महानवमी | विश्व दृष्टि दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरु

महानवमी | विश्व दृष्टि दिवस




महानवमी विशेष अडियो सामग्री

नवरात्रिले त फूलपाती अनि अष्टमी छिचोल्दै महानवमीसम्म ल्याइपु¥यायो । नवरात्रिको नवौँ दिन, भोलिपल्ट टीकाको तयारी गर्नु नि छ । कस्तो हुँदैछ त दशै ? जहाँ हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ, बडादशैंको अनेक शुभकामना !

आज नवरात्रिको नवौँ दिन । आज दुर्गा माताको नवौँ शक्ति स्वरूपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान गरिने दिन हो । साथै आज धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ । आजको दिन शक्तिस्वरूप सिद्धिधात्रीको पूजा गर्नाले सम्पूर्ण संसार नै जित्न सक्ने सिद्धता हासिल हुने र संसारमा केही कुरा पनि अगम्य नहुने मान्यता छ ।

देवीपुराणमा उल्लेख भएअनुसार यिनै देवीको असिम कृपाका कारण शिवजी स्वंयले पनि सिद्धि प्राप्त गरेका हुन् । सिंहको बाहनमा विराजमान यी देवीको प्रिय वस्तु कमलको फूल हो । यिनको साधना गर्नाले यस लोक र परलोक दुवैमा मोक्ष प्राप्त गर्ने विश्वास छ ।

शक्तिस्वरूप सिद्धिधात्री प्रसन्न भएर वरदान दिएमा साधक–साधिकाको कुनै पनि इच्छा बाँकी नहुने गरी सम्पूर्ण इच्छा पूरा गरिदिने भनी मार्केण्ड्य पुराणमा उल्लेखित छ । मार्केण्डेय पुराणका अनुसार अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, इशित्व अनि वशित्व भनेर आठ वटा सिद्धत्वको ब्याख्या गरिएको छ ।

आजको दिन निर्माण र शिल्पकला अनि कलपूर्जाका देवता विश्वकर्माको दिनका रूपमा पनि लिइन्छ र इञ्जिनहरू, गाडी, कारखाना आदिमा बलि चढाइन्छ । आजको दिन सबैभन्दा धेरै बलि चढाइने दिन हो । शक्तिस्वरूपा देवीहरूले असूरहरूलाई खोजी–खोजी संहार गरेपछि बाँचेका असूरहरू जनावरका रूपमा भेष बदलेर लुकेको तसर्थ जनावरको भेषका असुरहरूलाई बलि चढाइने किंवदन्ती छ ।

नेपाली सैनिक मुख्यालय, प्रहरी प्रधान कार्यलय लगायतका ठाउँमा आज कलपूर्जा, हतियार र गाडीहरूको विशेष पूजासहित जङ्गी निशान पूजा र कोत पूजा पनि गरिन्छ । बलि दिन आज उपत्यकाभित्रका दक्षिणकाली, गुहेश्वरी, मैतीदेवी, कालिकास्थान, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, सङ्कटा, बज्रयोगिनी, बज्रबाराही लगायतका शक्तिपीठहरूमा धेरै घुँइचो हुन्छ ।

यसैगरी उपत्यका बाहिर पर्साको तिलवा नदी पारी केहूनिया रहेको शक्तिपीठ विन्देवासिनी देवीको मन्दिरमा, वीरगञ्जको गहवामाईमा, काभ्रेको पलाञ्चोक भगवतीमा, सप्तरीको छिन्नमस्ता मन्दिरमा, डडेलधुराको उग्रतारा मन्दिरमा, जनकपुरको राजदेवी मन्दिरमा, गोरखाको मनकामना मन्दिरमा, सुनसरी जिल्लाको दुहवीको बुढीखोला किनारमा रहेको कालिमन्दिर, बनेपाको चण्डेश्वरी लगायत काठमाडौँ बसन्तपुर दरवार स्क्वायरमा रहेको दसैँ घर, कोतको पटांगिनी लगायत नेपालभरिका शक्तिपीठ र मन्दिरमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित पूजाअर्चना र सप्तशती पाठ गरिन्छ ।

कतिपय ठाउँमा आज कुखुरा, बोका, भेँडा, हाँस र कुखुराको पञ्चबलि पनि चढाएर कोतपूजा र निशान पूजा पनि गर्ने गरिन्छ । आजको दिन धूप आरती, फूल, नैवेद्य आदि पूजा अर्चनाका सामान लिएर खेतमा जाने अनि माटो र अन्नका विरुवाहरूको पूजा गर्ने चलन पनि छ ।
कतिपय शक्तिपीठमा दुईदेखि दश वर्षसम्मका कन्याहरूको पूजा गर्ने चलन पनि छ । यस्तो कन्यापूजाका बारेमा देवीभागवतमा लेखिएको छ । आजको दिन काठमाडौँको तलेजु भवानीको मन्दिर वर्षभरिमा केवल एक दिनमात्र सर्वसाधारणका लागि खुल्ला रहन्छ ।

यस दिनविशेष पाठः
या देवी सर्वभूतेषु माँ सिद्धिदात्री रूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमस् ।।

अर्थात्ः
सिद्धिदात्री देवीका रूपमा सवत्र विराजमान अम्बे, म तपाईंलाई कोटी–कोटी प्रणाम गर्दछु । मलाई शक्ति दिनुहोस् ।
महानवमीको सबैलाई शुभकामना, देवीमाताले हामी सबैलाई शक्ति र समृद्धि प्रदान गरून् ।
यसका साथै नवमीकै दिन नेवा सभ्यतामा चाहिँ स्याकुटाकु मनाउने चलन छ । स्याकुटाकुमा आफ्नो खेतमा गएर पूजा अर्चना गर्ने, माटोलाई पुज्ने, बालीलाई पुज्ने र बलि दिने चलन छ । साहाकारीहरूले चाहिँ फलफूल नैवेद्य आदि चढाएर स्याकुटाकु मनाइन्छ ।

खुल्ला अनि उज्यालो आकाशका साथै कता–कता चिसो सिरेटोले छुन थालेको पनि अनुभव हुन थालिसक्यो । गाउँगाउँमा बुढा आमाबुवाहरू अब दसैँमा छोराछोरीहरू आउँछन् भनी खुशी हुनुभएको छ । शक्तिको पूजाअर्चना गरेर शक्ति आर्जन गर्ने समय साथै सञ्चार माध्यममा दशैंका गीतहरू बज्न थालिसकेको यो समय एकदमै रोमाञ्चित समय हो । यसपालाको दशैंको हर्षले वर्षभरि कान्ति छाओस् । अगाढ माया अनि असीमित शुभकामना !

विश्व दृष्टि दिवस
नेपालीमा आँखा, संस्कृतमा चक्षु या नयन, अंग्रेजीमा आई, लगायत थुप्रै नामहरू दिइएका छन्, भाषैपिच्छे अनि देशै पिच्छे । आज अक्टोबर महिनाको दोश्रो बिहीवार अर्थात् यस दिन विश्वभरि दृष्टि दिवस मनाइन्छ ।
आउनुहोस् यसै सेराफेरोमा केही बात मारौँ ।

गएको वर्षको कार्तिक महिनाको सेरोफेरोमा हाम्रो पात्रोले नेपालको म्याग्दी जिल्लाबाट एकजना दृष्टिविहीन प्रयोगकर्ताको पृष्ठपोषण पाएको थियो, ‘हामी देख्न सक्दैनौं, तसर्थ हाम्रो पात्रोका अन्य लाखौं प्रयोगकर्ताहरू झैँ हामीले दिनविशेष साम्रगीहरू पढ्न सक्दैनौँ ।’ त्यसको वर्ष दिनपछि आज हाम्रो पात्रोका अधिकांश दिनविशेष साम्रगीहरू अडियोमा पनि राखिने गरिएको छ । पाठक वर्गको सरलता अनि दृष्टिविहीन पाठकको सहज पहुँचका लागि ।

आज विश्व दृष्टि दिवसका दिन सवप्रथम हाम्रो पात्रो सम्झन चाहन्छ । हाम्रा दृष्टिविहीन प्रयोगकर्ताहरू अनि दृष्टिमा विभिन्न कारणले समस्या आएका लगायत अन्य सम्पूर्ण प्रयोगकर्ताहरू लाई । वास्तवमै दृष्टिको महत्व कति धेरै छ भनी हामीले बुझेकै छौँ । यसै अनुसार आफ्नो स्वास्थ अनि जीवनशैली पनि दीर्घदृष्टिका हेतुले अघि बढाउने छौँ, आशा छ ।

हामीले देख्ने हिमाल, हरियाली, रंगहरू, अनुहार अनि तिनका आकार, मुस्कानका प्रकृति अनि फरक र समानता दृष्टिविहीन साथीहरूका लागि अनुभव गर्न तुकविहीन नै हुन्छ । थोरै विश्वव्यापी तथ्यांकको सारांश लिऊ, विश्वभरि करिव ३ करोड ६० हजार मानिसहरू दृष्टिविहीन छन् भने २ अरब ४६ करोड हाराहारी मानिसहरू कम दृष्टि या गहिरो प्रकृतिको दृष्टिजन्य समस्याबाट प्रभावित छन् । स्मरणरहोस्, विश्वभरि नै कूल दृष्टिविहीन जनसंख्याको ९० प्रतिशत बढी जनसंख्या न्यून आयश्रोत भएका र आर्थिक रूपमा विपन्न परिवारमा बस्छन् ।

विश्वभरि दृष्टिविहीन जनसंख्यामध्ये बालबालिकाको संख्या भने १ करोड ९० लाखको हाराहारीमा छ । दृष्टि अनि त्यस्को स्वस्थ र उपचार आजको विश्वका लागि ठूलै चुनौति भएको छ । यस्तै मुद्दाहरूकाबारे जनजागरण फैलाउने, पैरवी गर्ने अनि नेत्रदान जस्ता गहन अनि पुण्य दानकाबारेमा अभिप्रेरित गर्ने अभिप्रायले दृष्टि दिवस मनाइन्छ ।

कसैले चश्मा लाएको त कसैले मुख धोएको, लेन्स लगाएको, सागपात खाएको, भिजन चेक गराएका जस्ता विभिन्न तस्वीरहरूले पठाएका यस संस्थाले जानकारी दिएको छ । नेपालमा पनि दृष्टिविहीनहरूको हकहितका लागि विभिन्न संघ–संस्थाहरू कार्यरत छन् । जसमा नेपाल नेत्रहीन संघ भने छाता संगठनका रूपमा कार्य गर्छ । त्यस्तै विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरू लगायत अन्य सञ्जालहरू जस्तै नेपाल नेत्रज्योति संघहरूले नेपालभरि नेत्रज्योतिका लागि आँखा केयर सेन्टर र उपचार अभियान गर्ने गरेका छन् ।

नेपाली गाउँघरमा आफ्नो दृष्टिको हेरविचार गर्न पर्याप्त जानकारीहरू दिन सकेको अवस्था छैन भने आँखाको उपचारका लागि तुलनात्मक रूपमा सर्वसुलभ अस्पतालहरू त्यति छैनन् । विराटनगर आँखा अस्पताल, लाहान आँखा अस्पताल, नेपाल आँखा अस्पताल त्रिपुरेश्वर, तिलगंगा आँखा अस्पताल, भक्तपुरको विपी आँखा अस्पताल, चितवन आँखा अस्पताल, लगायत नेपालगन्जको आँखा अस्पताल अनि लायन्स क्लवद्वारा आँखा उपचारार्थ खोलिएका सामुदायिक आँखा अस्पतालहरू छन् । मोफसलका आँखा अस्पतालहरू विशेषज्ञता अनि प्रविधिगत हिसावले कमजोर नै छन् । यिनको प्रभावकारितामा नै नेपालीको दृष्टिको दीर्घायू लुकेको छ ।

एसियाको नोवेल पुरस्कार मानिने रोमन म्यासेसे पुरस्कार यस्तै आँखा अनि दृष्टिको उपचार पद्धतिका लागि नेपालकै छोरा डाक्टर सन्दुक रुईतलाई सन् २००६ मा प्रदान गरिएको थियो । अचाक्ली धुलो–धुँवाले गर्दा शहरी क्षेत्रमा बस्ने नेपालीहरू आँखाको समस्याले अत्यन्त जटिल अवस्थामा छन् । काठमाडौं लगायतका शहरमा दैनिक हिँड्ने मानिसहरूले सधैजसो बिहान उठ्दा आँखा पोल्ने समस्या सामना गरेका छन् । धुलो र धुँवाले आँखा मात्र नभई चर्म अनि श्वासप्रश्वासको पनि उत्तिकै समस्या ल्याउँछ, सरकार अनि भर्खरै निर्वाचित जनप्रतिनिधिहरू मौन रहन नहुने अवस्था छ ।

सन् १९८१ मा केवल एउटा आँखा अस्पताल भएको नेपाल आजका दिनसम्म १७ भन्दा बढी आँखा अस्पताल अनि ३२ अन्य आँखा केयर सेन्टरहरू भएको देश हो । नेत्र उपचारका हिसाबले नेपाल दक्षिण एसियाली क्षेत्रमै एउटा उदहारणीय देश हो ।

आफ्नो आँखाको ख्याल गर्नुहोला, अनि आँखा नहुनेहरूलाई माया र सदाशयता देखाउनुहोला ।
तन र मन दुवैतर्फको आँखाको ख्याल गरौँ ।
––––––––
हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.