कामिका एकादशी व्रत | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

कामिका एकादशी व्रत




कामिका एकादशी व्रत विशेष अडियो सामग्री

पवित्र महिना श्रावणको कृष्णपक्षको एकादशीमा स्वागत छ । आज ब्रह्मा बिवर्त पुराणका पानाहरू पल्टाउन चाहन्छौँ, यस वर्षको श्रावण कृष्ण एकादशी अर्थात् कामिका एकादशीको पावन अवसरमा । जस–जसले यो एकादशीको व्रतकथा भक्तिका साथ श्रवण गर्छन्, उसले बैकुण्ठ प्राप्त गर्छ भनी एकादशी महापुराणमा लेखिएको छ ।

युधिष्ठिरले कृष्णसँग प्रश्न गर्दै भनेको प्रसंग यहाँ छ, ‘हे, गोविन्ददेव कृपया गरेर मलाई कामिका एकादशीको व्रतामृत कथा बताईदिन आग्रह गर्दछु ।’

कृष्णको उत्तर यसप्रकार छ, ‘ओ हो, राजा युधिष्ठिर, सत्यवक्ता अनि महान साधु, अवश्य पनि म तपाईँलाई यस एकादशीबारे सविस्तार सुनाउनेछु । यसका व्रतबारे जसले सम्पूर्ण पापमोचन गरी मुक्ति पनि दिन्छ, आउनुहोस् म बताउँछु ।’

थोरै अर्को एउटा प्रसंग जोड्न चाहन्छौँ । यसै एकादशीबारे एकफेर नारद मुनीले श्रृष्टिकर्ता ब्रह्मालाई पनि सोधेको प्रसंग छ । हरेक एकादशीका आ–आफ्नै महत्व भएपनि शिवको महिना अनि कृषि कार्यको उत्सर्ग श्रावण कृष्णपक्षको एकादशी कामिकाको महत्व अलिक पृथक पनि छ । यस एकादशीमा व्रत लिनुको फल भने अश्वदान गरेझैँ हुने विश्वास गरिन्छ । अश्व अर्थात् घोडा जसको दान गरिने यज्ञ अश्वमेघ यज्ञ सबैभन्दा महान यज्ञका रुपमा मानिएको पाइन्छ । काशीको गंगामा प्रातकालीन डुबुल्की मारे भन्दा धेरै, नैमिश्रयण या पुस्करको जंगलमा तपस्या गरेभन्दा धेरै यस एकादशीको व्रतको फल रहने गर्छ । मानव हित अनि मोक्षका लागि यस एकादशीको महत्व वास्तवमै धेरै ठाउँमा वर्णन गरिएको पाइन्छ ।

सौर्य ग्रहणका दिन कुरुक्षेत्रमा स्नान गरेभन्दा धेरै, शालिग्रामको निवास रहेको काली–गण्डकी नदीमा स्नान गरेभन्दा धेरै, गोदावरी स्नान भन्दा धेरै, दुहुनो गाई र बाच्छी दान गरेभन्दा धेरै फल आजको एकादशीको व्रत लिँदा हुने धार्मिक मान्यता छ ।

जीवनमा सबैभन्दा ठूलो रोग र बिजाई त्यतिबेला हुन्छ, जब हामीले आफूले गरेको गल्ती स्वीकार गर्दैनौँ । आफूभित्रै आफैसँग लडाईँ गर्दछौँ । अनि पाखण्डी स्वाभिमानको हाँसो हाँस्छौँ । यस एकादशीले बडो चित्ताकर्षक रूपमा आफ्नो पाप या गल्ती स्वीकार गरेर भक्ति–मार्गका निम्ति कामिका एकादशीको व्रत लिन आव्हान गरिएको छ ।

सम्पूर्ण वेद, गीता र पुराणहरूको अध्ययन भन्दा पनि धेरै फल यस एकादशीमा आफ्नो गल्ती स्वीकार गरी व्रत लिनेले पाउँछ । भगवान विष्णु अर्थात् जगतका पालनहार अनि हरि, यिनै भगवानको भक्तिमा तुलसी पातको भोग लगाईँ अर्चना गर्नाले यस एकादशीमा पुण्य मिल्ने बताइन्छ । भगवान हरिलाई अर्चना गर्दा सुन, चाँदी या हिराकै बरावर तुलसीको पत्र अनि मन्जरीलाई स्थान दिइन्छ । यस एकादशीमा पनि तुलसीको पात र मन्जरीको उत्तिकै महत्व रहन्छ ।

तुलसीलाई भक्तिपूर्वक पानी चढाउने भक्तको मृत्युको हिसाब यमराजले पनि गर्न नसक्ने र उसको आत्मिक चेतना पनि अत्यन्त धेरै रहने जनश्रुति पनि छ । यस एकादशीमा नदी–नाला या तलाऊमा जान उति प्रेरित गरिएको पाइन्न । सायद बर्खाको मध्य–समयमा पर्ने एकादशीमा पानीको बहाव र शुद्धताका कारणले पनि हुन सक्छ ।

प्रातकालमा उठेर स्नान गरी तुलसाको मठमा भगवानलाई अर्चना गर्ने, अगरबत्ती, धूप आदि चढाउने अनि सूर्योदयपछि व्रतकथा श्रवण गर्ने चलन छ । आजको एकादशीको साँझमा तुलसाको मोठमा शुद्ध घिऊमा दियो बाल्ने चलन पनि छ । अनि भगवानलाई पञ्चामृत भोग लगाउने चलन पनि रहेको पाइन्छ ।

तुलसीको पात या मठ नभएमा मन्जरी या तुलसीको डाँठ या केही नभएमा जुनसुकै बस्तुलाई विष्णुको प्रतिमा मानेर स्थापना गरी अर्चना गर्न सकिन्छ । अन्न र नुनको प्रयोग यो एकादशीमा वर्जित छ । एकादशीको महत्व यति धेरै भएपनि अन्य एकादशीको झैँ यस एकादशी व्रतकथा चाहिँ विशेष पाइन्न । अमुक गाउँका एकजना धनी व्यक्तिले भगडाको क्रममा झुक्किएर एकजना ब्राहमणको हत्या हुन पुग्छ । ब्रह्महत्या अझ भनौँ मानव हत्याको आरोप अनि पाप प्रायश्चित गर्न साधुहरूले बताए अनुरुप कामिका एकादशीको व्रत लिएर उनले मुक्ति पाउँछन् ।

यस एकादशीलाई एउटा अद्भूत एकादशी मानिन्छ । अनि स्वच्छ मन, स्वस्थ तन अनि शान्त पृथ्वीको कामना ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.