हामी बसेको संसार र सृष्टिमा प्रकृति नै सबैभन्दा विशाल, अद्भूत–अद्वितीय चिज हो । प्रकृतिलाई हामीमध्ये कसैले पनि आ–आफ्नो बसमा राख्न सम्भव छैन । तर प्रकृतिलाई सुहाउँदो वातावरण सृजना गरी त्यसको जर्गेना गर्दै भावी पुस्ताका लागि यसका असीम सम्भावना तथा निर्विकल्प महत्वको ज्ञान हस्तान्तरण गरेर यसको संरक्षण गर्न सक्छौं । एउटा कुरा प्रस्ट छ ! प्रकृति हामी अनुसार चल्दैन । प्रकृति अनुसार हामी चल्न जरुरी हुन्छ ।
बढ्दो मरुभूमिकरण र खडेरीविरुद्ध विश्व समुदायमै जनचेतना बढाउन र ऐक्यवद्धता कायम गर्न सन् १९९५ देखि हरेक वर्ष जून १७ तारिखमा विश्व समुदायले विश्व खडेरीविरुद्धको दिवस मनाउँदै आएको छ । सन् २०२१ को विश्व खडेरीविरुद्धको दिवस चाहिँ खाधान्न सुरक्षा, आय अनि जीवन–यापनको सेरोफेरोमा रहेर पैरवी गरिनेछ ।
खाद्य सुरक्षादेखि वातावरणीय मुद्दाहरू, भू–संरक्षण लगायत अनेकन सवालमा यो विशेष दिनले विश्व समाजमाझ निरन्तर प्रकाश पार्ने काम गर्दै आएको छ । खडेरी या मरुभूमिकरणबारे कुरा गर्दा भौगोलिक परिरस्थितिनुसारका अनेक मानवीय क्रियाकलाप अनि प्रकृतिसंँग निरन्तर भइरहने अविवेकी प्रयोग नै एक्काइसौं शताब्दीमा प्रकृतिले भोग्दै आएको समस्या हो ।
केही हदसम्म खडेरीलाई प्राकृतिक असरका रूपमा पनि ब्याख्या गरिएको छ, जहाँ स्थानीय मौसममा व्यापक फेरबदल हुन्छ । भूमिको उत्पादक क्षमतामा कमी हुन आई उत्पादनशील भूमि क्रमशः अनुत्पादक हुन थाल्छन् । त्यसरी नै अधिकतम भूमि पनि अनुत्पादक भएको भयावह अवस्था नै मरुभूमिकरण हो । भूमिमा आश्रित मानव समुदाय, कृषि–कार्य, पशुपालन र मुख्य कुरा अन्न उत्पादनमा कमी हुन आई खडेरी र मरुभूमिकरणले अन्ततः गरिबी बढाउँछ ।
मानव जनसंख्याको वृद्धिसँगै पछिल्ला शताब्दीमा भूमिको वितरण, विभाजन अनि उपयोग वास्तवमै दुःखदायी तवरले भएको विश्व मानचित्रका लगभग सबै देशहरू खडेरी र मरुभूमिकरणको ढिलो–चाँडो जोखिममा छन् । नेपालमा त झन् हामीलाई मलिलो उर्बर खेतबारी भन्दा कंक्रिटको जङ्गल ठड्याउन घडेरीको मोहमा वृद्धि हुन थालेको छ । घडेरी जोड्दै घर बनाएर बस्न हामीले जित त सम्झन्छौं । तर खेत अनि तिनको उत्पादकत्वले हाम्रो भान्सामा आगो बलेको र पेटको भोक शान्त पार्छ भन्ने कुरा हामीले बुझेर पनि बुझ पचाइरहेका छौं ?
भूमिको वास्तविक प्रयोग कृषि हो, तथापि विश्व मानचित्रमै भू–माफिया र ‘रियल स्टेट’ व्यापारको वृद्धिसँगै दुर्भाग्यवश भूमिको दुरूपयोग र भू–उपयोगको गलत व्याख्या गर्न थालिएको छ । यसैकारणले नै होला, आज विश्वभरिका ८१ करोड मानिसहरू खाद्यान्न संकटबाट प्रभावित छन् ।
नेपालकै उदाहरण लिऊँ, गएका केही दशकहरूमा भूमिको अनुचित प्रयोग, कृषि–कार्यमा कमी, पानीको संकट र प्लटिङ्ग गरी घडेरी बनाउन डाँडा काट्ने, सम्याउने अनि कति त्यस्ता जग्गाबीच बाटो बनाउने क्रममा हामीले कति नदी नाला, पोखरी, ताल अनि अन्न उत्पादन हुन सक्ने धर्तीको बली चढाएका छौं ?
ठूला ठूला हवाइजहाज, कम्प्युटर र मेशिन बनाउन सक्ने प्रयोगशालाले पनि एक चिम्टी माटो आफैँले बनाउन सकेको छैन । कतै सुन्नुभएको छ त माटो बनाउने कारखाना ? छैन नि ! स्मरणरहोस्, विश्वको सबैभन्दा दुर्लभ र प्राण धान्ने तत्वहरू माटो, पानी, आकाश, अग्नि र हावा हुन् । पञ्च तत्वका रूपमा वैदिक सनातन संस्कारले यिनको संरक्षणका लागि आव्हान गरेको छ ।
यस वर्षको विश्व खडेरीविरुद्धको दिवसको नारा छ, ‘हाम्रो जमिन, हाम्रो घर र हाम्रो भविष्य ।’ जमिन, घर अनि भविष्यबीचको यो सन्तुलन नै हाम्रो प्रकृतिसँगको सह–अस्तित्व हो ।
जमिनको उत्पादकत्व कम हुन गई एक ठाउँबाट अर्को ठाउँमा बसाईं सर्ने मानिसहरूको लर्को पनि संसारले धेरै देखेको छ । जमिनलाई माया गर्न सके जमिनले हामीलाई माया गर्छ । रुखलाई माया गरौं अनि माटोको संरक्षणमा ध्यान पुर्याऔं ।
उर्बर जमिनमा लगानी गर्नाले भविष्यले आधार पाउँछ । जमिनको लगानी भनेको आना र धूर जग्गा किनेर केही समय राखेर घडेरीका रूपमा पुनः फाइदासहित बेच्नु भने पक्कै हैन । माटोलाई खनी–खोस्री रुख रोपी, कृषि गरी अनि खाद्य उत्पादनमा ध्यान दिनु महत्वपूर्ण हो । हामीलाई मरुभूमि होइन, हरियाली माटो चाहिएको छ, हैन र ?
बादलले पानी बोकेर ल्याएर जमिन सिँचित गरिदिओस् । हरियालीले हामीलाई साथ नछोडोस् । अनि कंक्रिटका घरका साटो हरिया फाँटहरूको प्रशस्त वृद्धि होस् । बादल र जलका धाराबीच आत्मीय सम्बन्ध हुन्छ, अनि जहाँ बादल छन् त्यहाँ जलका धारा बगिरहने छन् । अनि जहाँ जलका धारा छन् त्यहाँ हरियालीले साथ छाड्ने छैन । माटोमा हरियाली अनि हरियालीमा जीवन अडिएको छ ।
जय होस् !
सुयोग ढकाल
Liked by: