कामदा एकादशीको चर्चा महाभारतको परिवेशबाट उक्काउन चाहन्छु ।
एकदिन राजा युधिष्ठिरले भगवान कृष्णसँग सोधेँ, ‘हे कृष्ण, चैत्र शुक्ल पक्षको तिथिमा पर्ने कामदा एकादशीका बारेमा वृत्तान्त बताइदिनुहोस् ।’
युधिष्ठिरको प्रश्न सुनेपछि भगवान कृष्ण भन्नुहुन्छ, ‘एक दिन रत्नपुर नामको सुन्दर ठाउँ जहाँ एउटा विशाल सुनको महल थियो । त्यही ठाउँमा एउटा नाग लोक थियो, जहाँ भयङ्कर नागहरु बस्दथे । त्यो सुनको महलमा त्यसबेला क्रुर पुण्डरिक नामक राजाले राज गर्थे । राजा पुण्डरिकको सभामा केही गन्धर्वले गाउँथे भने केही अप्सराले नृत्य गर्थे । त्यही गन्धर्व र अप्सराको समूहमा एक प्रेमिल जोडी ललित र ललिताले आफ्नो प्रस्तुति देखाउँथे । ललित र ललिताको प्रेम निक्कै चरम अवस्थामा थियो । तर, एकदिन गन्धर्व ललितले राजासामु आफ्नो गीत गाउँदै गर्दा आफ्नो प्रेमिका ललितालाई सम्झन पुग्दा आफ्नो सुर र ताल बिगार्न पुग्छन् । सभामा भएका नागहरुले ललितले आफ्नो प्रस्तुति बिगारेको कुरा राजासमक्ष सुनाइदिए । त्यसपछि क्रुर राजाले ललितलाई त्यो गल्तीका लागि राक्षस हुने सराप दिए । सराप पाएपछि ललितको अनुहारमा भयङ्कर परिवर्तन आयो । उनको रुप राक्षसमा परिवर्तन हुन थाल्यो । आफ्नो प्रेमीको त्यो बिकराल रुप देखेर दुखित ललिता एक दिन घुम्दै एकजना ऋषि कहाँ पुगिन् । त्यहाँ ललिताले ऋषिलाई आफूमा परेको समस्या ब्याख्या गरिन् । तिनै ऋषिले ललितालाई चैत्र शुक्ल पक्षको तिथिमा पर्ने कामदा एकादशीको व्रत बस्ने सल्लाह दिन्छन् ।
ललिताले चोखो नितो गरेर श्रद्धापूर्वक कामदा एकादशीको व्रत बस्छिन् । यसबाट कमाएको पुण्य आफ्नो प्रेमी ललितका लागि अर्पिन्छिन् । नभन्दै ललितको पिसाचरुपको नाश हुन्छ ।’
त्यही बेलादेखि कामदा एकादशीको महत्व रहन गएको हो ।
चैत्र शुक्ल पक्षको तिथिमा पर्ने एकादशीलाई कामदा एकादशी भनिन्छ । यस दिन चोखोे भएर श्रद्धापूर्वक व्रत बसेमा मानिसको इच्छा बमोजिम फल प्राप्त हुने धार्मिक मान्यता छ ।
विसं २०७७ सालमा परेको मलमासका कारण विसं २०७८ सालमा पनि पछिल्लो वर्षका तिथिहरु खप्टिने क्रममा कामदा एकादशी पनि बैशाखमा परेको हो । कामदा एकादशीमा सबैको भलो होस् ।
शुभकामना ।
विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवस
माथि प्रकाश होस्, बीचमा बस्तु होस् अनि छायाँ त बन्छ नै । हो, यसै छाँया अनि बस्तुको अवस्थितिलाई ध्यानमा राखेर विश्वभरि कागज अनि अन्य बस्तु, विचार अनि शब्दांशहरुको प्रतिलिपि या छायाँ लिपि बनाउने चलन छ । सामान्य भाषामा हामी कपी या फोटोकपी या जेरोक्स भन्दछौ । आज अप्रिल २३ का दिन विश्वले पुस्तक र प्रतिलिपि अधिकार दिवस मनाउँछ । आउनुहोस् हामी पनि यसै सेरोफेरोमा बात मारौं ।
सन् २०२१ मा कोरोना भाइरस संक्रमणको जोखिमबाट गुज्रिरहेको विश्वमा विश्व पुस्तक दिवसको नारा नै ुक्जबचभ ब कतयचथु अर्थात् ‘कथा बाँडौ’ भन्ने छ । कोभिड–१९ सँगै घरको पर्खालभित्र बस्नु परेको मानव समुदायको गज्जबको साथी भनेको पुस्तक र कथाहरु पनि हुन सक्छन् । आउँदा पुस्ताहरुलाई पनि कागजको स्नेहसँग हुर्काउन र पढ्ने र परिकल्पना गर्ने बानीसँग साक्षात्कार गर्न विश्व पुस्तक दिवसले पैरवी गर्छ ।
विश्व साहित्यमा २३ अप्रिल एउटा महत्वपूर्ण दिवस हो । सन् १६१६ मा आजकै दिन शेक्सपियर अनि गारसिलासो डेला भेगा जस्ता युगान्तकारी लेखक र साहित्यकारको मृत्यु भएको थियो ।
युनेस्कोले सन् १९९५ को आफ्नो साधारण सभाको वैठकमा अप्रिल २३ लाई विश्वभरिका लेखकलाई प्रेरित गर्न, लेखनलाई उत्साहित गर्न र लेखकहरुको सम्मानस्वरुप विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवस प्रस्ताव र स्वीकृत गरेको हो ।
कार्यालय अनि अध्ययन संकायहरु अघिल्तिर हुल देखिन्छन्, मानिसहरुको । अनि हुलहरु सामाजिक दुरी कायम गर्दै मास्कभित्रका अनुहारहरुमा देखिन्छ । यस्तै हुल छ, विदेश जाने लाइनमा भएकाहरुको । कामकाजीहरु अनि अन्य धेरै जनाको । कागजपत्रको फोटोकपी गर्न र यो कपी अर्थात् फोटोकपीको सहजता सँगै बढ्दै गएको छ वैचारिक अनि शब्दांश चोरी गर्ने क्रम पनि ।
फेसबुकका स्ट्याटस, विचार, लेख, कथा, कविता अनि नाटक चोर्ने क्रम सामान्य भइसकेको छ । तर एउटा लेखकका हेतुले तिनै विचारहरु मन्थनका लागि हाम्रो दिमागी लगानी र ती विचारप्रतिको हाम्रो स्वामित्व कपी–पेष्ट र फोटोकपी गर्ने चलनले ह्रास आउँदै गएको छ । पुस्तकको दायरालाई फराकिलो पार्ने हो भने कागजी अभिब्यक्तिलाई पुस्तकका रुपमा लिन सकिन्छ । किनभने पुस्तकको मोटाई, गोलाई, रंंग अनि कागजको गुणस्तर भन्दा पनि त्यसमा लेखिएको शब्द, विचार, भावना, तथ्य, प्रतिबिम्बको महत्व बढी हुन्छ ।
स्मरण गरौं, विश्वमै सर्वाधिक बिक्री भएका पुस्तकहरु पनि एक समयमा सादा कागजका सेता र सरल पाण्डुलिपि मात्र हुन् । लेखन एउटा ऐतिहासिक ब्यवसाय र समाज सेवाको स्वरुप हो । समाज जागरणको शिलास्तम्भ हो । बाल्मिकीदेखि वेद ब्याससम्म, शेक्सपियरदेखि वर्डस वर्थसम्म, म्याक्सिम गोर्कीदेखि चेखभसम्मका लेखकले समाजलाई समाजकै ऐना देखाइ दिएका हुन् ।
नेपाली परिवेशका युगकवि मोतीराम भट्टलाई आज सम्झना गर्न चाह्यौ । जो विना आदिकवि भानुभक्तका धेरै कृतिहरु हामीसम्म आइपुग्ने नै थिएनन् । उनको निस्वार्थ भाव र लेखक या सर्जकप्रतिको सम्मानले नै भानुभक्त आज भानुभक्तका कृति हामीबीच छन् । सर्जकलाई श्रृजनाको अधिकार दिनु नै आजको दिनको उद्देश्य हो । मूलभूत रुपमा कागजी, वैचारिक र अभिब्यक्तिका कुराहरु आजका दिनले सम्बोधन गर्छ ।
शब्द किन्ने वा चोर्ने नभइकन शब्दको सम्मान गर्न सिक्नुपर्छ । शब्द त केवल भावनाको प्रतिरुप हो । भावनाको किनबेच अक्षम्य र असम्भवप्रायः छ । सबैजना पाठकलाई नमन गर्दै सर्जकलाई सम्मान गर्छ, हाम्रो पात्रोले आजको दिन ।
कसैको विचार उद्धृत गरेर लेख्दैमा हामी साना हुँदैनौ । त्यसमाथि विश्व साहित्यका विभिन्न कृतिहरुलाई अनुवाद गर्दै आ–आफ्ना भाषामा उतार्न पनि एउटा कला हो ।
लेखकलाई साभार गर्दै अनुवाद गर्नुभन्दा पनि सोझै आफ्नै नाममा सर्जकको खाता खोल्नु चाहिँ अनुचित हो । र, अनि गैरकानुनी पनि । प्रतिलिपि अधिकार र विश्व पुस्तक दिवसले यिनै तथ्य र कानुनलाई याद गराउँछ ।
आजको दिन त्रिपक्षीय रुपमा दायित्व बोध गर्दै मनाइन्छ, प्रकाशक, बिक्रीकर्ता र पुस्तकालयहरु । यिनै तीन पक्षहरु नै मूलभूत रुपमा पुस्तक र पाठकबीचका सेतू हुन् ।
आजको दिन पठन, देखन अनि प्रतिलिपिको अधिकार र सीमाकाबारेमा विश्वभरि नै जानकारी गराइन्छ । पुस्तकहरु मानिसका अनन्य मित्रहरु हुन् । अनि पढ्ने चलन नघटोस् । पुस्तकालय अगाडिको पाठकको संख्या नघटोस्, अनि लेख्नेलाई लेखेर खान सक्ने र चिनिन सकिने वातावरण श्रृजना होस् ।
सुन्नेलाई सुनको माला, पढ्नेलाई फूलको माला
प्रतिलिपि अधिकार र पुस्तक दिवसको विश्वलाई शुभकामना
–––––
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: