पञ्चाङ्गको एघारौं तिथिलाई एकादशी भनिन्छ । पूर्णिमापछि र औंसीपछि एकादशी महिनाको दुई पटक आउँछ । पूर्णिमा पछिको एकादशीलाई कृष्ण पक्ष एकादशी र औंसीपछिको एकादशीलाई शुक्ल पक्ष एकादशी भनिन्छ । असोज कृष्णपक्षमा पर्ने एकादशीलाई इन्दिरा एकादशी भनिन्छ । इन्दिरा एकादशीका दिन विष्णुरुप शालिग्रामलाई पञ्चामृतले स्थान गराई पूजा गरी ब्रत बस्ने चलन रहेको छ । इन्दिरा एकादशीको ब्रत लिनाले समस्त पापहरुको नष्ट हुने विश्वासरहेको छ । हिन्दू परम्परा अनुसार सोह्रश्राद्ध भित्रको एकादशी भएकाले इन्दिरा एकादशी ब्रत लिंदा समस्त पित्रीहरुको नर्कबाट उद्दार हुन्छ । इन्दिरा एकादशीको कथा सुन्नाले यज्ञादि फल मिले सरह हुनेछ ।
पौराणिक कथन अनुसार सत्ययुगमा महिष्मति शहरमा इन्द्रसेन नामक एक प्रतापी राजाको राज्य थियो । ति राजा पुत्रपुत्री सहित धनसम्पतिले भरिपूर्ण र शत्रुहरुसंगअपराजित थिए । एकदिन इन्द्रसेन राजाको राज्यसभा चलिरहेको समयमा महर्षि नारद ऋषिकोआगमन भयो । नारदको आउनु भएपछि इन्द्रसेनले खुसी हुँदै आसन गराए । नारद पनि इन्द्रसेनको भक्तिले प्रसन्न भए । नारदले आफुले एकदिन यमलोक पुगेका बेला यमराजको राज्य सभामा इन्द्रसेनका पितालाई भेटेको र उनैको सन्देश लिएर आएको बताएपछि धर्म, ज्ञान र दानले भरिपूर्ण आफ्ना पिता स्वर्गलोकको साटो कसरी यमलोकमा पुगे भनेर प्रतापी राजा इन्द्रसेन आश्चर्चचकित भए । नारदले त्यसको सविस्तार बताईदिए । इन्द्रसेनका पिताले पितृपक्षको इन्दिरा एकादशीको ब्रतलाई पुरा गर्न नसकि बिचैमा छाडेकाकारण यमलोकको बास भएको नारदले बताईदिए ।
नारदले महिष्पतिका राजा इन्द्रसेनलाई इन्दिरा एकादशीको ब्रत निष्ठापूर्वक सम्पन्न गरे पिताको पाप नष्ट भई स्वर्गप्रस्थान हुने बताईदिए । नारद ऋषिले त्यति बताईदिएपछि सोहि अनुसार इन्द्रसेनले आश्विन कृष्णपक्षको इन्दिरा एकादशीको ब्रत बसी ब्रतको समापनमा ब्राम्हण पुरोहितहरुलाई बोलाई भोजन गराएर आफ्ना पितृको पाप हरण गरिदिए र स्वयंपनि पितृ धर्म प्राप्त गरि सुखशान्तिले राज्यचलाउन समक्ष भए ।यहि मान्यता अनुसार नै यस एकादशीकोब्रतपछि अहिले पनि ब्राम्हणहरुलाई भोजन गराउने चलन रहेको छ । कतिपय समुदायमा भने यस एकादशीका दिन धूप दिप सहितबिष्णु भगवानको पूजा गरी गाईलाई फल आदि खुवाउँदछन्। इन्दिरा एकादशीको ब्रतका दिन नसुति ब्रत बस्नुपर्ने मान्यता रहेको छ । त्यहि भएर मानिसहरु एकादशी ब्रतपछि दिनभर भजन किर्तन गरेर दिन विताउँछन् ।
यसका साथै एकादशी तिथीमा श्राद्ध परेका पितृहरुको श्राद्ध पनि आज गरिन्छ, सकल पितृहरुको मोक्षको कामना, बैतर्नी नदिको कृपा र सार सदैब रहोस् ।
एकादशी श्राद्ध
सोह्र श्राद्धका तिथीहरु क्रमश अघि बढ्दैछन्, पछिल्ला दुई वर्ष देखि कोरोना संक्रमण जोखिमले असाध्यै जोखिमपूर्ण बनाएको व्रत, तिर्थ, श्राद्ध, मेला लगायतका कुराहरु यस वर्ष वाट अलिक खुकुला हुँदैछन् ।
सोह्र शाद्धको प्रारम्भसंगै अबका सकल पक्षहरु पितृ पक्षका स्वरुपमा आँउदै जानेछन् । पृथ्वी र स्वर्गको बिचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरुको मोक्षको कामना, सकल पितृहरुले बैतर्नी नदि तर्न पाउन अनि पितृप्रेम कायम रहोस् । पितृहरुको आर्शिवाद कायम रहोस्, सदिक्षा र शुभेच्छा कायम रहोस्, हामी आजको स्वरुपमा पितृहरुको अवशेष र पितृहरुकै स्वरुप हौं, हैन र ?
प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्डदान गर्नु पर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा ब्राह्मण लगायत पूजा तोकिएको समय अघि नै गर्न सकिनेछ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।
वैदिक सनातन संस्करमा सामान्यतया पितृकर्म अर्थात श्राद्ध दुईपटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरुको देहावसान भएको तिथीमा र अर्को श्राद्ध चाँही सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस बर्षको सोह्र श्राद्धको शुरुवातसंगै हरेक परीवारमा शान्ति, खुशियाली कायम भइरहोस्, पितृहरुको आशिष सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरुको बैकुण्ठ वास होस्
एकादशी श्राद्ध तिथीमा बैकुण्ठवास हुनुभएका पितृहरुको मोक्षको कामना ।
विश्व अहिंसा दिवस
अक्टुबर २, अर्थात विश्व अहिंसा दिवस, विश्वमै अहिंसाकालागि असाध्यै मानिएका नेता महात्मा गान्धिको आज जन्मदिन पनि हो । आजभोली विश्वमा हिंसाका घटनाहरु दिनानुदिन बढ्दै गएको छ, हिंसात्मक कार्यहरुलाई संस्थागत रुपमा अभ्यास गर्ने गिरोहहरु संसारका हरेक ठाउँहरुमा सक्रिय छन् । अर्कोतर्फ हिंसाका विरुद्ध वोल्न, लेख्न अनि अभिब्यक्त गर्नसक्ने आवाजहरुको कमीका कारण सृजना भएको मौनताले गर्दा पनि हिंसात्मक मानसिकताका जमातहरूको मनोबल बढाउन सहयोग गरेको छ ।
मानव समाजको शुरुवात देखिनै द्वन्द्व भइरहेको छ । विभिन्न नाममा र विभिन्न परिवेशका समाजहरूबिचको वैचारीक असहमतीबाट द्वन्द्वको सृजना हुनु सामान्य हो तथापि उक्त द्वन्द्वको उचित ब्यबस्थापन गर्न नसक्दा यहाँ हिंसा बढ्दै गइरहेको छ । अहिंसा दिवसको औचित्य त्यतिबेला अझ गज्जब हुन्छ जतिबेला हामीले अब आउने पुस्तालाई द्वन्द्व अनि असहमतीलाई शान्तीपूर्वक समाधान गर्ने तवरहरु सिकाउन सक्दछौ, मुस्कान र सदाचारको महत्व सिकाउन सक्दछौ अनि बदला र विद्रोहलार्इ धेरैपर धकेलेर मानवताको अर्थ हरेक मन मनमा स्थापित गर्न संभव पार्दछौ ।
अमेरिकाको न्यूयोर्कस्थित् संयूक्त राष्ट्रसंघको हेडक्वाटर अगाडि कलाकार कार्ल प्रेडरिक रुटेसवार्डले बनाएको एउटा कृति छ जस्मा बन्दुकको नाललाई बटारेर बाँधिएको स्वरूपमा राखिएको छ र यो कला हिंसाविरूद्ध घोचकको रूपमा विश्वप्रसिद्ध छ ।
एउटी आमाले छोराछोरी राती नसुत्दा 'भूत आएर तँलाई खान्छ, छिट्टै सुत' भनेर सुताउँदछिन र केटाकेटी सुत्दछन् तर उक्त भूत अनि त्यसले आफुमाथी गर्नसक्ने संभावित हिंसाको भयलार्इ परिकल्पना गर्दै सुत्दछ । एकदिन आफु ठूलो भएर उक्त भूतलाई ठिक पारिदिने महत्वाकांक्षाकासाथ निदाएको उस्को मानसपटलमा हिंसाको पहिलो पाठ शायद त्यहिबेला नै नकारात्मक रुपमा बस्न जान्छ । 'को खाई को खाई गराएर खुवाँउदा, उ त्यो फलानालाई हैन म त मेरै बावुलाई या नानीलाई खुवाउँछु' भन्दा बाल मानसपटलमा आफूकेन्द्रित र अरु विरोधी भावनाहरु वृद्धी हुन्छ र हिंसाको जड यस्तै सामान्य लाग्नसक्ने कुराहरूमा छ । सँगै वाडेर खानसक्ने अनि भयहीन र निडर पुस्ताले मात्र अहिंसाको वकालत गर्न सक्दछन् ।
अहिंसावादी नेता महात्मा गान्धिले भनेकाछन्, "एउटा हिंसारहित समाजको परिकल्पना त्यतिबेलामात्र संभव छ जतिबेला हामीले हाम्रो बालबालिकाहरुलाई अहिंसाको महत्व बुझाउन सक्छौं ।" यूवा पुस्तालाई पनि अहिंसा र प्रेममय विचारतर्फ उत्प्रेरित गर्न जरुरी छ । आउनुहोस् आज हामी जहाँ छौं त्यहींबाट, चाहे विकसित देशमा छौं या अविकसित ठाउँमा छौ, मकै भटमास चपाइरहेका छौं या महँगो रेष्टुरेन्टमा बसेर भोजन गर्दैछौं? परिकल्पना गरौं, यदि हाम्रो वरिपरि हिंसाजनक कार्य र भावना नभइदिने भए !
जग्गाकोलागि दाजू भाइको मारकाट, राजनीतिक पार्टीकालागि कार्यकर्ताको घम्साघम्सि, धर्मका नाममा भएका घटनाहरु, आतकंवादी श्रृंखलाहरु अनि बमवारुदका घीनलाग्दा कथाहरु नभइदिने हो भने हिंसारहित समाजमा भयहीन हाँसोका खित्काहरु कति खुलेर गुञ्जिने थिए होलान !
कस्तो हुन्थ्यो यदि सिरिया र अफगानिस्तानका गल्लीहरुमा फेरि अहिंसा, क्षमा अनि समानताका शान्तिसंकेतयुक्त विगुल शुरुवात हुने हो भने ? संसारबाट रङ्ग, राष्ट्रियता, धर्म, भाषा, लवज अनि अन्य थुप्रै कुराहरुका आधारमा गरिने हिंसा नहभइदिने हो भने... अमेरीकि स्वतन्त्र संग्रामका महासेनानी मार्टिन लुथर किँग जुनियरले परिकल्पना गर्दै भनेका छन्, "काला, गोरा, खैरा सबैजना एउटै टेबलमा बसेर खाना खाने दिन, हाँसोको दिन अनि समानताको दिन...।"
परिकल्पना गरौं न, एउटा हिंसारहीत शान्त संसार जहाँ कसैलाई कोहीबाट खतरा नहोस्, सबैको पीडा सबैले बुझुन अनि माया र सद्भावका अणुहरु हरेक मानव हृदयमा रहुन् । जहाँ कसैको कोही प्रति रीसराग नहोस्, वैमनस्यता नहोस् क्षमा र सम्मान होस । खै! किन हो ? गल्ती गरेतापनि हामी कसैसंग झुकेर माफी माग्न पर्दा आफूलाई सानो सम्झिन्छौं अनि अात्मसम्मानमाा ठेंस पुगेको महशुस गर्दछौं । हरेक कदमैपिच्छे मायाको साटो रिसराग र बदलाको भावना बोकेर हिड्दछौं, सबैलाई सबैसंग प्रतिस्पर्धा छ, यहाँ हतार छ अर्कालाई धकेलेर अनि लडाएरै भएपनि अगाडी बढ्ने र यस्ता क्रियाकलापहरुले हिंसालाई प्रश्रय दिइरहेको छ । वास्तवमा माफी माग्नु कुनै लज्जाको विषय हैन, झगडा गर्न भन्दा माफी माग्नलाई ठूलो साहस र आँट चाहिन्छ । गल्ति सबैबाट हुन्छ, हामीले आफ्नो गल्तिलाई स्विकार गरेर माफिको बाटो अपनायौं भनेमात्र पनि हिंसा हाम्रो जीवन र समाजाबाट बाहिरीन सक्छ । द्वन्द्वहरु बन्दुकबाट हैन वचनबाट समाधान गरिनुपर्दछ ।
आज विश्व अहिंसा दिवस हो, वुद्धको देश नेपाल अनि हामी नेपालीको अहिंसाप्रति विशेष पहिचान छ, हामी धेरै सरल, शान्त अनि स्वतन्त्र प्रकृतीका छौं। संसारको छाना सगरमाथा हाम्रै माटोमा अटल उभीइरहेको छ, सगरमाथाको टुप्पोदेखि महोत्तरी जिल्लाको मुसहरनिया सम्म, मेचीको पुलदेखि महाकालीको छालसम्म अहिंसाका सन्देशहरुको विजारोपण गर्न जरुरी छ र यहि शान्तिको अकुंरणलाई विश्वसामु पुर्याउन पनि जरुरी छ । चाहे गीता होस् या कुरान, चाहे वाइबल होस या त्रिपिटक या अन्य कुनैपनि धार्मिक ग्रन्थ हुन, हिंसाले कसैको भलो गर्देन भनेर उल्लेख गरीएको छ । अब बेला आएको छ मुस्कानको बाटो हिंड्ने, "अहिंसा परमो धरम" अर्थात हिंसा नगर्नुनै सबैभन्दा ठूलो धर्म हो । मुस्कुराउन नछोडनुहोला, हिंसात्मक भावहरुलाई मनबाट हटाउनुहोला । निडर भएर हिंसाका विरुद्ध बोल्न पनि नडराउनुहोला है ।
जय होस सबैको, सबैको मङ्गल होस
----
हाम्रो पात्रोकालागी सुयोग ढकालले तयार गर्नुभएको
Liked by: