यो वर्षको मत्स्यनाथ जात्राको श्रीगणेश भएको छ । आज बैशाख शुक्ल प्रतिपदाबाट शुरु हुने यो उपत्यकाकै सबैभन्दा लामो जात्रा हाबे । जुन असार महिनाको शुक्ल चौथीसम्म करिब २ महिनासम्म मनाइन्छ ।
सहकालका देवता मछिन्द्रनाथ, जसलाई मत्स्यनाथ । गुरु करुणामय अनि नेवाः भाषामा बुङ्गद्वयका रुपमा पनि पुकारा गरिन्छ । विगतको १६०० भन्दा धेरै वर्षदेखि यो प्राचीन जात्रा उत्तिकै उत्साह, भक्ति अनि पवित्रताका साथ मनाइँदै आएको छ ।
आजको आलेख म सहकालका देवताको नाममा समर्पण गर्न चाहन्छु । अनि मत्स्यनाथलाई एउटा योगीका रुपमा यहाँहरूसमक्ष परिचित गराउन चाहन्छु ।
प्राचीन बुङ्गमती गाऊँ मत्स्यनाथको जन्मथलो मानिन्छ । मत्स्यनाथ एकजना सिद्धपुरुष हुनुहुन्छ, जसले प्रकृतिका हरेक अवयवहरूमाथि नियन्त्रण गर्न सक्नुहुन्छ । सहकालका यी देवतालाई तसर्थ उपत्यकाबासीहरूले वर्षाका देवका रुपमा हजारौं वर्षदेखि पुज्दै आएका छन् ।
बागमती सभ्यतामा मत्स्यनारायणका अनेक रुप छन् । हिन्दूहरू यिनलाई करुणामयी गुरुका रुपमा पुज्छन् भने बौद्धमार्गीहरू यिनलाई पञ्च बुद्धमध्ये चौथो स्वरुप पद्धपाणीका रुपमा पुज्छन् ।
आजका दिन म्हेपी डाँडोको माटोले बनेको करुणामयीको मूर्तिमा कलशमा रहेको देवताको आत्मालाई प्रतिस्थापन गरिन्छ । आज स्नान गराएर पवित्र करुणामयीको धरोहरलाई अक्षय तृतीयाका दिन गौदानसहित शान्ति–स्वस्ती गरिन्छ । यसपछि ललितपुर र काठमाडौंका अनेक ठाउँहरूमा २ महिनासम्म अवलोकेश्वरको रथलाई परिक्रमा गराइन्छ । अन्ततः असार शुक्ल चौथीमा जावलाखेलमा भोटो देखाएर यस रथयात्राको औपचारिक अन्त्य गरिन्छ । प्रतिमालाई लगेर प्राचीन बुङ्गमती गाऊँमा राखिने चलन छ ।
योगी मत्स्यनारायणलाई गोरखनाथका गुरु भनेर पनि चिनिन्छ । गो अर्थात् पृथ्वी र रख अर्थात् रक्षा । तसर्थ गोरखनाथ पृथ्वीका रक्षार्थ तैनाथ एक अमर योगी हुन्, जसलाई दिक्षा योगी मत्स्यनारायणले दिनुभएको हो ।
गोरखनाथ मत्स्यनारायणका पुत्र पनि हुनुहुन्छ । कुनै दिन अर्को आलेखमा यी पिता–पुत्रको मानस समबन्धको ब्याख्या गर्नेछु । नेपाली राजपरिवारको निकटतम सम्बन्ध परापूर्वकालदेखि योगी गोरखनाथसँग रहेको पाइन्छ । गोरखनाथका बिशिष्ट अर्चना र पूजा राजपरिवारका सदस्यहरूले समयसमयमा गरिआएको पाइन्छ ।
हजारौं वर्षदेखि योगी मत्स्यनारायणको कृपा विश्वमा रहेको छ । यस वर्ष कोरोना कहरमा विश्व नै आक्रान्त छ । मत्स्यनारायण र गोरखनाथ योगीहरूका कृपा अनेकन रुपमा विश्वमा वर्षिनेछ । हाम्रो विश्वास छ । वर्षाको कमी नहोस् । अन्नका दाना–दानामा पुष्ट सामथ्र्य रहोस् । विश्वको कल्याण होस् । प्राणीमा प्राण होस् । यसवर्ष भने कोरोना संक्रमण जोखिमलाई ध्यानमा राख्दै नेपाल सरकारले यस जात्रामा सिमीत मान्छेहरुको उपस्थितीमा परम्परालाई कायम राख्ने निर्णय गरेको छ ।
विश्व नर्स दिवस
कोरोना कहरका कारण विश्वभरि नर्सहरूको महत्व अत्यधिक बढेर गएको छ । कोरोनाको दोस्रो लहरका कारण ज्यादै प्रभावित भएको हाम्रो स्वास्थ संरचनामा नर्सहरूको भूमिकालाई बृहत् रुपमा दर्शाएको छ । पीपीईभित्र गुम्सिएर पनि घण्टौ–घण्टा कोरोना संक्रमितहरूको उपचारमा तल्लीन नर्सहरूले हप्तौसम्म आफ्ना परिवारलाई भेट्न पाएका छैनन् । कति नर्सहरू त आफै संक्रमित भएर पीडामा छन् । पेशाको मर्म र मानवतालाई कायम राख्दै हामी सबैको ख्याल राखिदिने सबै नर्सहरूमा नमन ।
आजभन्दा १९७ वर्ष पूर्वको समयमा लिएर जान चाहयौँ । कुरो हो सन् १८२० मे १२ का दिन इटाली भन्ने देशको फ्लोरेन्स भन्ने शहरको । आधुनिक चिकित्सा पद्धतिमा अभूतपूर्व योगदान गर्ने नर्स अर्थात् नेपालीमा स्वास्थ्य परिचारिका पेशाको शुरुआत गर्ने अनि नयाँ उचाई थप्ने महान् फ्लोरेन्स नाइटीएंगलको जन्म दिनका अवसरमा आज विश्वले अन्तराष्ट्रिय नर्स दिवस मनाँउदैछ ।
फ्लोरेन्सलाई ‘ए लेडी विथ ए ल्याम्प’का नामले पनि चिनिन्छ । अर्थात् टुकी या भनौँ लालटिन बोकेकी महिला । उतिबेला युरोपमा ‘क्रिमेन युद्ध’ चलिरहँदा घाइते सैनिकहरूको उपचारार्थ अहोरात्र खटिएका सैनिकहरूले उनलाई सम्मानका साथ ‘लेडी विथ ए ल्याम्प’ भनेका हुन् ।
रातिको समयमा टुकी बालेर पनि सम्पूर्ण विरामीहरू भएका ठाउँमा पुग्ने यिनी संसारकै पहिलो नर्स फ्लोरेन्स नाइटीएंगलले बेलायतको लण्डनस्थित थोमस हस्पीटलमा संसारकै पहिलो निजी नर्सिङ्ग स्कूल स्थापना पनि गरेकी छिन् । जुन गैर नाफामूलक ढंगमा अझैसम्म संचालनमा छ ।
सन् १८२० जब फ्लोरेन्सको जन्म भएको थियो । तब बेलायत जस्तो समृद्ध देशमा पनि स्टीम इन्जिन रेल आविष्कार भएकै थिएन् । उनी जन्मिएकी १० वर्षपछि मात्र बेलायतले आफ्नो पहिलो स्टीम इन्जिन रेल सञ्चालनमा ल्याएको हो । तथापि उनीले संसारबाट बिदा लिँदा सन् १९१० मा चाहिँ संसारमा रेल, विजुली, कार अनि प्लेनको शुरुवात भइसकेको थियो । फ्लोरेन्सले एउटा युगान्तकारी परिवर्तन गरेको मान्ने ब्यक्तिहरू संसारमा धेरै छन् ।
त्यतिबेला स्वास्थ्य सेवाको कुरा गर्ने हो भने अस्पतालमा सरसफाईका कुराहरूमा उत्ति ध्यान दिइँदैनथियो । स्वास्थ्यसेवीहरू पनि विरामीको भावना अनि आत्मसम्मानलाई ध्यानमा राख्नेमा अनभिज्ञ नै थिए । तसर्थ, फ्लोरेन्सले अस्पताललाई सफा राख्न अनि विरामीको सम्मान र भावनालाई कदर गर्दै एउटा गहिरो सेवाको अवधारणाका रुपमा आधुनिक नर्सिङ्ग पेशालाई ल्याएकी हुन् ।
फ्लोरेन्सको यिनै योगदानको चर्चा गर्दै हरेक वर्षको मे १२ मा विश्वले नर्स दिवस मनाउँछ । नर्स पेशालाई गएको शताब्दीबाट संसारभरिका मान्छेहरूले अत्यन्त महत्व दिएर आदरणीय रुपमा हेरेका छन् ।
सेतो कोट लगाएकी, कपालमा रिबन लगाएकी, औषधिहरू बोकेकी अनि मुस्कानसहितको सेवा प्रदायक स्वास्थ्य परिचारिका नर्स । नर्स भन्नासाथ अस्पतालको याद आउँछ । अनि मुख्य कुरा स्वास्थ्य सुधार अनि ममतामयी सेवा पनि याद आउँछ, हैन त ?
विश्वले फ्लोरेन्सको योगदानका बारेमा चर्चा गरिरहँदा आउनुहोस्, हामी एकैछिन रुमलिऔ, नेपालको नर्सिङ्ग इतिहासमा, हुन्न र ?
नेपालमा नर्सिङ्गको संक्षिप्त इतिहास
नर्स विनाको अस्पतालको परिकल्पना हामी गर्न सक्दैनौ । सन् १९४७ मा वीर अस्पतालको स्थापनापछि स्वास्थ्य सहायकका रुपमा केही कम्पाउन्डर र भारतमा तालिम लिएका केही औलामा गन्न सक्ने ब्यक्तिहरू मात्रै थिए । वीर अस्पतालको इतिहास पल्टाउदा उतिबेला ड्रेसिङ् लगायत अन्य उपचारहरू कम्पाउन्डर या डाक्टर स्वयंले गर्ने गर्दथे ।
नर्सिङ्गको नेपाली इतिहास विसं २०१३ बाट शुरु भएको देखिन्छ । जब केही गृहणीहरू लगायतका नेपाली चेलीहरूले औपचारिक रुपमा नर्सिङ्गको तालिम लिएका थिए । राणा शासनका क्रममा सभ्रान्त परिवारमा स्वास्थ्य–उपचार अनि नर्सिङ्गको महत्व चाल पाएर नेपालमा नर्सिङको शुरुवात भएको विश्वास गरिन्छ ।
राणाकालको क्रममा चार नेपाली चेलीहरू विद्यावती कंसाकार, राधादेवी मालाकार, धर्मदेवी कंसाकार र विष्णुदेवी राईले भारतको अलाहवादबाट स्वास्थ्य सहायकको तालिम लिएको ईतिहास छ । त्यसपछि क्रमशः नेपाली महिलाहरू भारतमा ४ वर्ष ९ महिने लामो नर्सिंङ्ग कोर्स गरेर आउने चलन बढेको पाइन्छ ।
आज गल्ली पिच्छेका अस्पताल अनि क्लिनिकहरूमा नर्सहरूको उपस्थिति बाक्लै देख्न सकिन्छ । शहर–शहरमा नर्सिङ्ग कलेजहरू खुलेका छन् । अनि अझ विदेश जान सहज हुने भएकाले नर्सिंङ्गप्रतिको आकर्षण बढ्दै गइरहेको छ ।
नर्सिङ्गको अचम्मको कुरा के छ भने यो व्यवसायमा पुरुषहरू नगण्य मात्रामा छन् । केही समयअघि केही नर्सिङ्ग कलेजहरूले पुरुषहरूलाई पनि नर्सिग तालिम दिएको थियो । तर पछि गएर पुरुषहरू यस ब्यवसायमा उत्ति आकर्षित नभएको पाइन्छ ।
शायद माया, स्नेह अनि ममतामयी यो ब्यवसायमा महिलाको मधूर उपस्थितिी नै अत्युत्तम लागेको हुन सक्छ ।
नर्सिङ पेशाको सबैभन्दा ठूलो पदवी चाहिँ फ्लोरेन्स नाइटीएंगल मेडललाई मानिन्छ । यसअर्थमा फ्लोरेन्स नाइटीएंगल हरेक नर्सको प्रेरणाकी श्रोत पनि हुन् ।
अर्कोतर्फ फ्लोरेन्सले नर्सिङगको थालना गरेपछि सुस्तरी विश्वमा नारी अधिकार र समानताका आवाजहरू उठेका हुन् । तत्कालीन बेलायतको उपनिवेश भारतसम्म पनि फ्लोरेन्सको योगदान अनि नारी समानता उन्मुख लहरहरू आएका हुन् ।
यसैक्रमका साथ बेलायतमा अझ प्रभावकारी स्वास्थ्य सेवा, भारतमा भोकमारी हटाउने लहर, देह ब्यापारमा लागेका महिलाहरूमाथिको हिंसामाथि प्रश्न चिह्न र पेशागत समानताका कुराहरू उठ्न थालेका हुन् । फ्लोरेन्स एउटी समाजसेवी मात्र नभएर गज्जबकी लेखिका पनि हुन्, उनले मेडिकल उपचार पद्धतिकाबारेमा लेखेकी पुस्तकहरू यति सरल अंग्रेजी भाषा र चित्रले प्रष्ट पारिएको छ कि जो कोहीले सजिलै बुझ्न सक्छन् ।
नेपालमा पनि नर्सिङ्ग अध्ययन गर्ने अनि कार्य गर्ने पेशाकर्मी दिदी–बहिनीहरूको संख्या बढ्दो छ । विरामीको सेवा अनि उपचारमा फ्लोरेन्सका पथहरूलाई हामीले कत्तिको आत्मसात् गर्न सकेका छौँ त ? विचार गर्नु चाहिँ जरुरी छ ।
कुना कन्दरा अनि साक्षरताको कमीले ग्रसित हाम्रो देशमा मेडिकल कुराहरू अनि ज्ञान सबैमा छैन । कोही विरामीले केही कुरा बुझेन या कुरुवाले केही कुरा बुझेनन् भने हामीमा पुनः स्पष्टसँग बुझाउन सक्ने धैर्यता कत्तिको छ ? पीडाले छिया–छिया भएका विरामी र कुरुवालाई हाम्रा नर्सहरूले कत्तिको मप्ठो बोली बोलेर कुरा गर्छन् । यी सम्पूर्ण कुराहरूमा सुधार हुँदै जाओस् ।
क्रिमीया युद्धमा एकजना घाइते सैनिकले नाइटीएंगलबारे कविता लेखेका थिए । आजको यस दिन विशेष साम्रगीको विट मार्न अघि त्यो कविता अनि त्यसको सरल नेपाली रुपान्तरण, केवल यहाँका लागिः
Lo ! in that house of misery
A lady with a lamp I see
Pass through the glimmering gloom,
And flit from room to room
त्यस दर्दनाक र पिडा भरिएका घरभित्र
टुकी समातेकी एकजना महिला म देख्दथेँ
चित्कारभित्रका वेदना सुन्दै र माया बाँड्दै
हरेक कोठा कोठा उनी सहृदय पुग्थिन्
––––
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: