत क्षेत्रका व्यक्ति तथा संस्थालाई विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान पुर्याउने गरी परिचालन गर्ने तथा विज्ञान तथा प्रविधि विषयमा जनचेतना बढाउनु हो ।

यस्तै नीति निर्मातादेखि तल्लो तहका जनतासम्म यो प्रकृयामा सक्रिय भूमिका निभाउने अवस्था सिर्जना गर्ने र यसका लागि सचेतनामूलक र अभियानमुखी काम गर्ने । यही सन्दर्भमा ‘समृद्धिका लागि विज्ञान–संस्कृति’ कार्यक्रम परिकल्पना गरिएको हो ।

कार्यक्रम किन ?
‘समृद्ध नेपाल, सुखी नेपाली’ नेपाल सरकारले तय गरेको नारा हो । यही सुन्दर लक्ष्य पूरा गर्न सरकार लागिपरेको देखिन्छ । त्यो समृद्धि हासिल गर्न सरकारले विज्ञान तथा प्रविधिको क्षेत्रमा कम्तीमा कूल ग्राहस्थ उत्पादनको १ प्रतिशत लगानी गर्नुपर्ने देखिन्छ । भलै यो लक्ष्यमा सरकारको यात्रा सहज देखिँदैन । तर केही ठोस पहलकदमी उपेक्षा गरिहाल्न मिल्ने छैनन् ।

विश्व बैंकका अनुसार, चीनले सन् १९९६ मा कूल लगानीको शून्य दशमलव ५६ प्रतिशत लगानी गरेको थियो । सन् २०१५ आइपुग्दा यो लगानी बढेर २ दशमलव ०७ प्रतिशत भयो । तथ्यांक भन्छ, चीनका दश लाख मानिसमा १ हजार १ सय १३ जनशक्ति अनुसन्धानकर्ता छन् ।

भारतले १९९६ देखि २०१५ मा लगानी अनुपातलाई कम्तीमा शून्य दशमलव ६३ प्रतिशत कायम राख्न सफल भयो । युनेस्कोका अनुसार, पछिल्लो समय भारतले कुल ग्राहस्थ्य उत्पादनको ० दशमलव ८ प्रतिशतसम्म कायम गरेको छ । भारतमा १० लाखमा १ सय ५६ जना अनुसन्धानकर्मी छन् ।

विकसित देश अमेरिकाले २ दशमलव ७९ प्रतिशत, जर्मनीले २ दशमलव १३ प्रतिशत लगानी गर्दै आएको छ । पश्चिमालाई उछिन्दै उत्तर कोरियाले कुल ग्राहस्थको ४ दशमलव २३ प्रतिशत लगानी कायम गरेको पाइन्छ ।

नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान, नास्टले वि.सं.०६६–०६७ मा गरेको विज्ञान र प्रविधिको अवस्था सर्भेक्षण अनुसार, नेपाल सरकारले कूल ग्रार्हस्थ उत्पादनको ० दशमलव ३८ प्रतिशत लगानी गरेको छ । विज्ञहरू यसलाई १ प्रतिशत कायम गर्न सुझाव दिँदै आएका छन् ।

कति उपलब्धि ?
सन् १९१८ मा त्रिचन्द्र कलेजबाट नेपालमा विज्ञान प्रविधिको आधुनिक शिक्षा संस्थागत रूपमा शुरू भयो । त्यसको ३१ वर्षपछि विश्वविद्यालय स्थापना भयो । यसपछि शिक्षा र अनुसन्धान दुबैमा विविधता संस्थागत भयो । विज्ञान तथा प्रविधि, चिकित्साशास्त्र, कृषि तथा पशु विज्ञान, वन विज्ञान, इञ्जिनीयरिङ, समाजविज्ञान, भूगर्भशास्त्र मानवशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र, कानुन तथा मानविकी लगायतका संकाय र विषयगत विधामा त्रिविले निभाएको भूमिका उल्लेखनीय छ ।

उपलब्धिका फेहरिस्त माग्ने हो भने सरकारी अधिकारीहरूले हालसम्म अन्तर्राष्ट्रिय सम्बन्ध, जनशक्ति उत्पादन (पीएचडी) लगायतले अनुसन्धान र प्रविधि विकासमा टेवा पुगेको बताउँदै आएका छन् । सन् २०१३–१४ सम्म त्रिविले ६ लाख ४ हजार ४ सय ३७ जना विद्यार्थी विभिन्न शैक्षिक तहमा सामेल भएको नास्टको सर्वेक्षणले देखाएको छ ।

सन् १९७७ मा व्यावहारिक विज्ञान अनुसन्धान केन्द्र रिकास्ट स्थापना भयो । त्यसको ५ वर्षमा वैज्ञानिक अनुसन्धानलाई सन् १९८२ मा नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, रोनास्ट (हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान) स्थापना भयो । सन् १९९५ मा छुट्टै विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय समेत बन्यो । हाल शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयको रूपमा गाँभिएको उच्चसरकारी संयन्त्रको गति र उपलब्धि केलाउने काम पछि होला । कम्तीमा ‘छ’ त भन्न पाएका छौँ ।

वैज्ञानिक संस्था
नास्टले वि सं ०६६–०६७ मा गरेको विज्ञान र प्रविधिको अवस्था सर्भेक्षण अनुसार नेपालमा ३ सय ३० वटा वैज्ञानिक संस्था छन् । यसमध्ये १ सय ४४ सरकारी, ४४ वटा उच्च शैक्षिक, २३ नीजि तथा गैरनाफामूलक सस्था रहेछन् । बाँकी ३ वटा निजी र ३ वटा अन्य भएको उल्लेख छ । तर विज्ञान र प्रविधिको अनुसन्धान र विकासमा हाम्रो हैसियत र स्थान कहाँ छ ? सम्भवतः यो प्रश्नले सबैलाई पोल्छ । पोल्नैपर्छ ।

सबै अनुसन्धानमा तल्लिन
उक्त सर्भे रिपोर्टकै आधारमा १८ प्रतिशत संस्था अनुसन्धान र विकासमा लागेको देखिन्छ । ५ प्रतिशतले नीति निर्माणमा सहयोग गरेको उल्लेख गर्छन् । टाढा नगइकन भन्दा ती सस्था विभाग, मन्त्रालय र कर्मचारी नै हुन् भन्दा हुन्छ । साँच्चै निजी क्षेत्रको अध्ययन अनुसन्धानलाई सरकारी संयन्त्रले सहायक सहयोगीका रूपमा लिएको छ वा नीति तथा कार्यक्रममा बाह्य क्षेत्रको प्रभावकारी उपस्थिति हामीले स्वीकार गरेका छौँ ? यो प्रश्न पनि कमजोर छैन ।

अनुसन्धानको नतिजा
विज्ञान र प्रविधिको अवस्था सर्भेक्षण अनुसार, ५५ प्रतिशत अनुसन्धानको नतिजा प्रकाशन हुने गरेको उल्लेख छ । ४५ प्रतिशतले वैज्ञानिक अनुसन्धानका प्रतिवेदन प्रकाशन नै गरेको पाइँदैन । अन्य संस्थाको तुलनामा अधिकांश सरकारी संस्था वैज्ञानिक अनुसन्धानमा लागेको पाइन्छ । १५ वटा सरकारी वैज्ञानिक संस्थाको बजेटका आधारमा ० दशमलव ३१ प्रतिशत कूल ग्राहस्थ उत्पादन अनुरूप छु्ट्याएको विज्ञान र प्रविधिको अवस्था सर्भेक्षणको रिपोटमा उल्लेख छ ।

अनुसन्धानमा सरकारले गरेको लगानीको उपलब्धिको मापन पनि अर्को रहस्य होला । विज्ञहरू भने अनुसन्धान भनेको विश्वविद्यालयमा गर्दा खर्च कम र उपलब्धि ज्यादा हुने बताउँछन् । तर विज्ञहरूको मत हामीकहाँ लागू हुन्छ वा हुँदैन वा किन हुँदैन त्यसको लेखाजोखा विज्ञहरूले नै गरेका होलान् ।

विद्यावारिधि
विज्ञान प्रविधिको विभिन्न विधामा १ हजार ६८ जनाले विद्यावारिधि गरेको तथ्यांक छ । सबैभन्दा बढी संख्यामा पीएचडी कृषि विज्ञानमा गरेका छन् । त्यसलाई पछ्याउँदै इन्जिनियरिङमा २ सय १३ जनाले पीएडी गरेका छन् । ५ सय ५९ बाम्हण, ३ सय ५८ आदिवासी जनजाती, १ सय २९ मधेसी र ८ दलित छन् । पीएचडी गर्नेमा १० प्रतिशत महिला छन् भने ९० प्रतिशत पुरुष छन् ।

मानवस्रोत साधन उत्पादन
विज्ञान र प्रविधिको अवस्था सर्भेक्षण अनुसार सन् १९९५ देखि २००८ सम्मको शैक्षिक जनशक्ति केलाएका छन् । जसबाट सन् २०१० सम्ममा विभिन्न विधाका ४४ हजार ४४ जना जनशक्ति उत्पादन भएका थिए । वि.सं. २०५१ देखि २०६६ सम्ममा सीटीभीटीबाट उत्पादित कूल जनशक्ति प्रविधिक एसएलसी र डिप्लोमामा क्रमशः ४१ हजार ४१ र ४ हजार २ सय ३४ गरी ४५ हजार २ सय ७९ छन् ।

रोजगारी
रोजगारी सबैभन्दा बढी २४ हजार ५ सय ८० सरकारी संस्थामा कार्यरत छन् । उच्च शैक्षिक संस्थामा ६ हजार ८ सय ५२ र त्यसलाई पछ्याउँदै नीजि गैरसरकारी संस्था ६ हजार ६ सय ३९ जना छन् । कूल ४१ हजार ९ सय ११ ले काम गरिरहेका छन् ।

अनुसन्धानका इकाइ
देशभरका ४९ ठूला कारखानामध्ये ६१ प्रतिशतले आफ्नो छुट्टै अनुसन्धान इकाइ व्यवस्था गरेको देखिन्छ । बाँकी ३९ प्रतिशतमा अनुसन्धान इकाइ छैन वा भेटिन्न । यो हिसाबमा नेपालको औद्योगिक अनुसन्धानको बजार अपेक्षाकृत शक्तिशाली र व्यापक हुनुपर्ने पनि लाग्दो हो, लाग्छ । अनुभूत गर्ने कुरा अलग छँदैछ ।

प्रविधिको सुविधा
विज्ञान र प्रविधिको अवस्था सर्भेक्षण अनुसार ७४ प्रतिशत सरकारी संस्थामा प्रयाप्त प्रविधि नै छैन । प्रविधि नभएपछि तत्अनुकूल जनशक्तिको अपेक्षा पनि स्वभाविक हुँदैन । सरकारी सेवाको गति र रफ्तार मापन गर्न अब टाढा नजाऔं । निजी तथा गैरनाफामूलक संस्थाको हकमा पनि ७१ प्रतिशतसँग प्रयाप्त उपकरणको अभाव छ । अब तिनै गैरसरकारी अड्डा अपारदर्शी प्रतिवेदन बनाएर आफूलाई गतिवान र प्रविधिमैत्री दावी गर्छन् । हामी हल्लाबोलहरूबाट कतिको सावधान छौँ, सवाल गहन छ ।

चुनौतीहरू
– स्वयंसेवकीय रूपमा वैज्ञानिक गतिविधिमा युवालाई जागृत गराउनु
– मुलुकमा विज्ञान शिक्षा शुरूवाताको एक सय वर्षको अवधिमा ३ सय ३० वटा वैज्ञानिक संस्था कार्यान्वयन छन् । ती वैज्ञानिक संस्थाबाट अनुसन्धान तथा विकासको संस्थागत विकास हुन सकेको देखिँदैन ।
– संस्थागत विकास र पारदर्शिता अर्को अहम चुनौती हो ।
– परिणाममुखी वैज्ञानिक संस्कृति निर्माण गर्नुपर्नेछ । आर्थिक पक्ष सवल बनाउन तथा वैज्ञानिक अनुसन्धानलाई बढवा दिन राज्यको मुख ताक्ने परम्परा तोड्न निजी क्षेत्रसँग सहकार्य गरी ‘राष्ट्रिय विज्ञान अनुसन्धान कोष’ निर्माण गर्न पर्नेछ ।
– उच्च शिक्षाको नाममा विज्ञान–प्रविधि अध्ययन गर्ने जमात पलायनवादी सोचबाट आक्रान्त छ । पलायनवादी सोचलाई रोक्न र विदेशमा रहेका नेपाली वैज्ञानिकलाई स्वदेशमा भित्र्याउने वातावरण तयार गर्नपर्नेछ ।
हामी चुक्यौ कहाँ
– लक्ष्यसहितको स्पष्ट खाका नहुनु ।
– प्राचीन प्रविधिलाई संस्थागत विकास गरी पाठयक्रम तथा उत्पादनमा ध्यान दिन नसक्नु ।
– राष्ट्रको आवश्यकताभन्दा फरक धारमा अनुसन्धान गरिनु ।
– विषयबस्तुमा प्राचीन विज्ञान तथा व्यवहारिक प्रविधिमा अनुसन्धान गर्ने पाठ्यक्रम समाविष्ट नगर्नु ।
– विज्ञानको उच्चतम प्रयोग नीतिका लागि राष्ट्रिय विज्ञान नीतिको पालना नगर्नु ।
– वैज्ञानिक संस्थाहरूबीच समन्वयको अभाव हुनु ।
– स्वदेशी तथा विदेशी दक्ष जनशक्तिको मुल्यांकन कमजोर हुनु ।
– निजी क्षेत्रलाई अनुसन्धान र विकासमा लगानी गर्न उत्प्रेरित गर्न नसक्नु ।
– अनुसन्धानका लगानीलाई प्राथकिमता नदिइनु ।

अबको बाटो
अनुसन्धान तथा विकासमा कूल ग्राहस्थ उत्पादनको १ प्रतिशत लगानी गर्ने वातावरण तयार गरौँ ।

खानीको उत्खनन् गरौँ । अनुसन्धान निर्देशित बजार, उद्योगधन्दालाई प्रोत्साहित गरौँ । विज्ञान प्रविधिमा थप रोजगारीको सिर्जना गरौँ । विश्वविद्यालयबाट सेवानिवृत प्राध्यापक भनेका ‘थिंक–ट्यांक’ हुन् । उनीहरूको अनुभव युवामा हस्तान्तरण गर्ने संस्कृति निमार्ण गरौँ ।

वैज्ञानिक समुदाय समाजको द्रष्टा हुन् । युवा वैज्ञानिकलाई अनुसन्धानको वातावरण तयार गरौँ । स्वयंसेवकीय रूपमा युवा वैज्ञानिकलाई काम गर्ने वातावरण निर्माण गरौँ । विज्ञान तथा प्रविधि विकासमा युवालाई अगाडि बढाऔं । नेपालका उच्च हिमाली भेगमा खगोलीय केन्द्रको विकास गरी पर्यटकीय गन्तव्य तथा अनुसन्धान गरौँ । हाम्रा जंगल र वनस्पतिमा हाम्रै एकाधिकार राखौँ ।

सम्पदा संरक्षण गरौँ । सभ्य संस्कृति निमाण गरौँ । हाम्रो कला विज्ञानका आकर्षण हुन् । संस्कृति हाम्रो पहिचान हो । आधुनिक विज्ञानको नाममा यिनलाई नमासौँ । चिन्तन बदलौँ । विज्ञानको विकास गरौँ । संस्कृतिभित्रको विज्ञान बुझौँ, बुझाऔँ । वैदिक गणित तथा आधुनिक गणित सिकौँ । परम्परागत प्रविधि अध्यापन गर्ने वातावरण तयार गरौँ । परम्परागत प्रविधिको जगेर्ना तथा स्तरोन्नति गरौँ ।

सात्विक भोजन खाऔँ । शरीर शुद्ध राख्ने विधि अपनाऔं, निरोगी बनौँ । नियमित व्यायाम गरौँ । औषधि खानबाट बचौँ ।

आग्रहकर्ता
नेपाल विज्ञान पत्रकार मञ्च, नेपाल एस्ट्रोनोमिकल सोसाइटी, नेपाल भौतिक विज्ञान समाज, नेपाल भौगर्भिक समाज, नेपाल गणित समाज, नेपाल केमिकल सोसाइटी, साइन्स टिचर एशोसियसन अफ् नेपाल, नेपाल जैविक विविधता अनुसन्धान समाज, रोबटिक्स क्लब, बृहस्पति विद्या सदन, बायोटेक्नोलोजी सोसाइटी अफ् नेपाल, भाषा तथा सम्पदा संरक्षण परिषद् नेपाल, इन्टरडिसीप्लिनरी रिसर्च इन्स्टिच्यूट फर सस्टेनेबिलिटी, आरपी फाउण्डेसन, नेपाल इन्फरमेसन सेक्युरिटी सेन्टर, न्युज एजेन्सी नेपालसँगको सहकार्यमा रिभोसाइन्स मिडिया ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.